Photo by Yogendra Singh from Pexels |
केही बर्ष अगाडि सम्म मेरो घर अगाडि झिँगटीले छाएको एउटा पुरानो नेपाली पाराको घर थियो , अहिले छैन । संसारको रीतनै यस्तै हो, सबै थोक सधै भरि रहिरहँदैन पनि । आफु ८३ बर्षको भएका कारण म यो कुरा मज्जाले आत्मसाथ गर्न सक्छु । आखिर म आँफै नरहने समय नजिक आइरहेको छ । हुन त यो सबै कुराबाट मुक्त हुनु पर्ने उमेर हो तर यही उमेरमा आएर मलाई एउटा नाथे घर नरहेकोले बिक्षिप्त बनाएको छ । त्यो घर मेरो साथीका बाले बनाएका हुन । मेरो साथी हर्क भगवानको प्यारो भएको ३ बर्ष जति भइसक्यो । त्यसकै छोरा मुकुन्देले हो बाउ बितेको अर्को सालबाटै घर भत्काउन थालेको । हुन त घर पुरानै पनि भइसकेको थियो । म बसेको घर पनि पुरानो भइसकेको छ , अब केही बर्षमा यस्को पनि हाल त्यही हुने वाला छ । म स्वार्थी भएको होइन , अब बस्ने नमिल्ने भएपछि मेरो छोरोले पनि भत्काउन करै लाग्छ यो घर । केही सम्झना जोडिएकाले साथीको घर भत्कदा मनमा कहिकतै नरमाइलोपनले घेरेको मात्र हो नत्र म आफुलाई प्राक्टिकल बुढो मान्छु ।
त्यस घरसँग धेरै सम्झना जोडिएका छन् मेरा । गाउँको सबैभन्दा ठूलो घर , घरै पछाडि एउटा ठूलो अम्बाको बोट, म र हर्क बोटमा चढी चढी अम्बा टिप्थ्यौ । म सानो छँदा त्यो घर हाम्रो खेल्ने ठाउँ थियो । म त्यही खेल्दा खेल्दै ठूलो भएँ, मेरो साथी त्यहीँ ठूलो भयो । त्यसको बिहे नहुन्जेल म जतिबेलै त्यही भेटिन्थेँ । मेरी आमाले खाना खान बोलाउँदा पनि त्यही घर तिर फर्केर बोलाउनु पर्थो । त्यसको बिहे भएपछि भनेँ आमाले मलाई त्यता धेरै नजानु मान्छेले राम्रो मान्दैनन् भन्नुभयो , त्यसको दुई बर्ष नबित्दै मेरो पनि बिहे भइहाल्यो अनि त काम भन्यो के भन्यो घरमै भुलिन थालेँ, तैपनि छिमेकी भएका कारण हाम्रो भेटघाट बाक्लै रहन्थ्यो । दाजु भाउजु मानेकाले दसैँमा टिका थाप्न हामी जान्थ्यौ त्यसको घरमा । मेरो छोरो र त्यसको दुईटा छोरा पनि त्यही घरमा हुर्के । एक हिसाबले भन्दा मेरो सम्पुर्ण जीवन त्यही घरको सेरोफेरोमा घुमेको छ ।
म गएको दूई बर्ष देखि आगनमा प्लास्टीकको कुर्सीमा बसेर त्यो घरको बदलिदो रुप हेरिरहेको छु । त्यहाँ सम्म जान त अब खुट्टाले साथ पनि दिँदैन । मेरो साथी हर्क बितेको अर्को साल, पोहोर , ५ ६ जना कामदार आएर त्यो घर भत्काउन थोलेका थिएँ । तिनले त्यत्रो बिशाल घर एक साता नभइ भत्काएर गए, त्यसपछि त्यहाँ एक बर्ष सम्म केही काम भएन । यो सालबाट भनेँ त्यहाँ नयाँ घर बन्न थालेको हो , हिजो मुकुन्दे घर पैचोको प्रसाद लिएर आउँदा बल्ल घर सकिएको थाहा पाएँ । अब त्यहाँ नयाँ रंगमा सजिएको बिशाल घर ठडिएको छ । सोच्छु बनाउँन कति समय लागेको थियो होला त्यो घर हर्कका बालाई , भत्काउन त नाथे एक सातामात्र लाग्दो रहेछ । म एक बर्ष यही मात्र सोचेर बसीरहेँ । फुर्सद धेरै छ , सोचेरै भए पनि समय गुजार्न सकिन्छ कि जस्तो लाग्छ । काल पर्खनु पनि साह्रै अल्छी लाग्दो काम रहेछ ।
