अलिक पर सम्म प्रस्ट देख्ने भएको छु । यो हैन कि आँखा कमजोर छ । चेतनाको कुरा गर्दैछु । भविष्यलाई बर्तमानमा हेर्ने र छाम्ने दुस्प्रयास हो एउटा । फेरि बिरोधाभाष पनि छ कि अहिले छामेका कुराहरु पछि जिवित नहोलान् भनेर । यो उमेर को दोष हो वा चेतनाको दोष हो हरेक कुराको ठोस् उत्तर नखोजी बिश्राम नलिउँ भन्छ । एका बिहानै कविता फुरेको थियो तर कागजमा उतारिन । अहिले थोर बहुत मात्र याद छ । सोचिरहेको छु त्यस सोचलाई केहि समय दिएर कविताका रुपमा जिवन्त बनाइदिउँ । हेर्ने कथाको बाघको बङ्गारा नामक बृतचित्र दोहोर्याएर हेरेँ । डरलाग्दो भिरमा झार समाएर भिर माहुरीको मह काढ्न हिँडिरहेका मानिस देखेर मलाई पनि कहि कतै काउकुती लाग्यो । काउकुती यस्तो थियो ।
जीवन यात्रामा भिरै भिर हिँडेँ
निकै झार समाएँ
तिनको अस्तित्व मारेर
प्राण आफ्नो बचाएँ
सोधिन झारलाई
दुख्यो कि तिमीलाई भनी
भनिनँ माफ गरिदेउ
प्रयोग गरे तिमीलाई भनी
साला स्वार्थी मानिस
भित्रै गडेको छ
निकाल्न खोज्छु
अडिदैन !!!
फेरि झार समाउँछ
अपरिभाषित स्वतन्त्रता
छेरुवा स्वतन्त्रता
समाउनै भए
किन खोज्छ उम्कन ?
बिचारहिन स्वतन्त्रता
मिथ्या स्वतन्त्रता
बाघकै बङ्गारामा छ
एक जीवन
भीरको झारसरह
मेरो पनि गुज्रिरहेछ
कति थोक थुपार्छ यो प्रविधिले मेरो मगजमा । एक छिन बाघको बङ्गारामा थिएँ । फेसबुकमा रसिया युक्रेन युद्ब देखा पर्यो । जीवन जिउने कला सिक्ने मन थियो जीवन नास्ने कुरा देखियो । कविता फुरेन । हुन पनि कविता कता मुत जस्तो आएको आयै गर्छ र । म कवि हुनु त बस मेरो हबी हो । ( म लेख्दा लेख्दै हाँसे है , माफ गरिदिनुहोला ) बेला बेला आफैले आँफैलाई हसाउन बढो मजा लाग्छ मलाई । यस्ता फन्टुस लाइन लेखेर नापिस् लेखक हुन । ( यो चाँहि आफैलाई सम्झाएको । ) फेरि हाँसिदिएँ ।
यो मुला लेखक लेख्छ चाँहि किन ? बाघको बङ्गारा को बारेमा लेख्न किन जरुरी थियो ? थाहै छैन । नलेखी चुपै पनि बसुँ लाग्छ तर फेरि लेख्दा के जान्छ भन्ने कुरो हाबी भइ दिन्छ । केही दिन अघि बाट एउटा अनौठो बेचैनीले चिमोट्न थालेको थियो, त्यसैलाई मेटाउन कविता संग्रह छाप्ने निधो गरेँ । पाण्डुलिपि तयार गरियो । एकाएक राजु झल्लु प्रसादको सम्झना आयो अनि फोन लगाए । नामै झल्लु हो एक कलमा उठाएनन् । उमेरले म भन्दा कान्छो तर किन हो दाई झल्लुले दोस्रो कलमा फोन उठाए र बधाई दिए । छापिएला कि नछापिएला टुड्गो छैन ।देख्न चाहिँ म दुवैमा कुनै अर्थ देख्दिन । तिम्रो चेतना राम्रो छ भाइ भनि टोपल्छन् राजु बेला बेला । मलाई भने यो अतरङ्गी चेतनालाई बेला बेला मासिदिन मन लाग्छ अनि कुनै फकिर जस्तो एकान्तमा बसेर टोलाइदिन मन लाग्छ । नलेख्नु ,नबोल्नु ,नखोल्नु यी तिन कुराको रस चाख्न मन लाग्छ । अद्धभुत हुने थियो सायद ।
अलिक पर सम्म प्रस्ट देख्ने भएको छु । यहि हो त प्रस्ट देखेको ? मजाक चलिरहेको छ जीवनमा । जीवननै मजाक सरह छ । बेला बेला अर्थ खोज्नु जीवनलाई निरर्थक बनाउनु हो भन्ने चेताकाको बिकास हुँदै छ । अचम्म छ कि म यो महशुस गर्न सक्छु । कहिले मिठा सम्झना सम्झन्छु, तिनलाई नलेखेरै कसरी बाँचियो लाग्छ । कति सम्झनालाई फेरि लेखेरै पनि साँचेको सम्झन्छु । त्यो पनि निकै लाग्छ । यो चेतना रिमोटको ब्याट्री जस्तो भइदिए सितल हुने थियो मन नलाग्दा झिक्यो मन लाग्दन फेरि कोच्यो । टन्टै साफ ।
