के पढ्दैछौ भनेर उसले सोधेको थियो जब म एकाबिहानै छतमा बसेर हारूकी मुराकामीको What I Talk About When I talk About Running पढ्दै थिएँ । अनि मैले हातमा बोकिरहेको किताब उल्टो बनाएर त्यसको बाहिरी पाना उसलाई देखाएको थिएँ । उसले फेरी सोधेको थियो के रहेछ त किताबमा ? त्यही बेला, भर्खरै हाइलाइटरले अन्डरलाइन गरेको बाक्य उसलाइ सुनाएको थिएँ । " I'am the kind of person who likes to be by himself . To put a finer point on it, I'am the type of person who doesn't find it painful to be alone."अनि उसले अलि असहज मान्दै भनेको थियो मैले तिमीलाई अल्मलाएको त छैन ? मैले भनेको थिएँ, एक्लै हुँदा रमाउँछु पो भनेको त साथ दिँदा रिसाउँछु भनेको हो र ? ऊ केही बेर टोलाएको थियो मलाई हेर्दै ।
केही बेर नबोली जिउ कन्याउँदै बसेको थियो ऊ त्यसैले आँफै प्रश्न सोध्न बाध्य भएर सोधेको थिएँ, कहाँ बाट आयौ ? बदलामा उसले अचम्मको जवाफ दिएको थियो , म बिगत बाट आएको र म त्यसको कुरा गर्न चाहन्न । त्यसो भए जानचै कहाँ लागेको हौ ? मैले उत्सुक्ताका साथ सोधेको थिएँ , थाहा छैन कहाँ जान लागेको हुँ, भविष्य कसलाई पो थाहा हुन्छ र उसले उसै गरी भनेको थियो । कुरा नबुझेर केही बेर मौन बनेको थिएँ म ।
आज धेरै दिन पछि आकाश उज्यालो भयो, बादल पनि कहीकतै मात्रै देखिएको भएर यसो घुमौ घुमौ लागेर हिडेको, गले जस्तो भइरहेको छ । उसले मतिर हेरेर भनेको थियो । एक पल्ट आकाशतिर हेरेको थिएँ र भनेको थिएँ मलाई पनि आज छतमा बसेर पढ्न यही निलो आकाशले लोभ्याएको हो । उसले ए को भावमा टाउको हल्लाएको थियो । भनेपछि, तिमी यहाँ थकाई मार्न आएको ? मैले कुरा अगाडि बढाउने ध्येयले सोधेको थिएँ । थकाई पनि मर्छ र ? मर्ने भए त एकपल्ट मारेपछि फेरी अर्को पल्ट कसरी बाचेर सताउँछ त थकाईले ? उसको त्यो प्रश्नले फेरी अनौठो काउकुती लगाएको थियो मेरो सोचमा । मलाई लागेको थियो मान्छे सबै झुटा हुन्, मैले आज मज्जाले थकाई मारे भनेर गफ पो लाउँदै आएका रहेछन् ।
किताबमा के हुन्छ र तिमी आकाश हेर्न छोडी त्यसलाई हेरिरहेका छौ ? उसको अर्को पश्न यही थियो । जवाफमा मैले सोधेको थिएँ तिमीले कहिले किताब पढेका छौ ? उसले नाइको भावमा टाउको हल्लाउँदै भनेको थियो , हाम्रो लागि त स्कुलनै हुँदैनन् , कसरी आउँछ र लेख्न, पढ्न । मैले त्यसपछि ए को भावमा टाउँको हल्लाएर उसको नाम सोधेको थिएँ । मलाई आमाबाबा सबैले रूपक भन्नु हुन्छ तर तिमी जस्तै अरू मान्छेले मलाई देखाएर ऊ ढुकुर भन्छन् । मेरो भाइ रमेशलाई पनि ढुकुर भन्छन मलाई पनि त्यही , भाइलाई र मलाई मान्छेले चिन्दै चिन्दैनन् । अनि तिम्रो नाम चै के हो नि ? छतको रेलिङमा बसेर चुच्चोले आङ कन्याउँदै सोधेको थियो उसले । भनेको थिएँ, सबैले मलाई बिजय भन्छन् । पखेटा फ्याट फ्याटपार्दै उसले मलाई भनेको थियो मैले त तिमीलाई मान्छे भनेर सम्झेको थिएँ तिमी त बिजय रहेछौ, नरिसाउ है मान्छे भन्यो भनेर । हसको भावमा टाउको हल्लाएपछि सोधेको थिएँ , उड्न मज्जा आउँछ होला है, कस्तो हुन्छ उड्दा ?
एकछिन शान्त बसेपछि उसले भनेको थियो , खै तिमी कहिल्यै नउडेको मान्छेलाई मैले कसरी बताउँ कि मज्जा हुन्छ कि हुँदैन भनेर, बरू भन पढ्न कस्तो हुन्छ ? मैले हाँस्दै भनेको थिएँ, अब तिमी कहिल्यै नपढेको चरोलाई कसरी भनौ पढ्न यस्तो हुन्छ भनेर ? उसले कुरकुर गरेर केही बेर हाँसेको थियो ।
एकछिन हाँसीसके पछि कति बजेछ भनेर हातमा बाधेको घडी हेरेको थिएँ, बिहानको सातबज्न केही मिनेट मात्र बाँकी थियो, घडी हेरर रूपकतिर आँखा डुलाएँ, शान्त भएर बसिरहेको थियो । उसले मलाई भनेको थियो , बिजय जान्छु ल ? घाम माथी आइरहेको छ, गर्मी बढेपछि त मलाई उड्न सकस हुन्छ । मैले हुन्छ भन्दै बाइको आकार बनाएर हात हल्लाएको थिएँ । रूपकको पखेटाको फ्याट फ्याटआवाजले पनि मलाई बाइ भनेको थियो अनि पर पुगुन्जेल उसलाई हेरेको थिएँ ।
त्यतीकैमा मन र दिमागलाई पहिलो प्रेमका सम्झनाहरूले घोच्न थालेको थियो । सम्झिएँ कसरी ढुकुर र मान्छे जस्तै दुई अलग सोचका हामी एकअर्कालाई आफ्ना कुराहरू बुझाउँन खोज्थ्यौँ ,मैले ढुकुरलाई पढाउँन अनि ढुकुरले मलाई उडाउन खोजे जस्तै । लाख प्रयास गर्दा पनि हामीले एकअर्काको कुरा कहिल्यै बुझेका थिएनौँ , त्यसैले त त्यो बिहान ढुकुरले छतलाई छोडेर उडे जस्तै उनी पनि मेरो जीवनलाई छोडेर कतै उडेकी थिइन् ।
यसो सोचेको थिएँ यदि म ढुकुर अनि ढुकुर म भएको भए के हुन्थ्यो ? तर तुरून्तै म उड्दै छतमा आएर बसेको अनि ढुकुर छतमा बसेर मुराकामी पढेको कल्पना पनि गरेँ, यस्तो सोच्नु पागलपनझै लाग्यो अनि सोच्नै बिसाएँ । सायद त्यस्तै हुन्थ्यो होला उनी म जस्तो अनि म उनी जस्तो हुँदा । यती सानो कुरा मैले पहिल्यै किन सिक्न सकिन यस्तै सोच्दै पाना पल्टाउन थालेको थिएँ । मुराकामीले भनेको ठिक लाग्दै थियो "The most important thing we learn at school is the fact that the most important things can't be learned at school".
बिजय लुईटेल
Comments
Post a Comment