Skip to main content

स्वमन्थन : सामाजिक सञ्जाल



We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital


बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन्छु । तर त्यो एकैछिन लामो भएर ८ बजेको सम्म चेतनाले पत्तो पाउँदैन । सोच्छु,  मैले एका बिहानै के हेरेँ जसले मेरो २ घण्टा समय ढुस पारिदियो ? उत्तर याद आउँदैन । साला मेरो चेतना केहि बेर अघि हेरेको कुरालाई स्मरण गर्न असमर्थ भइदिन्छ । सायद चेतना बिमारी छ । म सम्झन्छु सालौँ अगाडि स्कुल जाँदा मलाई मेरो साथीले भनेका कुराहरु । म सँग ति सम्झना अझै ताजै छन् तर केहि पल अघि जे देखेँ त्यसको बोध भने पटक्कै छैन । कतै पढेको थिएँ prolonged exposure to social media might affect memory formation and recall abilities. यहाँ आएर कतै त्यसै पो भयो कि भन्ने लाग्छ । पछिल्लो समय मलाई मानिसहरुको नाम सम्झन कठिन भइरहेको छ । बाटामा भेटेका  अथवा कुनै कार्यक्रममा भेटेका मानिसका नाम म बिर्सन्न तर सामाजिक सञ्जाल जोडिएका एकाध बार कुराकानी भएका मुहारहरु नामबिहिन छन् मेरो चेतनामा । कहिले काँहि लाग्छ संसार यतै छ मोबाइलको पर्दामा तर धोरिएर हेर्छु त्यसको नामोनिसान भेट्दिन । समयको सितन खानलाई यी सामाजिक सञ्जालले बिभिन्न प्रपञ्च रचेका छन् र म पनि त्यसकै सिकार भएको छु ।  मलाई कति पनि लाज छैन म सामाजिक सञ्जालको अम्मली भएको छु भन्नमा । 


केहि समय अघिको कुरा हो । कोभिड ताकाको । सबैले घरबाट बाहिर ननिस्की केवल सामाजिक सञ्जालमै समय बिताए । मैले त्यस बेला एउटा अनौठो निर्णय लिएँ । सबै सामाजिक सञ्जाल पूर्ण रुपले डिलिट गरेर बस्ने । फाइदा के भयो भने । लामो समय देखि पढ्न मन भएको महाभारत करीब ९ दिनमा पढेर सकियो । त्यसै ताका म नेपाल एड्थ वन्डर मेडियाका लागि भिडियो सक्रिप्ट पनि लेखिरहेथेँ । मोबाइल हातमा हुँदा तीन दिन लाग्ने त्यो काम मैले १० घण्टामा गरि भ्याएँ । त्यस समय मलाई आभाष भयो कि म सँग समयको कमी छैन म सँग लगाबको कमी छ । केहि दिन अघि नेटफ्लिक्स को फिल्म द सोसल डिल्लेमा हेरेँ । जहाँ सामाजिक सञ्जालले जीवनलाई कति असर गर्दछ भन्ने कुराका बारे फेसबुक गुगल र इन्सटाग्राम लगायतका सामाजिक सञ्जालसँग आबद्ध भइ काम गरेका केहि मानिसहरुको भनाइ थियो कि सामाजिक सञ्जालले मानवता माथि पाप गरिरहेको छ ।


एक बर्ष अघिको कुरा हो । म कलेज पढाउन भनि नेपालको जानिएकै एउटा प्लसटु कलेजमा पुगेँ । टुरिजम पढाउन त्यहाँ पुगेको मैले बिद्यार्थीहरुलाई सोधेँ । तपाईहरु कलेज सकिएपछि के गर्नु हुन्छ ? लगभग धेरैको जवाफ थियो घर पुगेर मोबाइल चलाउने त हो सर । त्यस क्षण मैले आफ्नो कलेजको दिन सम्झेँ ।  त्यस समय म जीवन्त थिए । कलेजको गाडीमा मेरो मुहार मोबाइलमा न्युरिएको हुँदैनथ्यो । म आफु वर परको जीवनलाई अलिक मज्जाले नियाल्न सक्थेँ । कलेजका विद्यार्थीको कुरा सुनेर मैले सोचेँ उनीहरुले जीवनलाई चाहिने सीप कुन समयमा सिक्छन् । सबै समय त मोबाइललेनै खाइदिन्छ । 


