म र हजुरबुबा मुलघर जाँदै गर्दा |
When an old man dies, a library burns to the ground
- An African Proverb
केही साल अघि म इलाम जाँदाको कुरा हो । समयले दिएको चाउरीपन अनि थोतो दात उपहारलाई सहर्ष स्वीकारेर मेरा हजुरबा आफ्नो जीवनका अन्तिम दिनहरुमा रमाइँ रहनुभएको थियो । खासै धेरै संगत त भएन हजुरबासँग, तर उहाँसँग निकै आकर्षित थिएँ । थाहा छैन किन । नब्बे बर्ष पुगेका हजुरबालाई मैले त्यस बेला कुनै बालखझै देखेको थिएँ । जीवनका नब्बे बर्ष अनेक परिस्थितीसँग जुधेर परिपक्क भएका मेरा हजुरबालाई एकाएक बच्चाझै बन्ने के ले बनायो त्यस कुराको राज हजुरबासँगै खरानी बनेर गयो । अब त म यस्तो भएर होला, उस्तो भएर होला भनेर अनुमान मात्र गर्न सक्छु ।
कोही आएर निकै बेर आफ्नो परिचय दिएपछि मात्र हजुरबाले मानिसलाई चिन्नुहुन्थ्यो । एक पल्ट त झन् हजुरबाले मान्छे नचिनेर ठूलोबुबालाईनै नमस्ते गर्नु भयो अरे । सम्झँदा एकै पल्ट हाँसो पनि लाग्छ अनि बाप्रति माया पनि लागेर आउँछ । मलाई तर यति कुरा थाहा छ कि उमेरका कारणले आफ्नै छोरालाई नचिनेर नमस्ते गर्दा बाले एकपल्ट पनि चित्त दुखाउनु भएन । उहाँ आफ्नो बुढेसकलालाई पनि उमेरझै उत्साहका साथ जिउने मान्छे हुनुहुन्थ्यो । राती सुत्ने बेलामा पनि त्यही कुरा सम्झेर हास्नु भयो होला सायद, सुत्ने बेला सम्म याद रहेको भए । मैले पनि कयौ पल्ट म माइलाको छोरो तपाईको नाती भनेर परिचय दिएको याद छ । एकछिन चिनाएपछि हजुरबाले मलाई चिन्दा बेग्लै खुसी मिल्थ्यो मलाई । केही कुरा सुनाउँदा कुनै बच्चाले मनगडन्ते कहानी सुनाउँदाकोझै उत्साह हुन्थ्यो उहाँ मा अनि कुरा सुनाउँदै केटा केटीझै हास्नु हुन्थ्यो ।
मैले त्यसबेला कुरै कुराको सिलसिलामा सोधेको थिएँ, बाले केटाकेटीमा कतिको चकचक गर्नुहुन्थ्यो त भनेर । निकै गरियो नि उपद्रो त सानामा भन्दै बाले मलाई भैसी चढेको कथा सुनाउनु भएको थियो । धेरै बर्ष बितिसक्यो मलाई बाले सुनाउनु भएको कुरा त्यती मज्जाले त याद छैन । त्यतीबेला थोरै मात्र चेतना भएको भए म मोबाइलमा बाले बोलेको कुरा रेकर्ड गरेर ल्याउने थिएँ । तर मोबाइलको सहि प्रयोग भन्दा गलत प्रयोग गर्नमा अभ्यस्त भएको मेरो बानीले त्यती बिचार पुर्याउन सकेन । त्यसैले त यो कथा सुनाउन मलाई मधुरा सम्झनाहरुको सहयोग लिनु परिरहेको छ ।
म सानो छँदा हाम्रामा घोडा थिएन । मलाई चै निकै रहर लाग्थ्यो घोडा चढ्न । अरुले चढेको देख्दा आफुलाई पनि घोडा चढ्न मन लाग्थ्यो बाले सुनाउनु भएको थियो । अनि रहर लाग्दा लाग्दै एक दिन यसो भैसी चढ्नु पर्ला भन्ने लागो । साह्रो पर्दो रछ भैसी चढ्न । हास्दै सुनाउनु भएको थियो बाले । निकै बेर लार भैसी चढेको अलिक अगाडि बसिएछ क्यार भैसीलाई अप्ठ्यारो भएछ अनि सिङले मेरो तिग्रामा उनेर मलाई पर्तिर हुर्याइदियो । यति भनेर बा आफ्ना थोता दाँत देखाएर निकै बेर हास्नु भयो । म पनि त्यसबेलाको चकचक सुनेर बासँगै हासेँ । मलाई थाहा छैन बाको तिग्रामा भैसीको सिङले उनेको खाटा थियो कि थिएन तर अहिले सोच्दा लाग्छ बाले चकचक गरेर शरीरमा दाग लगाएको हैन जीवनमा रंग लगाउन खोज्नु भएको रहेछ । बाले जीवनमा लगाएको रंगको कथा सुनेर म पनि रंगीन भएको थिएँ । सम्झनासँग मानिसलाई एकपलमै खुसी दिने कत्रो तागत हुन्छ मैले त्यसदिन थाहा पाएको थिएँ । बाले त्यतिबेला थुप्रै अरु कथाहरु पनि सुनाउनु भएको थियो तर ति मलाई सुनाउने र लेख्ने गरि याद छैनन् । चिसो बिडम्बना हो यो ।
