Photo by: Miguel Á. Padriñán from Pexels |
अचेल आँफैलाई सोधिरहेको छु , यो भन्दा पहिले मलाई यस्तो फुर्सद कहिले भएको थियो ? धेरै बेर सम्झेपछि एस..एल.सी परिक्षा सकेर घर बसेको समय आयो दिमागमा । घर बस्थे फिल्म हेर्थे , भन्ने नै हो भने केही नगरी दिन बित्थ्यो, एकदमै फुर्सदिलो थिएँ त्यसबेला । अहिले पनि छु, तर त्यसबेलाको भन्दा केही भिन्न छ यो फुर्सद । म मात्र हैन यो समय सबै फुर्सदिलै छन् । कोरोना भाइरसले एउटा ब्यस्तता मुक्ती आन्दोलन थालेको छ अनि सबैलाई फुर्सदिलो बनाएको छ । अखबार, फेसबुक अनि टिभीले हरेकपल कोरोनाका कारणले ज्यान गुमाउँनेको संख्या बताइरहेका छन्, संसार भयभीत छ । नेपाल सरकारले पनि सबैलाई सचेत रहन आग्रह गरिरहेको छ, भीडभाडमा नजानु घरभित्रै बस्नु भनिरहेको छ ।
त्यस आग्रहकै पालना गरेर आफ्नो र अरूकसैको ज्यान जोगाउँन सक्छु कि भन्दै ओछ्यानमा पल्टेर अमृता प्रितमको रसीदी टिकट पढिरहेको थिएँ । किताब एकदमै रोचक र मर्मस्पशी भएकाले बिहानै देखि नबिसाई पढिरहेको थिएँ । सायद धेरैबेर पढेर एकोहोरो भएको थिएँ, या पढ्दा पढ्दै कतै हराएको थिएँ । एकाएक झ्यालबाट आएको चिसो बतासले किताबको पाना पल्टाइदियो अनि पो थाहा पाएँ म झकाउँन लागेको रहेछु, त्यसपछि किताबमा बुकमार्क राखेर ओछ्यानबाट उठेँ । धेरै पढेकाले आखा पनि दुखेजस्तो भएको थियो । उभीएर छेउमा राखेको पानी दुई चार घुट्को घुट्क्याएँ अनि झ्यालबाट बाहिर हेरेँ ,मज्जाले घाम लागेको थियो, आकाश एकदमै उज्यालो थियो । पर देखिने पहाडतिर एकछिन आँखा डुलाएर बिस्तारै आँखालाई कोठामै फर्काउँदै थिएँ , तल बारीमा काम गरिरहेका आमा र भाउजुमा नजर पर्यो । आमा र भाउजु बारीको झार उखेल्दै हुनुहुन्थ्यो ।
बारीमा आमा र भाउजुलाई काम गरेको देखेपछि मेरो मनमा अचम्मको तरङ्ग उत्पन्न भयो । थाहा छैन त्यो तरङ्ग त्यही पल म भिञ अचानक जन्मेको थियो वा मेरो अचेतन मनमा पहिले देखि कतै गडेको थियो अनि एउटा लोभलाग्दो दिनको मौका छोपेर मलाई बिथोल्न आएको थियो । मेरो नङ्ग अचानक चिलाएर आयो , आफ्नै पैतालाले आफैलाई काउकुती लगाएर मलाई हँसाइदिए , नाक पनि यसै चिलाएझै भयो । के भएको होला भनि एकपल्ट दिमागमा जोर लगाएँ , फेरी बतास गुनगुनाउँदै कोठा भित्र पस्यो अनि कानमा आएर फुसफुसायो , चिन्ता नगर केही भएको छैन तेरा अङ्गहरूलाई आज एक्कासी माटोको सम्झना आयो ।
लगाइरहेको ज्याकेट खोले, अनि बारीमा ओर्लीएँ एकैछिन भए पनि अङ्गहरूको चाहना पुरा गरिदिनु पर्यो भनेर । बारीमा ओर्लेर आमालाई भनेँ : खै के गर्नु पर्छ मैले अल्छी लाग्यो कोठामा बस्न । आमाले छक्क परेर हेर्दै भन्नुभयो, ऊ त्यहाँबाट झार उखेल्दै लिएर आएज । त्यसपछि पिरामा बसेर झार उखेल्न थालेँ । झार उखेल्दा उखेल्दै आँफैलाई सोधेँ, कहिले थियो यो भन्दा अगाडि मैले माटो छोएको ? त्यस्को उत्तर मैले अहिले सम्म पाएको छैन । लाग्यो घर, अफिस अनि घुमघाममा मोजा र जुत्ताको साथ हिड्दा हिड्दै खुट्टाले माटो सँग अनि माटोले खुट्टासँग कहिल्यै बोल्न पाएनछन् । अकअर्कासँग सधै हिँडेर पनि एकअर्कालाई कहिल्यै छुन नपाएका मेरा खुट्टा र धर्तीको माटोको कथा मलाई अहिले कुनै दुखद प्रेम कथाझै लागिरेहछ ।
झार उखेल्न सकेर एकछिन उभीए , बानी नभएकाले कता कता शरीर दुखे जस्तो भयो । माटोले भरिएको हात एकपल्छ नाक छेउमा लगेर सुघेँ , चिनेकै बास्नाझै लाग्यो । त्यसपछि खुट्टाको चप्पल खोलँे, एकछिन खाली खुट्टा माटोमा उभीएँ, शरीर शितल लागेर आयो, जिन्दगीनै शितल लागेर आयो । लाग्यो धेरै बर्ष अघि नचाहदा नचाहँदै बिछोड भएको साथीलाई एकदम दरो अङ्गालीरहेको छु ।
काम सकेपछि हातमुख धोएर कोठामा आएँ , ओछयानमा पल्टेको मोबाइल उठाएर चलाउँन थालेँ । कोरोनाले गुमाएको ज्यानको गन्ती हेरे , मन अमिलो भएर आयो । आँखा बन्द गरेर कामना गरेँ ,केही न केही जादु भइदियोस अनि संसार स्वस्थ बनोस् ।
मानब इतिहासकै दुखद घडी छ , मान्छे मरिरहेका छन् , दिमाग बिचलित छ , केही गर्नु भन्दा केही पनि नगर्नु फाइदाजनक छ । प्रकृतीले अनौठो खेल खेलिरहेछ । अचम्म छ, मान्छेलाई जिवनबाट टाढा पुर्याउने कोरोनले मलाई जिवनको एक कदम नजिक पुर्याइदिएको छ । हामी डरनै डरको बीचमा बाँचेका छौँ, तैपनि हाँसेका छौ । सुन्दा सादा लाग्ने एउटा जुन जीवन शब्द छ समयले त्यसलाई कालो पोतिरहेछ,, कुरूप बनाइरहेछ तर मेरो मानव मनमा कतै एउटा विश्वास छ । मानव जाति एउटा यस्तो चित्रकार हो जस्ले केही समयमा कोरोनाको कालेपनमा रङ्ग भरेर इन्द्रेणी बनाउँनेछ ।
- बिजय लुईटेल
Comments
Post a Comment