Just because you do not take an interest in politics doesn't mean politics won't take an interest on you
- pericles
चुपचाप आफ्नो कोठामा आनन्दले पल्टिरहेको मसँग आज एक्कासी politics ले interest लिएको छ । मलाई थाहा छैन मेरा उमेरका युवा के सोच्छन् , उनीहरूको विचार के छ । मलाई यो पनि थाहा छैन कि मैले सोचेका कुरा युवा सोच्छन् कि सोच्दैनन् । उनीहरूको मनमा मैले लेख्ने कुराले ठाँउ ओगट्छ कि ओगट्दैन । यो स्वतन्त्र देश भएकाले मलाई पनि केही कुरा राख्न मन लाग्यो । थाहा छ मलाई यो पढेर मेरा कुरा सँग रिसाउने मान्छे पनि धेरै भेटिन्छनु अनि खुसी हुने पनि सायद भेटिएलान् । मलाई केपी ओली समर्थक पनि भनेर भन्न सक्छन् तर त्यस्तो नठान्नु होला म केवल सरकार समर्थक हुँ , चाहे त्यो राजाको होस , कम्युनिस्ट होस वा कङ्गेस किन नहोस । यो लेखलाई केबल देशको बारेमा सोच्न बसेको एउटा २४ बर्षे केटोको मनोभाव मात्र सम्झेर मेरा कुरामा राजनीति मिसाइदिनुभएन भने म हुनु पर्ने भन्दा बढी खुसी हुनेछु । मलाई लाग्छ सोचमा राजनीति हैन राजनीति मा सोच मिसिनुपर्छ ।
भर्खर उठेर फेसबुक खोलेको थिएँ , देशमा हुँदै गरेका कुराहरूको अल्प ज्ञान पाएँ , अल्प ज्ञान यस अर्थमा कि मेरो दिमागमा ज्ञान भर्ने पत्रकार अनि देशका पत्र पत्रिका सँग पनि पुरा ज्ञान छ जस्तो मलाई लाग्दैन । अब यसो नभन्नुस कि मैले नेपाली पत्रकारिताको बिरोध गरेँ । मानौ न दुई जना साथीको बीच झगडा पर्यौ भने ती दुई जनालाई प्रश्न गर्दा त दुईको बाली फरक आउँछ, कतै न कतै झुट मिसिएर अनि राजनीतिको खबर गर्नै पत्रपत्रिकाले पुर्ण सत्य लेख्छन् भन्ने म मान्दिन , उनीहरूको गल्ती पनि होइन त्यो । देशका कुराहरू फेसबुकमा हेर्दा हेर्दै मलाई देशको बारेमा सोच्न मन लाग्यो । अनि सोच्न थालेँ :
अब हाम्रो प्रधानमन्त्रीले के गर्छन ? हामी के गर्छौ ? के फेरी राजतन्त्र फर्कन्छ ? या फेरी यो सरकार ढलेर अरूनै सत्तामा आउँछन् ? हामीले हाम्रो जमीन फिर्ता पाउँछौ पाउँदैनौ ? के अन्याय भएका सबेले न्याय पाउँछन् ? अब यो आन्दोलनले कस्तो असर पार्छ सरकारमा ? आन्दोलनकारीलाई कारोना लाग्यो भनेँ के गर्ने ? यदि अर्का चुनाब भयो भनेँ कसलाई भोट दिने या नदिने ? नदिए किन नदिने ? अब देशमा कस्तो परिवर्तन आउँछ ? अब हाम्रो हाम्रो प्रधानमन्त्रीले के गर्छन ? हामी के गर्छौ ?
यस्तै यस्तै प्रश्नहरू दिमागमा एकाएक घुमिरहेका थिए । म खाटमा बसेर यसकै बारेमा सोचिरहेथेँ । सोचेँ, के यसको उत्तर खाटमा बसेर पाइन्छ ? कि म जाउँ सबैसँग बाटोमा सरकारको बिरोध गर्न । तर यस्तो महामारीको बेलामा मलाई पनि रोग लाग्यो भनेँ अनि अरू कसैलाई सारे भनेँ ?
म एकाबिहानै मेरो र सरकारको सम्बन्धको बारेमा सोचिरहेको थिएँ । मलाई मेरो सरकार र मेरो सम्बन्ध बाउ र छोराको जस्तो लाग्यो । एउटा अनौठो बाउ र एउटा अनौठो छोरो । बाउ र मेरो सम्बन्धका बारेको म गहिरिएर सोचेँ तब एउटा अचम्मकाे कुरा कल्पिन पुगेँ ।
बाउ र म कतै एउटा स्वीमिङ्ग पुलमा थिएछौ , मलाई पौडन मन लागिरहेका थियो । बाउ मलाई पुल एकदमै गहिरो छ नजा भनिरहेका थिए । म बाउसँग मुख मुखै लागिरहेका थिएँ भन्दै थिएँ पौडन पाउँनु मेरो अधिकार हो । बाउ मलाई सम्झाउँदै थिए, बाबु बरू ट्युब लिएर जा मरिन्छ भन्दै थिए । म कराइरहेको थिएँ पर्दैन म जान्छु मेरो अधिकार हो पौडनु म गएरै छोड्छु । त्यती भनेर म पानीमा हामफाली दिएँ । म डुब्न लागेको देखेर मेरा बाउ पनि पानीमा हामफाले । हामी दुबैले तैरन सिक्यौ । तैरन त सिक्यौ तर हाम्रो शरीर चलेन । बाउ छोरा शान्त भएर पुलमा तैरिरहेथ्यौ । समय हाम्रो मुर्खतामा गलल हाँसीरहेको थियो ।
पुलको कल्पना बारेमा सोचेँ त्यसले एउटा प्रश्न गर्यो । मैलै बाउलाई मारेको कि बाउले मलाई ? जाबो कल्पनाकाे कुराे त हो नि के उत्तर दिनु भनेर त्यता तिर ध्याननै दिइन ...
