Photo by: Kaique Rocha/ Pexels |
बजार जान मलाई औधी मनपर्छ , सामान किन्न म प्रायजसो आँफै जाने गर्छु । हिजोको कुरा हो, केही तरकारी र दुई जोर मोजा किन्नु पर्यो भनेर बजार तिर निक्लेको थिएँ । हातमा सामान बोक्ने झोला , खुट्टामा फित्तावाल हात्तीछाप चप्पल लगाएर बजार जाने बाटोमा फटाफट हिँडीरहेको थिएँ । जाँदै गर्दा देखेँ एउटा मेरै उमेरको केटो बाटो छेउमा बसेर रोइरहेको थियो ।
केही बेर उसको छेउमा उभिएर हेरेँ , उसले मलाई देख्यो तैपनि रून छोडेन । यसो सोचेँ कस्तो अचम्मको केटो रहेछ , यत्रो भएर पनि रून लाज नलागेको । एक मन सोचेँ आाा रूदै गरोस मलाई केको टाउको दुखाइ । यस्तै सोचेर त्यो केटोलाई रोएकै छोडेर जान लागेको थिएँ अचानक मेरो दिमागले मलाई प्रश्न सोध्यो , मान्छे कुन बेला रून लजाउँदैन ? मनले एकाएक उत्तर दियो, जब लाज भन्दा पीडा ठूलो हुन्छ ।
मेरो मानवताले उसलाइ त्यसरी छोडेर जान दिएन , त्यसपछि उसको छेउमा गएर बसेँ , केही बेर एक शब्द पनि बोलिन, बिस्तारै उसले रून कम गर्यो । मान्छेको जात पनि अचम्मको छ , पीडा भएको बेला केही नबोले पनि छेउमा उभीदिने मान्छे भयो भने पनि उसलाई धेरै हिम्मत मिल्छ । रून कम भएपछि मैले सोधेँ :
के भयो साथी ? किन यसरी रोएको ?
मलिन मुहार लगाएर उसले भन्यो , साथी म अपाङ्ग भएँ ।
यसो उसको पुरै जिउँ नियालेर हेरेँ सारसउँदै थियो । कुरा नबुझेर मैले फेरी सोधेँ हेर्दा ठिकै छौ त साथी, के भनेको यस्तो ?
मैले त्यती भनेपछि उसले मलाई रूदै आफ्नो दाहिने खुट्टा देखायो । त्यो देखेर म छक्क परेँ । उसको दाहिने खुट्टाको बुढी औंलै थिएन । त्यती देखाएर ऊ मेरो अनुहारमा हेर्दै फेरी रून थाल्यो ।
अचम्म लाग्यो हेर्दा औंला त निकै अगाडि काँटिएको जस्तो थियो । काँटिएको ठाँउमा केही घाउ थिएन , रगत पनि कतै थिएन । पक्कै पनि पुरानो दिन सम्झेर रोएको हुनुपर्छ भनेर अडकल काटे । के भएर यस्तो भएको साथी ? खास कुरो के भएको रहेछ भनेर बुझ्न उसलाई प्रश्न गरेँ ।
उसले रूदै भन्यो खै थाहा छैन, मैले आजै थाहा पाएको हुँ । तरकारी किन्न भनेर बजार गएको थिएँ, मैले तरकारी किन्ने ठाँउ छेवैमा एउटा नयाँ पसल खुलेको रहेछ , पहिले त्यहाँ त्यो पसल कहिले देखेको थिइन । रूवाइले गरेर उसको स्वर अड्की अड्की आइरहेको थियो । ऊ भन्दै गयो , पसलको नाम पनि अनौठो रहेछ नेपालीको औंला पसल , के रहेछ भनेर भित्र गएँ । सुकसुकाउँदे उसले भन्न थाल्यो , त्यो पसल भित्र औंलै औंला बेच्न राखिएको रहेछ । त्यो देखेरै मलाई भाउन्न भयो ।
मैले त्यो पसलेलाई भनेँ सबै औंला सक्कली जस्तो देखिन्छ त दाइ । उसले भन्यो सक्कलीनै हो भाई । अचम्म लागेर सोधेँ कस्तो मान्छेले किन्छन् यस्तो औंला ? मलाई टाउँको देखि खुट्टा सम्म हेरेर त्यो पसले हाँस्न थाल्यो । किन हास्नुभएको दाइ भनेर मैले उसलाई सोधेपछि उसले भन्यो खै भाइ यो सबै सामान विदेश जान्छ कस्ले किन्छ थाहा छैन मलाई, म त पठाउँने काम मात्र गर्छु ।
पसलेलाई मैले कहाँ बाट आउँछ यो औंला भनेर सोधेँ , मलाई लागेको थियो लासको औंला लिएर आउँछन ती पसले । पसलेले अचम्मको कुरा गर्यो मसँग, उसले भन्यो , हामी निदाएका नेपालीको उनीहरूले थाहा नपाउँने गरि औंला चोरेर ल्याउँछौ । पसलेको कुरा सुनेर धेरैनै हासो लाग्यो अनि भनेँ दाइ पनि हावा कुरा गर्नु हुन्छ, औंला काटेको त मरेकै मान्छेले पनि थाहा पाउँछ होला सुतेको मान्छेले कसरी थाँहा पाउँदैन भन्नोस त ?
