२७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।
कथाको सुरुवात पुर्णविरामबाट …
नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकियो, ड्राइभर बाहिर निस्किए र गाडीको सामान्य परिक्षण गरेर फेरी सम्म बाटोमा गाडीलाई गुडाउन थाले । यात्री ड्राइभरको सिटको विपरित अगाडीको सिटमा बसिरहेको थियो । एकाएक ठूलो ड्याम्मको आवाज सुनियो । यात्रीका आँखा अघि आफु बसेको सिट मुनिको चक्का गाडीबाट छुटेर एक्लै सडकमा कुदिरहेको थियो । उसलाई यस्तो स्थितीमा के गर्ने कसो गर्ने भन्ने कुराको चेतना भएन । केही समय चेतना गुमको अवस्थामा पुग्यो । गाडी करीब १० मिटर जति चिप्लिएर रोकिए पछि बल्ल यात्रीले के भएको रहेछ भनी ठम्याउन सक्यो । बीच सडकमा रोकिएको गाडीबाट सबै एक एक गर्दै ओर्लिए । बाटोको बीचमा भएकाले मानिस धेरै भेला भएनन् । तर भेला भएका एकाधले भाग्य बलियो रहेछ त्यसैले कसैलाई केही भएन भनिदिए । यस बेला यात्रीको मनमा चिसो पस्न भ्यायो । सोच्यो झन्डै जीवनमा पुर्णविराम लागेको थियो , नियतिले अल्पविराम मात्र लगाइदिने निधो गरेर गुन लगाइदियो ।
यात्रा ६ घन्टाका लागि रोकियो । ड्राइभर दाइ मेकानिक खोज्न लागे । यात्री र उसका साथीहरु घमाइलो दिनमा सडक छेउ सुस्ताएर समय काट्न बाध्य भए । यात्रीले यस समयमा धेरै कुरा सोच्यो । जीवन सोच्यो, देश सोच्यो , उमेर सोच्यो । निष्कर्षमा भने पुग्न सकेन । कहिले काँही कट्टु उल्टो लगाइयो भने पनि यस्तो लोदर लाग्छ । यात्रीको साथी सुसान्तले भन्यो । सबैले आआफ्नो कट्टु उल्टो भएको नभएको हेरे । सदिश भाइले अगाडीको पछाडि पारेर कट्टु लगाएको कुरा यात्रीहरुको सानो छानविन समितिले निष्कर्ष निकाल्यो । एउटा लामै हासो हाँसे यात्री र उसका साथीले ।
गाडी मर्मत हुँदा करीब ४ बज्यो । सुर्खेत भन्दा पर पुग्ने छाँट देखिएन । गन्तव्य कालिकोटको मुम्रा भएता पनि त्यसलाई देख्नका लागि परिस्थितिले थप समय प्रतिक्षा गर्ने आदेश दियो । नेपालगन्ज बाट बबइ र तोली खोला हुँदै सुर्खेत पुग्दा रातको ८ बजेको थियो । यात्री र उसका दुई साथी करीब आधा घण्टा सुर्खेतको सडकमा हिँडे र अन्त्यमा एउटा ओछ्यान नगनाउने गेस्ट हाउस फेला पारे । रात उतै बित्यो ।
तेस्रो दिन सबेरै यात्रा अघि बढ्यो त्यही कालो सुमोमा । यात्रीको मनले गाडीलाई बिश्वास गर्न डराइरहेको थियो । तर मनैमन सोच्यो बिश्वास नहुँदो हो त संसार कसरी चल्दो हो ? गाडीको चक्का केहि नट बोल्ट फुस्कँदैन भन्ने बिश्वासमा चलेका छन् । मानिस ब्रेक दबाउँदा गाडीको ब्रेक लाग्छ भन्ने बिश्वासमा चलेको छ । मै आफु पनि मेरो मुटुले ढड्किरहन्छ भन्ने बिश्वासमा जीवित छु । यात्री यात्रामा यस्तै कुराहरु सोची बस्दछ ।
