यो एउटा बगैचाको कथा हो, यसलाई बगैचाको ब्यथा भन्दा पनि खासै फरकचै पर्दैन । बगैचामा अनगिन्त फुल फुलेका छन्, एकदम हेरौ हेरौ लाग्ने बगैचा छ , तर दुर्भाग्य, बगैचा खाली छ, अनि त्यही बिचमा एउटा मरेको मुसाको लास छ । मान्छेको आवतजावत छैन, मान्छेहरू पर्खालमा चिउडो अड्याएर भित्र हेर्छन , या भनौ हेर्न खोज्छन् तर पर्खालबाटै मरेको मुसो ह्वास्स गनाउँछ । अचम्मको कुरा मलाई के लाग्छ भनेँ कसरी एउटा सानो मुसाको गन्धले पुरै बगैचा कुरूप बनाउँन सक्छ ? के दागहरूको जस्तै चरित्र हुन्छ मरेको मुसोको पनि ? हुन पनि सक्छ , म पनि त चित्र भन्दा पहिले त्यसका लागेको दाग देख्छु । मान्छेले पनि फुलका बास्ना भन्दा पहिले मुसाको गन्ध थाहा पाउनु असम्भव कहाँ छ र ?
बगैचा चारैतर्फबाट पर्खालले घेरिएको छ । पर्खाल चाहे जे कुराको होस, मलाई पर्खालसँग एक किसिमको बिरक्ती छ । यो बिरक्ती मभित्र त्यसै उब्जिएको भने हैन एउटा अग्लो पर्खालले दिएको अनुभव हो । भन्यो भने हाँस्नु हुन्छ तपाईहरू तैपनि भन्छु । मेरो छिमेकमा पहिले एउटा ठूलो भोटे कुकुर थियो, अहिले छैन, केही बर्ष अगाडि घरको बारी खोस्रेर त्यही मर्यो अरे भन्छन् छिमेकी अङ्कल । मैले त देखिन मरेको पनि । देख्नु पनि कसरी उनको घरको पर्खाल यती ठूलो छ उनको तिनतले घर त दुई तले मात्र देखिन्छ, अब त्यहाँबाट कुकुर कसरी देख्नु र ?
उनले पर्खाल लगाउँनु अघि म बाहिर निस्कने बेलामा सधै पुच्छर हल्लाउँदै आउँथ्यो त्यो कुकुर , बिस्तारै पर्खाल त्यहाँ उभियो अनि मैले घडीको पेन्डुलम जस्तो हल्लने भोटे कुकुरको पुच्छर देख्न छाडेँ । धेरै दिन सम्म नराम्रो लाग्यो, बिस्तारै बानी पनि भयो पुच्छर नहेरी दिन सुरु गर्ने, अनि एकदिन अचानक जब कुकुर मरेको खबर सुने, त्यसको पुच्छर कल्पना गर्न खोजेँ । अहँ सक्दै सकिन । त्यती बेलानै एककासी मलाई पर्खाल सँग घृणा जागेर आयो । के त्यो सानो घटना पर्खालसँग घृणा जगाउँन पर्याप्त कुरा हो ? अब नभएर पनि के र, जागेपछि जाग्यो जाग्यो नि हैन ? एकपटक केही बर्ष पछि म चिडियाखाना पनि गएको थिएँ, मेरो घृणालाई त्यती बेला थप उर्जा मिलेको थियो ।
साँच्चै तपाईहरूले फुल बोलेको सुन्नुभएको छ ? कवि ज्युले हामीलाई बगैचाको कथा भन्दा भन्दै एक्कासी सोध्नुभयो । हामीले केही नबोली उनलाई हेरिरह्यौ ।
मसँग बगैचा हिजो अस्ति भर्खर मात्र बालेको थियो , उनले भन्दै गए , सारै गुनासो गर्छन म सँग बगैचाका फुल , रातो गुलाफ त एकदिन रोयोनै । भन्छ, के म यती नराम्रो छु कि कोही मलाई टिपेर आफ्नी प्रेमिकालाई दिन सम्म चाँहदैनन् ? मलाई फुल्नु अर्थहिन लागिरहेछ । कवि बरू मलाई तिम्रो कवितामा राख न , अनि अझ त्यो बगैचाको रूख भन्छ, मेरो छायाको शितलताको बारेमा लेखन कवि, ताकी कोही लोभिएर मेरो छेउ आओस , म छु भनेर मलाई आभास दिलाउँन सहयोग गर न ल ? मन त लाग्छ केही लेखिदिउँ तैपनि राँख्न सक्दिन म उनीहरूलाई शब्दको पर्खाल भित्र ? मलाई पर्खाल साँच्चै मनपर्दैन, पटक्कै मनपर्दैन ...