भन्दा अलिक कस्तो कस्तो लाग्छ तर मैले देखेको छु नेपाली पढ्न नजान्ने Influencers । मलाई त नेपाली पढ्नै आउँदैन भनेर गर्व साथ भनिहिँड्छन् । सामाजीक सञ्जाल चलाउने समयको केवल आधा घण्टामा दिनमा नेपाली पढ्नु भने सायद तिनले नेपाली पढ्न सिक्ने थिए । म त्यसरीनै आफुलाई पनि हेर्छु । मैले के गरिरहेको छु । के मैले यिनै सञ्जालमा हेर्ने कुराले मेरो भविष्य उज्जवल बनाउँछ ?  न मलाई कतै पुर्याउँछ । म मान्छु कि मलाई यसले परिचीत बनाएको छ र केहि मानिसहरुको नजरमा पर्न म यसै मार्फत सफल भएको छु । तर यसरी तरुनीहरुको शरीर , सेलिब्रेटीको गसिप , चाइनाको कुनै गाउँमा मानिसले बनाएको बाँसको भाँडा कुँडा, फ्याक्ट्रीमा चिप्स प्याकिङ लगायतका भिडियो हेरेर मलाई फाइदा के हुन्छ ? म यस्को उत्तर कतै भेट्दिन । 


मानिस आफ्नो असफलताले भन्दा अरुको सफलताले धेरै बिचलीत हुने गर्दछ । यो हरेक मानिसभित्र रहेको एक सत्य हो । यसलाई बढावा दिन, मानिसमा असन्तुष्टि निम्त्याउन सामाजिक सञ्जालको ठूलो जालो हाम्रो वरिपरी छ । हामी त्यसलाई देखेर पनि देख्न सक्दैनौँ । हाम्रो जीवन संसारका सबै मानिस भन्दा पृथक छ र आफ्नो त्यो पृथक व्यक्तित्वको खोज गर्नु नै मानव जीवनको उद्देश्य हो । छोटो रुपमा भन्दा आफु हुनु जीवनको उद्देश्य हो तर यस उद्देश्यबाट यो नयाँ पु्स्ता बिभुख छ । यसमा म स्वयं  आफैलाई पनि गन्दछु ।जामा साइक्रिएट्रीले गरेको एक अनुसन्धान बताउँछ कि दिनको ३ घण्टा भन्दा बढी सामाजिक सञ्जाल चलाउने टिनएजर्समा ६० प्रतिशतलाई मानसिक रोग र डिप्रेसनको खतरा हुन्छ र दिनको ५ घण्टा चलाउनेहरुको  ७८ प्रतिशतलाई मानसिक रोग र डिप्रेसनको खतरा हुन्छ । 


मोबाइल चलाइरहने मानिसलाई लाग्न सक्छ दिनको एकाध घण्टा मोबाइल चलाएर के भयो र । मलाई पनि पहिले यस्तै लाग्थ्यो । तर अहिले लाग्दैन । मैले के गुमाए म यहाँ खुलेर व्यक्त गर्न चाहन्छु । 


  1. दिनको कम्तीमा ४ घण्टाको हिसाबले महिनाको १२० घण्टा र बर्षको १४४० अर्थात बर्षको ६० दिन म सामाजिक सञ्जाल चलाएर बिताउँछु । 

  2. फेुबुकमा १७०० साथी र इन्टाग्राममा ७०० फलोअर्स छन् जो जोडिएका छन् मसँग । जसलाई मेरो जीवको यो पाटो जुन यहाँ व्यक्त गर्दैछु त्यसको कुनै ज्ञान छैन ।( यो गुनासो हैन आत्मबोध हो ) 