कालिकोट पुगेपछि यात्री र उसका साथीले सुमो गाडीसँग बिदा मागेर बोलेरो गाडी चढे । यात्रा त्यसपछि झन् रोमाञ्चक बन्यो । त्यती असहज बाटो यात्रीले जीवनमा कहिले पनि यात्रा गरेको थिएन । साधुरो बाटो तल बगिरहेको कर्णाली नदी । यदि गाडी अलिकति मात्र पनि दाँया बाँया भएमा राम नाम सत्य हुने तर ड्राइभर दाइ भने यति सहजताका साथ कुदाइरहेका थिए कि मानौँ त्यो उनको बाँया हातको खेल हो । गाउँमा गाडीको कमी नै रहेछ । त्यसैले यात्री चढेको गाडीमा एकाध मानिस हामीलाई अलिक माथी सम्म पुर्याइदिनु भन्दै गाडीको झ्याल समाएर झुन्डिए । तब फेरि यात्रीले सोच्यो । म जे कुरालाई साहसिक कार्य भनी सोच्दथे त्यो त कालीकोटका लागि जीवन रहेछ । जोखिमपूर्ण यात्रालाई त कालिकोटले अङ्गालेर रमाउँदो रहेछ । कालीकोट देखेर यात्री दङ्दाँस पर्यो । काठमान्डौँले त यस्ता झमेला झेल्नु पर्दैन । त्यही पनि त्यहाँ असन्तुष्टि छ । मुहारबाट उदासी पोखिइरहन्छ । यहाँ त एक हातले गाडीको झ्याल समाएर मानिस ठट्यौली गरिरहेका छन् । के जीवनलाई उत्सव जसरी मनाउन दुख साथमै चाहिन्छ ? के केहि खोज्दै गरेका मानिस केहि पाइसकेका मानिस भन्दा जीवन्त हुन्छन् ? प्रश्नोत्तरको यो सिलसिला कालीकोटको शेरा पुगुन्जेल सम्मै चलिरह्यो ।
शेरा पुग्दा साँझ छिप्पिँदै थियो । बाटोमा एकैसाथ दुईटा इन्द्रेनी देखिएर केहीबेर यात्रालाई अल्मलाइदिन्छ । त्यहाँ बाट मुम्रा तर्फ लाग्दा यात्रीको मन पनि इन्द्रेनी हुन्छ । केही पर पुगेपछि भने पहिरोका कारण गाडी अगाडी जान सक्दैन । गन्तव्यले अझै प्रतिक्षा माग्दछ । बास बस्न यात्रीहरु शेरा गाउँनै फर्कन्छन् ।
शेराको होटलको कोठा युद्धकालमा छापामारहरु सुत्ने कोठा जस्तो थियो । यात्रीले छापामार सुत्ने कोठा त जीवनमा कहिले देखेको थिएन तर कोठामा पस्न साथ उस्लाई किन हो किन त्यस्तै लाग्यो । कोठा भन्दा पनि त्यसलाई हल भन्न सुहाउँथ्यो । हलको दाहिने कुनामा छ सात जना सुत्न मिल्ने गरि डस्ना ओछ्याइएको थियो । अर्को कुनामा तास खेल्नलाई भनेर फराकिलो चकटी भुईमा बिछ्याइएको थियो । यात्रीहरु आउनु केहिबेर अघि त्यहाँ तासनै चलिरहेको थियो । त्यस कुराको सबुतको दिन भित्तामा आलो थुकका छिटाहरु थिए । यात्रीलाई सिकसिको नलागेको हैन तर यात्राले मानिसको सहजतालाई सहज रुपले स्वीकार्दैन भनेर मन बुझायो ।
रात ढल्न लाग्दा यात्री होटल साहुसँग कौसीमा बसेर गफियो । साहुजी गलैँचा बोकेर बिगतमा काठमान्डौका गल्ली गल्ली डुलेका रहेछन् । उनको काठमाडौँ कथा केहिबेर चल्यो । रात छिप्पिँदै गए पछि उनी कोठा तिर लागे । यात्रीले शेरा गाउँको फेदीमा बगिरहेको शान्तिघाट खोलातिर नियाल्यो अनि त्यसकै माथि पहाडको भिरालो ठाउँमा बसेको बस्तीमा बलिरहेका बत्तीको उज्यालो हेरेर टोलायो । कालिकोट हेरेर यात्रीले कविता लेख्यो ।
एक रात देख्छु
पहाडमा जूनकीरीझैं बलेका घरहरू
सायद त्यो उज्यालो केही बोल्दछ
बत्ती नबलेका उध्यारा केहि बोल्दछन्
भन्नु छ जीवनका विस्वाद उज्यालालाई
खुसीका कथा अध्यारालाई सुनाउनु छ
जे होस् जस्तो होस्
बाँच्नुलाई सार्थक बनाउनु छ
लिने र दिने दुवैको तालमेल मिलाउनु छ ।
सुन्दर छ जीवन सत्य हो यो
अङ्गालुँ पो अब कसरी यसलाई ?
