Photo by Simon Berger on Unsplash |
बादल लागेको कारण बिहान मधुरो छ । केही बेरमा आकाश रोला जस्तो देखिएको छ । एउटा केटो बसिरहेको छ भरियालाई पर्खेर डाँडाको चौतारीमा । ऊ चार बर्षको हुँदा उसले चिनेको उसको साथी भरियालाई उसले आज बीसौँ पल्ट भेट्नेछ । चौतारी एकदम शान्त छ, एकाबिहानै भएकाले मान्छेको चहलपहल छैन त्यहाँ । त्यतीकैमा के झोक चल्छ त्यो केटो सुसेल्न थाल्छ कृष्ण बिक्रम थापाको सिन्धुली गढी घुमेर हेर्दा । सुसेल्दै पर पर डाँडा नियाल्न खोज्दै हुन्छ एउटा सानो आकृति पर साघुरो बाटोबाट उसैतिर आइरहेको देख्छ ।
एकपल्ट ध्यान दिएर त्यो आकृतिलाई हेर्छ, देख्छ उसको साथी भरिया जस्तै देखिने कोही उसैतिर आइरहेको छ। अझेै ध्यान दिएर हेर्दा ,टाउँकोमा नाम्लो अनि ढाडमा डोको बोकेको मान्छे भएकाले त्यो भरियानै हो भनेर बिस्वसत हुन्छ । मुहारमा एउटा अनौठो हाँसो ल्याएर ऊ हेरिहरहन्छ भरिया आउँने बाटोतिर । त्यताँ हेर्दा हेर्दै एककासी उसले भरियालाई एउटा सानो केटो जस्तो देख्न थाल्छ , जस्को टाउँकोमा सानो नाम्लो छ अनि ढाडमा सानो डोको देखिन्छ ...
भरियासँगको पहिलो भेट
यही ठाँउमा यसरीनै बसिरहेको थियो ऊ , भरिया पनि उसरीनै आएको थियो जसरी अहिले आइरहेको छ, ढाडमा सानो डोको बोकेर, टाउकोमा नाम्लो बाँधेर तर त्यसबखत भरिया अहिले भन्दा निकै सानो थियो । ऊ सम्झन्छ कति साना थियौ हामी , म अनि मेरो साथी भरिया । सम्झन्छ हाँमी भेट्दा केवल चार बर्षका थियौ । उसलाई सम्झना आउँछ भरियाले पहिलो भेटमा आफ्नो सानो डोकोबाट एक प्याकेट चक्लेट निकालेर उसलाई दिएको । त्यसरी हरेक भेटमा चक्लेट दिएकौ कारण होला केही बर्ष सम्म उसलाई उसको साथी भरिया, चक्लेट र खुसीको पर्यायवाची लागिरह्यो । हिजै जस्तो लाग्छ उसलाई भरियाले ल्याएको चक्लेट बाढ्न ऊ र भरिया सँगसँगै गाँउ डुलेको । चक्लेट ल्याएको दिन भरिया दिनै भरी उसैसँग हुन्थ्यो । दिनभर उनीहरू हाँसखेल गर्थे, एक अर्का साथमा नहुँदा भएका कुराहरू साट्थे । उसलाई भरिया आउँने दिन अध्यारो भए पनि उज्यालो लाग्थ्यो , किनकी त्यो दिन ऊ आँफै पनि उज्यालो हुन्थ्यो । राती ऊ सुत्ने बेला भनेँ भरिया उसँग बिदा माग्दै बाचा गर्थो यतै रह्यौ भनेँ म तिमीलाई भेट्न अर्को साल आउँनेछु, मिठा मिठा चक्लेट ल्याउँनेछु ।
साथीलाई कविता
