छेउमा नारायण गोपालको केही मिठो बात गर गीत सानो स्वरमा बजिरहेको थियो । जीवनका एकदम उदेकलाग्दा कुरा गर्ने बिचार बोकेर मलाई आफ्नो कोठामा बोलाएकी उसले किन मोवाइलमा त्यो गीत बजाएकी थिइ आज पनि म भन्न सक्दिन । बर्खाको मौसम , बाहिर मुसलधारे पानी परिरहेको थियो , यस्तो मौसममा पहिले पहिले हाम्रा चेतना दिमागबाट सरेर कम्मर मुनि चल्मलाउन थाल्दथे । सायद शरीरको खेल देखि अघाएका थियौ या थाहा छैन त्यो दिन त्यस्तो के भएको थियो, हामी मौन एक अर्कालाई हेरी मात्र रहेका थियौ ।
मलाई याद छैन मैले त्यो भन्दा पहिला त्यसरी कुनै केटीलाई एकोहोरो भएर हेरेको । त्यो दिन पहिलो पल्ट म आत्मा हराएको आँखालाई हेरिरहेको थिएँ । यस्तो हैन कि उसको आखाँ सधै त्यस्ता थिए, पहिले त म तिनमा जीवन देख्थेँ । मलाई लाग्थ्यो सायद जीवनले जीवित रह्न उसका आँखाबाट उर्जा लिन्छ । प्रेम र जीवनको खाल्डोमा भासिदै गइरहेको मेरो जीवनलाई कुनै दिन उसैका जीवन्त आँखाले उद्धार गरेका थिए । मेरो अधमरो जीवनलाई जीवन दिने तिनै आखाँ मेरो अगाडि मृत्युको बाटोमा अघि बढिरहेका थिए र म त्यो हेर्न नसकि नसकि पनि हेरिरहेको थिएँ । उसलाई पनि सायद हेरिरहोस् जस्तो लागेको थियो कि म भन्न सक्दिन अनि यो पनि भन्न सक्दिन कि उस्ले त्यो दिन मेरो आँखामा के देखेकी थिइ ।
उसलाई पहिलो पल्ट मैले रत्नपार्कमा भेटेको थिएँ । कसैको प्रतिक्षा गर्नु थियो, तोकेको समय भन्दा म करिब पैतालीस मिनेट छिटो पुगेको थिएँ पुतलीसडक । समय काट्नलाई के गर्ने भनेर अल्मलिइरहेकै बेला मलाई रत्नपार्क भित्र पस्ने इच्छा जागेर आएको थियो । काउन्टरमा गएर त्यस्तै १५ २० कतिको हो टिकट काटेर पहिलो पल्ट रत्नपार्क पसेको थिएँ । त्यही ताकाको कुरा हो, मेरो केही बर्ष अघि देखिको प्रेमले मलाई बीचबाटो कतै अलपत्र पारेर बिदा भएकी थिइ । त्यसैको रन्को मेरो मनमा अझै थियो र सायद त्यही कारण म कसैको साथको अपेक्षा गरिरहेको थिएँ ।
मलाई लाग्छ प्रेम बिदा भएर जाँदा एक पल्ट आँखाबाट जीवन बिदा लिएर जान्छ र जब सम्म कोही नयाँ मानिस जीवनलाई या भनौ जीवन जिउने चाहनालाई आफुसँग लिएर उस्को सामु देखा पर्दैन तब सम्म ऊ जीवनहिन आँखा लिएर सहर सहर डुली हिँड्द्छ । म त्यो दिन त्यस्तै स्थितिमा रत्नपार्क पुग्को थिएँ । पोखरी भित्र पस्न मनाही छ लेखेको बोर्ड रत्नपार्कको पोखरीको ढोकैमा टाँगिएको थियो । त्यो बोर्डबाट दाँया लागेर म अलिक पर एउटा रुखको छहारी मुनि राखिएको बेन्चमा गएर बसेको थिएँ ।
