Photo by |
हुन्न हुन्न एकछिन रोकिनुहोस । यो तपाई के गर्दै हुनुहुन्छ ? यसरी अर्काको कोठामा राती राती चियाउँनु राम्रो हो ? के तपाईको संस्कार यही हो ? हो मैले तपाईहरूलाईनै भनेको,जो यो कथा पढ्दै हुनुहुन्छ । म अब यहाँ एउटा केटाको कोठाको झ्यालबाट भित्र चियाउँदै छु । तपाईहरूलाई यदि यो गलत लाग्छ भने अहिल्यै पढ्न छोड्नुहोस् नत्र भए ढिलाई नगरीकन मसँगै चियाउनुहोस् ।
अलिक बचेर हेरौ है, उसले यसरी कसैले उसको कोठामा चियाएको थाहा पायो भने बबाल हुन्छ फेरी । हामीले अहिले चियाउँन लागेको कोठा बसन्तको हो,बसन्त प्रहरीको हलदार हो । अझै पनि चियाउँनु हुन्छ यो कोठामा ? अब प्रहरी भनेर डराएर चियाउन छोड्ने बाहेक अरू म सँग चियाउँनु होला ।
कोठा अन्धकार छ , पूर्णीमा भएकाले बाहिर मज्जाले जून लागेको छ, । उसको कोठाको पूर्व फर्केको झ्यालको पर्दा खुल्लै छ , प्रायजसो पूर्णीमाको रात ऊ झ्यालको पर्दा खोलेरै सुत्ने गर्छ । थाहा छैन किन यसो गर्छ, सायद उसलाई जूनको उज्यालो मन पर्छ । पुषको महिना छ त्यसैले थर्मोकोट र सुरूवाल लगाएर सुतेको होला । यो कथालाई एटीन प्लस सम्झेर यहाँ सम्म आउनु भएकाले पनि यहाँ मेरो साथ छोड्न सक्नुहुनेछ, नछोड्नेहरू भनेँ मिसन चियाइमा मेरो साथ दिनुहोला ।
बसन्त हरेक वर्ष एक पल्ट पूर्णीमाको रात अनौठो सपना देख्छ , अनि सपनामै हिड्छ, नपत्याए हेर्नुहोस त उभीएर कोठाको भित्तामा एकोहोरो हेरि रहेको मान्छे बसन्तनै हो । अलिक ध्यान दिएर हेर्नुहोस है अध्यारो छ ठम्याउँन गाह्रो पर्ला । बसन्तले परार पूर्णीमाको रात एउटा अनौठो सपना देखेको थियो । सपनामा ऊ कुनै युद्ध लडिरहेको थियो, हातमा उसको खुकुरी थियो अनि मनमा डर । बैरी माथि खुकुरी चलाउँनु पर्ने मान्छे सपनामा हात कमाएर बसेको थियो । त्यतीकैमा भग्वान कृष्ण त्यहाँ आएर भने थुक्क गोर्खाली लाज लाग्दैन तँलाई ? सैनिकको छोरो भएर के गरेको यस्तो, तेरो साथीहरूको टाउकोको गिड भुइँमा खस्दा सम्म तँलाई हिम्मत आउँदैन ? थुक्क लाछी जा बरू तेरो टाउको पनि थापिदे उनीहरूको तरबारमा । गोर्खालीको इज्जत माटोमा मिलाउँनु भन्दा बरू तँ माटोमा मिलेको बेस । भग्वानले यती भनेपछि भने उसको रगत तातेको थियो । अनि राता आँखा पारेर उसले भग्वानलाई भनेको थियो, हे प्रभू मलाई शक्ति दिनुहोस कि म यी सबैको लासबाट गुज्रेर गोर्खालीको इज्जत बचाउँन सकूँ । भग्वान कृष्णले यति कुरा सुनेर उसको टाउकोमा हात राखेर भन्नुभएको थियो, जा गोर्खाली जितेर आइज , तेरो जिवन अब तेरो हैन देशको भयो । त्यस्को भोलीपल्ट उसले प्रहरीको हलदार पदका लागि निवेदन दिएको थियो । उसलाई लाग्छ पूर्णीमाको रात देखेको सपनाले उसको बास्तबिक जिवनको बाटो देखाउँछ ।
