मुसाको टाउको र चौकीदारको मौनता
A Fiction by Bijaya Luintel
दिन याद छैन , समय पनि यतिबेलै भन्न सक्दिन तर जे होस् दिउसोको बाह्र नाघेको थिएन । बुद्धि बङ्गाराले दुख दिएका कारण मलाई एक पल्ट ओ पि जि गर्नु पर्ने भयो । त्यही गर्नलाई भनेर म कुपन्डोल सम्म जान लागेको थिएँ । म संग मामाको छोरो आयुष पनि जाँदै थियो जसलाई माइतीधर छोडेर मैले कुपन्डोल जानु थियो । मज्जाले घाम लागेको त्यस दिन म कुपन्डोल जानलाई घरको सिँडीछेउ बसेर जुत्ता लगाउँदै थिएँ । जुत्ता लगाउँदै गर्दा मामाको छोरो आयुषले “ दादा तल आँगनमा त बिरालोको टाउको छ ” भन्न भ्यायो । आँगनमा बिरालो मात्र छ भन्दा खासै अचम्म मान्ने थिइन होला तर बिरालोको टाउको मात्र छ भन्ने सुनेर हतार हतार जुत्ता लगाएर म आँगनमा झरेँ । त्यहाँ पुगेर आँगनमा लडिरहेको बडेमानको टाउको देखेर अचम्म लाग्यो । के रहेछ भनेर निउरिएर हेरें । त्यहाँ बिरालो नभएर मुसाको टाउको लडिरहेको रहेछ ।
“ थुक्क मुला एउटा मुसा र बिरालो छुट्याउन पनि जान्दैनस् है ” भनेर एक बचन मामाको छोरोलाई सुनाएर म लासलाई मज्जाले नियाल्न थालेँ । जिउँदो हुँदा हामीले सधै देख्ने भन्दा निकै ठूलो कायाको मुसा थियो होला भन्ने कुरा भुईमा लडेको टाउकाको गिडले बताउँथ्यो । मुसाको टाउकोलाई चारै तिरबाट हेर्दा मलाई लाग्यो यो मुसालाई कसैले दशैमा खसीलाई मार हाने जसरी मार हानेको हुनु पर्छ । घाँटी एकदमै सफा तरिकाले काटिएको थियो मानौ त्यसलाई कसैले अचानोमा राखेर च्वाट्ट छिनाएको होस् ।
लासलाई केहीबेर नियालेर मैले आकाश तिर हेरें । मुसाको मरण देखेर दिगमिग भएँ । राष्ट्र कविको यसरी होस् मरण भन्ने गीत सम्झना आयो । गीतको बोल र मुसाको मरणलाई एक पल्ट चेतनाका माध्यमले दाँजेर हेरेँ । भिन्नताको एउटा बढेमानको पहाड मेरो अघि देखा पर्यो । राष्ट्र कविको गीत तिर धेरै ध्यान केन्द्रित गरे मुसाको टाउकोको केसको सत्य सम्म नपुगिने देखियो । ह्या … बेकारको कुरा किन सोच्छु भनेर आँफैलाई मैले फेरि यथार्थमा उभ्याएर हेरे । मलाई लागिरहेको थियो कि यस लासलाई कुनै कौवाले बोकेर ल्याएर यता खसालेको हुनु पर्छ । तर मनले कागलाई भन्दा बढि संका घर भित्र बसिरहेको मेरो कुकुर भोलुलाई माथि गर्न पुग्यो । करीब साढे दुई बर्ष उमेरको मेरो कुकुर भोलुले गरेका बिगतका बिभिन्न करतुतका कारणहरुले गर्दा यस घटनाको दोषी भोलु हैन भनेर भन्न सकिने अवस्था थिएन । सानै हुँदा परेवा पक्रेर त्यसलाई संसार सागर तारिदिने भोलुलाई मैले दोषी नमानि हाल्न सकिन । कुपन्डोल जान हतार भइसकेको थियो । सोचेँ अहिले यो लासलाई ठेगाना लगाएर कुपन्डोल जान्छु भरे आएर भोलुसँग सवाल जवाफ गरौला । त्यसपछि लासलाई मैले एकदमै नाजुकताका साथ फोहोर उठाउनेमा उठाएँ र अलिक पर लगेर घर तलको बारीमा पुग्ने गरि बल लगाएर हुर्याएँ । टाउको बारीमा पछारिएको आवाज कानमा आएर ठोक्कियो ।