एक्लोपनले लखेटेको बेला सबैभन्दा प्यारो साथी किताब हुने गर्दछ । मानिस सँगको सामिप्य खोजिरहेको बेला किताबका पात्रले प्रायजसो त्यस्को रहर मेटाइदिने काम गर्दछन् । मेरो प्रेम जीवनमा पहिरो गएपछि किताब र म निकै मिल्ने साथी भएका थियौ । म कहिले किताबका पानामा उसलाई र कहिलेकाँही आफैलाई पाउने गर्थे । किताब पढेर आफैमा हराइरहन मलाई मज्जा लाग्न थालेको थियो ।
रत्नपार्कमा त्यस दिन केही जोडीहरु प्रेमालापमा ब्यस्त देखिन्थे, त्यो देखेर मन झन अमिलो भएर आएको थियो । आफ्नै रत्नपार्क आउने रहर सम्झेर एकपल्ट हाँसो पनि लागेको थियो । एक अर्कामा हराइरहेका जोडी हेरेर मन अमिलो बनाउन भन्दा बरु किताब पढेर यथार्थ धमिलो बनाउ जस्तो लागेर ब्यागबाट किताब झिकेर पानामा घोरिन थालेको थिएँ ।
थाहा छैन कति समय भएको थियो किताबमा हराएको, कुनै स्त्रीको मिठो आवाजले मलाई फेरि यथार्थमा बोलायो " तपाई र म त एउटै किताब पो पढ्दै रहेछौ "। हेरेँ गहूँ गोरो बर्णकी , लामो केश भएकी एउटी २२ २३ बर्षकी केटी म बसेकै बेन्चमा आएर बसेकी थिइँ । मैले ऊ त्यहाँ आएर कति बेला बसिछ भन्ने कुरा थाहै पाएको रहेनछु । उसको हातमा पनि ओसोको द पावर अफ लभ किताब थियो । तपाई र म त एउटै किताब पो पढ्दै रहेछौ भन्ने उसको बोलीको उत्तरमा म केवल हाँसेको मात्र थिएँ । दुई मानिस एक्ला एक्लै रत्नपार्क आउनु , एउटै बेन्चमा बस्नु र एउटै किताब पढ्नु एउटा अनौठो संयोग थियो । त्यो दिन कोही अरुलाई समय दिएकाले उसँग थोरै कुरा मात्र हुन पायो र त्यही छोटो कुराकानी बीचनै फोन नम्बर साटा साट गरेर म रत्नपार्कबाट बाहिर निस्केको थिएँ । केही हप्तामा भाइभरमा हाम्रो मज्जाले च्याट हुन थालेको थियो र हामीले एक अर्कालाई भेट्ने योजना पनि बनाउन थालिसकेका थियौ । भेटघाट बाक्लिदैँ गएपछि बुझ्दै गए कि ऊ पनि आफ्नो प्रेमको नमिठो अनुभवबाट भाग्दै भाग्दै त्यस दिन रत्नपार्क पुगेकी रहिछे ।
मानिसको जात एउटा अचम्मको जात रहेछ, खुसी हुँदा खुसी साट्ने साथी खोज्दो रहेछ र दुखी हुँदा दुख साट्ने साथी । हामी पनि एक अर्काको दुख साट्ने साथी बनेका थियौँ । खुसी साट्नका लागि हामीसँग खुसी थिएन । हामीले त एक अर्काको प्रेमको आँसु एकअर्कालाई पिलायौ र त्यसैले तृप्त भएको ढर्रा गरिरह्यौ । प्रेमका पुराना मिठा र नमिठा सम्झना एक अर्कालाई सुनाउदा एउटा बेग्लै किसिमको सन्तुष्टि हुने गर्दथ्यो या मलाई मात्र त्यस्तो हुने गर्दथ्यो म भन्न सक्दिन । म त केवल यी कुरा यस्ता होलान भनेर अनुमान मात्र गर्न सक्छु । साथ रहुन्जेल एक अर्कालाई कहिल्यै यस्ता कुरा सोध्न आवश्यक पनि सम्झिएनौ हामीले । केही कुरा एक