केही बर्ष यसरीनै बित्दै गए । भरिया चक्लेट लिएर आउँथ्यो , दिनभर साथ बस्थ्यो अनि फेरी रातमा फर्की जान्थ्यो। मज्जाले सम्झना छैन उसलाई, सायद नौ बर्षको भएको हुनु पर्छ ऊ, या सायद दस । त्यो साल भरिया आउँनु भन्दा एक दिन अगाडि उसले सोच्यो यो पाली म मेरो साथीका लागि एउटा कविता लेख्छु । अनि त्यही रात धेरै बेर सोचेर एउटा कागजको टुक्रामा कलम र मन कुदाएर केही शब्द लेख्यो ।
कविता : साथी
डुल्दै र फिर्दै यो साल पनि
डोको बोकी आउँनेछ साथी
कोसेली चक्लेट र थोरै खुसी
पोको पारी ल्याउँनेछ साथी
अर्को साल पनि मलाई भेट्न
पक्कै नबिर्सी आउँनेछ साथी
लेखेको कविता पाइन्टको गोजीमा राखेर अर्को दिन ऊ यही चौतारोमा पर्खेर बस्यो । उसले सोचेको थियो मलाई खुसी दिने साथीलाई म पनि आज केही खुसी दिएर खुसी पार्नेछु । त्यो दिन उसको साथी अरू बेला भन्दा ठूलो डोको बोकेर आएको थियो । उसलाई लाग्यो आज मेरो साथीले मलाई अझै बढी कुराहरू ल्याइदिएछ । केही बेरमा भरिया आएर उसलाई अङ्गालो हाल्यो अनि चौतारीमा बस्दै आफ्नो टाउँकोको पसिना पुस्यो । भरिया बसेको मात्र के थियो उसलाई कविता सुनाउँने हतार भइहाल्यो । फटाफट आफ्ने गोजीबाट कागज झिक्यो अनि तिम्रो लागि लेखेको भन्दै भरियालाई एकै सासमा कविता सुनायो ।
उसले सोचेको थियो उसको कविता सुनेर साथी खुसी हुनेछ तर त्यसको नभएर साथी त झन निरास बन्यो । भरियाको निराशा देखेर नराम्रो मान्दै उसले सोध्यो साथी कविता मन परेन हो ? भरियाले नजर झुकाएर भन्यो माफ गर्देउ साथी, यसपाली चक्लेट ल्याउँन सकिन .....। केही बेर दुबै मौन रहेँ ......। अनि त्यो मौनतालाई तोड्न भरियाले डोको बाट एउटा फाउन्टेन कलम र चेलपार्क मसी निकालेर उसलाई दियो । साथी उदास भएकाले निस्ताइहरको उसको मुहारमा एकाएक खुसी छायो । खुसी हुँदै साथीको हातबाट कलम र मसी लियो । अनि साथीलाई धन्यवाद भन्यो । तयो धन्यवादले भरियाको मुहारमा हाँसो ल्याउँन सकेन । साथीलाई कसरी खुसी बनाउने बारे केही बेर सोचेपछि मसीको बट्टा खोल्यो, कलममा मसी भर्यो अनि कविता लेखेको कागज भुईमा राख्यो । हिजो पेन्सीलले लेखेको कविता निलो मसीले क्रस गरेर काट्यो अनि त्यस्कै तल सुधारिएको कविता लेख्यो ...
डुल्दै र फिर्दै यो साल पनि
डोको बोकी आउँनेछ साथी
कोसेली सम्झना र धेरै खुसी
पोको पारी ल्याउँनेछ साथी
अर्को साल पनि मलाई भेट्न
पक्कै नबिर्सी आउँनेछ साथी
कविता लेखिसकेर कलमको बिर्को लगायो अनि फेरी नयाँ कविता साथीलाई पढेर सुनायो । दुबै एकअर्कालाई हेरेर मुस्कुराए ...
