अहिलेको जस्तो स्थिति आइ लाग्दा लेख्ने चेतना सिर्जना गरेकामा मलाई असाध्यै खेद लाग्छ । एकछिन अघि सम्म म स्वर्ग लोकमा सुन्दर परीहरुसँग रमाइरेहको थिएँ । सोफामा पल्टेर परीहरुले हल्लाइरहेको हाते पंखाको हावा खाइरहेको थिएँ । त्यतीकैमा यो बिजय लुईटेल भन्ने एउटा ठिटोले “ भगवान लौ न एउटा सानो प्रेम कथा लेखुँ जस्तो लागेको छ तपाईले यो कथाको सुत्रधार बनिदिनु पर्यो “ भनेर मलाई यता बोलायो । हावा कुरा नगर् । अरु जो कोहीलाई सुत्रधार बनाए पनि भइगयो नि भनेर त्यसलाई मैले निकै टार्न खोजेँ । अहँ ! तर भगवान त सबै तिर हुन्छन् भन्ने सुनेको हुँ, मेरो कथाको सुत्रधार बन्दा के जान्छ तपाईको भनेर मलाई मनाएरै छाड्यो ।
साँचो कुरा भन्दा यो बिजय लुईटेल भन्ने मानिसलाई मेरो अस्तित्व माथीनै संका छ जस्तो लाग्छ कहिलेकाँही । यसले बिना मतलब आफ्नो स्वार्थको लागि मलाई प्रयोग गरिरह्न्छ । प्रयोग पनि के भन्नु यसको चेतना मलाई प्रश्न गरिरहन्छ । मलाई म छु भन्नका लागि भए पनि यसका कुरा मान्नु पर्ने आपत आइलागेको छ ।
“धुम्म बादल लागेको आकाशबाट भगवान जमिन तिर चियाउँछन् “
ए ! पख् न हौ एकछिन मैले मेरो परिचय दिँदै थिएँ ।
भगवान हेर म तिम्रो कथामा आएको हैन तिमी मेरो कथामा आएका हौ । यो कथा त्यसैले मैले भने अनुसार चल्छ । कतिनै मेरो जीवन अनि कथा दुबैमा आफ्नै हैकम चलाउन खोजेको होलाउ म त्यसो हुन दिने पक्षमा छैन । यहाँ दुई प्रेमी भेटिने बेला भइसक्यो । त्यो घना बादल च्यातेर तल यसो हेर्नु पर्यो के भगवान । बरु कथा सकिने बेलामा फेरि दुई शब्द राख्नु होला । सुरु गरौ न ल ?
लै त सुरु गर् अन्तिममै बोल्छु उसो भए म ।
उसो भए फेरी सुरु बाटै सुरु गरौँ है त ?
ल ल गनगन नगरि कलम चला । धेरै बेर नलगाउनु ।
“धुम्म बादल लागेको आकाशबाट जमिन तिर चियाउँछु । प्रस्ट केहि देखिँदैन त्यसैले आफ्नो दैवी शक्ति प्रयोत गरेर बादलको पर्दा हटाउँछु । मेरो अगाडि अहिले मसिनो धर्का जस्तो एउटा राजमार्ग देखिएको छ । मैले तपाईहरुलाई देखाउन लागेको प्रेम कहानी आज यही राजमार्गमा मञ्चन हुँदैछ । देख्न कठिन भएको भए तपाईहरुलाई म अलिकति जुम गरेर देखाइदिन्छु ।
राजमार्ग पुरै कालोपत्रे छैन । कता कता चिल्लो कालोपत्रे छ भने कतै खाल्डा छन् अनि कतै हिलो पनि छ । राजमार्गसँग छेउछाउबाट आएर अनगिन्ती बाटाहरु आएर जोडिएका छन् । त्यसतै एउटा बाटोबाट एक युवती मुल बाटो तर्फ बढ्दैछिन् अनि अर्को बाटोबाट एउटा युवक अघि बढ्दैछ । उनीहरु अबको केहि बेरमा त्यो ठूलो राजमार्गमा भेट्नेछन् ।
