पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् ।
तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ? जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला ? तर थोरै भने बोक्न सक्षम छ । मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आएका अनेक अरु उल्झनहरुको समाधान लिएर उभिन्थ्यो यात्रा मेरो अगाडि ।
पख् ! पख् ! यहाँबाट म सुनाउछु । तेरो लेख्ने ढंङ्ग पुग्दैन ।
बाठो नहो । यहाँ मेरो लेखन शैली निर्माण हुँदैछ । एकछिन लेख्न दे ।
हुन्दे । आजलाई मै गरिदिन्छु ।
ल ल कोसिस गर्, हेरौला तेरो शैली ।
हुन त म कहानी सुनाउन जन्मिएको हैन । ट्रेकिङ सुज भएकाले मेरो धर्म यात्रामा तँलाई साथ दिनु मात्र हो । मेरो थुतुनो पहाडका ढुङ्गामा बजार्दै तलाई खुसी मिल्छ । घोडाको लिदिमा मेरो हर टेकाएर तँ किच्च दाँत देखाउँछस् । तर पनि मलाई तँ मनपर्छ । रोकिने रहर गर्दैनस् मझैँ । तेरो लेखनको बिजोग देखेर मात्र साथ दिएको हुँ । फेरि फेरि मलाई यसरी विवस नपार्नु ।अर्को कथा आफैले सुनाउन सक्षम होलास भन्ने आशाका साथ आजलाई मै कथा सुनाइदिन्छु । कथाको सिर्षक छ वर्क लाइफ व्यालेन्स । तर कथा सुनाउनु अघि मेरो एउटा सर्त मान्नु पर्छ तैँले ।
के सर्त ?
यस कथा सुनाएको बदलामा तैले मेरो शरीरमा जमेको धुलो सफा गरिदिनु पर्छ । ठीक छ ?
…………..
धन्दा नमान् सित्तैमा काम लगाउन लागेको छैन । त्यसको बदलामा म पनि तेरो मनको धुलो सफा गरिदिन्छु ।
अब ठीक छ ?
ठीक छ …
पहिलो कुरा त, तँ एक असक्षम लेखक होस् । तँ सँग लेख्ने चाहना छन् तर लेख्ने ढंङ्ग छैन । भन्ने कुरा पनि छन् तर हिम्मत छैन । लेखक बाँच्दा बन्द किताव जस्तो अनि लेख्दा खुल्ला किताव जस्तो हुनुपर्छ भन्दै हिँड्छस् तर व्यवहारमा उतार्न सकेको छैनस् । एका विहानै कुनै पहाडको रुख देखेर, अर्थ र वर्थको सुरुवात गरिस् । बाक्क लाग्दो ।पाठकले यो बेकारको सुरुवातका लागि तलाई मनमनै अपशब्द बोल्न सक्छन् ? यो कुरा सोचेको छस् ? कुनै दिन हिँड्दै गएर रुखको छहारीमा सुस्ताएको पनि कुनै कथा वा सम्झनाको सुरुवात हुन्छ ? ल अब तँ सुन् म सुनाउँछु । केहि भन्न खोजेको थिइस् भने पनि माथिको सुरुवात बिर्सिदे । अब त्यो अपुरो रहने भयो ।
यो यात्रा संस्करण नभएकाले हामी ( म र मेरो मालिक ) कहाँ गएका थियौँ र के कस्तो यात्रा रह्यो भन्ने करामा म व्याख्या गर्दिन । मेरो मालिक भन्छन् कहिले पनि गन्तव्यले मानिसको जीवनमा ठूलो माइना राख्दैन त्यसैले म यस कथामा नितान्त सम्झनाहरुको व्याख्या गर्नेछु । मलाई ठाँउ भन् भनेर बोल्दा बोल्दै नरोक्नु ।