भेटको सिलसिला
हरेक बर्ष त्यसरीनै भेटको सिलसिला चलीनै रह्यो । उसले चक्लेटको आस पनि गर्न छोडिदियो र चक्लेट आउँन पनि छोड्यो । उनीहरूको मित्रतामा त्यो चक्लेट हुनु र नहुनुले केही फरक ल्याएन, न कहिले उसले चक्लेटको कुरानै गर्यो न त कहिले भरियालेनै चक्लेटको बारेमा केही भन्यो नै । मित्रता भन्ने चिज यस्तै हो सायद, जहाँ केही कुराको आशा हुन्न त्यहाँ कतै निराशा पनि रहन्न । हरेक साल उसलाई भेट्न आउँने उसको साथी भरिया सधै केही न केही लिएरै आयो । कुनै साल किताब लिएर आयो कुनै साल उसलाई सुहाउँने लुगा लिएर आयो , कुनै साल उसलाई मनपर्ने खेलौना लिएर आयो । कुनै साल कोठामा सजाउँने फुलदानी लिएर आयो , कुनै साल कसैको चिठी लिएर आयो ...भरिया आइरह्यो ।
आज
छेउमा आएर भरियाले भारीको डोको राख्दा ऊ झसङ्ग हुन्छ । बिस्तारै उठेर उसलाई अङ्गालो हाल्छ । उसले देख्छ उसको साथी ऊ जस्तै जवान भएको छ , बलियो भएको छ ठूलो भारी बोक्न सक्ने भएको छ । तिमी त अर्कै भएछौ , भरियालाइ हेर्दै उसले भन्छ ।
उमेरको कमाल हो साथी तिमी पनि त अर्कै भएका छौँ । दुबै मुस्कुराउँछन् ..
अनि साथी के ल्यायौ त मेरा लागि आज ? उसले सधैको जस्तै प्रश्न गर्छ ।
यस पाली मैले डोको मात्र ल्याएको छु साथी , त्यो पनि खाली । ल्याउँनलाई मसँग अरू केही थिएन । त्यही पनि भौतिक सामानमा रमाउँने उमेर कहाँ रह्यो र तिम्रो ।
कहिलेकाही खाली हात आउँनेले पनि धेरै कुरा लिएर आउँछन् साथी । मलाई तिमी आयौ त्यही ठुलो कुरा भयो ।
आज उपहार छोडेर गफ मात्र गर्ने हो साथी । उपहार ल्याएपछि तिमी त्यतै भुलिन्छौ गफ गर्ने मौकै मिल्दैन ।
ए त्यसो भएर पो नल्याएको उपहार ?
साथीनै एउटा उपहार हैन र ?
त्यो त हो ।
चिन्ता नगर तिम्रो साथी त्यती निष्ठुरी पनि छैन । तिम्रो लागि केही ल्याएको छु ।
साँच्चै ? के हो भन त । उत्सुक्ताका साथ सोध्छ उसले ।
भरियाले आफ्नो पातलो ज्याकेटको गोजीबाट एउटा बट्टा निकाल्छ अनि उसलाई थमाईदिन्छ । बट्टामा एउटा नयाँ चस्मा हुन्छ । पावर वाला जस्तो देखिने त्यो चस्मा देखेर उसलाई अचम्म लाग्छ । किन ल्याइदिएछ साथीले यस्तो पावर वाला चस्मा भन्ने बुझ्नलाई ऊ साथीलाई सोध्छ ।
साथी मेरो आँखा त कमजोर छैन त । किन ल्याएकाे यस्तो चस्मा ?
साथी, यो चानचुने चस्मा हैन । यो चस्माबाट मान्छेको जीवनमा अर्थ राख्ने कुरा मात्र देखिन्छ , जादुयी चस्मा हो यो ।
साँच्चै हो ? म लगाएर हेरौँ ? विश्वास नगरेको भावमा उसले सोध्छ ।
साथीको बिश्वास लाग्दैन ?
लाग्छ । तर केही ब्रान्ड पनि छैन यो चस्मामा कसरी पत्याउँनु आँफै भन न ।
अँ लेखेको त छैन । तर मलाई थाहा छ कुन ब्रान्डको हो ।
कुन हो ? भन त ।
उमेर ....