भित्तामा थुकिइएका थुकको सिकसिको लागि लागि त्यस रात यात्री निदाउँछ । भोली पल्ट नयाँ उर्जाका साथ ब्युँझन ।
पैदल यात्रा सुरु हुने दिन भएर होला भोलीपल्ट बिहानैबाट यात्रीको मन फुरुड्ड्ग बन्दछ । तातो चिया खादै यात्री आफैलाई सोध्छ मलाई हिँड्न किन यति मन पर्छ ?
यस प्रश्नको उत्तर मनले यसरी दिन्छ :
हिँड्नु तँलाई मन पर्छ किनकि हिँड्दा त रोकिएको हुँदैनस् । कतै न कतैका लागि तेरा पाइला चलेका हुन्छन् । हिँड्दा तँ आफुलाई मृग सोच्छस् अनि पुरै बन तेरो घर मान्दछस् । चल्ने गोडा तलाई सुन्दर लाग्छ । गतिशीलताको प्रेमी होस् ।
यात्री चिया रित्याउँछ र अनि मन्द मुस्कुराउँछ । जीवनबनमा रुमल्लिन झोला मिलाउँछ र बाटो तताउँछ । गति भन्ने कुरा त्यस दिन यात्रीलाई एकाएक प्रिय लाग्छ ।
माफीनामा
यात्री अर्थात म, यस नियात्राको लेखक , यहाँ आएर आफैसँग माफी माग्न चाहन्छु किनभने लेख्न सुरु गरेको केहि महिना पछि मात्र यस नियात्रालाई निरन्तरता दिन सकेँ । थाहा छैन यस बीचको समयमा मेरो लेख्ने जाँगर कता गुम भयो । म सायद एकाध महिना त्यसैलाई खोज्न ब्यस्त रहेँ । नियात्राको बीचमा यसरी माफीनामा कोच्नुले पाठकहरुलाई झिझो लाग्ने कुरामा म विश्वस्त छु तर यसरी आफैलाई माफी माग्नाले मैले भविष्यमा यस्ता कार्य दोहोर्याउँदिन भन्ने बाँचा आफैसँग गरेको ठहर्छ । मेरो बाचाको साक्षी बनिदिनु भएकोमा धन्यवाद । लेखन शैलीमा केहि परिवर्तन पक्कै आउन सक्छ । परिवर्तननै संसारको नियम हो । स्वीकारीदिनु होला । आउँनुहोस् यात्रालाई अघि बढाऔँ ….
…….
गतिशीलता बहुत मिठो अनुभूती हो । यात्री यसको भयङ्कर प्रसंशक रहँदै आएको छ । समयको कुनै कालखन्डमा अब्राहम लिङ्कनले भनेथे “I walk slowly, but I never walk backwards” । यात्री त्यसैलाई मन्त्र बनाएर हिँड्दछ । शेराबाट मुम्रा, तेर्सो अनि कहिँ कतै उक्कालो पर्दछ । पाइला चलिरहन्छन् । दिन घमाइलो छ । यात्री सोच्छ कहिले काँही गोडालाई पनि हिँड्दा हिँड्दै जुत्ताबाट निस्किएर साँस लिउँ लाग्दो हो । वरिपरिको दृश्य हेरुँ हेरुँ लाग्दो हो । कति नमज्जा लाग्दो हो दिन भर पसिनामा लत्पतिदै गुम्सिएर यात्रा गर्न उसलाई । साला यो मनको रहर पुरा गर्न मैले बिचरा गोडालाई अनायास सासती पो दिएँ कि ?