लु लु धेर भुमिका नबाध सुरु गर् अब ।
जुत्ता उवाच :
एक दिनको कुरो हो , भविष्य उज्जवल बनाउला भन्ने जागिरको आङमा मुतिदिएर म र मेरो मालिक कुनै पहाडलाई जित्न निस्किएका थियौँ । त्यसलाई जागिर छोड्न सजिलो भने भएको पक्कै होइन । जागिर छोड्नु मेरो मालिकले, करीब एक महिनाको लामो सोच पछि लिएको निर्णय थियो । मानिसहरु त्यस घटनालाई मेरो मालिकले भरपर्दो जागिरको आङमा मुतेको हैन आफ्नै भविष्यमा मुतेको हो भन्ने बुझे । समाजमा केही दिन त्यो कुरा व्यापक रुपमा फैलियो । हाल सम्म पनि मानिसहरुको दिमागमा मेरो मालिकले भविष्यमै मुतेको हो भन्ने मान्यता छ । तर जे होस् मुतिसकेपछि मुत फिर्ता जाँदैन । मेरो मालिक पनि फर्केर त्यता गएन । हामी पदयात्रामा निस्कियौँ ।
यात्राको अघिल्लो दिन ठमेलको कालापथ्थरमा नामको पसलमा बसेर २० मिनेट नापजाँच गरिवरि उसले, आफ्नो बनाएको थियो मलाई । मालिकसँग मेरो पहिलो चिनजान त्यही भएको हो । फ्याक्ट्रीमा केही समय अनि पसलको आर्मालीमा एकाध हप्ता सुस्ताएर म पनि अल्छी भएको थिएँ । शरीरमा धुलो जमेको थियो । कसैको खुट्टामा परेर आङ तन्काउन पाइने भएर म निक्कै उत्साहित भएको थिएँ । मेरो जीवन पनि गन्तव्य हिन नरहने भयो भन्ने कुराको बोधले मलाई मिठो काउकुती लगाइदियो । किनेर ल्याएको दिन मलाई मालिकले धेरै बेर हेर्यो अनि एउटा मायालु मुस्कान मुस्कुरायो । प्रेम साथ सुमसुमायो मेरो शरीरलाई । पहिलो पल्ट जीवनमा मैले पनि प्रेमको अनुभूति गरेँ । यात्राको दिन नयाँ जुत्ताले खुट्टा पिल्साउने डरले त्यो अलिक डराएको सम्झिन्छु । बिचरा । तर मैले गुनासोको कुनै मौका दिइन् । त्यसै कारण होला एक बर्ष यता मालिकले मलाई सबै यात्रामा साथ लैजाने गरेको छ ।
निर्जिव भएकाले मेरो वजनमा कहिले कुनै वदलाव आउँनै कुरै भएन । तर पहिलो यात्रामा मेरो मालिकको मन भारी भएकाले म पनि त्यसलाई भारी भएको थिएँ । यात्राको पहिलो दिन मन नलागे जसरी अप्ठ्यारो हिँडेको थियो त्यो । वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भनेझैँ त्यसलाई मैले खुट्टा खान्छु कि भन्ने डर थियो । भर्खर उड्न सिकेको चरालाई पहिलो उडानमा कता जाउँ कता जाउँको दोमन भएझै ऊ पनि एकतमासको भएको थियो । त्यो सायद जागिर छोडेको रन्को थियो । मन भारी हुँदा, आफुसँग भएका सबै कुरा भारी लाग्छ भन्ने सत्यलाई त्यस्ले बुझ्यो वा बुझेन म जान्दिन । नबुझे बिस्तारै बुझ्दै जाला । एक निस्चित लयमा चलेको