पर्खालमा चढिरहेको चिप्लेकिराे देख्छु चढाइ निरर्थक लाग्छ , व्यर्थ लाग्छ । पर्खालमाथि, न कोही छ बसेको न आवाज सुन्छु, कसैले आइज भनेको नहुँदा बाटो कतै , आफैँ कोरेर कहाँ पुग्न लम्किरहेको जन्तु यस्तो । म, मानिस जसै जसै त्यो दृश्य हेर्छु कुनै मानिस त्यसरी नै पर्खाल उक्लेको देख्छु समाज हाँसेको, कानमा गुन्जिरहन्छ के उद्देश्य नहुनु नबाँच्नु सरह हो ? अर्थ, अर्थ भनेर बहुलाउने म मान्छे खोज्छु, किरो पर्खाल चढ्नुको अर्थ । जब जब खतरा हुन्छ भुमिमा या रासायनिक सङ्क्रमण हुन्छ उसलाई एउटा अनौठो वासना निकाल्दै ऊ चढ्छ कुनै अग्लो स्थानमा ताकि त्यो वासना उसका साथीलाई, आउने खतराको सूचना बनोस, अनि त्यही सूचना दिँदा दिँदै ऊ आफै एउटा मृत्युको सूचना बन्छ । म अर्थको भोको मान्छे अर्थ पाएर त्यसै हर्षित हुन्छु अनि त्यही अर्थले विचलित पनि । सोचेको थिएँ कविता लेख्नेछु एउटा बिना उद्देश्य बाँच्नु पनि बाँच्नुनै हो भनेर तर अर्थको खोज, कविताको पासो बन्यो । मानिस हुँ , अर्थ बुझे पनि नबुझेझैँ गर्छु जानेकै कुरा पनि, त्यसै सोध्ने गर्छु मलाई हार्नु छैन एउटा नाथे किराेसँग, त्यसैले उसको कानमा फुस्फुसाउँछु ।
नेपाली साहित्यसँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली साहित्यको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। नेपाली कथा , कविता अनि आख्यानको क्षेत्रमा आफुलाई मिसाउने सानो प्रयास हो BijayWrites.