Photo: pixabay |
बतास बेग्लै तवरले बगेको थियो । मैले थाहा पाएँ बतास बतास नभएर एउटा भावना हो ,बतास खुसी हो, बतास हाँसो हो । त्यती मात्रै नभएर बतास एउटा गाडी हो जो सम्झना रहर सपना अनि यस्तौ अमूर्त भावनाको चिठ्ठी बोकेर ओहोरदोहोर गर्छ । भक्तपुरको एउटा डाँडाको घरको झ्यालमा चिउँडो अड्याएर फुर्सद मासीरहेको मलाई त्यतीबेला एकाएक बतासले बोलायो, अनि मैले बतासँग बोल्न सिकेँ । बोल्नेको पिठो बिक्छ भन्ने सुनेको मैले बतास सँग बोलेर मेरो उदासी बेचेँ । मैले सोचेको थिइन बतासले मलाई आफूसँग घुम्ने निम्तो दिन्छ अनि म उसको लहैलहैमा लागेर घुम्न निस्कनेछु । तर अब निम्तो दियो त दियो भनेर म बताससँगै बतासिएँ । झ्यालबाट एउटा मान्छे ठ्याक्कै त्यहीबेला हरायो ।
बताससँगै बग्दै थाहा छैन म कुन ठाँउ पुगेँ । कुनै डाँडा थियो , निभ्न लागेको रातो सुर्य बादलको सेतो गल्बन्दी बाँधेर मलाई हेर्दै थियो । पिपलको पातले गाएको गीत सुन्दै म त्यही पिपलको पाउमा बनेको चौतारीमा बसिरहेको थिएँ । निलो आकाशले चौतारीलाई छाता ओढाएको थियो, एउटा बिशाल निलो छाता । ठाँउ नचिनेर बतासलाई सोधेँ , कहाँ ल्यायौ तिमीले मलाई ? बतास कुदेर अलि पर गयो अनि एउटा खाँबोमा ठोकिएको ठाउँको नामलाई म तिर घुमाइदियो । रहरपुर चौतारी नाम देखेर म मुस्कुराएँ । छेउको बस्ने ठाँउमा हातले हिर्काउँदै मैले उसलाई मसँग बस्न बोलाएँ ।
बतास मेरो छेउमा आएर वरीपरी घुम्दै भन्यो मलाई प्रकृतिले बस्ने आज्ञा दिएको छैन , तिमी बस्दै गर म एकछिन डुलेर आउँछु । नयाँ ठाँउ त्यही पनि त्यो अपरीचीत डाँडो मलाई पक्कै डर लागेको हुनु पर्छ त्यसैले सोधेँछु , मलाई घर पुर्याउँदैनौ ? मैले प्रश्न सोध्दा पनि ऊ त्यसरीनै मेरो वरीपरी घुमिरहेको थियो । घुम्दै घुम्दै उसले भन्यो नडराउ रहर पुगुन्जेल यहीँ बस म तिमीलाई लिन आउँछु । म मुस्कुराइदिएँ तैपनि डराउँदै सोधेँ आएनौ भने नि ?
मेरो काँधमा हात राखेर उसले भन्यो अब त म तिम्रो साथी भैसकेँ , साथीको त्यती पनि विश्वास गर्दैनौ ? म फेरी मुस्कुराएँ , त्यसरीनै जसरी एउटा मिल्ने साथीले ढाडस दिँदा अर्को मुस्कुराइदिन्छ । मलाई एक्लो छोडेर तब मेरो साथी हरायो । म पनि सुर्यको सेतो गल्बन्दीमा हराएँ । पीपलको पातले उसरीनै गीत गाइरह्यो ।
रहर लागेरहन्थ्यो मलाई त्यसरीनै कुनै डाँडाँँमा बसेर सुर्य निदाएको हेर्ने , पिपलले गाएको गीत सुन्ने । मेरो साथी बतासले मलाई त्यो रहर सम्म पुर्यायो , त्यो रहर सँग चिनायो । त्यो साँझ मैले सुर्य निदाएको धेरैबेर हेरेँ । जब सुर्य निदायो, मेरो साथी बतासले मलाई फेरी बोलायो । टोलाएको रहेछु, झस्कदै उत्तर दिएँ । हामी फेरी डुल्दै डुल्दै भक्तपुरको एउटा डाँडाको घरको झ्यालमा आइपुग्यौँ ।
जाने बेला उसले आफ्ना हातले मेरो कपाल मुसार्दै भन्यो , भोली कहाँ जान्छौ साथी ? केही बेर सोचेर भनेँ भोलीनै भन्छु नि ल । राम्रो ठाँउ सोचेर राख ल भन्दै उ फर्कदै थियो , मेरो मनले अचानक एउटा प्रश्न जन्मायो । उसलाई सोधिहालेँ किन मेरा लागि यो सबै गरिरहेका छौ ? उसले फेरी मेरो कपाल मुसार्दै भन्यो साथी हौ तिमी मेरो । अनि मैले मात्र तिम्रो लागि केही गरेको हो भनेर नसोच । त्यस्तै कुरा गर्नै भए भन कसैले नसुन्ने मलाई किन सुनिदियौ तिमीले ? हामी मुस्कुरायौँ । मसँग मेरा साथी त्यो दिन त्यसरी बिदा भयो ।
अचेल हरसाँझ म भक्तपुरको एउटा डाँडाको घरको झ्यालमा उसलाई पर्खेर बस्छु ऊ मलाई खोज्दै आउँछ । हरेक दिन नयाँ ठाँउ जान्छौ हामी । ऊ भन्छ तिमी रहर मात्र गर म पुर्याउछु । हामी अब धेरै मिल्ने साथी बनिसकेका छौ , सधैँ घुमाएर त्यही झ्यालमा छाँडिदिने गरेको छ उसले मलाई । अचम्म त के छ भने रहरनै नपुग्ने, कल्पना मात्र डुल्ने कति ठाँउ पनि म उसँग डुल्दै पुगेको छु । म र मेरो साथी बतास अचेल सधैँ यसरीनै भेट्छौँ , आफ्ना अनेक रहरहरू मेट्छौ ।
सुन्दा अनौठो लाग्ने छ तर म र मेरो साथी बतास यस्तै छौँ, अनि हाम्रो कथा यस्तै अनौठो छ...
- बिजय लुईटेल
Comments
Post a Comment