अझ पोहोरको त के कुरा गर्नु , सपनामा उसले एउटा बुढो पानवालासँग गफ गरिरहेको थियो । अनि पान खाँदै कुरा गर्दा थाहा पाएको थियो कि पानवालाको छिमेकमा चोरी भएको रहेछ । पानवाला सँग गफ गर्दा गर्दै त्यही पसलमा एउटा भर्खरको केटो आयो र भन्यो बुढा मिठा पान लेउ । त्यो केटाले केही बेर त्यही उभीएर पान खायो अनि पैसा नतिरी हिड्यो । पानवालाले रून्चे अनुहार लगाएर उसलाइ भन्यो यो मान्छे त फटाहा छ बाबु अस्ति एकपल्ट पान खाएको पैसा माग्दा मेरो कठालो समायो , मलाई त पैसा माग्न पनि डर लाग्छ । त्यस्कै भोलीपल्ट उसको थानामा एउटा चोरीको केस दर्ता भएको थियो, चोरीको अनुगमन गर्न चोरी भएको ठाँउ पुग्दा ऊ छक्क परेको थियो । चोरी भएको घर ठ्याक्कै अगाडि एउटा बूढो मान्छे पान बेचिरहेको थियो ।
आज पनि बसन्त सपना देखिरहेको छ । कुहिरो लागेको बिहान बसन्त एक्लै हिडिँरहेको छ ,एक हात पर सम्म पनि नदेखिने कुहिरो लागेको छ । त्यस्तैमा एउटा केटीको आवाज आउँछ , हेलो कोही हुनुहुन्छ ? बसन्तले बदलामा आवाज दिन्छ , हजुर म पनि केही देखिरहेको छैन । उताबाट फेरी आवाज आउँछ तपाँई कता हुनुहुन्छ ? आवाज आएको ठाँउ पहिल्याउँन ध्यान दिएर सुन्दै बसन्त भन्छ, खै कता भनौ, म कहाँ छु त थाहा छैन, तपाई कता हुनुहुन्छ ?
एकछिन पर्खन्छ आवाज आउँछ कि भनेर, कोही नबोलेपछि सोच्छ पक्कै पनि त्यो केटी टाँढा गइसकेको हुनुपर्छ, । त्यसैले केही नबोली अगाडि बढी रहन्छ । केही बेर हिँडेपछि , कुहिरो पुरै हराएर सफा कालोपत्रे बाटो उसको अगाडि देखा पर्छ, बाटोको दाँया र बाँया पर पर आँखाले भ्याउन्जेल सम्मको खेत छ । पछाडि फर्कैर हेर्छ त्यो केटी देखिन्छे भन्ने आशामा तर बाटो पछाडि पनि अगाडिझै खालीनै हुन्छ । सोच्छ त्यो कुहिरो कति बेला हरायो ? अनि किन मैले देखिन हराएको ? अघि देखी म कतिबेला पातलिएला कुहिरो भनेर पर्खीरहेको थिए , ध्यान पनि दिएकै हो, थाहै नदिइ कसरी पो हरायो कुहिरो ? अचम्म भयो यो त ।
भागौ भागौ अब बसन्तलाई निद्राले छोड्ला जस्तो छ, मैले उसको जिउमा हलचल देखेँ । बेलामा भागेन भने भोली फेरी हाम्रो बास प्रहरी चौकीमा हुनेछ । अब आआफ्नै घर जाऔँ , यसरी अर्काको कोठामा चियाउँनु राम्रो पनि त होइन । होइन र ?
किन पर्खनुभएको तपाईहरू ? जेल जाने नै बिचार छ कि के हो ? ए ए बुझेँ, भोली उसको जिवनमा के घटना घट्छ भनेर बुझ्न खोज्नुभएको हो ?
हो भनेँ सुन्नुहोस : उसको जिवनमा भोली एउटा यस्तो घटना घट्छ जो तपाई र मैले थाहा पाउनेछौ तर बसन्तले थाहा पाउँनेछैन । उसले भोलीबाट आफ्नो प्रेमिकालाई बिर्सनेछ । यदी पत्याउँनुहुन्न मेरो कुरा भने कुनै दिन उसलाई भेट्दा सोध्नुहोला , तिमीले कुन दिन आफ्नो प्रेमिकालाई बिर्सिएका थियौ ? त्यस बखत हेर्नुहोला उसको मुहारमा त्यही भाव नाँच्नेछ जुन सपनामा कुहिरो हराएर छक्क पर्दा उसको मुहारमा नाँचेको थियो ।
- बिजय लुईटेल
समनामा कुहिरो हट्यो।विपनामा उस्ले रुमल्लिरहन छोड्यो।यस्तै केही भन्न खोज्नुभाको हो?
ReplyDeletekuhiro thyakkai yo samayama hatyo bhanera kasaile bhanna sakdaina yo ta bistarai bistarai hatdai jancha ra bilaucha yaad pani testai lagcha malai 🙂
Deleteहै। हट्नु त दुवैले पर्छ नै। जेहोस् लेखाइ मिठो थियो😊
Deletedherai dherai dhanyabad 🙂🙂
Delete