अचम्मको ब्रान्ड रहेछ । नेपालीनै जस्तो छ नामले त । जे होस तिमीलाई धन्यवाद ।
साथीलाई धन्यवाद भन्नु हुन्न के । .. हाँसीदिन्छ ।
यस्तै यस्तै गफमा भुलेर दिन बित्छ । साझमा मात्र उनीहरू भरियाले बोकेको डोको घरको ढोकामा अडाएर भित्र पस्छन् । त्यपछि खाना खाएर उनीहररू उसको सुत्ने कोठामा उक्लन्छन् , त्यहाँ पनि केही बेर गफ गाफ गर्छन , सुख दुखका कुरा साट्छन् . रहर , सपना सबैका गफ गर्छन् । गफ गर्दा गर्दै रात निकै छिप्पन्छ । अनि बल्ल समयको होस आएर भरिया भन्छ, साथी अब मेरो जाने बेला भयो , बिदा देउ मलाई । ऊ हातमा बाधेको घडी हेर्छ , रातको बाह्र बज्न लागेको हुन्छ ।
भरिया बिस्तारै बसेको ठाँउबाट उठ्छ अनि आफ्नो साथीलाई अङ्गालो हाल्छ । भरिया उसँग बिदा माग्दै सधैझै बाचा गर्छ यतै रह्यौ भनेँ म तिमीलाई भेट्न अर्को साल आउँनेछु ।
उसले अङ्गालोबाट छुट्दै भन्छ । हिड म तिमीलाई तल सम्म पुर्याउछु ।
तल त पुर्याउँछौ होला तर पहिला मैले लयाएको उपहार एक पल्ट लगाएर त हेर ।
ल ल हिँड म तिमीलाई नयाँ चस्मा लगाएरै तल छोडिदिन्छु ।
चस्मा लगाएर ऊ साथीलाई छोड्न बाहिर निस्कन्छ । भरिया ढोकामा उभीएर आफ्नो जुत्ता लगाउँछ । अनि फेरी उसलाई एकपटक अङ्गालो हालेर आफ्नो बाटो लाग्छ ।
ऊ ढोकामा उभिएर गइरहेको साथीलाई हेर्छ । उमेरले उ जत्रै भएको साथीको ठूलो ढाड केही बेर सम्म देखिन्छ, त्यतीकैमा उसलाई साथीले डोको बिर्सेको याद आउँछ अनि आवाज दिन्छ , साथी डोको बिर्सीयौ । उसको आवाज सुनेर भरिया एक पल्ट पछाडि फर्कन्छ, उसलाई हेरेर मुस्कुराउँछ अनि फेरी उसलाई ढाड देखाएर अन्धकारमा बिलिन हुन्छ । भरिया गए पछि एक पल्ट अघि डोको राखेको ठाँउ हेर्छ , त्यहाँ डोको हुँदैन । अचम्म मान्छ डोको हराएको देखेर । धेरै बेर त्यही उभीएर सोच्छ आखिर कहाँ गयो त डोको ? सोच्दा सोच्दै आँखामा केही अप्ठ्यारो भएको अनुभव गर्छ । अनि एकछिन अगाडि लगाएको चस्मा खोल्छ अनि डोको राखेको ठाँउलाई हेर्छ ।
भरियाको परिचय
घरको ढोका लगाएर बिस्तारै एक तला माथीको कोठामा उक्लन्छ । टेबलमा राखेको बोतलबाट दुई घुट्को पानी पिउँछ । त्यही टेबलमा चस्माको बट्टा लडिरहेको हुन्छ । उसले बट्टामा एउटा सानो कागजको टुक्रा देख्छ । कागज बट्टाबाट झिक्छ र खोलेर पढ्छ । कागजमा लेखिएको हुन्छ : जन्मदिनको धेरै धेरै शुभकामना साथी अनि तल त्यो शुभकामना लेख्नेको नाम लेखिएको हुन्छ, जन्मदिन ।
- बिजय लुईटेल
Comments
Post a Comment