अर्काको बारेमा थाहा नभएको भने हैन । हामीलाई केवल को कहाँ बस्छ , के गर्छ , कस्को परिवारमा कति जना छन् र को को छन् भन्ने कुराको मात्र ज्ञान थियो । किन हामी यसरी भेट्दछौँ , के का लागि भेट्दछौँ र कहिले सम्म भेट्नेछौँ यस्ता कुरा हामीले कहिल्यै एक अर्कालाई सोधेनौँ । त्यस्ता प्रश्नले हामीलाई हाम्रो निरर्थक अस्तित्वको सम्झना दिलाउने भएकाले होला सायद तिनको कुरा ननिकाल्नुनै हामीलाई मन्जुर थियो । हामीले मानौ अप्ठ्यारा प्रश्न नसोध्ने एउटा मौन सन्धि गरेका थियौँ ।
एक बर्ष हामी एकअर्काको निजी जीवन बारे केही नजानीनै एक अर्कालाई साथ दिइरह्यौ । हामी एक अर्काको दुखको साथी थियौ र कहिले काँही शरीरले मागेका बेला शरीर सुखका साथी पनि बन्न पुग्थ्यौ । जे होस् हाम्रो सम्बन्घलाई बुझाउन प्रयास गरेको भए एउटा अस्प्रस्ट किसिमको एउटा परिभाषा बन्ने थियो होला तर सम्बन्ध परिभाषित गर्न हाम्रो चाहनै भएन । नगरेकै कारण आज मैले परिभाषा खोज्नु परिरहेको छ ।
छेउमा नारायण गोपालको केही मिठो बात गर गीत सानो स्वरमा बजिरहेको थियो , बाहिर मुसलधारे पानी परिरहेको थियो । थाहा थिएन के भन्नलाई मलाई एकाएक काठ्मान्डौमा रहेको आफ्नो कोठामा बोलाएकी थिइ उसले । म त केवल उसको जीवनबिहिन आँखामा हराइरहेको थिएँ ।
तिमी मेरो लागि दुखको पर्याय भयौ, त्यस दिन उसको मुखबाट निस्केको पहिलो वाक्य यहि नै थियो । म सायद उसका आँखामा अलिक बढीनै हराएछु, उसले मेरो उत्तर नपाएपछि फेरि अलिक चर्को स्वरमा भनि, मिलन तिमी मेरो लागि दुखको पर्याय भएका छौ ।
उसको भनाइको अर्थ के थियो मैले बुझ्न सकिन । उसलाई मैले ध्यान दिइरहेको आभाष भएर होला फेरि आँफै बोल्न थाली । मिलन, जब उस्ले मलाई छाडेर गयो तब म पानी बिनाको माछा जस्तै भएँ । त्यसकै केही महिना पछि एकदिन मैले तिमीलाई रत्नपार्कमा भेटेको थिएँ । तिमीले मलाई तिम्रो मनको पोखरीमा ल्याएर साहारा दियौ । त्यही पोखरीमा मैले मेरा तिता सम्झनाका बिष ओकले , केवल नमिठा सम्झना बोकेर तैरिरहे त्यो पोखरीमा । आज आँफैलाई तिम्रो मनको पोखरी धमिलो लागिरहेछ । तिमी सँग हुँदा किन हो मलाई सधै मेरो बिगतले घोचिरहन्छ । तिम्रो र मेरो बिगतको कुनै सम्बन्ध नहुनु पर्ने हो तैपनि आफ्नो बिगत बिर्सने क्रममा मैले तिमीलाई बिगतसँग लगेर यसरी मिसाइदिएछु अब म तिमीलाई त्यसबाट छुट्याएर हेर्न सकिरहेकी छैन । अहिले मलाई तिमी सँगको साथले बिगत बिर्सन दिइरहेको छैन । म मेरो बिगत बिर्सिएर अघि बढ्न चाहन्छु । के तिमीलाई नबिर्सी बिगत बिर्सने सक्ने कुनै उपाय छ तिमी सँग ?