जीवन त्यसलाई रङ्गहिन लागेको कुरा मैले पनि बुझेको थिएँ । त्यस बाहेक मालिकमा एउटा अनौठो बेचैनी पनि थियो । सँगै यात्रा गर्दा लाग्थ्यो ऊ केहि खोजिरहेछ तर के भन्ने उसैलाई नै पत्तो छैन । सहरको नियमित गाँइगुँइ सुनेर आजित भइको त्यो आफ्नै मनलाई पनि नसुन्ने भएको थियो । थाहा छैन कानबाट बहिरो हुनु भन्दा मन बाट बहिरो हुनु पिडादायी हुन्छ भन्ने कुरा पनि त्यसले बुझ्यो बुझेन । नबुझे बिस्तारै बुझ्दै जाला ।
लगातार केही समय हिँडेपछि मेरो मालिक सुस्ताउँथ्यो । त्यस बेला भतभती पोलिरहेको मेरो शरीरले पनि पहाडको शितलता पाउँथ्यो । साँच्चै भन्दा मलाई उसले हिँड्दा हिँड्दै रोकिएर सुन्दरतालाई नियालेको औधी मनपर्छ । कहिलेकाँही सुन्दरतालाई हेरेर ऊ मुस्कुराउँदा म पनि उसैसँगै मुस्कुराएको छु , ढुङ्गा र माटो सँग सिधौरी खेलेर थोतिएको दात देखाएर । कुरुप भएको म त्यस बेला कस्तो देखिदो हुँ थाहा छैन । मेरो मालिक भन्छ : रुप मात्र भएर केही हुँदैन , मुहारमा मुस्कान छैन भने मानिस बगरमा लडेको ढुङ्गो सरह हो । ज होस् म त्यस बेला बगरमा लडेको ढुड्गो भन्दा अलिकति राम्रै देखिइएको हुँदो हुँ ।
साथमा गरेका यात्राले मेरो मालिकलाई मात्र नभएर मलाई पनि नयाँपनको आभाष दिलाइरहन्थ्यो । कहिले गिलो माटो टेक्न पाउथेँ । कहिले चरप चरप गर्ने हिउँ , कहिले सुकेका पातलाई मिच्दै हिँड्न पाउथेँ , कहिले चिप्लो घाँस अनि लेउ । जुकालाई टेक्नुको मजा फेरि बेग्लै छ । मालिकको गोडा जोगाउने जिम्मेवारी भएकाले त्यसको भने खुलेर आनन्द लिन पाउँदिन थिएँ ।जेे होस् बारम्बार जुकालाई भेट्न भने पाइरहन्थेँ । तर अहिले समय अलिक फेरिएको छ । अहिले मेरो मालिकलाई हावा खाने समेत फुर्सद छैन । मेरो शरीर सुम्सुमाउने समेत फुर्सद छैन । अझै त्यसलाई त आफ्नै शरीर सुमसुमाउने फुर्सद समेत छैन । मेरो जिब्रीमा कालो माकुराले पातलो धागोको सहायतामा एउटा बाक्लो जालो बुनेको छ । दिनभर त्यहाँ आएर अनेक थरीका किराहरु आफ्नो जीवन समाप्त गर्छन् । अन्तिम समय बाँचिरहेका, किराहरुको अन्तिम इक्षा र चित्कार सुनेर आजित भएको छु । कुनै किरा बाँच्ने चाहना देखाउँछन् र बचाउका लागि गुहार्छन् अनि केही किरा भने सहजै मृत्यु स्वीकार गर्दछन् । यिनै कुराहरु हेर्दा हेर्दा म बिचलित भएको छु । जीवनको किलकारी सुन्ने रहर जाग्न थालेको छ । कोइलीको, खोलाको, वतासको , जङ्गलका पातको अनि अरु थुप्रै आवाज सुन्ने रहर फेरि पलाएको छ । मेरो मालिक आफुलाई कवि भन्दै हिँड्छ । मलाई चाँहि उसका कविता केहि खास लाग्दैनन् । सबै मैले थाहा पाएकै कुरा लेख्छ । नयाँपनको कमी छ कि जस्तो लाग्छ मलाई उसका कवितामा । आफुलाई कवि भन्ने उसले बेला बेला यात्रामै कविता पनि लेखि हिँड्थ्यो । पाइला शिर्षकको एउटा कविता त मलाई याद नै छ ।
