Photo by Pavel Danilyuk from Pexels |
आज बिहानैबाट कोनी के सुर चढ्यो मेरो नातीलाई । बिकामे लुगाफाटा जति सबै फ्याकेर लगाउन लायक मात्र राख्छु भन्दै दराज खोतलीरहेको छ । देख्छु , उसको दराज छेउमा फ्याक्ने लुगाको एउटा ठूलो पहाड छ । निकै लुगा छन् क्यार त्यती निकाली सक्दा पनि अझै दराज खोतलीरहेकै छ । उमेरले नब्बे भेट्न आँटे पनि मेरा आँखा चीजबीज अझै ठम्याउँन सक्ने नै छन् । नातीले बनाएको फ्याक्ने लुगाको पहाडको चुचुरोमा एउटा कलेजी स्वीटर देखेँ । एकपल्ट ओल्टाइ पल्टाइ हेरेँ ।
बुढो भएँ सबैथोक याद रहँदैन , दुई बर्ष अघि जस्तो लाग्छ एकदिन मेरी नातिनी बुहारीले करैले नातीलाई बजार लिएर गएकी थिइँ । झत्ते मात्रै छन् तपाईका लुगा त, केटा मान्छेलाई राम्रो भएर हिड्न मन लाग्दैन कि के हो भन्दै नातीलाई लगेको याद छ मलाई । दिन भर बजार घुमेर यही कलेजी स्वीटर किनेर ल्याएका थिएँ । हेर्नु त बुबा तपाईको नातीलाई यस्को पनि रंग मनपरेन अरे भन्दै यही स्वीटर देखाएकी थिइँ मलाई नातिनी बुहारीले त्यस दिन । कति चाँडै फ्याक्नु पर्ने भइसकेछ त्यो स्वीटर ।
के बुनिरहेकी बिना , अफिसबाट घर फर्कर्ने बितीकै , हातमा कुरुस लिएर गुलाबी धागोले केही बुनिरहेकी मेरी बुढीलाई सोधेको थिएँ । लजाउँदै भनेकी थिइँ तपाईलाइनै स्वीटर बुनिरहेकी । त्यसबेला यसको बाउ उसको गर्भमा थियो । धेरै जान्ने त होइन मेरी बुढी बुन्नलाई, दुई जिउकी भएको बेला मन बहलाउन सजिलो हुन्छ भनेर स्वीटर बुन्न थालेकी थिइ सायद । एक महिना जति लगाएर अन्तिममा काखीमा अलिक चेप्ने गुलाबी स्वीटर मलाई थमाएकी थिइँ । म त दङ्गै परेको थिए नयाँ स्वीटर पाएर । भोली पल्ट अफिस जाँदा मात्र थाहा पाएको थिएँ काखीमा अलिक चेप्ने रहेछ भनेर ।
काखी चेपे पनि तर बेला बेला म लगाइरहन्थेँ त्यो स्वीटर , बिनाको मन दुखाइदिन मन लाग्दैनथ्यो । चाहेको भए अलिक असजिलो भयो मलाई यो स्वीटर भन्न सक्थेँ तर किन हो भन्नै मन लागेन त्यसबेला । कहिले काँही दिउँसो सारै अप्ठ्यारो हुँदा अफिसको कुर्सीमा राख्थेँ स्वीटरलाई अनि बेलुका घर फर्कदा लगाएर आउने गर्थेँ । निकै बर्ष सम्म त्यो स्वीटर लगाएपछि एकदिन उसैले कति लगाउनुहुन्छ त्यही एउटा स्वीटर भनेर भनेकी थिइँ । त्यसपछि भने मैले त्यसलाई दराजमै राखिरहेको छु । बेला बेला बिनाको याद आउँदा झिकेर हेर्छु नत्र त त्यहीँ दराजमै रहिरहन्छ त्यो । त्यो स्वीटर बुनिदिने मेरी बीना भगवानलाई प्यारो भएको पनि अब त सात बर्ष पुगिसक्यो । समय कति चाँडै बग्छ, भन्नै नसकिने रहेछ ।
अस्ति कहिले पो हो स्वीटर झिकेर लगाएको पनि थिएँ । पहिलो जस्तो काखी चेप्न छोडेछ , बुढो भएर शरीर सुकेकाले होला खुकुलो पनि भएछ । हुन त मान्छे सधै उस्तै पो कहाँ रहन्छ र । स्वीटर खुकुलो भए पनि कता कता छाती चेपे जस्तो भएको थियो लगाउँदा । त्यसपछि फेरि लगाउँने आँट गरेको छैन । धेरै पछि त्यो स्वीटर लगाउँदा कस्तो अनौठो लागेको थियो मलाई , त्यस्ता भावना बयान कसरी गर्न सकिएला र ।