ऊ मज्जाले हास्यो अनि भन्यो जसरी तिमीले तिम्रो औंला हराएको थाहा पाएका छैनौ त्यसरीनै । अनि उसले एउटा सिसाको बट्टामा राखिको मेरो औंला मलाई देखायो ।
त्यसपछि मैले मेरो खुट्टा हेरे आँफ्नो औंला नदेखेर त्यही बेहोस भएछु । जब होस खुल्योु मलाई पसलेले पानी छम्कदै थियो । मैले उठेर पहिलो शब्द यही बोले मेरो औंला खोइ ? पसलेले मलाई मायालाग्दो गरेर हेर्दै भन्यो तिम्रो मात्र हैन धेरैको औंला हराएको छ भाइ,अब होस सम्हाल अनि घर जाउँ मलाई व्यापार गर्न देउ । मैले केही पनि सोच्न सकिन । बिन्ती गर्दै भनेँ दाइ मेरो औंला मलाई फिर्ता दिनुहोस ।
पसलेले एकाएक रिसाएर भन्यो ल्याएर उसैलाई फिर्ता दिने भए मेरो ब्यपार के गरी चल्छ भाई , म व्यापार गर्न बसेको हो समाजसेवा गर्न होइन ।
पसलेसँग मलाई औधी रिस उठ्यो अनि भनिदिएँ तपाइलाई मान्छेको औंला बेच्ने अघिकार कस्ले दियो ? पर्खनुहोस म प्रहरी बोलाएर तपाँईलाई कारबाही गराउँछु । मैले त्यती भनेपछि त्यो पसले एकाएक रिसाएर भन्यो भाइले चिनेको छैन जस्तो छ मलाई , जाउ कसलाई बोलाउने हो बोलाएर आउँ म डराउँदिन । त्यो पसलेको फुर्ती सुनेर सम्झिन खोजेँ , ठूलेै मान्छे पो हो कि भनेर । त्यसपछि प्रहरीलाई भन्न जान्छु भनेर हिँडेको यहाँ आइपुगेपछि आफ्नो खुट्टा देखेर मन थाम्नै सकिन ।
त्यती भनेर त्यो केटो फेरी सुक्सुकाउँन थाल्यो । कस्तो नचाँहिदो कुरो गरेको साथी तिमीले ? यस्तो पनि हुन्छ कँही ? आफ्नै औंला हराएको पनि कोही कसरी थाहा पाउँदैन भन त ? अनि त्यसतो पसल त्यहाँ छ जस्तो पनि मलाई लाग्दैन । तिमीलाई सन्चो छैन जस्तो छ , बरू भन घर कता हो तिम्रो म पुर्याइदिन्छु । त्यो केटोलाई सम्झाउँदे भनेँ ।
उसले रून छोडेर मलाई हेरिरहेको थियो । साथीले मेरो कुरा पत्याउनु भएन जस्तो छ आउँनुहोस म त्यो पसलमै लगेर देखाइदिन्छु । उठेर मलाई हेर्दै उसले भन्यो ।
बजारनै जान लागेको थिएँ , उसलाई ल हिडँ भनेर उसको पछाडि लागेँ । केही बेर हिडेँपछि हामी त्यो औंला पसल अगाडि पुग्यौ । मलाई मेरो आँखाकै विश्वास भएन, कहिले नदेखेको पसल मेरो आँखा अगाडि थियो । म केही बोल्न सकिन मेरा ओठमुख सुके । बिस्तारै पसल भित्र पसेँ मलाई पछ्याँउदै त्यो केटो पनि म सँगै भित्र पस्यो । पसले कुर्सीमा मस्त निदाइरको थियो । उसलाई टाउको देखि खुट्टा सम्म मज्जाले हेरेँ उसको पनि एउटा खुट्टाको बुढी औंला थिएन ।
पसलेलाई उठाउँनु पर्यो भनेर आवाज दिएँ , ओ दाइ । पसले आँखा मिच्दै उठ्यो । उठेर भन्यो, के चाँहियो भाइ ? मैले नम्र भएर भने , यो मान्छेको औंला चोर्नुभएछ फिर्ता चाहिएर आएको , फिर्ता दिनुहोस ।
तिम्रो साथीको मात्र हैन तिम्रो पनि औंला चोरेको छु । मैले अघिनै त्यो भाइलाई भनेकै छु म समाजसेवा गर्न हैन व्यापार गर्न बसेको हो । फिर्ता पाउँदैनौ घर जाओ । मसँग फजुल कुराको लागि फुर्सद छैन ।
