Photo by: CloudyPixel on Unsplash |
मेरो कोठामा एउटा गितार छ
जो केही साल यता बिमार छ ।
दुर्भाग्य, ऊ त्यसै सुस्ताइरहेछ
धुलोले छोपिएर निस्ताइरहेछ ।
रूपमा उसका, सम्झना टाँसिएका
छन् म सँग कहीकतै गाँसिएका ।
देख्छु उसले एक्लोपन भोगेको
छुवाइ बिना आँफै बज्न खोजेको ।
मनमा उसका असङख्य धुन छन्
लाग्छ अचेल ति मनैमन रून्छन् ।
थोरै फरक आजको रात छ
खोजेको उसले केबल हात छ ।
त्यही कोठामा एकजोर हात छ
जो किताब कापीको साथ छ ।
कलम छ त्यहाँ पानामा छुवाएको
आफैले आफैलाई अक्षरमा रूवाएको ।
औला हातका, थर्रथरी काँपीरहेका
भावनाका लम्वाई अक्षरमा नाँपीरहेका ।
रातको साच्चै अनौठो पहर छ
शुन्यतालाई संगीत सुन्ने रहर छ ।
गितारले हात खोजेको छ
हातले साथ खोजेको छ
त्यसैले धुनबिहिन जीवनले
गितारलाई मित रोजेको छ ।।
- बिजय लुईटेल
Comments
Post a Comment