मुम्रा नजिकिन्छ । पहाडको गहिरो भुभागमा खेतै खेतले सजिएको मुम्राले गोडा प्रतिको दयाभाव बिर्साएर चेतनालाई आफुतिर खिँच्छ । यात्री खिँचिन्छ । यात्रीहरुका एकजना पोर्टर दाईले युद्धकालमा मुम्राका कयौँ घरका घरका दाजु भाई कोहि माओवादी कोहि नेपाली सेना भएको कुरा बताए । यात्रीले त्यस अवस्थामा आफुलाई कल्पेर हेर्यो । आफ्नो दाजुलाई सम्झियो । भाउन्न होलाझैँ भएपछि होस् सम्हाल्यो । बिक्षिप्तता बोकेर बिगतबाट बाहिर निस्कियो ।
कुनै दिन देशको मुहार फेर्न भनी बन्दुक बोकी हिँड्ने लडाकुहरुको आश्रय स्थल मुम्रा सामन्तको पन्जा बाट फुस्किएर उनीहरुको गोडा मुनि आइ बसेको देखेर दिगमिग लाग्छ यात्रीलाई । १८ बर्ष अघि तपाईहरुको रगतले अब विकास लेख्नेछ भन्ने बाँचाका साथ यहाँ बाट राजधानी हिँडेका सामन्त बिरोधीहरुले देशलाई स्वीट्जरल्यान्ड जस्तो बनाउने भन्दा भन्दै नेपाललाईनै बिर्सिएछन् । मुम्रा अझै नेपाल जस्तै रहेछ । राम्रो बाटो थिएन , बिरामी हुँदा एम्बुलेन्स पुग्छ पुग्दैन भगवान जानुन् , युवा घट्दो क्रममा रहेछन् । मुम्रा साँच्चै नेपाल जस्तै रहेछ ।
नेपालको त्यही सुन्दर भुभागमा अघाउने गरि भात हुल्यो यात्रीले । बल पस्यो शरीरमा । बिहानको लगभग ११ बजेको हुनु पर्छ । यात्री यात्रामा खासै घडी हेर्दैन । सबथोक बिर्सन्छ । समय पनि । समयले चेतना ब्युताउँछ र त यात्री चेतनाशुन्य बनी रमाउँन मनपराउँछ । चर्केको भुँडी लिएर उक्कालो लाग्छ । बेला बेला जानु पर्ने कता हो भनेर भुन्टो उभो फर्काएर पहाडको माथमा नजर अड्याउँछ । भए जति जम्मै पहाडको टुप्पामा पुगिदिउँ लाग्छ । असम्भव भएको बोधलाई आत्मसाथ गर्छ र मनलाई सम्झाउँछ “ लय समात् केटा ” । जानु कतै छ तँ कतै अन्तै जाने कुरा गर्छस् ? पाइलालाई दोमन नगरा । यात्रालाई अघि बढा ।
हरामी उक्कालो, जति हिँडे पनि सकिन्न अनि फेरि नयाँ भुभाग देखाएर मन बहलाउन पनि पछि पर्दैन । यात्रीलाई उक्कालो मानिसझै लाग्छ । गुण र अवगुण दुवै भएको । दिनको उत्तरार्धमा पाइलाले दुनिके टेक्छ । एकाध परिवार त्यहाँ स्याउ खेती र किसानी गरेर बसेका हुन्छन् । यात्री पनि त्यतै एक घरमा झोला बिसाउँछ । बारीमा गएर हरिया स्याउ टिप्छ र पर डाँडामा हेरेर मनमनै भन्छ । जीवन कति सुन्दर छ । देश कति सुन्दर छ । यात्रीलाई लाग्छ सबै नेपाली उमेरमा देश मनग्य घुम्नु पर्छ । नघुम्नेले आफनै घरको पुजा कोठा देख्दैन । आँफै भित्रको भगवान देख्दैन ।
रातमा भात खाएर यात्री ओछ्यानमा पल्टन्छ । घरको जस्तो आरामदायी ओछ्यान हुँदैन तैपनि यात्रीलाई घरको भन्दा मिठो निद्रा पर्छ । मरेको मानिसले त आफ्नो खरानी छर्न , आफुलाई पुर्न देशको माटो खोज्छ , म त जिउँदो मानिस मलाई देशको माटोमा जतै पनि आराम छ , निद्रा छ , यहि गम्दछ ।