त्यती कुरा सुनेर मैले मेरो खुट्टामा हेरेँ , मेरो पनि औंला हराएको थियो । औंला नदेखेर मलाई एकदमै रिस उठ्यो अनि जमाएर एक मुक्का हाँनिदिएँ त्यो पसलेको मुखमा । त्यसको चोटले थोरै पछाडि सर्यो त्यो पसले । एकाएक त्यो पसलमा दुई चारजना ठूलो शरीर भएका मान्छे आए अनि हामीलाई घिसारेर बाहिर निकाले । पसले बाहिर निस्केर करायो आइन्दा यहाँ देखिने हैन हात खुट्टा भाँचीदिन्छु ।
आफ्नो खुट्टा देखेर मेरो पनि आँसु थामिएन । केही बेर उभिएर सर्टको बाहुलाले आँसु पुछेँ । साथीलाई हेरेँ ऊ पनि रोइरहेकै थियो । केही भन्न सकिन बोली घाँटीमै अड्कियो । केही बेरको मौनता पछि भनेँ , प्रहरीकोमा जाउँ ।
हामी त्यो पसललाई पछि छोडेर प्रहरी चौकी जाँदै थियौ, मेरा आँखा अचानक बाटोका मान्छेको खुट्टाहरूमा पर्यो । म अचेतझै भएँ , कसैको पनि खुट्टामा औंला थिएन । यो कुरा मैले छेउको साथीलाई सुनाएँ उसले पनि सबैको खुट्टामा हेर्यो । छेउमा हिड्दै गरेको एउटा अधबैसेलाई आवाज दिएँ दाइ तपाईको खुट्टाको औंला हराएछ । त्यो मान्छेले हामीलाई रिसाएर भन्यो काम पाउँदैनौँ थेत्ररा केटाहरू, मलाई पनि थाहा छ , जाओ आफ्नो काम गर ।
मैले त्यो मान्छेलाई भनेँ थाहा भएको भए जाऔ प्रहरीमा औंला हराएको रिर्पोट लेखाउन । त्यो मान्छेले हाँस्दै भन्यो म हिजै मात्र गएको थिएँ प्रहरी चौकी उनीहरू आफ्नै औंला हराएर हैरान छन्, जानु बेकार छ, केही फाइदा छैन ।
त्यती भनेर उनी जान खोजे, मैले फेरी सोधिहालेँ दाइ अनि प्रहरीले भन्नचै के भनेँ त ?
के भन्छन् र भाइ उल्टै गुनासो पोखे , भन्छन् तपाईहरूको त धन्न रिर्पोट लेखाउने ठाँउ छ हामी कहाँ गएर रिर्पोट लेखाउनु ?
त्यती भनेर ती अधबैसे आफ्नो बाटो लागे । छेउको साथीले मलाई हेर्दै भन्यो ल साथी अब म पनि जान्छु थोरै सामान किन्नु छ । ऊ गएपछि म तरकारी पसल तिर लागे त्यहाँ तरकारी किने अनि मोजा पसल भएको तिर लागेँ । मोजा पसल सँगै एउटा स्टेस्सनरी पनि थियो । त्यहाँ ताजा पत्रिका टेबलमा राखिएको थियो । एउटा पत्रिकाले आँखा तान्यो अनि किनेँ । पत्रिकाको पहिलो पानामा लेखिएको थियो भारतले नेपाली भूमिमा सडक बनाइरहेको सन् २००५ देखि नै सरकारलाई थाहा थियो : परराष्ट्रमन्त्री । अर्कौ समाचार थियो उदयपुरमा लकडाउन खुकुलो बनाइँदै ।
पसलमै अर्को एउटा बासी पत्रिका पनि रहेछ जहाँ मे दिवसमा प्रधानमन्त्रीले लेखेको कविता छापिएको रहेछ । कविता पढेँ । लेखिएको थियो अब आँसु खसाउनु पर्दैन । आँसु खसाउँदै आफ्नो खुट्टामा हेरेँ अनि सोचेँ औंला हराएको कुरा पक्कै हाम्रो प्रधानमन्त्रीलाई थाहा छैन , थाहा भएको भए मैले यसरी रूनुनै पर्नै थिएन नि ।
मोजा पसल खुल्लै थियो तर किन हो पस्ने आँटै आएन । सायद औला गुमाएको दुःखमा मलाई केही जोड्नै मन लागेन ....
- बिजय लुईटेल
This comment has been removed by the author.
ReplyDeleteसुन्दर
ReplyDeletedherai dherai dhanyabad 🙂🙂
Delete