आकाशमा छरिएका टुक्रा बादलहरूमा
तिमी र म आज लुकामारी खेलौ
तिमीलाई मैले मज्जा चखाउनु छ ।।
बतासले मलाई कतै बगाउँदा
घाँटी तन्काउनुको मज्जा चखाउनु छ
अनि भाग्दै गरेको कसैको
हात समाउनुको मज्जा चखाउनु छ ।।
कसैमा मिलेर ठूलो हुँदा, कसैसँग छुटेर साँनो हुँदा
आफ्नालाई छुटुयाउनुको मज्जा चखाउनु छ ।
बग्दा बग्दै पर पुगेको आफ्नालाई
परै बाट हेरेर मुस्काउनुको मज्जा चखाउनु छ ।।
उडेर पहाडपारि म ओझेल पर्दा
मन डगमगाउनुको मज्जा चखाउनु छ ।
कोही आफ्नो हराएर नभेटेपछि
मन डराउनुको पनि मज्जा चखाउनु छ ।।
खाली हुँदा आकाश, पर पर हेर्दै
कसैलाई खोज्नुको मज्जा चखाउनु छ ।
नभेटिएपनि, सँगै बर्षनेछौँ भनेर
मन बुझाउनुको मज्जा चखाउनु छ ।।
अब चखाउनु छ तिमीलाई ती सबै कुरा
जस्को मज्जा मैले एक्लै चाखेको छु ।
एक्लै मज्जा चाखेर अघाएको मलाई,
मज्जा बाडौ बाडौ लागेको छ
के बाड्नु नै प्रेम हैन र ?
- बिजय लुईटेल
Comments
Post a Comment