Photo by ROMAN ODINTSOV from Pexels |
कलममा मसीको साटो पिसाब बगेको समय छ
यस्तोमा के लेखौ म ?
म तुर्काउन चाहन्न , हुर्काउन चाहन्छु
आफु मरेर अरु हुने उपयुक्त समय छ
यस्तोमा के गरौ म ?
म हत्या गर्न चाहन्न ,प्राण भर्न चाहन्छु
थुतुनो बोल्दा गन्ध निस्कने समय छ
यस्तोमा के बोलौ म ?
म सुघाउन चाहन्न ,सुनाउन चाहन्छु
गिदीको भित्तामा उदासीको जालो लागेको समय छ
यस्तोमा के सोचौ म ?
म जालो भित्र लुक्न चाहन्न ,च्यात्न चाहन्छु
तिमी जस्तै म पनि
सेकेन्ड , मिनेट , घण्टा , महिना, बर्ष गर्दै
तिम्रै संसारमा घुमिरहेथेँ
आफुलाई बेच्न बजार चहारिरहेथेँ ।
देखेनौ र मलाई ?
एक पल्ट सम्झि हेर त
म तिमी भित्रै छु , तिमी जस्तै छु
म तिमी नै त हुँ ।
जति कलमको मसीमा पिसाबको मात्रा छ तिम्रो
सायद त्यो भन्दा बढी मात्रा मेरो छ
जति आफु मारेर अरु बनेका छौ तिमी
म पनि पुरै आफु कहाँ छु र ?
तिमी जस्तै सुनाउने चक्करमा
कयौ पटक सुघाएको छु मैले पनि
जति तिमीलाई उदासीले छोपेको छ
त्यही जालो भित्र म पनि त छु
फरक यति छ म बिरामी छु
तिमी, हुन बाँकी छ
तिमीमा भोक अझै छ बिष पिउने
हेर मलाई म टन्न अघाएको छु
पत्याउँछौ ? म साँच्चै बिरामी छु
दिमाग चकराएको छ ।
नराम्रो नमान्नु ए प्रिय सखी
तिमीले खाइरहेको चीजले मलाई छाद आएको छ ।।
तर तिमीले थोरै पनि चिन्ता नगर्नु
म तिम्रो संसारमा छाददिन
त्यही तिम्रै संसार छाद्न त म
उम्केर यसरी आफ्नो संसार आएको हुँ,
हाम्रो संसार आएको हुँ ।
- बिजय लुईटेल
Comments
Post a Comment