घरको भग्नावसेसलाई एक बर्ष एकटक लगाएर हेरिरहँदा अनेक कुरा आए मनमा । पहिलो कुरो त बुढो भएको आभाष अझै गाडा भएर आयो । सम्झना जोडिएकाले होला निर्जीव बस्तु पनि सजीब लाग्ने रहेछन् । हरेक दिन म सोचिरहेँ, लडेर उठेको साथी जस्तो त्यो घर पनि कुम टकटकाउँदै उठ्नेछ । त्यही घर नउठेकाले कल्पना र यथार्थको फरकले ल्याउने खिन्नता पनि थाहा पाएँ । बुढो हुँदा मैले देखेका, जानेका कुरा सबै बिस्तारै छाडेर जाँदैछन् , साथीभाइ गए, छेउको घर गयो , पोहोर बाटो बढाउने भनेर तल चौतारीको पीपलको बोट गयो । केही कुरा जाने दाउ छोपिरहेछन्, आखाको ज्योती बिस्तारै जाँदैछ , स्मरण शक्ति पनि फितलो हुँदैछ , सम्झना पनि सम्झन कठिन हुन थालेको छ । चिनिन छु क्यार, एउटै घरमा बस्ने नाती पनि चिन्न छोड्नुभयो भन्दै थियो नातीले अस्ति । धेरै अघि हैन, नचिनेर आफ्नै छोरालाई नमस्कार पनि गरेछु । बुढो हुँदा मान्छे त्यसै हाँस उठ्दो हुँदो रहेछ । दुःख त मलाई केही लागेको छैन, सबै कुरा नयाँ , अनौठा लाग्छन् , म फेरी हुर्कीरहेको आभाष भइरहेको छ । जीवनमा एकपल्ट बुढो भइने हो, मज्जाले अनुभव गर्छु भनेर बसेको छु । त्यही घरले चाँही अलिकति कता कता यो बुढेसकालको अनुभवमा घाउ लगाएको छ ।
सधै देखिरहेको कुरा एकाएक हराउँदा मनमा उथलपुथल हुँदो रहेछ । सधै बोलीरहने मान्छेले एकाएक देख्दै नदेखेको गर्दा जस्तो हुन्छ , कतै कतै त्यस्तै खालको अनुभव भयो मलाई त्यो घर हराउँदा । मैले सबै कुरालाई बिदा माग्नु पर्ने बेलामा सबै कुरा मसँग बिदा मागिरहेका छन् , मानौ को पहिला जाने भनेर होडबाजी चलेको छ ।
घर ढलेर तिनतले आरसिसि घर टक्क उभीएको छ , त्यो नयाँ घरको अस्तित्व स्वीकार गर्न मन मानिरहेको छैन । नयाँ रुपरंगको त्यो घरमा पनि म त्यही झिँगटीले छाएको पुरानो घर देख्छु । यथार्थ स्वीकार गर्न सकेन भने मान्छेले कल्पनामा आश्रय लिदो रहेछ । म पनि त्यही गर्न बाध्य छु । प्राक्टिकल बुढो हुन त्यही घरले अल्झाइरहेको छ ।
बुढो हुनु एक्लो हुनु पनि रहेछ, आफु सँग एक हुनु पनि रहेछ । एक्लो भएकै कारण म आजकल एक्लै बसेर, आफु भित्र हेरिरहन्छु । आफु भित्र हेर्ने एउटा माध्यम त्यो घर बनेको छ । आफुमा उमेर र जाँगर कम भएर होला बाहिरी कुरामा आफुलाई खोज्न मन रहर गर्छ । कहिले काँही लाग्छ म दसै बिदा सकेर स्कुल फर्कन लागेको बिद्यार्थी हुँ , स्कुल फर्कन अघि मैले होमवर्क गरिसक्नु पर्ने छ र यसरी फुर्सदमा बसेर म त्यो होमवर्क गरिरहेको छु । सम्झनाको हिसाब, होमवर्क मध्ये सबै भन्दा कठीन छ ।
