Photo by Bimal Ranabhat from Pexels |
एउटा अचम्मको मानिस छ , ठीकठाक जस्तो पनि छ । बौलाएको जस्तो पनि छ , होसमै भएजस्तो पनि छ । उसँग आफ्ना बिचार छन् , सबैभन्दा उच्च स्तरको बिचार ( यस्तो ऊ आँफै मान्छ ) । अरूले मानुन् या नमानुन् उसलाई यसको केही सरोकार छैन । यति भनेपछि बुझिन्छ ऊ धमण्डी छ । प्रेमको मामलामा स्वार्थी पनि छ । उसलाई प्रेम चाहिन्छ र हुँदा पनि छटपटाउँछ । उसले लिन जानेको छ दिन जानेको छैन ।
एक्काइसौँ शताब्दीको महान् मानिस ( ऊ आँफुलाई यस्तै ठाँन्छ , नत्र यो कुरा अरू कसले मान्छ ? ) हार्न पनि जानेको छैन र हराउँन पनि । अरूलाई हराएको अन्धविश्वास पाल्छ र साँझ घर फर्केपछि आँफैसँग हार्छ । आँफैलाई हराउन भने मज्जाले जानेको छ । उसका गोडा जमीनमा छैनन् । आफुलाई उसले पन्छी ठान्छ , अरूलाई कुवाको भ्यागुत्तो । उसको शरीरबाट नमिठो गन्ध आउँछ , एकदमै अमिलो गन्ध त्यसैले अरू उसको अगाडि आउँदा नाक थुन्छन् र ऊ पनि त्यसै गर्छ । उसको छेउमा बसेर सास फेर्नु , केवल सास तान्नु र फ्याँक्नु मात्र हुन्छ । बाँचेको आभास अरूलाई दिन उसले जानेको छैन , चाहेकै छैन ।
बिचरापनको केही झलक उसमा देखिन्छ तर कसैले उसलाई बिचरा भनेको ऊ सहन सक्दैन , आफैले आफैँलाई बिचरा भन्नु पनि पाप सम्झन्छ । प्रेम के हो उसले जानेको छैन , दया के हो जानेको छैन । उसले पुराना मान्छे भन्दा पृथक बन्न आफुभित्र गुम्साएर राखेको छ प्रेमलाई । उसका लागि प्रेम केबल सिनेमामा छ , किताबमा छ अनि रहरमा छ । उसलाई देख्दा लाग्छ कुनै काल मनभित्र प्रेम थन्काएको उसले एकाएक चाबी हराएको छ अनि ऊ, प्रेम गर्न नजान्ने एक्काइसौँ शताब्दीको महान् मानिस, आफुलाई भग्वान कृष्ण मान्दै बाँचेको छ ।
उसले आफुलाई आफु हुन नदिएको धेरै भयो , ऊ त हरपल अरू बन्न खोज्छ र अरूलाई पनि आफु बन्न नदिन अथक प्रयास गरिरहन्छ । एक्काइसौँ शताब्दीको महान् मानिस नयाँ सीपले भरीपूर्ण छ , उसले जानेको छ आफ्नो गल्ती अरूलाई सुम्पन । उसको प्रकृतिनै यस्तौ भइ सक्यो कि आफ्नो गल्ती अरूको हो भन्दै बाँच्न खोज्छ , इज्जत बचाउँन आत्मा मार्न खोज्छ । प्रेम उसका लागि ल्याप्चे लगाएको कागज भएको छ, उसको सोचमा रहेको कागज जोसँग कसैकाे ब्यबहार नमिले प्रेम स्वत खारेज हुन्छ । एक्काइसौँ शताब्दीको महान् मानिसले झुक्न जानेको छैन , सायद सिकेकै छैन ।
समस्यासँग उसले मिल्न जानेको छैन , जानेको छ त केबल भाग्न । एक्काइसौँ शताब्दीको महान् मानिस भगौडे हो , इतिहासकै सबैभन्दा ठूलो भगौडे । कति भाग्न पर्छ भन्ने पनि नजान्ने , दम्भ भएको पानीआन्द्रे मानिस जो भाग्दा भाग्दै उमेर रहदा रहदै जीवनबाटै भागिदिन्छ । ऊ समस्या , प्रेम , जिम्मेवारी, भविस्य, सबै सबै थोक छोडेर टाप ठोक्ने एउटा भगौडे मानिस । उसले जीवन सँग सन्धि गर्न जानेको छैन तर यो कुरा ऊ मान्न चाहँदैन , उसलाई लाग्छ नजान्नु पाप हो र अरूलाई पनि यो पाप हौ भन्दै फुक्दै हिड्छ । उसले केही जानेको छैन त्यही पनि सबथोक जानेको ढर्रा पार्छ । उसले केवल जानेको छ बाटोमा खाल्टो हुँदा बाटो मोड्न , बोक्न गाह्रो कुरा सबै बाटोमै छोड्न र जानेको छ सपना देख्न , यो एक्काइसौँ शताब्दीको महान् मानिस इतिहासकै सबैभन्दा ठूला सपना देख्ने मानिस हो ।
उसलाई प्रश्नसँग घृणा छ , न आँफैलाई सोध्छ , न अरू कसैलाई । आफ्नो बोली , आफ्नो सोच ऊ ध्रुबसत्य मान्छ । उसले खुम्चन जानेको छैन , फुल्न मात्र जानेको छ , च्वास्स छुँदा फुट्ने बेलुन जस्तै । सबैकुरा किन्न सकिन्छ भन्छ, जतन गर्न उसलाई आउँदैन । ऊ पिंजरा बनाउँछ , पिंजरामा आँफैलाई थुन्छ अनि बादल माथि उड्ने सपना देख्छ ।
जब एक्काइसौँ शताब्दीको महान् मानिसको बारे सोच्छु मेरो मगजमा दुईटा मात्र चित्र नाँच्छन् :
एउटा चित्रमा कोही मानिस ठूलो सागरबीच पौडी पोसाक लगाएर नाउमाथि बसिरहेको हुन्छ , मोती खोज्न गएको हुन्छ ऊ त्यहाँ । तर सागरको गहिराइ सम्झन्छ र पानीमा नपसेर भाग्ने दाउ खोज्न थाल्छ ।
अर्को चित्रमा कोही राम्रोसँग पढ्न जान्ने मान्छे , से नो टु सुसाइड लेखेको गल्बन्दीको पासोमा झुन्डिरहेको हुन्छ ।
कठै ! मानव सभ्यताकै सबैभन्दा विकसित मानिस । कठै ! एक्काइसौँ शताब्दीको महान् मानिस ।
- बिजय लुईटेल
Comments
Post a Comment