त्यस दिन कुपन्डोल पुगुन्जेल , ओ पि जी गर्दा र घर आउन्जेल मुसाकै टाउकाको कुरा मेरो मानसपटल भित्र घुमिरह्यो । सोचेँ आखिर त्यस मुसाको शिर शरीरबाट कस्ले अलग गरिदियो होला ? घर आइपुग्दा सम्म म एउटा निस्कर्षमा पुगिसकेको थिए कि भोलुले त्यस मुसाको शरीर सबै खाएर केवल टाउको मात्र त्यहाँ बाँकी छोड्यो । तर त्यस कुरामा पनि मैले आफैलाई मनाउन सकेको थिइन । सबै शरीर खाएर भोलुले टाउको मात्र किन छोड्थ्यो भन्ने कुराको तर्क खोज्न थालेँ । एउटा तर्क भन्थ्यो कुकुरलाई मुसाको टाउको मिठो लाग्दैन होला त्यसैले भोलुले टाउको छोडेको हुनु पर्छ , अर्को तर्क भन्थ्यो कि मरेको मुसाको आँखामा आँखा मिलाउन नसकेकाले भोलुले मुसाको टाउकोमा आफ्ना मजबुत दाँत गाड्न सकेन ।
भोलु उर्फ चौकीदार |
घर पुगेर भोलुलाई मैले बिहान भएको घटनाका बारेमा नसोधेको भनेँ हैन । क्याल्सियम बोन र डग फुडको लोभ देखाएर बिहानको भएको घटनाका बारेमा जानकारी मागेको थिएँ । घरको चौकीदार भएको नाताले उसले जवाफदेही हुनु पनि पर्ने हो तर बोली नभएका कारण मैले उबाट कुनै उत्तर फुत्काउन सकिन । सुन्न सके ढुङ्गो पनि बोल्छ भन्छन् कुकुर किन नबोल्ला र भनेर मैले गरेका सबै प्रयास एक एक गर्दै असफल भए । चौकीदारको मौनता मलाई हरेक पल उत्तरबाट झन् टाढा लगिरहेको थियो । त्यती हुँदै गर्दा अचानक मेरो दिमागमा थाहा छैन कताबाट एउटा जुक्ति फुर्यो ।म बिश्वस्त भएँ भोलुको मुखले बोल्न नसकेको सत्य अब उसको चाकले बोल्नेछ , उसको दिसाले बोल्नेछ ।
मलाई राम्रो संग थाहा थियो कि कुकुरहरुले मासु खाँदा भुत्ला छुट्याएर कहिले पनि खाँदैनन् । त्यसैले दुई तिन दिन दिन भित्र भोलुको दिसामा मुसाको रौँ देखिए मुसा उसैले खाएको पुस्टि हुनेछ भनेर म दङ्ग परेँ । त्यसपछिका एक दुई दिन मैले भोलुको दिसा निरिक्षण गर्नमा लगाएँ । तर त्यहाँ पनि रौँका कुनै चिन्ह भेटिएनन् । यो केस मेरो चेतना भन्दा माथिको कुरो हो भन्ने कुरा मैले भोलुको छैटौँ पल्टको दिसा निरिक्षण गरेर थाहा पाएको थिएँ । धेरै दिन मुसाको टाउकोको केस दिमागमा घुमाएर भोलुको छैटौँ पल्टको दिसा निरिक्षण गरेपछि केही उपाय नलागेर त्यसै दिन मैले सधैका लागि मुसाको टाउकोको केसलाई बिर्सने निधो गरेँ । त्यसरीनै जसरी नेपाली जनताले बिर्सिएका छन् दरवार हत्याकान्ड , दास ढुङ्गा हत्याकान्ड , निर्मला पन्त हत्याकान्ड र अन्य यस्ता थुप्रै हत्याकान्डहरु । सत्य भेटिने कुनै गुन्जायस नरहे पछि कुनै कुरालाई बिर्सननै श्रेयकर हुन्छ भन्ने कुरा आफैलाई मनाएर मैले त्यसदिन मुसाको टाउको केसलाई बिट लगाएँ । त्यसपछि फेरि कैयौँ दिन सम्म मुसाको टाउकोको केस मेरो छेउ परेन । तर जब त्यो मेरो छेउ पर्यौ एउटा यस्तो प्रश्न दिएर बिदा भयो जसको उत्तर सायद यो जीवनमा मैले भेटाउने छैन ।