थाहा छैन म के सोचिरहेको थिए, उसको कुरा मज्जाले बुझ्न सकिरहेको थिइन । उसको कुरा सुनेर मलाई केटा केटी हुँदा उडाएको चङ्गाको याद आइरहेको थियो । एक दिन म र मेरो साथीको चङ्गाको आकाशमा युद्ध परिरहेको थियो । धेरै बेरको घमासान टक्करपछि मैले उसको चङ्गा चेट बनाएँ । चङ्गा चेट बनाएको खुसीमा चैट ........ भनेर कराउन मात्र के लागेको थिएँ उसको चेट भएको चङ्गा मेरो घागोमा गएर जोडियो र म एक साथ एउटा लट्टाईले दुईटा चङ्गा उडाईरहेको थिएँ । मैले सोचेँ एकसाथ दुबै चङ्गालाई झारेर घरमा ल्याउन पाए कति मजा हुने थियो र यस्तै सोचेर धागो बेर्न थाले । दुईटा चङ्गाले बललाई मेरो धागोले थेग्न सकेनछ सायद, मेरो चङ्गा पनि साथीको चङ्गासँगै चेट भएर गएको थियो । मलाई लाग्यो म उसको पुरानो प्रेमको चेट भएको चङ्गासँग जोडिएको मेरो त्यही चङ्गा हुँ जो उसको अधुरो प्रेमको भारी बोक्ने हुँदा आँफै पनि चुँडिएको छु ।
सायद मबाट उसले उत्तरको अपेक्षा पनि राखेकी थिइन , त्यसैले मैले बोल्न नपाई फेरि उसले बोल्न सुरु गरि । तिमीलाई म एकदमै स्वार्थी लाग्न सक्छ तर तिमी प्रति कहिले पनि प्रेमको भावना पलाएन मेरो मनमा । म तिमीलाई केवल एउटा दुखको साथी मात्र मान्थे । तिम्रो बारेमा जब सोच्छु मलाई तिमीसँग बिताएको पलहरुको सम्झना नभइ मेरो पुरानो प्रेमको सम्झना मात्र आउँछ । मिलन, मैले मेरो लायक कोही अरुनै भेटेको छु र मैले उसको लायक बन्नका लागि बिगत बिर्सन जरुरी छ । बितेका केही दिन देखि म सोच्न थालेको छु कि मैले बिगत बिर्सन नसक्नुको मुख्य कारण तिमी हौ । मलाई माफ गरिदेउ तर अब बिगत बिर्सन र नयाँ जीवन सुरु गर्नका लागि भए पनि मैले तिमीबाट टाढा हुनु पर्छ ।
त्यती कुरा भनिसकेर ऊ एकछिन मौन भइ । म पनि केही बोलिन केबल सोचमै हराइरहेँ । सोचिरहेँ किन यी कुरा थाहा हुँदा हुँदै पनि हामीले पहिलेनै एक अर्कासँग यस बिषयमा कुरा गरेनौँ ? के हामीलाई मकाएकै भए पनि कुनै एउटा टेकोमा जीवन अड्याउनु थियो ? के हामी त्यती कमजोर थियौ कि हामीलाई त्यो धराप सम्बन्धको यथार्थ स्वीकार्दा आँफ्नै जीवन डगमगाउँछ भन्ने डर थियो ?
