Photo by Drigo Diniz from Pexels |
एकाएक आज आकाश धमिलो देखेँ, उमेर ढल्किएझैँ लाग्यो । झ्यालबाट बाहिर हेरेँ सधै हिड्ने बाटो लामो देखेँ, नहिँडी खुट्टा गलेझै लाग्यो त्यसैले उमेर ढल्किएझै लाग्यो । डराउँदै मुहारमा हात चलाएँ, मौन भएँ । खै किन आज एकाएक आफु बुढो भएझै लाग्यो । आफ्नै उमेर थाहा थिएन जब हेर्न थालेको थिएँ मेरो अगाडि राखेको यो सानो खान्दानी ऐना । तर आज केही समय बितेर जाँदा, थाहै नदिइ भागेको छ मबाट ऐना हेर्ने आँट र जागर एकैसाथ । किन यस्तो हुन्छ मान्छेलाई ? मनमा कतै अझै म जवान छु झैँ लाग्छ अनि उठेर हेरिदिउँ जस्तो लाग्छ त्यो सानो ऐना, तर आँट कता गएर लुकेको छ थाहा छैन, अचेल मेरो छेउ पर्न छोडेको छ । सायद उमेर पुगेका मान्छे, मान्छेलाई मात्र नभएर भावनालाई पनि पुग्ने गर्छन, या उमेर पुगेकालाई त्यस्तो लाग्ने गर्छ ।
मलाई अब पटक्कै ऐना हेर्न मन छैन , हेरूँ पनि त के हे हेरूँ ? त्यो ऐना अब ऐना मात्र नरहेर भित्तामा सजिने पेन्टिङझैँ बनेको छ । पेन्टिङमा दुब्दै गरेको नाउँ केरिएको छ , बलेर सकिन लागेको मुढो कोरिएको छ, निभ्दै गरेको दियो कोरिएको छ अनि केरिएको छ अस्ताउँदै गरेको सुर्य पनि । मलाई अस्तित्व सकिन लागेका सबै कुराको चित्र घीन लाग्न थालेको छ । मेरो ऐना आज एकाएक भद्दा चित्रहरूको सँगालो बनेको छ ।
म सधै यस्तो कहाँ थिएँ र । म सँग कुनै बेला प्रसस्त आयु थियो । म आयु मनलागी छर्दै हिड्थेँ मानौ आयु कुनै बीज हो र म किसान, एउटा त्यस्तो किसान जो बीज छर्ने काइदा जान्दैन । छर्दा छर्दै उमेरको जोसमा, पर्ने नपर्ने , चाहिने नचाहिने अनेक ठाँउ छरेछु आयु मैले , अहिले सम्झँदा त्यस्तो लाग्छ । उमेरको यो मोडमा आएर म भोकाएको छु , पछाडि फर्केर हेर्छु , छर्नु नपर्ने ठाउँमा छरेका बोटमा फल लागेका छैनन्, सबै नाङ्गा छन् । म अहिले सोच्छु उमेर अघाउँदा म किन भोकाएँ ? आँत नपुरिएर हो ? सायद होला , उमेरमा मज्जाले खान पाएको मान्छेलाई बुढो हुँदा खाउ खाउ लाग्दैन नि हैन र ? तर यी कुरा जान्न म असमर्थ छु । भोको मान्छेलाई अघाउँदा कस्तो हुन्छ भनेर सोध्नु जस्तै हो यो मेरो लागि । यही कुराले मलाई आज बेचैन बनाएको छ , निराश बनाएको छ ।
हिजो पनि त हेरेको थिएँ मैले यो ऐना तर आँफुमा केही फरक पाएको थिइन । के म साच्चै एक रातमा बुढो भएँ ? साँच्चै मान्छेले आफु बुढो भएको कुन बेला थाहा पाउँछ ? या थाहै पाउँदैन ? उमेर जादुगर पो की क्या हो ? सायद उमेर फुल्न महिनौ र ओइलन एक रात लाउने फुल हो र आज त्यो रातको भोली ।
म मेरो कोठामा राखेको त्यो खान्दानी ए्ेना हेर्छु । म जस्तो बुढो नभएको खान्दानी ऐना , जस्लाई हेर्दै मेरा बा पनि बुढा भएका थिए । त्यो सानो खान्दानी ए्ेना आज पनि उस्तै छ जस्तो ल्याउँदा थियो सायद । जतन गरेर मैले नै त हो उसलाई आयु दिएको । म सोच्छु मन लाग्दा मात्र बुढो हुन पाए कस्तो हुन्थ्यो होला । ऐना जस्तै हुन पाए कस्तो हुन्थ्यो होला ।
मेरो उमेर नबढेको खानदानी ऐना मलाई हेरेर मुस्कुराइ रहेको छ । उसको मुस्कान मलाई आज घिन लाग्दैछ । सायद बुढो भएको रन्कोमा म ऊ हाँसेको सुन्दैछु । मलाई लाग्छ मेरो खान्दानी ऐना मलाई हेरेर भन्दैछ , ओइ चाउरी बुढा , धेरै दिन छैन जस्तो छ नि । म चुपचाप बस्छु । ओइ चाउरी मलाई हेर् , म त तँ भन्दा पनि जेठो हुँ , म त चाउरी परेको छैन त , तँलाई चै के बित्यो र बुढो भइस ? उ हाँसेर घर थर्कीएको आभास हुन्छ मलाई । रीस उठ्छ एकदमै । बुढो दिमागले सोच्छु , के को घमण्ड यो नाथे ऐनालाई ? लाग्छ घमण्ड कसैको राम्रो हैन न ऐनाको न मान्छेको । मनमा घृणाको बीज उम्रन्छ अनि एकैछिनमा घृणाको त्यो बीज बढेर ठूलो रूख बन्छ । त्यही घृणाले मातेर सोच्छु आयु दिनेले खोस्न पनि सक्छ ।
खिया लागेको काँटीमा झुन्डाएको खान्दानी ऐना काँटीबाट झिक्छु अनि एक अन्तिम पल्ट हेर्छु , झन मात चढेर आउँछ । झिकेको ऐनालाई छेउको झ्यालबाट बाटोमा पुग्ने गरी हुत्याइ दिन्छु । ऐना फुटेको ठूलो आवाज आउँछ । बाटो भरी छरिएका टुक्रा हेर्दै मुस्कुराउँछु । मन ढुक्क हुन्छ, आज देखी मलाई बुढो कसैले भन्ने छैन । खुसी लाग्छ ऐनालाई आयु दिनेले खोस्न पनि सक्छ भन्ने पाठ सिकाएकोमा । पक्कै थाहा पायो होला ऐनाले घमण्ड कसैको राम्रो हैन भनेर । फेरी धमिलो आकाश हेर्छु , मन अमिलो हुन्छ । आफैलाई सोध्छु, मलाई कस्ले दियो आयु ?
- बिजय लुईटेल
AGES AND AGES !
ReplyDeleteThank you for reading
Delete