त्यो बगैचाको बारे अरू के भनौँ, फुलेर पनि ओइलाएको छ , बासना आएर पनि गनाएको छ, पर्खालभित्र बगैचा बिनाअर्थ थुनिएको छ, थन्किएको छ , न त भित्र छिर्न कसैका लागि ढोकै छ, छ त केबल बगैचासँग एउटा नमिठो मुसाको गन्ध । अस्तित्व भएर पनि अस्तित्व नरहेको एउटा त्यस्तो बगैचा छ........ ( कवि केही बोलेनन् ,चियामा जुठो मात्र लगाए )
कवि ज्यू कथा सकिएको हो? मलाई एउटा कुरा सोध्न मन लागिरहेकोछ , सोध्न सक्छु ?
सोध्नुहोस् । त्यती नै हो कथा ।
तपाईले भन्नुभयो , बगैचामा कसैलाई छिर्न ढोका छैन, त्यसो भए तपाई बगैचा भित्र कसरी पस्नुभयो ?
मालीलाई पनि कसैले छेक्छ र ? (आँखा झिम्काउँदै भन्छन् कवि )
भनेपछि तपाई त्यो बगैचाको माली ? त्यसो भए त्यो मरेको मुसा किन फ्याक्नु हुन्न ? अनि पर्खाल भत्काएर एउटा ढोका किन बनाउँनु हुन्न ?
मुसा त आँफै पालेको कुरो मरे पनि फ्याक्न मन लागेन ,फेरी बोटबिरूवालाई मल पनि हुन्छ कि जस्तो लागेर छोडिदिएको । अनि त्यो भत्काउँने कुराचै के भने, मालीले बनाउँन मात्र सिक्यो भत्काउँन सिकेनछ । ( कविले मुुसुक्क हास्दै भने )
यती भनेर कवि बिस्तारै उठे अनि भनेँ , ल है केटाहो म हिडेँ घरमा थोरै काम छ , आज भ्याउँनु छ ।
म र मेरा केही साथीहरू अचम्मको मान्छे छ यो भन्दै मुखामुख गरेर मुस्कुरायौ । उनी गए पछि पनि हामी चिया पसलमै गफिदै बसिरहेका थियौ , एउटा साथी भन्दै थियो, यो कवि भन्ने जातनै कुरा बटारेर भन्ने जात हो , के भन्छन् बुझ्नै गाह्रो ।
तँ आफै बाठो भएर कति कविता सुन्नु कविजी आज कथा सुनाउँनुहोस भनेको त होस् नि । बिचरालाई आउँदैन रहेछ जे पायो त्यही भनेर गयो । अर्कोले जिस्काउँदै भन्यो ।
त्यतीकैमा कवि फेरी त्यहाँ आइपुगे र डिच्च हाँस्दै भने : बिजय हतारमा चियाको पैसा दिन बिर्सैछ, यहाँ छ है ।
टेबलमा बीस रूपैयाको नोट राखेर उनी जताबाट आएका थिए त्यतै फर्कीए ...
- बिजय लुईटेल
Comments
Post a Comment