मुसाको केसलाई बिर्सने निधो गरेको करीब एक महिना पछिको कुरा हो । बारीमा लगाएको स्कुसको मचानलाई भत्काएर बारीलाई अलिक उज्यालो बनाउनु पर्यो भनेर आमाले राखेको प्रस्ताव स्वीकारेर म हसिया लिएर बारीमा निस्किए । लगभग एक घण्टा जस्तो काम गरेर मचान खुस्काइसकेपछि सुकेका पात बाल्न लागेको थिएँ । त्यतीकैमा आमाले मलाई स्कुसको बोट छेउ मरेको मुसाको लास देखाउनु भयो । उठेर घटनास्थल पुगेँ र लासलाई ध्यान दिएर केहिबेर नियालेँ । त्यहाँ मुसाको शरीर मात्र थियो, टाउको थिएन । त्यो देखेर मगजले फेरी मुसाको टाउको केसमा भोलुलाई दोषी देखाउन खोज्यो । धेरै बेर भोलुले यो कसरी गर्यो होला भनेर सोचेँ । एक पछि अर्का तर्कहरुलाई मनमा खेलाएर अन्तयमा यो आभाष भयों कि मुसाको लास बार बारेको बारी भित्र भएकाले भोलु त्यहाँ पुग्न सक्ने कुनै उपाय थिएन । त्यसपछि भोलुलाई निर्दोष घोषणा गरेर मैले मुसाको लासलाई बल्दै गरेको आागोमा हालिदिने निधो गरेँ । बेल्चा लगेर लासलाई सोर्दा लासबाट स्याउँ स्याउँ औँसाहरु झरे । औधि घिन पनि लाग्यो ।
जसै आगोमा त्यो लासलाई हालेँ र बिस्तारै लास बल्न थाल्यो । म भित्र एकाएक एउटा अनौठो प्रश्नले जन्म लियो । मैले आँफैलाई सोधेँ के मैले करीब एक महिना अघि फ्याकेको टाउको के यहि मुसाकै थियो त ? भर्खरै बालेको लासको बिशालताले त कतै न कतै त्यही सत्य हो भन्ने तर्फ इसारा गर्दै थियो तर नहुन सक्ने सम्भावना पनि उतिकै प्रवल भएकाले म कुनै निश्कर्षमा पुग्न सकिन । आगो बिस्तारै बढ्दै गयो र लासलाई निल्न थाल्यो । लास जलिसक्दा म सँग केवल एउटै मात्र प्रश्न थियो कि त्यो मुसालाई आखिर मार कसले हान्यो ? अनि किन हान्यो ?
बेला बेला सोच्छु जीवनमा पनि कयौँ यस्ता प्रश्नहरु हुन्छन् जसका कुनै उत्तर हुँदैनन् । तिनका उत्तरलाई कहिलेकाँही बिगतले आफैसँग अन्धकारमा लुकाइ दिन्छन् भने ति कहिले अनिश्चित भविष्यको बिशालतामा कतै नभेटिने गरि बाँचीरहेका हुन्छन् । कति प्रश्नहरुको नियति नै यस्तो हुन्छ कि ति आजीवन प्रश्न मात्र बनिरहन्छन् । अनि कति उत्तर यस्ता हुन्छन् कि तिनलाई कसैले खोज्दैन , कसैले तिनको नाम बोलाउँदैन । अनकन्टार बनमा रहेको कुवाको पानीझै हुन्छन् ति उत्तर जसलाई उघाउन कोही त्यहाँ पुग्दैन । अझै कति प्रश्न अनि कति उत्तर त आफै जस्ता पनि हुँदैनन् ........
मेरा अरु लेख र कविताहरु सुन्नका लागि मेरो युट्युब च्यानलको पेजमा जानुहोला :
https://www.youtube.com/@NepaliPoetrybyBijayaLuintel मनपरे Subscribe पनि गरिदिनुहोला । मन नपरे तपाईहरुको समय बरबाद गराएकोमा माफी माग्दछु ।
Keep doing wonders Biju. 👏
ReplyDeleteThank you dai
Delete