सायद उसलाई मेरो मौनताले अलिक असहज बनाएछ, तिमी पनि केही बोल न भनेर मलाई पुलुक्क हेरी । म केही बोल्न सकिन । यो हैन कि म उसलाई प्रेम गर्थे तर कहाँ कहाँ मन भित्र केही छुट्न लागेको महशुस भइरहेको थियो । मानिसलाई कहिलेकाहीँ कुलत छोड्दा पनि एक किसिमको अपुर्णता महशुस हुन्छ भने मेरो त अझ एक बर्षको सम्बन्ध थियो । प्रेमले भरिपूर्ण नभए पनि प्रेम जस्तो केही थियो त्यो सम्बन्धमा । त्यही कारण होला एक किसिमको उदासीले मलाई थाहै नपाई छोपेको थियो ।
मैले उसलाई भन्न नसकेका कुरा उसले मेरो सामु पोखिरहेकी थिइ । मलाई कता कता उसको छेउमा बसिरहन अप्ठ्यारो लाग्यो र सोफा बाट आफुलाई उठाउँदै भनेँ मसँग तिमीलाई भन्न केही कुरा छैन , हाम्रो सम्बन्ध एक न एक दिन टुट्नुनै थियो , सत्यबाट भागेर हामीले एक अर्कालाई घात गरिरहेका थियौ । तिमी नभए मैले एक दिन यो कुरा यसरीनै एक अर्काको सामु राख्नेनै थियौ । तिमीले यो कुरा ब्यक्त गरेर आज म माथी उपकार गरेकी छौ , तिमीसँग यी कुरा भन्नलाई मसँग पुग्दो आँट पनि थिएन । अब तिमीसँग म अरु के भनु । यती भनेर मैले उसको कोठाको झ्यालबाट बाहिर हेरेँ, पानी अलिक कम भएको थियो र त्यही बहाना बनाएर भनेँ, पानी अलिक कम भएछ म अब जान्छु ल ? मैले यति भन्दा उसको आँखा आँसुले भरिएका थिए । आँसुले भरिएका आँखाले मलाई हेरेर उसले भनेकी थिइ, एकछिन बस न ।
खै के आयो मनमा, तिमीसँग बस्न अनौठो लाग्यो कोही नचिनेको मानेछेको छेउ बसेको छु भन्ने महसुस भयो भन्न पुगेछु । मैले भनेको कुरा सुनेर ऊ मलाई हेर्दै पिलपिल गरिरहेकी थिइ । आज सम्म थाहा पाएको छैन आफै टाढिन खोज्ने मानिस बिछोडको समय किन आँसु रोक्न सक्दैन भन्ने कुरा ।
बोल्नलाई शब्द हराएका थिए, सोच्नलाई चेतना हराएको थियो त्यसैले एकछिन पनि मलाई त्यहाँ अढिन मन लागेन । सोफामा राखेको आफ्नो ब्याग बोकेर हिड्न लागेको थिएँ उसले मेरो हात समाइ र मलाई हेरेर भनि, बिर्सिदैनौ नि मलाई ? बदलामा मैले मेरो हातलाई समाएको उसको हातमा हात राखेर भने, कोसिस गर्छु । सायद मेरा पनि आँखा त्यसपल रसाएका थिए मैले थाहा पाइन र अब सोध्नका लागि ऊ कँही छैन ।
त्यो रात म सिमसिम पानीमा रुझदै आफ्नो कोठा फर्किएको थिएँ । फर्कदा बाटोमा एउटा ठूलो पुल पार गर्नु पर्थ्यो । त्यो पुलमा रोकिएर तल बर्खाको कारणले बढेको खोलालाई केहीबेर हेरेको थिएँ । एकछिन खोलाको आवाज सुनिरहुँझै लागेको थियो । मनमा कोलाहल भएको बेला बाहिरको ठूलो आवाज पनि शान्त लाग्ने रहेछ भन्ने कुरा मैले त्यस रात थाहा पाएको थिएँ ।
