Photo : Pixabay |
झरी परिरहेको छ , आँखा बन्द गरेर एक निमेष शुन्यता अङ्गाल्छु । एउटा बेग्लै शान्ति छ झरीमा । आँखा चिम्लन साथै देख्छु कोही आफ्ना सुन्दर गोडामा लगाएको पाउजु बजाउँदै पानीमा नाँचीहरेछ । यो शान्ति कति प्रिय छ । कतै टाढा, पर कुनै गाउँमा रूखबाट झर्दै गरेको पातको आवाज सुन्छु । कतै टाडा पृथ्वीको कुनै कुनामा कोही संगीतकारले रच्दै गरेको गीतको पहिलो धुन सुन्छु । मलाई आभाष हुन्छ उदाउँदै गरेको सुर्यले मेरो चिम्लिएको आँखामा रातो रंग पोतेको , आँखा चिम्लेरै म यो महशुस गर्न सक्छु । म देख्छु चित्रकारले पहिलो पल्ट ब्रस चोप्दा पानीमा फैलिएको सुन्दर रंग , चित्रकारले क्यानभासमा कोर्न लागेको चित्र पनि कल्पना गर्न सक्छु । फुलै फुलको बगैचामा रसपान गर्दै गरेको माहुरीको भुन भुन पनि म सुन्न सक्छु । म बिर्सन्छु कि झरी परिरहेको छ ।
त्यही पाउजुको छनछन छ जसले मलाई बारम्बार सम्झाइरहन्छ कि झरी परिरहेको छ । पानीको आवाज सँगै कोही पानीमा पाउजु बजाउँदै नाँचिरहेको म स्प्रस्ट देख्न सक्छु । म सुन्न सक्छु एउटा मिठो हाँसो जो मेरो कानको बाटो हुँदै मेरो दिमाग बिथोलिरहेछ । मेरो आँखा अझै बन्द छन् तैपनि मेरो मुहारको मांसपेशीको खुम्चाइले म भन्न सक्छु कि म मुस्कुराइरहेको छु । सुन्तला रंगको कुर्ता अनि दुबै हातले माथि सारेर समाइरहेको सुरूवाल लगाएर पानीमा कोही नाँचिरहेको छ । केश भिजेर उसको मुहारमा आएको छ , उसलाई हेर्नै अप्ठ्यारो पर्ने गरी, तैपनि निस्फिर्की ऊ नाँचिरहेकी छे ।
मलाई आँखा खोल्नै मन छैन । पाउजुको आवाजको सम्मोहनमा आफुलाई आत्मसमर्पण गरेको छु । मलाई सम्मोहित बन्न मज्जा लागिरहेको छ । कता कता लागिरहेको छ कि मैले पहिले कतै त्यो पाउजुको आवाज सुनेको छु । थाहा छैन कहाँ । आँफैलाई भन्न सकिरहेको छैन । आँखा चिम्लिरहेकै छु । कतै टाढा, थाहा छैन कता , कुनै चरी गाएको आवाज कानमा परिरहेको छ । मलाई यो आवाज एकदम प्रिय लागिरहेको छ । झरीमा सम्मोहीत भएको यो मेरो पहिलो पटक होइन । झरी सधै जादु लिएर आउँछ मसम्म ।
पानीले गर्दा, ऊ आँखा चिम्लदै उघार्दै गरिरहेकी छे । उसको केस र गालाबाट कर्कलाको पाटबाट पानी बगेझै बगिरहेको छ । एकाएक कानमा रामकृष्ण ढकालको गीत बज्न थाल्छ , बर्षातमा उनी रूझ्दा झरी बनु लाग्यो .... केषबाट तप्प, चुइने पानी बनु लाग्यो मलाई पानी बनु लाग्यो । उसको ओठमा गुलाफ फुलेको प्रतीत हुन्छ । दातमा मोती फलेको आभाष हुन्छ । उसको निधार खुसी छ , खुम्चिएका रेखाको नामानिशान छैन ।
आँखा चिम्लिरहेकै छु , कसैको घरको छानामा पानी बजेको सुन्छु । म सम्मोहनबाट बाहिर निस्कन सकिरहेकै छैन , साँच्चै भन्ने हो भने खोजिरहेकै छैन । हुन त मैले आँखा खोल्न प्रयास गरेर यथार्थमा आउनु पर्ने हो तर त्यो पाउजु बजाउँने खुट्टाको परीचय नलिइ मलाई आँखा खोल्नु छैन त्यसैले सम्मोहित रहिरहन चाहन्छु ।
आँखा अझै चिम्लिरहेकै छु । उ मेरै अगाडि नाँचिरहेकी छे । म उसको आँखा चिन्छु , केश चिन्छु , निधार चिन्छु , नाक चिन्छु , ओठ चिन्छु , उसको दाँत चिन्छु तर उसलाई चिन्दिन, एउटा अङ्गमा ध्यान दिँदा म स्पष्ट देख्छु तर जब म उसको पुरै अनुहार हेर्न खोज्छु , उ नाँचेकै दृश्य धमिलो बनेर आउँछ । मैले चिनेका उसका अङ्गहरूलाई समेटेर एउटा चित्र बनाउँन सकिरहेको छैन । म अहिले त्यही कोशिशमा छु कि उसको मुहारको पुर्ण रूप पत्ता लगाउँ तर सबै प्रयास बिफल भइरहेको छ । अघिल्लो पल्ट जब म सम्मोहित भएको थिएँ, उसको मुहारलाई आकार दिँदा दिदै एकाएक झरी रोकिएर म होसमा आएको थिएँ । यो पल्ट म प्रयास गरिरहेको छु कि मुहार स्पष्ट देखेर मात्र म यथार्थमा फर्कुँ । आँखा खुल्न सक्छ भनेर एकदम जोडले आँखा बन्द गरेको छु । आज पक्कै मेरो सपना पुरा हुनेछ .....
त्यतीकैमा ठूलो चट्याड़ पर्छ ........
- बिजय लुईटेल
Comments
Post a Comment