म तिनको कथाको धेरै भित्र सम्म गएर तपाईहरुलाई बाक्क लगाउने पक्षमा छैन । तपाईहरु यति बुझ्नुस कि ती दुबै उदेश्यहिन छन् । तिनलाई पुग्नुपर्ने ठाउँ थाहा छैन । पुग्नु पर्ने ठाँउ थाहा नभएपछि झन् त्यहाँ पुग्ने बाटो थाहा हुने कुरै भएन । उनीहरु जीवनको उदेश्य खोज्ने क्रममै एक अर्कासँग त्यो बाटोमा भेट्दैछन् । यति भनेपछि तपाईले यस कथाका पात्रलाई थोरबहुत चिन्नु भयो होला । पात्रहरुलाई कुनै नाम दिन चाहनु हुन्छ भने आफ्नो हिसाबले दिन सक्नुहुन्छ । आफ्नै कथाहरुसँग जोड्न मन लागे पनि तपाईहरुलाई त्यसको छुट छ । म चाँही कुनै नाम बेगर नै यो कथा अगाडि बढाउँछु ।
कल्पना गर्नुहोस कि ती दुई जीवनको यस राजमार्गमा एक अर्कासँग भेटेका छन् । उनीहरुको आँखा जुधेको छ र एकै नजरमा प्रेममा पनि परेका छन् ।
कथा भन्ने तरिका अलिक छिटो छ । सुरु हुँदा नहुँदै कथा सकिन पनि सक्छ । ध्यान दिइ रहनुहोला ।
कथामा देख्ने बित्तिकै माया बस्ने कुरा अलिक चाँडो भयो भन्ने मलाई पनि लागेको छ तर मैले यहाँ एउटा जीवनलाई केही छिनमा भन्न खोज्दैछु त्यसैले तपाईको आफ्नो प्रेम कहानीलाई यस कहानीमा मिसाएर हेर्नु होला । आफ्नै प्रेमी वा प्रेमीकालाई यसको पात्र बनाउनु भयो भने तपाईलाई यो कथा अलिक पत्यार लाग्दो लाग्ने मेरो बुझाइ छ । तर केवल प्रेमी र प्रेमीका मात्र हैन मिल्ने साथी , दाजु भाई, नाता गोता जो कोहीलाई पनि यस कथाको पात्र बनाउन तपाईहरुलाई छुट छ ।
यी दुई प्रेमी अहिले सम्म कालो पत्रे बाटोमा हिँड्दैछन् । सबै थोक मज्जाले चलिरहेको छ यिनको जीवनमा । केही बेर पछि यिनले खाल्टाहरुको सामना गर्नेछन् । त्यपछि यिनको सम्बन्धमा खटपट सुरु हुनेछ । खाल्डा सकिने बित्तिकै राजमार्गबाट अल्ग हुने दुई बाटो भेटिनेछन् । यो राजमार्गको एउटा अनौठो कुरा के छ भने हरेक अप्ठ्यारा पछि छिट्टिने बाटो भेटिनेछन् । तर यी दुई प्रेमी समस्याको समाधान खोज्दै अघि बढ्ने कुरामा बिश्वास राख्छन् । त्यसैले केहि पर सम्म साथै अघि बढ्दछन् । हिँड्दै जाँदा हिलो बाटो पार गरेपछि ढुङ्गै ढुङ्गाको बाटो आउँछ । त्यो ढुङ्गामा ठेस लागेपछि भने यिनले एक अर्कासँग छुट्टिएर अलग बाटो लाग्ने निधो गर्छन् । हामी अहिले तिनीहरु छुट्टिने ठाउँमै उभिरहेका छौँ ।
