परेवाको गुड गुड सुनिरहेछ
घण्टीको टिङ टिङ सुनिरहेछ
अनि मानिसहरुको गनगन सुनिरहेछ
आवाजको यस्तो कोलाहलमा ऊ
आफ्ना एक जोर आँखा बन्द गरेर
प्रत्येक आवाज छानि छानि सुनिरहेछ...
म सोच्छु ...
एक्लै हुँदा एक्लो हुनु र भीडमा एक्लो हुनु
के समान छन् उसका लागि ?
यदि समान नभए कसरी छ उसको मुहारको दिप्ती त्यो ?
थाहा छैन आज किन म उसमा मेरा उत्तर खोज्दैछू
मलाई एक्लै एक्लो हुनु र भिडमा एक्लो हुनु किन फरक लाग्दछन् ?
यदि ती समान छन् भने किन लाग्दैनन् मलाई समान ती ?
म यँही छु ..
केही पर बसी, उसलाई हेरिरहेछु
उसले सुनेका सबै कुरा देखिरहेछु
उसले आवाजमा आफैलाई खोजे जस्तै
म पनि सायद दृश्यमा आफैलाई खोजिरहेछु
या भनौ
एक्लोपनको एउटा स्थिर परिभाषा खोजिरहेछु ...
- बिजय लुईटेल
Comments
Post a Comment