Photo by: Rafael Guajardo/ pexels |
नवराज आज उत्पातै खुसी छ । त्यो उत्पात खुसीलाई अझ भव्य बनाउँनका निम्ति मदिरा पसल जाने निधो गरेको छ । घाँटी हेरेर हाड निल्नु भन्ने उखानको अनुयायी भएका कारण आफ्नो गोजीलाई मध्यनजर गर्दै भर्खरै उसले सामानको सानो लिस्ट बनाएको छ । सामानको लिस्ट यस प्रकारको छ :
१. दुई बोतल बियर
२. एक प्याकेट चाउचाउ
३. एक प्याकेट नुनिलो बदाम
४. एक प्याकेट आलु चिप्स
नवराजलाई मान्छे, मानसिक छ यो भन्छन् , उसका कुरा र प्रश्नले गर्दा । उसले भने आफुलाई सधै अरूभन्दा फरक र योग्य मान्छ । मान्न पनि किन नमानोस, हरेक कुरामा उसको आफ्नै तर्क हुन्छन् । एकदमै धेरै किताबहरू पढ्छ अनि सबै कुरामा चासो पनि राख्छ । हरेक कुरालाई जरै सम्म खोतल्नु उसको बानी हो र ऊ मान्छ कि केही कुरालाई बुझ्न त्यसको जरै सम्म जानु जरूरी छ , उसको मान्यताले उसको व्यवहारमा प्रस्ट प्रभाव पारेको देखिन्छ ।
साँच्चै भन्नु पर्दा नवराज हसिलो मान्छे भने हैन , आज जस्तै खुसीको माहोलमा मात्र ऊ थोरै हसिलो देखिने गर्छ । पक्कै पनि मदिरा पसले आज उसलाई देखेर छक्क पर्नेछ , सोध्नेछ के को खुसी हो भाई यस्तो भनेर । तर उसले त्यो पसलेलाई आफ्नो खुसीको कारण भन्न सक्ने छैन । उसको खुसीको कारण जोकोहीलाई पागलपन लाग्नु स्वभाविक छ ।
खुसीको कारण के छ भने, उसले आज आँफुलाई सधै हेर्न मन लागिरहेको फिल्म आफैँ बटुलेर बनाएको छ । फिल्मको नाम राखेको छ : देथ फुटेजेज ( Death Footages )। फिल्ममा कोही मुख्य पात्र भने छैनन् , यो बस केही मान्छेले खिचेको फुटेज र तस्बिरलाई बटुलेर बनाइएको एउटा छोटो फिल्म हो । यस फिल्ममा नवराजका आफ्ना फेसबुकका साथीहरूले आफ्न्त मर्दा फेसबुकमा अपलोड गरेको लासको फोटो र लास जलाउँदै गर्दाको भिडियोहरू समेटिएको छ । अब यो कुरा सुनाउँदा कुनचै मदिरा पसलले पागल नभन्ला र उसलाई ? मदिरा पसले मात्र हैन सबैले पागलनै भन्छन् ।
उसको फिल्म हेर्ने तरिका अरूको भन्दा केहि फरक छ । सधै उसको छेउमा कापी र कलम हुन्छ जस्मा उसले फिल्मका मनपरेका कुरा, सिकेको नयाँ ज्ञान अनि आफैँलाई फिल्म सकेपछि सोध्नु पर्नै प्रश्न टिपेर राख्ने गर्छ । फिल्म हेर्दा हेर्दै केही मनपर्यो भने ऊ फिल्म पज गरिहाल्छ,मन परेको कुरा दुई चार पल्ट दोर्याएर हेर्छ । आज पनि सधैझैँ कापी, कलम , वियर र सितन राखेर ऊ फिल्म हेर्न बसेको छ ।