धेरै चाँडो कथा बढ्यो जस्तो लागेकाले म तपाईहरुलाई उनीहरु छूट्टिनुको कारण चाँहि भनिदिन्छु । जीवनको राजमार्गमा केही समय सहयात्री बने पछि उनीहरुले एक अर्काको गन्तव्य अलग भएको आभाष गरेका छन् । उनीहरुको साझा बुझाइ के छ भने एक उदेश्यहीन ब्यक्तिलाई एक्लै हिँड्न जति सजिलो हुन्छ त्यो भन्दा कयौँ गुणा गाह्रो अर्को उदेश्यहिन ब्यक्तिलाई साथमा लिएर हिँड्न हुन्छ । उनीहरुले जिवनको यो मोडमा आएर आफ्नो गन्तव्य कतै छ भने त्यो सम्म एक्लै जाने सोच बनाएका छन् । आम प्रेमीझै छुट्ने बेला दुबैका आँखा रसाउँछन् । एक अर्कालाई अँगालो हालेर उनीहरु भन्छन् । यस्तै भयो नराम्रो नमान्नु । तिम्रो र मेरो गन्तव्य फरक भएकाले हामी साथ हिँड्न सकेनौँ यदि भगवानले चाहेमा फेरी भेट होला । अहिलेलाई भने छुट्टिनुनै मुनासिब छ । यति भन्दै उनीहरु फरक बाटो लाग्दछन् ।
कथा यहि आएर अन्त्य हुन्छ । तपाईहरुको समय बरबाद गरेकामा म र बिजय लुईटेल दुबै तपाईहरुसँग माफी माग्दछौ । यति भन्दा भन्दै अर्को कुरा के भने कथा अपुरो हुनुमा बढी दोष चाँहि यही आलुपाडे लेखककै छ किन भने यो कथा यति सम्म मात्र भनिने गरि त्यसैले लेखेको हो । बाँकी कुरा उसले तपाईहरुलाई कथाको अन्त्यमा एउटा म्यापबाट बताउनेछ । उनीहरु फेरि कतै भेट भए या भएनन् यसको उत्तर तपाईले म्याप हेरेर बिचार गर्नुपर्नेछ ।
कथाका पात्रले भनेझैँ मैले चाहे भने मात्र ति फेरी भेट्न सक्छन् । तर मलाई त्यसो गरिरहने खासै फुर्सद छैन । परीहरुले पर्खिरहेका छन् त्यही माथी म त बस यो कथाको सुत्रधार हुँ यहाँ मेरो खासै केही चल्दैन । कथा सकिए पनि उनीहरु कतै गइरहेको कल्पना भनेँ गरिरहनुहोस् बिजयले तपाईहरुलाई यो कथा मञ्चन भएको बाटोको म्याप देखाइ हाल्नेछ । म चाँही लागेँ ।
ल ल बाबै जाउ । मैले म्याप पनि तयार पारिसकेँ । फेरि कुनै दिन काम परे सम्झिउँला ।
धेर नसम्झि है बाक्क लाग्ने गरि । केही काम नपाएर तँ नाथेको कथाको सुत्रधार बन्नु परेको छ । हिँडेको म फुर्सद छैन गफ गर्ने ।
नमस्कार ! सबै जनालाई म यस कथाको लेखक बिजय लुईटेल । मलाई आँफै सुत्रधार बन्नु पुरानो लागेकाले भगवानको सहयोग मागेको हुँ । भगवानको कथा आधा मात्र सनाएर छोडे भनेर नराम्रो नमान्नु होला । भगवान हुन् उनले सबै तिर भ्याउनु पर्छ । आफ्नै भगवान सम्झेर माफ गरिदिनुहोला बुढालाई । म पनि कलम बिसाउँ कि भनेर सोचिरहेको छु । बिसाउनु अघि मैले कोरेको म्याप तपाईहरुलाई सुम्पदैछु । हेर्नुहोला । यति बेर कथा सुनिदिनुभएकोमा धन्यवाद ।
- बिजय लुईटेल
Please Visit my YouTube channel and find my Poetries there and If you Love what I am doing support me subscribing to my channel : Here is the Link to my channel
https://www.youtube.com/c/NepaliPoetrybyBijayaLuintel
Comments
Post a Comment