बिहान तुमहारी औकात क्हाँ हे पियुष मिश्रा पढेँ । त्यहाँ पियूष जी आफना बालापनका कहानी सुनाइरहेका थिए । आफ्नै बालापन सम्झेँ । भन्दिन तर । भनेर के पाइन्छ ? नभनेर के पाइन्छ ? उनले त्यहाँ आफ्नो पहिलो चुम्बनका बारे बताए । म बताउँदिन । यो १८ प्लस लेख हैन । मलाई बाहेक सबैलाई समेट्छ यस्ले । म यहाँ छैन । टुक्रा टाक्री मात्र छन् मेरा चेतनाका । म यो हैन जे म लेख्दैछु र हुँ पनि । के लेखेको होला भन्ने लाग्दै छ । तर यत्रै सिद्दि !!!! लेखिदिन्छु । जे परे परोस् ।
जोड्न धेरै कुरा छन् । प्रेम छ , दर्शन छ , खोया जस्तो राजनीति उर्फ लाजनीति छ , जीवन , जागिर उद्देश्य सबै छन् । तर यी सब कुरा म सँग मात्र हैन सास फेर्ने सबै सँग छ । बिजय लुईटेलको मात्र किन लेखिनु पर्ने ? यो प्रश्न मलाई कसैले नसोधोस् । मसँग यसको उत्तर छैन । हुने पनि छैन सायद । मेरा हजुरबाले जङ्गली देउतालाई कसरी पुज्ने भनेर लेखेका भए हुने सायद । केेहि भलो हुने थियो म पनि यसो हेने मेने गर्ने थिएँ । सहरका जङ्गली मानिसलाई पनि यसो बसमा पारिन्थ्यो कि । आफै पनि जङ्गली भएको छु आफैलाई बसमा पार्न पाए नि बेसै हुन्थ्यो । कहिले काँही मलाई दैवी शक्ति छ जस्तो लाग्छ । मुल घरमा भुत प्रेतले तर्साएको धेरै कहानी सुनेको छु बा र आमाबाट । यस सहरमा त अपेक्षा ,उपेक्षा , सपना, विपना अनि व्यस्तता र फुर्सदले मात्र तर्साउँछन् । बेला बेला बस्तु चराउँन जङ्गल पसेर बाँसका झ्याङलाई सुसेली सुनाइदिउ लाग्छ । आउँदैन सुसेल्न त । जङ्गलले सिकाउने थियो कि भन्ने आशा मात्र हो ।
सहरले उदासी फ्याँक्छ । सान्त्वना दिन्छ कि केही सुन्दर हुन्छ । कोलाहल कुरुप चिज हो । तर मन त्यसमै शान्ति खोज्छ । कुभिन्डो सहर मेरो सोच बिपरित बग्छ या म उल्टो बग्छु चेतनाले खुट्याउँदैन । अस्तिनै बाटो हिलो भएकाले जुत्तामा हिलो लागेको थियो । एक दुई पल्ट सफा गरेँ । घर पुग्दा उस्तै । अर्को दिन नपुछि लगाएर हिँडेँ । सिकसिको लाग्न छोडेछ । सहर पनि अचेल सिकसिको लाग्दैन । कहिले काँही पथ्थरबाट पनि फुल उम्रन्छ । म पनि फुलुँला कुनै दिन ।
बिस्तारै दिन चढ्दैछ । सहरलाई मैले उमेर बुझाउनु छ । जागिरे भएको छु । आजको दिनलाई फेरि राजधानीका सडकमा घिसार्नु छ । घरै घरको सँसारमा पनि थाहा नपाएरै भिरको झार बन्नु छ । हेरौँ आज म कसलाई र कसले मलाई समाउँछ । बाँच्ने र बचाउँने यो क्रम सहरमा दिनहुँ चल्छ । म पनि तपाईहरुझैँ यहि सरकस को नायक हुँ । तमासा देखाउनु धर्म हो मेरो ।
यहाँ आएर हिन्दी लेखक शैलेन्द्रले लेखेको मेरा नाम जोकर फिल्मको एउटा गीत याद आउँछ । सुन्नु भएको भए पढ्दै गाउनु होला । नआए पढे मात्र पनि अर्थ लाग्छ ।
ये मेरा गीत जीवन संगीत
कल भी कोई दोहरायेगा
जग को हँसाने बहरूपिया
रूप बदल फिर आयेगा
स्वर्ग यहीं, नर्क यहाँ
इसके सिवा जाना कहाँ
जीना यहाँ, मरना यहाँ
इसके सिवा जाना कहाँ
अपुरो लेखेँ जस्तो त मलाई पनि लागेको छ । कहाँ कता अझै लेखलाई नलम्ब्याउन नसक्ने हैन । तर किन लम्ब्याउँन सबैलाई सरकस देखाउने हतारो हुँदै हुन्छ । मलाई पढ्ने फुर्सद कस्को ? म आँफै अधुरो छु । म बाट पूर्ण लेखको आशा नराखेकै राम्रो । यहाँ सम्म पढेउ भने पनि केहि नापेका छैनौ । मैले पनि लेखेर केहि नापेको छैन । धन्यवादको आशा नराख्नु । म पाठकलाई धन्यवाद दिने लेखकहरुमा पर्दिन । आफैले आफैलाई धन्यबाद दिने बानी बसाल्नु फलदायी साबित होला । अब धेर बोलिन । लौ त अलविदा। मलाई राजधानीले पर्खिरहेछ ………. सायद तिमीलाई पनि ।
बिजय लुईटेल
😂 यो गजब ! छ है।नगरकोटि र खगेन्द्र संग्राैलाको छाँया भेटे मैले।यसो भनेकोमा राम्रो लागे ठिक छ नराम्रो लागे माफी पाँउ। हजुरको लेखनी शब्द चयन निकै राम्रो लाग्छ मलाई ।
ReplyDelete