सम्झन्छु पुराना दिन, जब म त्यही स्वीटर लगाएर अफिस जान्थे । हरेक दिन आफ्नो शरीरको थोर बहुत बास्ना त्यहाँ फसाएर ल्याउँथे । कैयौ दिन गुज्रेका छन् त्यो स्वीटरसँग मेरो । त्यो स्वीटरबाट अझै पनि मेरै बास्ना आउनु पर्ने हो तर अस्ति त्यो लगाउँदा मलाई स्वीटरमा बीना बास्ना आइँ । आफ्नो वास्ना आफैँ सुध्न सक्छ मान्छे ? यदि सक्ने भए म भन्न सक्थे होला, म आँफै आफु बास्ना आउँछु कि बिना । अब अरु कसैलाई सोधौ भने पनि कसरी भन्न सक्लान् र उनीहरुले । कसैलाई मेरी बिनाको वासना म जसरी याद नहुन पनि त सक्छ । दिमाग बुढो भएर होला अचेल यस्तै यस्तै नचाहिदो कुरा सोचेर बस्न थालेको छु । अनौठो छ मान्छेको जात पनि , केही बर्ष अगाडि जब बिना मसँग थिई यी सबै कुरा मलाई यसरी याद हुँदैनथे , मेरो दिमागमा सायदै यस्ता कुराहरु आए होलान । त्यस बेला म सँग बिना थिई , मेरा आँखै अगाडि । जब उसले छाडेर गइ, मलाई उसका सम्झना दिलाउने हरेक चीज प्यारा लाग्न थाले । एक्लै मलाई समय कटाउन साह्रो पर्छ भनेर होला , अनेकौँ चीज छाडेर गएकी रहिछ ऊ , एक एक गरि बिस्तारै भेटिरहेको छु ती कुरा मैले ।
नातीको स्वीटर र बिनाले मलाई बुनिदिएको स्वीटरको रँग एकैनासको छ । फ्याक्न लागेको नातीको स्वीटर नत्र ओल्टाइ पल्टाइ हेर्न के जरुरत र मलाई । बुढेसकालमा सम्झनाको निकै माया हुने रहेछ , तिनै मात्र आफ्नो सम्पति भएझैँ । अब नयाँ सम्झना बनाउन रहन्छ नै के र यो उमेरमा ,त्यसैले होला आफुसँग जे छ त्यसलाई जोगाउनुनै सबैथोक हुने रहेछ ।
नातीको स्वीटर हातमा लिएर यसरी टोलाएको देखेर होला नातिनी बुहारीले सोधी , के हेर्नु भएको बुबा त्यसरी ?
स्वीटरले बनाएको सम्झनामा डुबी रहेको थिएँ , उसको आवाजले झसङ्ग भएँ । ए , यो नातीको र तिमेरकी हजुरामाले मलाई बुनिदिएको स्वीटरको रंग उस्तै रछ । यो देखेर उस्कै सम्झना आयो अनि ।
हजुरबा पनि के सारो हो , अब गएका मान्छेलाई यसरी सम्झेर सधै टोलाएर कहाँ हुन्छ र । दराजको ढोका लगाउँदै नातीले भन्यो ।
सानै छस त बज्जे , अब तेरो जस्तो सम्झना बनाउँने उमेर भएको भए पनि आ होस है भन्नु आफु त सम्झना जोगाउने उमेरमा छु । मेरो सम्पति भनेकै सम्झनै त हुन नि । यती भनेर थोतो दात देखाएर मुस्कुराएँ ।
हाम्रा बालाई गफ गरेर कस्ले सक्छ र ? यस्तै गफ सुनेर र होला नि हाम्री हजुरामाले तपाईलाइ मन पराएको । नातीले जिस्काउँदै भन्यो ।
तेरी हजुरामा म भन्दा चौगुना थिइँ गफमा , चिनेकै होस त तैँले ।
त्यसो त हासखेल गर्न त हजुरबा भन्दा पनि अगाडि हुनुहुन्थ्यो हजुरामा । नातीले लुगा बोरामा हाल्दै भन्यो । रचना अर्को बोरा पनि लेउ त सबै त आट्ला जस्तौ छैन यसमा ।
हातमा मैले बोकी रहेको त्यस्को कलेजी स्वीटर त्यसलाईनै फिर्ता दिएँ । भन्न मन लागेको थियो बुहारीले मायाले किनिदिएको लुगा यसरी नफाल भनेर । त्यसो भन्दा यादै नगरी बसिरहेकी नातिनी बुहारीको मनमा मेरा बुढाले मलाई माया गर्दा रहेनछन् भन्ने भावना आउँला भनेर भनीन । यस्ता कुरा प्याच्च भनि पनि हाल्नु हुँदैन । सबैले आफैँ जस्तो सोच्छन् भनेर सोच्नु राम्रो हैन ।
नातीले लुगा फाल्न पोको कस्दै थियो , म आफ्नो कोठामा फर्कीए । फर्कन साथ आएर आफ्नो दराज खोलेर हेरेँ । दराजमा जाडोको लुगा राख्ने पाटोको सबैभन्दा तल्लो भागमा हेरेँ । मेरो गुलाबी स्वीटर त्यही रहेछ , नातीले निकालेको लुगाको पहाड देखेपछि दम बढ्ला जस्तो भएको थियो अलिक सन्चो भयो । आँखा अलिक कम्जोर हुन थाले जस्ता छन् । अर्को जाडोमा न बिनासँग पो भेट जुर्छ कि ?
- बिजय लुईटेल
Comments
Post a Comment