मन त, जता उचाइ देख्छ त्यतै जान खोज्छ ।
स्वर्ग, मृत्युले हैन पाइलाले देखाउँछ
मलाई, मैसँग नजिक पुर्याउँछ ।
म हैन मेरो पाइला चाल्ने
मनको आदेशमा चल्छन् ती ।
म जे छु, मेरो मन हुँ
अनि मन त्यो हो
जसलाई पाइलाले जिउँदो बनाउँछ ।
खुसी लाग्छ मालिकको सबैभन्दा प्रिय पाइलाको सबै भन्दा प्रिय साथी, जुत्ता भएकामा । पाइलालाई जोगाउने र त्यसलाई संसार भोगाउने जिम्मेवारी मेरै काँधमा छ । काँध पनि के भन्नु तुनामा छ , सोलमा छ , जिब्रीमा छ भनौँ । मेरो मालिक पाइलालाई असाध्यै प्रेम गर्छ र त म पनि उसको प्रेम बेला बेला चाख्न पाउँछु । त्यसैले म आफुलाई उसको मनको धुलो सफा गरिदिने एक माध्यम ठान्दछु । गर्वै गर्छु यस कुरामा पनि । तर अचेल मेरो मालिक मैलिएको छ । त्यस्को मन मैलिएको छ । चेतनाका कुरा त भरपूर गर्दछ तर मनले सोच्न छोडिदिएको छ । सायद मेरोझैँ उसको मनमा पनि माकुराले जालो लाएका होलान् । थाहा छैन उसले त्यहाँबाट के को चित्कार सुन्छ । मानिसको मनमा लागेको जालोमा आखिर के के निस्सासिएर मर्छन् ?
मन मैलो हुनु एकदमै पिडादायी कुरा हो भनेर मालिकले बुझेको छ । मैलो मन बोकेर दिनरात सहर डुल्छ । पापी पेटको लागि हो यार साथीहरु, भनेर आफ्नो वेवसी माथि किच्च हाँस्छ । आफैलाई चुटकिला बनाउँदै यथार्थसँग एकाकार हुँदै छु भनेर बारम्बार आफैलाई ढाँटिहरन्छ । साला डरपोक छ मेरो मालिक, सपना देख्न जान्दछ तर सपना खेद्न जान्दैन । मलाई पो हिँड्नलाई कसैको साथ चाहिन्छ र मालिक पर्खन विवस छु । त्यसलाई चाँहि के चाहिन्छ म जान्दिन । मन भए पुग्नु पर्ने हैन र मानिसलाई चिताएको कुरा गर्नलाई ?
मलाई मन नपर्ने मालिकको एउटा बानी उसको हतार हो । यसको मतलब यो हैन कि ऊ सधैँ हतारमा हुन्छ । प्राय जसो ऊ जीवनको गतिलाईनै पछ्याइरहेको हुन्छ । कहिले काँहि के छूद्दे फिर्छ अनि लड्न थाल्दछ जीवनको गति सँगै । एउटै मात्र जीवन छ यसलाई निश्चिन्त भएर धीरताका साथ बाँच्नु पर्छ भन्ने कुराको बोध हुँदा हुँदै पनि बेला बेला बौलाइदिन्छ । कहिले काँहि फेरी जीवनको गति भन्दा ढिलो भइदिन्छ । ट्युवलाइट भन्छन् नि त्यस्तै । अमर छु झैँ गरि समयलाई बेवास्ता गरिदिन्छ । लेखक एन्ड्रिउ मार्भलले आफ्नो कविता, टु हिज कोए मिस्ट्रेसमा, यदि म सँग प्रर्याप्त समय भए मेरी प्रेयसी, म मेरो जीवनको दुई सय बर्ष केवल तिम्रो एउटा स्तन हेरेर बिताइदिन्थेँ भनेझैँ संसारिकताको स्तनमा अल्मलिइरहन्छ । थाहा छैन के पाउँछ त्यहाँ उसले । उसको कुनै एउटा निस्चित गति नभएको देखेर मलाई अनौठो लाग्छ ।