  3. मेरो चेतना सधै धेरै भन्दा धेरै जानकारीहरुको भारले थिचिएको छ । केपी ओलीले कुन रंगको छाता ओडे जस्ता समाचारले मलाई के फाइदा दिन्छ ? अनमोल केसीले के गर्न जाँदा कस्तो गाडी चढ्छ मलाई के मतलब तर म त्यसमै हराइरहेको हुन्छु । थाहै हुँदैन हराएको । 

  4. यौन उमेरको आवस्यकता हो तर सामाजिक सञ्जालमा आइदिने अनेक सेक्सुएल टपिकले बेला न कुवेला यौन चाहना बढाइदिन्छ । नोरा फतेहीको नितम्ब मलाई पनि मनपर्छ । यो अप्राकृतिक हो । सबै कुराको समय हुन्छ । यौन को पनि ।  

  5. एकाग्रताको कमी । मोबाइल को नोटिफिकेसन अफ भए पनि बजिरहेझै लागेर मोबाइल उठाउने बानी । एउटा आम मानिसले दिनमा ५८ पटक आफ्नो मोबाइल चेक गर्छ अरे । म आम मानिस हुँ । 

  6. परिवारको सबै सदस्यको हातमा मोबाइल छ । सबै निहुरेर त्यतै मात्र हेर्दछन् । खाना खाने बेला समेत भिडियो कल भइरहेको हुन्छ । मानिसहरुसँग अचेल अर्थपूर्ण संवाद बिरलै हुन्छ । 


द सोसल डिलेमाले मेरो आँखा खोलिदियो । उक्त फिल्म भित्र एउटा अनौठो सत्यलाई उजागर गरिएको छ । पत्रिका मैले पढे पनि अरुले पढे पनि त्यहाँ भित्रको विषय एकै हुन्छ । पत्रिका ब्यवसायीले हरेक मानिसको लागि भनेर छुट्टै पत्रिका निकाल्दैनन् तर फेसबुकलाई हेरौँ त हरेक मानिसको वाल मा फरक फरक कुराहरु छन् । यसको अर्थ के हुन जान्छ भने फेसबुकलाई तपाई हामीले के कुरा हेर्न बढी रुचाउँछौँ भन्ने कुराको ज्ञान छ र उसले त्यस्तै कन्टेन्टको सहायताले हामीलाई बाँधिराख्दछ र हामीबाट फाइदा लिन्छ । हामीलाई बिज्ञापन बेच्छ र पैसा कमाउँछ । 


फिल्ममा अर्को एउटा भनाइ छ If you get something for free, You are the product.  अहिले म यस कुरालाई मनन गरिरहेको छु । सामाजिक सञ्जालले नराम्रो मात्र गरेको छ भनेर म भन्दिन । कति मानिसले यसबाट व्यपार गरेका छन् जीवन चलाएका छन् । केहिलाई यसले फाइदै दिएको छ । तर यसरी नयाँ सामानहरुको ब्यापार गर्नेले राम्रा राम्रा भिडियो बनाएर सामान राखेपछि हामीले हामीलाई आवश्यकता नभएका कति सामान किनेका छौँ ? म कहिले काँहि यसरी पनि सोच्ने गर्दछु । 


पछिल्लो समय मैले एकाग्र भएर लेखेको यही एउटा लेख हो । अरु लेख लेख्दा मोबाइल साथै हुन्थ्यो । कहिले त्यहाँ अल्मलिन्थे अनि एक दुई घण्टा बितेको पत्तो हुँदैन थियो । आज जे होस् खुलेर लेखेको छु । मोबाइलले बेला बेला बोलाएर दु:ख दिएको छैन । सबै एप मोबाइलबाट उडाइदिएको छु । नोटिफिकेसन बन्द छ , म मस्त छु । द सोसल डिलेमाकै कुरा हो । भनिएको छ साइकल पनि एउटा मानव जीवनलाई सहज बनाउन गरिएको आविश्कारनै हो तर त्यो कुनामा बस्छ र कहिल्यै मानिसलाई बोलाइरहँदैन । मानिसलाई जब मन हुन्छ उसले त्यसलाई निकाल्छ र यात्रामा निस्कन्छ । तर मोबाइल मानिसलाई नजिक आइज भन्दै हरपल बोलाइरहन्छ ।  मलाई याद छैन पछिल्लो समय मैले कुन गीतलाई मज्जाले सुनेँ । कति ध्यान दिएर कुनै किताब पढेँ । गीतारमा स्वर लगाएर मनबाट नगुनगुनाएको कत्ति भयो । सबैथोक हातमा हुँदा पनि सबैथोक कसरी हातबाट फुत्कन्छ भन्ने कुराको बोध अहिले भएको छ मोबाइलसँगको सहवासले । तर अब म त्यो हुन दिने छैन । म अब मोबाइललाई सुनिदिन छोड्ने वाला छु । मेरो लागि मोबाइल आजबाट एउटा सहयोगी आविष्कारका रुपमा मात्र सिमित रहनेछ । म अब त्यसलाई जीवन मान्ने छैन ।


