चढाइ निरर्थक लाग्छ , व्यर्थ लाग्छ ।
पर्खालमाथि, न कोही छ बसेको
न आवाज सुन्छु, कसैले आइज भनेको
नहुँदा बाटो कतै , आफैँ कोरेर
कहाँ पुग्न लम्किरहेको जन्तु यस्तो ।
म, मानिस जसै जसै त्यो दृश्य हेर्छु
कुनै मानिस त्यसरी नै पर्खाल उक्लेको देख्छु
समाज हाँसेको, कानमा गुन्जिरहन्छ
के उद्देश्य नहुनु नबाँच्नु सरह हो ?
अर्थ, अर्थ भनेर बहुलाउने म मान्छे
खोज्छु, किरो पर्खाल चढ्नुको अर्थ ।
जब जब खतरा हुन्छ भुमिमा
या रासायनिक सङ्क्रमण हुन्छ उसलाई
एउटा अनौठो वासना निकाल्दै
ऊ चढ्छ कुनै अग्लो स्थानमा
ताकि त्यो वासना उसका साथीलाई,
आउने खतराको सूचना बनोस,
अनि त्यही सूचना दिँदा दिँदै ऊ
आफै एउटा मृत्युको सूचना बन्छ ।
म अर्थको भोको मान्छे
अर्थ पाएर त्यसै हर्षित हुन्छु
अनि त्यही अर्थले विचलित पनि ।
सोचेको थिएँ कविता लेख्नेछु एउटा
बिना उद्देश्य बाँच्नु पनि बाँच्नुनै हो भनेर
तर अर्थको खोज, कविताको पासो बन्यो ।
मानिस हुँ , अर्थ बुझे पनि नबुझेझैँ गर्छु
जानेकै कुरा पनि, त्यसै सोध्ने गर्छु
मलाई हार्नु छैन एउटा नाथे किराेसँग,
त्यसैले उसको कानमा फुस्फुसाउँछु ।
ए बाध्यताले पर्खाल चढ्ने किरो
तेरो हुनेवाला मृत्युको खेद छ मलाई,
बैकुण्ठमा बास होस तेरो
तर जाँदा जाँदै एउटा सानाे कुरा बताइदे ।
के तैँले कुनैदिन रहरले पर्खाल चढिस् ?
बाँच्नु र जिउनुको फरक त्यहीँ थियाे …
- बिजय लुईटेल
Comments
Post a Comment