Photo by: Bruno Abdiel from Pexels |
घना जङ्गल छ, अनि सुनसान पनि छ । हराएको छ एउटा मान्छे यही जङ्गलमा । ठूला ठूला रूख छन् , चराको चिरबिर छ , पातको सुस्केरा पनि छ । किन हराएँ त म भनि सोचिरहेछ त्यो मान्छे यो अत्यासलाग्दो स्थीतीमा । घामको प्रकाश पनि छ जो उसलाई भन्दैछ तँ यही पृथ्वीमा छस् अनि जङ्गलमा छरिएको छ घामको किरण, डालाबाट भुईमा छरिएका मकैका गेडा जस्तै । रूखहरूमा मिठा फल फलेका छन् । जङ्गल बीच एउटा ठूलो खोला छ , कलकल बगरिहेकोछ । खोला माथि एउटा राम्रो, काठको पुल छ जस्को एउटा अन्त्यमा त्यो मान्छे छ । अगाडि हेरिरहेको छ आफुले पार गरेको दुरीलाई । सोच्दैछ अब फेरी त्यतै फर्कनु उचीत हुँदैन । अब त मैले बिगतको यात्रा गर्नु अर्थहिन हुनेछ । सोच्दैछ सायद मैले पार गरेको त्यो दुरी नाप्न सक्थे त भविस्यमा मलाई मेरो यात्रा सम्झने खुराक हुनेथियो । त्यसैबखत जङ्गलका हरेक कुनाबाट कसैले उसको नाम बोलाउँछन्, एउटा ठूलो भिडको गाइगुइ जस्तो आवाजले त्यो शुन्यतालाई चिर्थौछ ।
यो जङ्गल जस्मा त्यो मान्छे हराएको छ त्यो सामान्य जङ्गल हैन , उसको आफ्नौ मनको जङ्गल हो , उसको भावनाहरूको जङ्गल हो , उसको काल्पनीक जङ्गल हो, उसको प्रेमको जङ्गल हो । अनि यो कथा भनिरहेको कथाकार यानी म भने उसको समज या भनौ मगज हुँ । म तपाईहरूलाई अब यो जङ्गलसँग थोरै चिनजान गराउँछु .....
तपाईलाई थाहा छैन कि यो जङ्गल यहाँ हराउँने मान्छे आँफैले बनाएको हो । मैले उसलाई धेरै पल्ट सम्झाएँ, भयो यती धेरै पनि नरोप रहरहरू । अहँ मानेन, बस जिद्धी गरिरह्यो । म मेरी प्रियसीलाई एउटा बगैचा उपहार दिन चाहन्छु भन्दै जताततै रोपिरह्यो रहरहरू । केही समय यसरी बित्यो मानौ उसको जिन्दगी रहर रोप्नलाई बनेको हो । यदि उसले दिमागमा त्यो जङ्गल बनाएको भए म त्यसलाई आगो लगाएर सखाप पारिदिन्थेँ तर अहँ अबुजले मनको कुनै कुनामा लगेर त्यहाँ बनाइदियो भव्य जङ्गल । मलाई पनि पस्न दिँदैन उसले त्यहाँ भन्छ मनको कुरा दिमागले बुझने भए संसारनै बेग्लै हुनेथियो ।
अहिले यसबखत जो आवाज आइरहेको छ जङ्गलबाट, त्यो कोही मान्छे बोलेको हैन, त्यो उसका सम्झनाहरूको आवाज हो । अब यो सम्झनाहरू कहाँ बाट आए भन्नुहोला ? यी त्यही रहर हुन जसलाई उसले केही समय अगाडि रोपेको थियो , रहर बढेर सम्झना बनेका छन् । के तपाई सुन्न सक्नुहुन्छ सम्झनाहरू यसरी एकैपटक कराएको ? यो, जो हराएको मान्छे छ उसले सक्छ । मलाई त अचेल लाग्छ ऊ बैरो भएको छ, या भनौ सम्झनाका हल्लाहरूसँग अभस्यस्त भएको छ । धेरै समय भयो ऊ हरेक दिन घुमीफिरी यहीँ आइपुग्छ अनि पुलको एउटा अन्त्यमा उभीएर अर्कौ छेउ नियाल्छ । रूखमा फलेका फल खान्छ अनि सधै सोच्छ मेरी प्रियसी सँग हिडेको पार गरेको यो पुल सम्मको दुरी यदी मैले नाप्न सक्थेँ त भन्न सक्थे मैले उनलाई यती माया गरेको थिएँ अनि यो पनि सोच्छ कि सायद माया नाप्न नमिल्ने भएरै होला यती प्रिय भएको, जसको मोलतोल गर्न सकिन्छ त्यसको के मोल ?
आज पनि ऊ त्यो पुलको छेउमा उभीइएको छ । सधै सोच्ने कुरा आज पनि सोचिरहेको छ । बिस्तारै एउटा रूखबाट सम्झनाको फल टिप्छ अनि टोलाउँदै खान्छ । कराइरहेका छन् सम्झनाका आवाज , ठूलो कोलाहल छ तर मतलब छैन उसलाई, नजरअन्दाज गरेको छ चर्को कर्कस आवाजलाई । ऊ त त्यसै सम्झना सम्झि मुस्काइरहेको छ । केही बेर उभीएर फल खाएपछि ऊ, सम्झनाले आजलाई अघाएको छ । भावबिहिन मुहार लिएर ऊ फर्कदैछ आएकै बाटो , पुल पारी हैन नि फेरी, पुल तर्न त धेरै समय अगाडिनै छोडेको हो उसले । पुल नतरी ऊ जताबाट आएको त्यतै यथार्थमा फर्कन्छ, बिस्तारै रूखहरू ओजेल पर्छन् अनि ऊ पनि बिलिन हुन्छ ।
अब तपाई पक्कै भन्नुहुन्छ, हराएको मान्छेले कसरी सरासर बाटो पत्ता लगायो भनेर । खासमा ऊ जङ्गलमा हराएको हैन आफैमा हराएको हो , यो जङ्गलमा त ऊ सधै आफुलाई भेट्न आउँछ । के तपाई पनि आफुलाई भेट्न कतै जानुहुन्छ ?
- बिजय लुईटेल
Comments
Post a Comment