यो लगायत बिभिन्न कुराहरु छन् जसले सामाजिक सञ्जालको यो भागदौडमा जीवन कतै छुटिरहेको आभाष दिलाउँछ । म पेसाले एक यात्रा लेखक हुँ । हाल फ्रिल्यान्सर । मलाई लाग्छ म यात्रामा जाँदा बढी जीवन्त हुन्छु । यात्रामा सबै कुरा बिस्तारै चलिरहेको आभाष हुन्छ । खोला कहिल्यै हतार गरेर बग्दैन सधै उही लयमा बग्दछ । त्यसैले सोच्न बाध्य बनाउँछ कि सामाजिक सञ्जाल हतारको एउटा ठूलो खाडल हो । यहाँ मानिससँग समय त छ तर समयनै छैन । यो हतारमा एकै पटक १०० मानिसको जीवनमा के चलिरहेछ त्यसको खबर मानिसले पाउँछ । उसको जीवन एकाएक उसलाई कछुवा लाग्दछ । मानिस अरुको जीवनलाई हेर्दा हेर्दै आफ्नो जीवनलाई बिर्सन पुग्दछ । यो लेख फेसबुकमा पोस्ट्याउने मेरो अन्तिम लेख हुनेछ । आफुसँग गरेको एक वाचा हो यो । जहाँ सम्म साहित्यको कुरा छ । मलाई लाग्छ साहित्यलाई पाठकले खोज्दछन् । साहित्यले पाठकलाई खोज्दैन । मेरो युट्युव च्यानल ज्युदै रहनेछ त्यहाँ मेरो काम मन पराउने मानिस बिस्तारै जोडिदै जानुअहोला । यो लेख आएको ब्लग पनि जीवित नै रहनेछ  । फेसबुक पनि रहन्छ तर म त्यसलाई र इन्टाग्रामलाई कुनै चुरोटको लतीले चुरोटेहरुकै बीच रहेर चुरोट छोडेझैँ छोड्न चाहन्छु । त्यसरी छोड्दा भविष्यमा यसको तलतल लाग्नेछैन । 


अन्त्यमा इडवार्ड टुफटेको एउटा भनाइ :

“There are only two industries that call their customers “users”: illegal drugs and software.” 

- विजय लुइटेल 

सामाजिक सञ्जाल बिना बिताएका १३ दिनको अनुभव म मेरो ब्लग मार्फत सेयर गर्नेछु । पहिलो दिनको अनुभव पढ्न यहाँ क्लिक गर्नुहोला ।

यहाँ सबैले जोडिनु पर्ने आवश्यकता छैन । यदि तपाईहरुलाई पनि म जस्तै सामाजिक सञ्जाल वा मोबाइलको लत छ र त्यसले तपाईको जीवनमा नकारात्मक असर पारेको छ भने bijayawrites@gmail.com मा आफ्नो अनुभवहरु लेखेर पठाउनु होला । म सबैलाई समेटेर एउटा लेख लेख्नेछु । त्यमा तपाईको नाम राख्ने वा नराख्ने त्यो तपाईको निर्णयमा भर पर्नेछ । यदि ५ जना भन्दा अघिक मानिस म सँग जोडिनु भयो भनेँ हामी कुनै दिन कतै बसेर सानो छलफल कार्यक्रम पनि आयोजना गर्न सक्नेछौँ । 