मलाई लाग्छ हामी सबै सरकारका छोरा छोरी हौँ । मेरा पुर्खा सरकारका छोरा छोरी थिए म पनि हुँ अनि मेरा छोराछोरी पनि सरकारकै छोराछोरी हुनेछन् । यो एउटा सत्य हो र रहिरहनेछ । अहिलेको सरकार मेरै बुबा हुन , हाम्रै बुबा हुन् । हरेक मान्छेमा केही कम्जोरी हुन्छ भनेझै उनमा पनि कमजोरी छन् । खासमा हामी टुहुरा हौ हामीलाई जसले पाल्छ हामी उसैका छोरा ।
यस समय सम्म आईपुग्दा हाम्रा अनेक बाउ फेरिएका छन् र सबैका अनेक चरित्र रहेका छन् । कोही राजा जस्ता थिएँ कोही कांग्रेस जस्ता कोही कम्युनिस्ट जस्ता । तर बाउ जस्ता कोही थिएनन् । यसमा हाम्रो पनि धेरथोर गल्ती छ , हामीलाई बाउ छान्नै आउँदैन , हामी पार्टी हेरेर बाउ छान्छौँ , गुण हेरेर होइन । दुख यो कुरामा लाग्छ कि हामीले कहिल्यै देश बनाउँन राजनीति गरेनौँ आफ्नो सरकार बनाउँन मात्र गर्यौ । अनि हामी पनि केबल छोरा छोरी हौइनौ राजाबादी छौ कोही कोही कांग्रेस , कोही कम्युनिस्ट कोही के कोही के । हाम्रा बाउ पनि आफ्नो कर्तब्य बिर्सैर बिकामे बाउ भएका छन् हामी पनि आफ्नो कर्तब्य बिर्सैर बिकामे छोराछोरी भएका छौ ।
म बाउलाई सम्झाउँन सकिरहेको छैन बाउ मलाई सम्झाउन सकिरहेका छैनन् । एकदमै रिस पनि उठ्छ घरी घरी बाउसँग । अस्तिको कुरा हो बाउलाई रिस उठेर जथाभावी भनिदिएँ बाउले मलाई दुई थप्पड लगाइदिए । हामीमा एउटा नराम्रो कोल्ड वार चलिरहेको छ ।
मेरा बाउ मलाई माया नगर्ने हैन देखाउँन नजान्ने हुन अनि म पनि बाउलाई माया नगर्ने हैन देखाउँन जान्दिन । हामी दुबै कम्जोर छौ , राजनैतिक हिसाबले हैन नैतिक हिसाबले मात्र । आजकल मलाई डर लागिरहेको छ । घरमा कलह हुने डरले मन काँपीरहेको छ । बेला बेला सोच्छु छिमेकीले यस्तै भइ रह्यो भनेँ कुन दिन काखीमुनि हात राखेर खुचिङ्ग भन्नेछन् ।
सोच्छु मेरो घर बिर्गनुमा कसको गल्ती छ ? भोली छिमेकील गिज्यायो भनेँ कसलाई औल्याउनु यो गलत छ भनेर ? मलाई सम्झना छ एक पल्ट बाउ सँग रिस उठेर मैले मेरो कोठाको झ्यालको सिसा फुटाएको थिएँ अनि बाउले बनाएर दुई झापट लगाएका थिए । अनि केही दिन पछि पानी परेर मेरो कोठामा त्यही झ्यालबाट पानी पस्यो । मलाई त्यतीबेला मात्र ज्ञान भयो कि मैले गल्ती गरेँ भनेर । सिसा फुटाउनुको साटो मैले त्यो दिन मेरो घर सफा गरेको भए सायद मेरा बा खुसी पनि हुन्थे अनि सायद मैले भनेको कुरा पनि पो पाउँथे कि ? तर अब बिगतका कुरा सोचेर के फाइदा ।
साँच्चै मेरो घर बिग्रेको देखेर नमिठो अनुभव हुन थालेको छ मलाई । मेरा बाउ बाउ जस्तो गर्दैनन् म छोरो जस्तो गर्दिन । घर बिर्गन नदिन केही न केही उपाय त लाउने बेला आएको छ । तर के गर्न सक्छु र म ? ....
बरू यसो गर्छु म एक असल छोरो बन्छु पहिले अनि बाउलाई पनि एउटा असल बाउ बन्न कर पक्कै लाग्नेछ । बाउलाइ असल बाउ अनि आफुलाई असल छोरो बनाउनु मान्छेको कर्तब्य पनि हो नि । बाउ फेरिन्छन् भने बाउ किन फेर्नु ?
म त बाउसँग लडेर संसार हसाँउनु भन्दा बाउसँग हाँसो साट्नु बेस ठान्छु । तपाईहरूलाई के लाग्छ ? तपाईहरूलाई यस्तै लाग्नु पर्छ भन्ने पनि छैन । देश स्वतन्त्र छ अनि तपाईहरू पनि ....
- बिजय लुईटेल
Comments
Post a Comment