म यी कुरा किन भन्दैछु भन्ने कुरा चाँहि हिजो यसो मोबाइल चलाउँदै गर्दा एउटा अफ्रिकन भनाई पढ्न पाएँ जसको अर्थ थियो जब एउटा बृद्ध मानिस मर्छ तब एउटा पुस्तकालय जलेर खरानी हुन्छ । मलाई त्यस भनाईले जलेर खरानी भएको आफ्नै पुस्तकालयको याद आयो । मैले बालाई सम्झेँ । किन हो किन हिजोबाट मलाई बाबाट पढ्न नपाएका, सुन्न नपाएका अनेक कथाले चिमोटिरहेका छन् । आखिर ति कस्ता थिए, किन थिए भन्ने कुरा बारम्बार मलाई घोचीरहेछन् । मैले हजुरबुबा जिउँदो हुँदा उहाँका कुराहरु सुन्न अनि उहाँसँग धेरै समय बिताउन पाइन तर बाबाबाट सुनेका अनि हजुरबासँग भेट हुँदा प्रत्यक्ष देखेर सिक्न पाएका कुरा धेरै कुरा छन् । उमेरले २५ पुग्दा म यति बुझ्ने भैसकेको छु कि सबै चाहेका अनि मनलागेका कुरा गर्नका लागि जीवन त्यती लामो छैन । जतिनै कोसीस गरे पनि केहि न केहि त छुट्छ नै । म सबै कुरालाई आत्मसाथ गर्छु, सबै कुरा जान्ने बन्छु भन्नु मानव समाजले आफैमाथि गरेको एउटा मजाक मात्र हो । तैपनि आफ्नै मुहानबाट आएको पानीले खोलो बग्ने जमीन नभिज्नु अलिक अनौठै कुरा हो । सबैकुरा समाउन नसकेपनि केही कुरासँग सम्बन्ध बनाउन जरुरी छ जसरी रुखले आफ्नो जरासँग बनाएको हुन्छ ।
दादा र हजुरबुबा मुलघर जाँदै गर्दा |
बिगत सम्झेर आफुलाई दोषी मान्दा भविष्य झन् बोझील हुन्छ भन्ने बुझेको छु । त्यसैले खासै गुनासो गरेर बस्दिन म । एक एक पल बाँचेर मैले पनि बालेझै जीवनमा रंग भर्नु छ अनि आउने पिँडीलाई सुम्पनु छ मैले ती रंग । आउने पिँडीले सम्पतिमाझैँ सम्झना अनि ज्ञानमा पनि अंश दाबी गरे भने त्यसका लागि तयार बस्नु छ मैले । आफुलाई अब प्रयास नगरि एउटा सानै भए पनि पुस्तकालय बनाउनु छ ।
बाबाट सिक्न छुटेका कुरा जति छन् सिक्न पाएका कुरा पनि उतीनै छन् त्यसैले मनको गुनासोलाई म सम्झाउन सक्छु । के आफ्नो बास्ना मानिसले थाहा पाउँछन् ? थाहा पाउने भए सायद म बेला बेला मेरो शरीरबाट बाको बास्ना आएको थाहा पाउँथे होला । मेरो सम्झना अनि शरीरमा नजानिदो किसिमले बा बसेको कुरालाई म नकार्न सक्दिन । त्यही एउटा कुरा त छ जसलाई आँखा चिम्लेर सम्झँदा म मेरो हराएको पुस्तकालय आफु भित्रै पाउँछु । आँखा चिम्लँदा सानै भए पनि खोलो बग्दै गरेको सुन्छु ।त्यो नसुकोस भन्ने मात्र चाहना छ मेरो । त्यसैले बाबाबाट पनि पानी पैचो लिनु छ । आखिर मानव जगत चलेकै यसरी न हो । बाले दिएको ब्याटन बोकेर मेरो बाबा कुद्दै हुनुहुन्छ जीवनका गल्लीहरुमा । उहाँबाट ब्याटन हातमा लिएर म पनि सकेसम्म कुद्नै छ । पुग्न कतै नभएपनि बस कुद्न छ, अनन्त ।
माटोमा मिल्नु अघि पुस्तकालयबाट ज्ञान चोर्ने अनुरोध सहित सुन्न र देख्न छुटेका कहानीहरु प्रति हार्दिक सम्वेदना ।
- बिजय लुईटेल
भक्तपुर, नेपाल
I miss him sayad masanga pani basanga ko yaad haru dherai nai xan
ReplyDelete🙏🙏♥️
Delete