बिहान सखारै उठ्छ यात्री । बडीमालिकाको पावन भुमीमा टेक्न पाउने भइस् साला पैताला भनि पैतालालाई पुल्पुल्याउँछ । पैताला हाँसेको आभाष भएपछि झोला मिलाउन थाल्छ । नास्ता पाक्छ । थोरै खाएर दिनभरलाई केही बोकेर यात्री र उसका साथीहरु उक्कालो लाग्छन् ।
दिनैभर नाँक ठोक्किने उक्कालो । कस्तो रोमान्चक । न पुग्ने अर्को ठाउँ देखिन्छ । भिरै भिर भिरैले छेलिएको यात्रा । सपाट सायद अब गन्तव्य मात्र देखिन्छ । यात्री सोच्छ, म यात्रामा आइपर्ने अप्ठ्यारा कति सहजै स्वीकार्छु । जीवनले किन परिस्थितिलाई त्यसरी स्वीकार्न दिँदैन । भौतिक अप्ठ्यारा र चेतनाका अप्ठ्याराका फरक के यहि हो ? उक्कालो जतैको होस् चढ्न त जतै परिनै हाल्छ । गन्तव्य दुवैको थाहा हुन्छ, जीवनको पनि पदयात्राको पनि फरक यति हो कि पदयात्रो पुगिहालौँ लाग्छ अनि जीवनको , आलटाल गरौझैँ । तर ढिलै हिँडे पनि यात्री उल्टो हिँड्नु हुन्न । म पनि उसै गरुँला ।
साझँ त्रिवेणी पाटनको फराकिलो पाटनमा घाम अस्ताउँदै थियो । हरिया थुम्काहरुको छरिएको थियो घामको सुनौलो रङ्ग कुनै खानदानी मानिसको सुहाउँदो पोषाक जसरी । यात्रीलाई ती पहाडको रङ्ग चोरेर गोजीमा राख्न मन लाग्यो । सोच्यो घर पुगेर आमालाई देशको रङ्ग देखाउँनेछु । कपालमा तेल लगाइ दिँदै गरेकी आमा कहिले नदेखेको नौलो रङ्ग देखेर मुस्कुराउँछिन् । तर अनुभूती बाँड्न सकिन्न भन्ने बोधले यात्रीको मनलाई चिसो बनाउँछ । लेखक सायद त्यही असम्भवलाई सम्भव बनाउन जीवनपर्यन्त लागि रहन्छन् । मानव सभ्यताका सबै कलम र मनले सायद यो एक भावनालाई साझा गर्दछन् । म पनि मिसिने कोसिसमा छु ।
साँझको घाममा भातेज्युली कुनै पहाडमा गरिएको टेरेस फार्मिङ जस्तो देखिएको थियो । भनिन्छ त्यस ठाँउमा चराचुरुड्गीले धान रोप्छन् र सर्पले हलोको भुमिका निभाउँछ । अनौठो तर मायावी लाग्यो यात्रीलाई त्यो कुरा । एकछिन अडिएर भातेज्युलीमा उसले अनगिन्ती चराहरुलाई घुम ओडेर धान रोपिरहेको कल्पियो । छेउमा केही थान सर्पहरु हलोको भुमिका निर्वाह गरिरहेका थिए । यात्रीलाई पनि त्यतै मिसिइदिउँ लाग्यो । तर कल्पना र यथार्थ मिसिन सम्भव थिएन । बासस्थान तर्फ लाग्यो ।
उँचाइ बढेसँगै चिसो छिप्पियो । त्रिवेणी मन्दिर तल गहिरोमा थियो । आकाशमा तारापुन्ज सङ्लो देखिएको थियो । काठमान्डौँमा जस्तो तुवालोको भद्दा पर्दा त्यहाँ थिएन । यात्री मनैमन गदगद भयो । सबै तारा टिपेर आफ्नो कोठाको सिलिङमा उनिदिउँ लाग्यो । कल्पनामा रमायो ।