नवराजले भर्खरै एउटा टुबोर्ग बियरको क्यान खोलेको छ र सितनका लागि छेउमा चाउचाउ, बदाम अनि आलु चिप्स मिसाएको प्लेट राखेको छ । खाँदै, पिउँदै, फिल्म हेर्दै छ । फिल्मको पहिले दृश्यमै एउटा लास खोलाको बगरमा जलिरहेको देखिन्छ , मान्छे र दाउरा बलेको चटट आवाज आइहरेको हुन्छ , लासको छेउमा लासका आफन्त निराश भएर उभिएका हुन्छन् । कोही भुईँमा लडेर रोइरहेका हुन्छन् । अनि त्यही कतै कोही आफन्त मोबाइलले लास जलेको भिडियो या फोटो लिइरहेका देखिन्छन् । नवराज मनमनै ती क्यामराम्यानलाई धन्यवाद दिइरहेको छ, त्यसता मान्छे नभएको भए सायद उसले आज फिल्म हेर्न पाउँने थिएन भन्ने उसलाई लागिरहन्छ ।
खोलाको भिडियो सकिए लगतै अर्कौ त्यस्तै भिडियो चल्छ जसमा भने लास कुनै आर्यघाटमा जलिरहेको हुन्छ । ऊ भिडियो पज गर्छ र केही टिपोट गर्छ । अनि वियर पिउँदै फिल्म फेरी प्ले गर्छ । बिस्तारै भिडियो चल्दै जान्छ, नवराज नयाँ लागेका केही कुराहरू लेख्दै पनि जान्छ । पाँच सात ओटा भिडियो सकिएपछि, मरेको केही बेरमै खिचिएका मान्छेहरूको लासको फोटो देखिन थाल्छन् । सबै फोटो उसले दोर्याउँदै हेर्छ, कोही कोही त पाँच पल्ट सम्म पनि हेर्छ । पज गरेर केही सोच्छ, टिपोट गर्छ । कोही बेला हेर्दा हेर्दै मुस्कुराउँछ , कोही बेला खिन्न पनि हुन्छ । लगभग एक घण्टा हेरेपछि फिल्म सक्छ । मदिरा चढेकाले अलिक झुप्प झुप्प भएको अनुभव गर्छ , ल्याप्टप निभाएर खाटको घर्रामा घुसारिदिन्छ । छेउको बोतलबाट ठाडो घाँटी लगाएर थोरै पानी पिउँछ ।
पानी पिएर आफुले लेखेको कापीमा हेर्छ, । आँफैले लेखेका कुराले उसलाइ नमिठो अनुभव गराउँर्छ । आँफैले लेखेका केही प्रश्नले नाजबाफ बनाउँछ । मदिराको नशाले कापी बिस्तारै तिरमिर देख्न थाल्छ त्यसपछि कापी पनि छेउमा राखेर मदिराले लाटीएको ऊ बिस्तारै बिस्तारै निदाउँदै जान्छ । खाटमा उसले लेखेको कापीको पानबाट उसका अक्षर केही बोलीरहेका छन् । उसले टिपेका कुराहरू यस्ता छन् :
१. लासलाई कहिले पनि फोटो खिच्न मन लाग्दैन त्यसैले होला सायद कुनै लास हाँस्दैन ।
२. हरेक मलामीमा जति मान्छे हुन्छन् त्यती नै मोबाइल पनि हुन्छ ।
३. यदी भग्वानले मरेका मान्छेलाई फेरी ब्युझेर एउटा अन्तिम भाषण देउ भन्नुभयो भने त्यो लासले फोटो खिच्नेलाई केही भन्थ्यो होला ?
४. लास फोटोजेनिक हुँदैनन् ।
५. के मरेको मान्छेको सम्झना त्यती कम्जोर हुन्छ कि ऊ मरेपछि उसलाई केही बेर सम्झन भन्दा पहिला मान्छे मोबाइल सम्झन्छ ?
६. के फोटो खिचेर सम्झना हुन्छ भन्दै मान्छे, मान्छेलाई सम्झनु पर्ने कर्तव्यबाट आँफैलाई भगाउँदै त छैन ?
नवराज अहिले मस्त निदाइरहेको छ... भोली सबेरै उठ्नेछ अनि आँफैले लेखेको कापी पढ्नेछ, त्यसपछि उत्तर खोज्न भौतारिनेछ । आँफैलाई सोध्नेछ , अरूलाई सोध्नेछ , भोलीबाट त अझै ठूलो मानसिक कहलिनेछ ।
- बिजय लुईटेल
Comments
Post a Comment