खोलाको पुलमा उभिएर तल हेर्दै गर्दा मेरो मनमा अनेक प्रश्न उब्जिएका थिए । मेरो र उसको सम्बन्ध के यो खोलाको पुल जस्तै हो ? पुलले एक छेउलाई अर्को छेउ जोडे जस्तो के मैले पनि उसको बिगत र वर्तमानलाई जोडिदिएको हुँ ? के ऊ पनि मेरा लागि यहि पुल सरह मात्र हो ? के उसले पनि मेरो बिगत र बर्तमानलाई जोड्ने काम मात्र गरेकी हो ? त्यस्को उत्तर मैले त्यतिबेला पाउन सकिन ।
केही महिना पछि एकदिन कसैको मनको पोखरीमा उनले घर बसाएकी छे भन्ने खबर सुनेको थिएँ । मन एकाएक भारी भएर आएको थियो । आज त्यो घट्नाको केही बर्ष पछि त्यही सम्बन्धको सम्झना गर्दा मलाई मन भारी भएको अनुभव हुँदैन , म त उसलाई सम्झँदा नजानेरै थोरै मुस्कुराउने गरेको छु । अहिले ती सम्झनाहरु केलाउँदा मलाई बोध हुन्छ कि मानिसले जीवनमा केवल तीन किसिमको सम्बन्घ निभाउदो रहेछ । एउटा सुखको सम्बन्ध, एउटा दुखको सम्बन्ध र अर्को सुखदुखको सम्बन्ध । सुखको सम्बन्ध सुख रहुन्जेल मात्र हामी सँग रहँदो रहेछ र दुखको सम्बन्ध दुख रहुन्जेल मात्र र अर्को सम्बन्ध जुन सुखदुखको सम्बन्ध छ, त्यो भने बिरलै भेटिने एउटा त्यस्तो सम्बन्ध रहेछ जो आजीवन हामी सँग रहँदो रहेछ । जीवनको यस बिन्दुमा आएर बिचार गर्दा म भन्न सक्छु कि उसको र मेरो दूखको सम्बन्ध थियो ।
अहिले जब उसलाई सम्झिने कोसिस गरिरहेको छु , उसका नभएर मेरो पुरानो प्रेमका अनेक सम्झना आइरहेछन् । सायद मैले पनि आफ्नो पुरानो प्रेम बिर्सने क्रममा उसलाई बिगतसँग लगेर यसरी मिसाइदिएछु कि म उसलाई त्यसबाट छुट्याएर हेर्न सकिरहेकै छैन । भएरै पनि नहुने यस्ता सम्बन्ध आखिर किन बन्दछन् र टुट्दछन् किन ? म बुझ्न सक्दिन ।
मलाई लाग्छ प्रेम बिदा भएर जाँदा एक पल्ट आँखाबाट जीवन बिदा लिएर जान्छ र जब सम्म कोही नयाँ मानिस जीवनलाई या भनौ जीवन जिउने चाहनालाई आफुसँग लिएर उस्को सामु देखा पर्दैन तब सम्म ऊ जीवनविहिन आँखा लिएर सहर सहर डुली हिँड्द्छ । कहाँ छे, के गर्दै छे, कस्ती भइँ थाहा छैन तर आशा गर्छु मेरा जस्तै उसका आँखाले पनि फेरि जीवन पाएका हुन् ।
कहाँ टोलाएर बस्नु भएको ? बहाँ नानीले गलैचामा पानी पोखेर हेरिसक्नु छैन, केही थाहा नपाउने रहेछन् यो लोग्ने मान्छेले त । एउटा काम अह्रायो त्यो पनि ध्यान दिएर गरिदिनुहुन्न म एक्लैले कति कुराचै भ्याउनु होला । एउटा जीवन्त आँखा भएकी सु्न्दर केटी मलाई कराउँदै बार्दलीमा आएकी छे । अब गलैचा सुकाउन जानु पर्ने भयो ।
- बिजय लुईटेल
♥️♥️
ReplyDelete