पहिलो यात्राको कुरा हो । हुस्सेले डाँकेको डाँडामा म र मेरो मालिक भुईमा खसेका लालिगुँरासका ओइलाएका फुललाई पाइला मुनि दबाउँदै हिँडिरहेको थियौँ । पर कतैबाट घोर्ले स्वरको कुकुर भुकेको मधुरो आवाज आइरहेको थियो । डर त लागेकै होला त्यसलाई तर देखाएको थिएन । गन्तव्य तर्फ अघि बढ्दै गयौँ , कुकुरको आवाज झन् झन् बाक्लो हुँदै गयो । केही बेर एक अर्कालाई साथ दिँदै हामी एउटा समतल भुभागमा आइपुग्यौँ । कुकुरको आवाज अझ प्रस्ट सुनिन थाल्यो । त्यतिकैमा मेरो मालिकले आफ्नो पाइलालाई बिश्राम दियो र कुकुरको आवाज आएको तिर आफ्नो मुन्टो बटार्यौ । हामी उभिएको ठाँउबाट मास्तिरको सानो डाँडामा एउटा घर रहेछ । त्यसकै आँगनमा बाक्लो साङ्लोले बाधिएको एउटा अजङ्गको भोटे कुकुर हामीलाई हेरेर भुकिरहेको थियो । थाहा छैन मालिकले त्यस दिन त्यो कुकुरलाई किन त्यती धेरै बेर हेरेको थियो ।त्यसको उत्तर ऊ आफैसँग होला । मलाई त मेरो मनमा के गुज्रियो भन्ने मात्र ज्ञान छ ।
मैले सोचेँ , कति विरक्तको जिन्दगी छ त्यस कुकुरको । आजीवन बाँधिनु पनि छ अनि म नै यस घरको सुरक्षा गर्दैछु भन्ने एउटा गलत विश्वास बोकेर बाँच्नु पनि छ । बाधिएको कुकुरले त आफ्नै पनि सुरक्षा गर्न सक्दैन । घरको सुरक्षा के गर्ला ? दुवैले केहीबेर त्यस कुकुरलाई हेर्यौँ । बेला बेला म हलचल गर्न सक्षम छु भनेर साङ्लो वरिपरी फनफन घुमिदिन्थ्यो । तनक् तनक् तन्किएर साङ्लो छिनाउने अनेक प्रयास गर्थ्यो । त्यस कुराले कुकुरको मानसिक उदासीनतालाई केही हद उज्यालो बनाइँदिएको हुँदो हो, तर मैले देखे अनुसार त्यसले कुकुरको यथार्थमा परिवर्तन ल्याउन भने सकिरहेको थिएन । मानिसलेझैँ कुकुरले पनि यथार्थलाई लुकाउन अनेक प्रयास गर्दो रहेछ भन्ने मैले त्यसै दिन थाहा पाएको थिएँ । कुकुरको साङ्लो भित्रको सिमित परिधिले मलाई कता कता बिझाएको थियो । मुत आउँदा पनि मालिक गुहार्नु पर्ने के जिन्दगी त्यसको ? कुकुरको काम नै सुरक्षा दिनु हो र बिशेष गरि गाउँमा मानिसहरुले त्यलाई सुरक्षाकै निम्ति पाल्दछन् । सुरक्षा दिने अलिखित वाचाकै कारण त्यसले मुखमा, अन्न हाल्न पाउँदछ । सुरक्षा दिन जान्नुनै उसको सीप हो र चाहिएका बेला त्यो सीप प्रयोगमा आओस् भनेर ऊ नचाहिएका बेला बाँधिन्छ ।