युट्युव सब्सक्राइब गर्न तलको लिङ्कमा जानूहोला ।


Comments

Post a Comment

Popular posts from this blog

बडीमालिका : क्षणभङ्गुरता

Photo : Rupesh Lekhak २७ बर्ष पुग्यो यात्री । जीवन के हो र यसको उत्तर कहाँ छ सदा यहि प्रश्नमा रुमल्ली रहन्छ । झिना मसिना कुरामा खुसी भइदिन्छ अनि सानै कुराले पनि उसको मनमा ठेस लगाइदिन्छ । सिक्दैछ स्वीकार्न जीवनका गुण र अवगुण दुवैलाई । सुनेको हो उसले पनि बडिमालिकाका बारेमा , सामाजिक संञ्जालमा भिरालो डरलाग्दो बाटोको भिडियो हेरेको हो तर त्यस ठाउँलाई छुन र त्यहाँको बतासमा आफ्नो सास मिसाउन पाए एक नयाँ अनुभुति जीवनलाई दिन सक्ने थिएँ भनि सोच्दथ्यो ।अहिले सफल भएर फर्किएको छ । जिएर  उब्रिएका अनुभवहरुलाई खल्तीमा बोकी हिँड्नेछ यात्री आजीवन अब । यो त्यही यात्रीको कथा हो ।  कथाको सुरुवात पुर्णविरामबाट … नेपालगन्ज सम्मको हवाई यात्रामा उसलाई कुनै सास्ती झेल्नु परेन । आनन्दले बादलको खेलकुद हेरेर मन बहलाइरह्यो । आफु भन्दा तल उडीरहेका बादल हेरेर सोच्यो अह्म भन्दा कति ठूलो छ संसार । भोली पल्ट भने उसको जीवनले एक पुर्णबिरामलाई च्वास्स छोएर फर्किदियो । नेपालगन्ज स्थित सिद्धार्थ होटलबाट केही अघि पुगेको थियो उसले चढेको कालो रँगको टाटा सुमो गाडी । एकाएक केही कुरा जलेजस्तो गन्दले पुरै गाडीलाई छोप्यो । गाडी रोकिय

वर्क लाइफ व्यालेन्स ( Work-Life Balance )

पहाडको शिरमा मुस्कुराइरहेछन् एक लस्कर अपरिचित रुखहरु । एक लस्कर, अपरिचित यादहरु । निक्कै परबाट हेर्दा त्यस्तै प्रतित भइदिन्छ । कोही सुस्ताएका होलान् कुनैदिन ती रुखका छहारीमा , एक जीवनलाई पुग्ने सम्झना मनलाई बोकाएर फर्किएको होलान् । ती को हुन् , कहाँ बस्छन् , के गर्छन् , उमेर कति हो , सास फेर्दै छन् कि धुवाँ बनिसके यसमा कोही जानकार छैन । जानकार यदि कोही छ भने ती आफै छन् तर उनीहरुको अस्तित्व माथिनै एक पश्न छ किनभने ती मेरो कल्पनमामा मात्र सिमित छन् । तेरो सम्झना ,उस्को सम्झना, तपाईको सम्झना सबै त्यही रुखको छहारीमा एक हुन सक्दछन् । तर नहुन पनि सक्दछन् । त्यो केवल रुखको एक छहारी न हो । क-कसलाई समेट्न सक्ला र बिचरा त्यसले ?  जिम्मेवारीको यत्रो भारी कहाँ बोक्न सक्ला  ? तर थोरै भने बोक्न सक्षम छ ।  मेरा थोरै सम्झनाहरु त्यो छहारी मुनि समेटिएका छन् । मलाई तिनैले आज एकाएक यात्रा सम्झाइदिए । यस्ता सम्झना केलाउदा लाग्छ म जन्मिएकै यात्रा गर्न हुँ । यात्राका केयौँ यस्ता सम्झना छन् जसले मलाई आफैलाई चिन्न मद्दत गरेका छन् । केही समय अघि मन विचलीत हुने बित्तिकै म यात्रामा निस्कन्थेँ । उदासी अनि जीवनमा आ