शुन्यतामा कसैलाई देख्नु ,गरेका गल्तीका माफी माग्नु , अरुले नमागेका माफीलाई माफी दिनु , त्यस्तो भइदिएको भए कस्तो हुने थियो भन्दै कल्पनु , जे भयो राम्रैका लागि भयो भनि मन बुझाउनु , यही मेरो दिनचर्या भएको छ । बिगतमा बाँच्न हुन्न भन्ने थाहा छँदै छ , तर मन तर्क गर्छ बिगतमा हैन बिगतले बाँचेको होस् तँ भनेर । म त्यो तर्क गलत छ भन्न सक्दिन , सही छ भन्न पनि सक्दिन । भविष्य र भुत सम्झेर बस्न नपरोस भनेर यसरी त्यो घर बनेको हेर्न थालेको थिएँ । बर्तमानमा बाँच्न सिकाइदेला त्यो घरले भन्ने लागेको थियो । तर कहिले साथीका सम्झना लिएर आउँछ ,अनि कहिले म पछिको मेरो घरको अवस्था देखाएर भविष्यमा पुर्याउँछ । मलाई प्राक्टिकल बुढो बन्न नदिन मानौ संसारले खेल रचिरहेको छ अनि म त्यही खेलमा भुलिरहेको छु ।
अब केही साल , महिना , दिन र घण्टा होलान म सँग । के गरेर बिताउँ त्यसलाई भनेर एउटा अनौठो छटपटी भइरहेको छ । मैले नबिताए पनि समय बितेर त जान्छ नै, तर त्यतीन्जेल जिउँदो छु भन्ने आभाष दिलाउँने केही चाहिएको छ मलाई । समय बिताउनलाई छोरा , बुहारी नाति नातिना पनि छन् तर मान्छेको मनले खोजेको कुरा मान्छेले अरुमा नपाएर आफैमा पाउँछ भन्ने लाग्छ अचेल । त्यसैले बाहिर घाममा, प्लास्टिकको कुर्सीमा बसेर भत्केको घर हेर्दै आफै भित्र चहार्न खोजिरहन्छु । त्यो घर जस्ता धेरै कुरा थिए मेरो जिन्दगीमा जो भत्किएर गए । अब तिनलाई सम्झेर दुःख मनाउँने सोचमा छैन म । म त प्राक्टिकल बुढो बन्न हिडेको छु ।
सबै कुरा बिर्सीदै बिर्सीदै आफैलाई पनि बिर्सेर जानु छ , केही कुराको सोच राख्नु पनि बेकार लाग्छ । हिजो मुकुन्दे आए पछि घर पैचोको प्रसाद खाएँ अनि त्यो गएको बाटो पच्छ्याउँदै त्यसको नयाँ घरमा पनि हेरेँ । नयाँ घरको त्यो शरीरमा पुरानै घरको आत्मा स्प्रस्ट देखेँ । केही बेर हेरे पछि मनमा उही पुरानो कुरा आयो । मेरो पनि यो घर जस्तै केही कुरा थिए जिन्दगीमा जो भत्किएर गए , मैले तिनलाई आखै सामु लडेको देखेँ , माटोमा मिलेको देखेँ , उमेर र बल हुँदा पनि केही गर्न सकिन तीनलाई जोगाउन । त्यही घरको नयाँ शरीरमा बसेको पुरानो आत्मामा हराइरहेको थिएँ देखेँ त्यो घर बिस्तारै एउटी केटीको रुपमा परिवर्तन हुँदैछ ।
दुई चुल्ठी बाधेको केश , राता कोमल गाला , लजालु मुस्कान , सोह्रसत्रको उमेर । देख्ने बित्तीकै चिनेँ । मेरो पहिलो प्रेम । उसलाई कसरी बिर्सन सक्छु र । मलाई हेरेर त्यो केटी एकपल्ट मुस्कुराई , उसका आखामा पुरा नभएका रहरका केही अवसेस देखेँ । सायद मेरो आखाँमा पनि उसले त्यही देखी । मलाई बोध भयो मेरो पुरा नभएको केही रहर छ अनि म पुरा नभएको कसैको रहर हुँ । उसलाई हेर्दा हेर्दै साझ पर्यो , लौरो टेक्दै कोठमा आएँ , मलाई खाना राखिदिने नाती फेरि पनि चिनिन ।
दाया बाँया हेरेँ मेरी बुढी छेउमै बसेर मैले मुस्कुराउँदै खाइरहेको हेरिरहेकी रहिछे । डर लाग्यो , हाँस्न छोडिदिएँ । उसलाई शंका नलागोस भनेर । यो उमेरमा उसलाई धोका दिनु राम्रो कुरा हैन थाहा छ मलाई । जिन्दगीभर दिइन पनि , सधै प्राक्टिकल नै भएर बाँचे । प्राक्टिकल बुढो हुनबाट पनि मलाई केहीले रोक्न सक्दैन । साँच्चै, हर्ककी बहिनी के गर्दै छे होली अहिले ?
Like the content 👌
ReplyDelete