मैले देखेँ त्यसकै छैउमा, कुखुरा भने आँगनमा मस्त घुमिरहेका थिए ।चुच्चाले माटोमा चारो खोजिरहेका ति कुखुरालाई न सुरक्षा दिन नै आउँथ्यो न ती बाधिएका नै थिए । मेरो मालिक र मैले त्यसदिन लामो समय त्यस दृश्यलाई हेरेर टोलायौँ । चेतनाले मानिसलाई बाधेको कुरा प्रसस्त सुनेको थिएँ सीपले कसैलाई बाँधेको देखेको त्यो मेरो दोस्रो अनुभूति थियो । केहीबेर त्यो उदास दृश्यलाई समय दियौँ र पख्लास् तँलाई भावमा भुकिरहेको कुकुरलाई पछि छोड्दै एकाध दिनमा एउटा छोटो यात्रालाई हामीले टुङ्गायौँ ।
त्यस यात्रा पछि मैले मेरो मालिकमा अनौठो परिवर्तन भएको महसुस गरेँ । गुमनाम, गुपचुप नयाँ जागिरमा जान्छ । गुमना, गुपचुप साँझ घर फर्कन्छ । थकित र उदासीको ताज पहिरिएको राजकुमार जस्तो मेरो मालिक मेरै छेउ अफिसको जुत्ता खोल्छ अनि दिनभर गनाएको मोजा सुँघाउँछ । मालिक त त्यही हो तर मैैले पहिलो पल्ट भेटेको मालिक त्यो पक्कै हैन ।मेरो मालिक बगरको ढुङ्गो भएको थियो । पहिलो यात्रामा कुकुरलाई देखेर मैले सोचेका कुरा यदि मालिकले पनि सोचेको भए सायद हामी अहिले कुनै पहाडमा हावा खाइरहेका हुने थियौँ । छोटो जीवनमा मैले पनि थप केही भुगोललाई स्पर्श गर्न पाउँने थिएँ । मेरो आत्मा तृप्त हुने थियो । तर मेरो इक्षा विपरित मेरो मालिक एकाएक बिरक्तियो । मैले कुकुरको दुखी जीवनबाट सपना पछ्याउने प्रेरणा लिँदा के ऊ त्यसैमा भाग्नै नमिल्ने एउटा यथार्थ त भेट्दै थिएन ? यसै कुराको डरले मलाई बारम्बार सताइरहन्छ । मानिसको जीवन, मानिसले जीवनलाई हेर्ने नजरियाको उपज हो । यदि त्यस्तो नहुँदो हो त, मकाउने दिन पर्खदै गर्दा यो माकुरा लिला हेर्ने टन्टा लिनु पर्ने थिएन । सास रहुनजेल म पनि त हिँडिदिन्थे ऊ सँगै । सास रहुन्जेल आस रहन्छ भन्छन् मानिसहरु । मलाई आस रहुन्जेल सास रहन्छ जस्तो लाग्छ । मेरो मालिकलाई के लाग्छ त्यो आफै जानोस् ।
………………..
बाँकी कथा आफै भन्छस् कि ? अझै सुन्न चाहन्छस् ?
अब सुन्न के नै बाँकी रह्यो र ?
थाहा छैन ।
मलाई बेला बेला साङ्लो चुडाइदिउँझै लाग्छ यार ।
गज्जबको कुरा गरिस् । यदि त्यसो गरिस् भने यो माकुराको जालो पनि सफा गरिदे है । निस्सासिन थालेको छु ।
सोच्छु ….
लौ कथा सुरु तैले गरेको थिइस् अन्त्य पनि तँ आफै गरिदे । यहाँ माकुराको जालोमा एउटा सानो झिँगो फसेर गनगनाइरहेको छ । मलाई मर्ने बेलामा बाँच्ने चाहना व्यक्त गर्ने किराहरुलाई सुन्न औधी मन पर्छ । गएँ ।
हस् ।
………………
Comments
Post a Comment