यात्रीले बाहिर खुल्लामा दिसा बसेको पहिलो यात्रा थियो त्यो । सुत्ने समय हुन लागेको थियो दिसाले च्याप्यो । दिसा फुकाउन भनेर यात्री मन्दिर भएको भन्दा वल्लो डाँडाको फेदमा बगेको खोला तर्फ लाग्यो जहाँको पानी मन्दिर तर्फ बग्दैनथ्यो । यात्रीको एक साथी, म पनि सँगै जान्छु भनेर यात्रीलाई पछ्यायो । त्यस रात यात्री र यात्रीको साथीले खोला भन्दा अलिक पर माटोमा दिसा फुकाए । तारा हेर्दै हगे । हग्दा हग्दै टुइके चिसोले जम्ला जस्तो भएको थियो । त्यहाँ बाट सुरुवाल नतानी खोला छेउ पुग्यो र टुइके धोयो । झन्डै बरफ भयो यात्री । लुगा प्रसस्त थियो त्यसैले सुत्ने बेला भने उसले बरफ बन्न परेन ।
पानी परेकाले अर्को एक दिन त्रिपाल मुनिनै बित्यो । साँझमा पानी रहेपछि केहीबेर भातेज्युलीमा धानका वाला खोज्न हिड्यो यात्री । बाला भेटिए भाग्यमानी भइन्छ , धनवान भइन्छ र भेट्नेको मनले चाहेको सबै इच्छा पुग्दछ भन्ने मान्यता रहेछ । यात्री अभागी निस्कियो । त्यस रात यात्री बाला नभेटेको खल्लोपन चेपेर निदायो ।
घामको किरण न्यानो भइसकेको थिएन । त्रिवेणीमा मन्दिर छेउमा बनेको मानव निर्मित पोखरीको डिलमा बसेर यात्री नाङ्गियो । उसलाई एक पल्ट खोलामा डुबुल्की मार्नु छ । हातले छुँदा जिउँ सिरिङ्ग हुने पानीमा नुहाउँछु भनेर आँट गरि हाल्यो । जे होस यात्रीले हार मानेन ।
त्रिवेणीमा झ्वाम्म डुबुल्की लगाउँछ यात्री । ब्रेन फ्रिज गराउँछ । हतार हतार जिउ पुस्छ र लुगा फेर्छ । हलुका भएको आभाष गर्दछ । दिमागको ओजन घट्यो होला भन्ठान्छ । चङ्गा बन्छ । मन्दिरको दर्शन गर्छ र बडीमालिका सम्मको दुरी छोट्याउँन थाल्दछ ।
बिहानीपख मुहार देखाएको घामले हुस्सेको पर्दा पछाडी मुहार लुकाउँछ । त्यस दिन यात्रीको मनमा अनेक कुराहरु खेेलिरहन्छन् । नदेखिनु कति नमज्जाको कुरा हो । जसरी घाम, भएर पनि देखिएको छैन । यो जीवनमा पनि त कति त्यस्ता कुरा होलान् जो भएर पनि नदेखिँदा हुन् । यात्रीले आँफैलाई खोतल्न थाल्छ । हिँड्दै गर्दा बेला बेला पर अवस्थित मल्लागिरी पर्वत उर्फ बडीमालिका देखिँदै छोपिँदै गर्छ । कविता जन्मन्छ ।
समयले चोर्यो यात्रीको चोला
यात्रीले आत्मसमर्पण गरिदियो
समयले बिछ्याइदियो बाटोमा आकाश
धर्तीलाई पछि लगाइदियो
सोच्छ यात्री , म जाउँ कता अब
सबथोक यतै पुगे पछि
बोक्छ एक मुठ्ठी माटो बगलीमा
मिल्नु त यतै छ भनी
गन्तव्य आकाश छ
गर्भिणी समयको कोखमा
उत्सवको उन्माद छ
मृत्युको जन्त भोजमा
हेर हेर यात्री
छौ तिमी पनि
लाममा लागेको
हेर हेर यात्री
छौ तिमी पनि
बेकाममा भागेको
अडिदेउ केही बेर यात्री
काललाई आराम देउ
छातीमा कान बिसाउ
घड्कनलाई श्रवण गरिदेउ
चोर समयको देहलाई अब
