photo by: pixabay |
कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु
एउटा बितिरहेको, स्वार्थी दिन ।
आफुलाई सजाउँन दिनले कयौँ कुरा चोर्छ
उज्यालो चोर्छ , बतास चोर्छ
बादल चोर्छ , झरी चोर्छ
हरेक कुरा मनलागी चोर्छ ।
कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु
एउटा बितिरहेको, स्वार्थी दिन ।
छोटो अनि रहरलाग्दो आयू बोकी
घामसँग लुकामारी खेल्छ
बताससँग छोइडुम खेल्छ
चन्चले बालक जस्तो दिन
स्वतन्त्र बनेर खेल्छ ।
कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु
औँलामा छोएर बगिजाने खोलाको पानीझै लाग्छ
सार्दा सार्दै मेटिएको ब्लाकबोर्डको अक्षरझै लाग्छ
ढोकामा समाउँनै लाग्दा छुटेको गाडीझैँ लाग्छ
सम्झन खोज्दा खोज्दै बिर्सीएको सम्झनाझै लाग्छ ।
कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु
एउटा बितिरहेको, स्वार्थी दिन
जो एउटा दिन दिएर मलाई
मेरो एउटा दिन चोरी लाग्छ
जसरी एउटा प्रेमी प्रेम दिएर
प्रेम चोरी लान्छ ।
सधैझै आउँछ , सधैझै जान्छ
हरेक दिन, एउटा दिन चोरेर लान्छ
थाहै नदिइ यो अनौठो दिनले
आयुको सीतन बिस्तारै खान्छ ।
कोठाको झ्यालबाट बितिरहेको दिन हेर्छु
एउटा बितिरहेको, स्वार्थी दिन
अनि यसपाली एउटा अठोठ गर्छु
सधै मेरो दिन चोर्ने चोरको
म पनि केही अमुल्य चोर्छु ।
भोली आउँदा दिन उसले थाहै नपाई
केही थान सम्झना चोर्छु
जति सक्छु कागजमा कोर्छु
नकोरिएका केही मनमा कोर्छु ।
ताकि कुनै दिन चोरीको हिसाब लगाउँदा
समय धनी अनि जीवन गरिब नहोस ..
- बिजय लुईटेल
Comments
Post a Comment