निजी रङ्गले रङ्गाइदेउ
बदलिरहने देहमा उसको
नमेटिने छाप लगाइदेउ
यात्री समयको देहलाई रङ्गाउन आफ्नो रङ्ग खोज्दैछ सायद । मध्य दिनमा लैरी बिनायक आँखा अघि देखा पर्छ । कुनै दिन बडीमालिका माई यहि बाटो भएर मल्लागिरी पर्वत पुगेकी थिइन् र यात्राका क्रममा यहीँ लैरी बिनायकमा लौरो बिसाएकी थिइन् । यात्रीले पनि थाकेको शरीरलाई एकछिन त्यतै बिसाउँछ र पर पर नजर डुलाउँछ । सती देवीको देव्रे कुम पतन भएको शक्ति पीठ नजिकिँदै थियो । महादेव पनि कुनै दिन प्रियसीको मृत शव बोकेर यही उक्कालो चढेका थिए । म त्यही जमीनमा टेक्दैछु जहाँ बिरह पोखिएको छ प्रेमको । जहाँ महादेव पनि जीवनको लिलासँग हारे । प्रियसीको चोला उठेको स्वीकार गर्न नसकेर महादेव आफ्नै चेतनासँग लडेको भुमीमा म के सँग लड्दैछु ? आफैलाई प्रश्न गर्छ यात्री ।
बडीमालिका मन्दिर । Photo : Rupesh Lekhak
बडीमालिकाले मलाई केहि सिकाउन त खोज्दै छैन ? अप्ठ्यारो भिरको बाटो पार गरेर बडीमालिका माईको मन्दिर अघि पुगेर यात्री एकोहोरिन्छ । “ क्षणभङ्गुरता ” । एकाएक उसले उत्तर भेट्छ । यात्राको दोस्रो दिन गाडीको चक्का फुस्किएर पनि केहि नहुनुले सायद जीवनको क्षणभङ्गुरता तर्फ इशारा गर्छ । मुम्रामा माओवादी लडाकुहरुको निधन , सुरक्षा गर्नेले नै मृत तुल्याएको नेपालको कम्युनिजम, सतीदेवी , मृत्यु अनि महादेवको विवशता सबै सबै त्यतै इशारा गर्दछन् । म यात्री कहाँको यात्रामा निस्केको हुँ ? सबैको गन्तव्य मृत्युनै रहेछ भने के मेरा हरेक पाइला त्यससँगको दुरी छोट्याउँदै छैनन् ? बहुत अजीव छ दुनिया म मृत्युसँगको घट्दो दुरीको उत्सव मनाइरहेछु । श्रणभङ्गुरताको रथ चढेर अमरत्व खोज्न निस्केको छु ।
मादक रँग पहाडहरुमा छर्दै सुर्य पश्चिम तर्फ बढिरहेको छ । फर्कँदै गर्दा यात्री सुर्यलाई हेरेर मुस्कुराउँछ । आफैसँग भन्छ : साला समय, आइस् हैन मृत्यु नजिक्याउँन ? मेरो औकात देखाउन ? सुर्यसँग भन्छ : अस्ताएपछि आफ्नो शरीर एकपल्ट मज्जाले नियाल्नु । तँबाट पनि केहि हराउँदै गएको हुनु पर्छ । तेरो पनि हरदिन केहि छुटेको हुनु पर्छ अनि जोडेको पनि केहि हुनु पर्छ तैँले । कतै त्यो मेरो छाप त हैन ? यदि रहेछ भने … उपहार भो त्यो तँलाई मेरो । सम्हालेर राखेस् ….
- विजय लुइटेल
Beautifully written👌
ReplyDelete🙏❤️
Deleteबिजु
ReplyDeleteयो हगेको प्रसंग अलि मिलेन अलि लामो प्रसंग किन राखेउ ।तिमिले हगेको कनी कनी पढें। यस्तो प्रसंग सांकेतिक रूपमा मात्र राख ।
अरू दामी छ एकदम दामी। सेतोपाटीमा सम्पादक अमित ढकालसंग सम्पर्क राख यस्तो प्रकाशनका लागि ।
🙏🙏
Deletedherai ramro bro ♥️
ReplyDelete