सुरेन्द्र खरीदार भयो


घाम अस्ताउने बेला आकाशमा हल्का गुलाबी रङ्ग छरिएको थियो । घर बस्दा बस्दा वाक्क लागेर यसो बेलुकाको हावा खान निस्केको थिएँ । म अर्थात सुरेन्द्र निरौला , यहाँ सानोठिमी ब्यारेक छेउमा डेरा बस्छु । घरचाँही पुर्व, बिर्तामोड हो । भर्खरै बी बी ए सकेर काठमान्डौँमा जागिर खोजिरहेको छु । मेरो बारेमा अहिलेलाई यती जाने पुग्छ जान्नु पर्ने कुरा म बिस्तारै सुनाउँदै जानेछु । 


ब्यारेकको कम्पाउन्ड बाहिरबाट एउटा बाटो क्यानको अफिस सम्म जान्छ , त्यो बाटो हिड्दा देब्रे तिर पात बजाइरहेका रूख देखिन्छन् अनि दाहिने तिर मध्यपुर युथको विशाल खेल मैदान । साँच्चै कुनै फिल्ममा कैद गर्ने दृश्य जस्तो देखिन्छ ब्यारेक हरेक साँझ । त्यो साझँ पनि केही फरक थिएन । बिस्तारै शितल हावा खादै हिडिरहेको थिएँ, मन बिसन्चो मानिरहेको थियो , घरबाट टाढा बसेको बेला मन बिसन्चो भइदियो भने , जीवननै अमिलो लाग्दो रहेछ । त्यस्तै भइरहेको थियो । बेचैन मन लिएर सिभिल एभिएसनको अफिस अगाडिको चौतारी पुगेँ ।एउटा बिशाल पिपलको रुख सधैँझै पात बजाउँदै उभिरहेको थियो । पातको आवाजले मनलाई केही शान्ति मिल्यो  ।


दुईटा करीब दस एघार बर्षका केटाहरू चौतारीमा जिस्किरहेका थिए । प्रबिधिको जमानामा यसरी साना   केटाहरु मोबाइल चलाएर घरमा नबसेर चौतारीमा भेटिनु अनौठोनै थियो । एकछिन उभीएर तिनीहरुलाई हेरे अनि त्यही चौतारीमा गएर बसेँ ।


चौतारीमा बसेर म डाँडा पारी डुब्दैै गरेको घामलाई हेर्दै थिएँ, छेउमा दुईटा केटाहरूको गाइगुई चलिरहेकै थियो । डुब्दो घामले बादलमा छरेको रङ्ग हेरर मन बहलाउनु मेरो दिनचर्या बनेको छ, त्यो दिन पनि त्यही कोसिसमा थिएँ । केटाहरूको गाइगुई चर्कौ भएको छनक पाएपछि मैले त्यस दिन उनीहरूतिर आँखा डुलाएको थिएँ , गाइगुई कुटाकुटमा बदली सकेको रहेछ । केटाहरूलाई हेर्दै मात्र के थिएँ अलिक ठूलो देखिने केटाले सानोलाई एक मुडकी मुडक्यायो अनि खातेको बान म... भन्दै त्यहाँ बाट मध्यपुरको खेल मैदान तर्फ दगुर्यो । मुड्की खाएको सानो केटाले केही बेर मेरो छेउमा बसेर आँसु बगायो , म देखिरहेको थिएँ उसको आँसु गालाबाट बगेर मुख भित्र पसिरहेको थियो , तर त्यस कुराको बोध भने उसलाई थिएन। सोध्न मन लागेको थियो किन कुटेको त्यसले तँलाई भनेर तर चुप बस्नुनै ठीक सम्झेँ । केही बेरमा रून बिसाएपछि त्यो केटो चौतारीबाट उठेर ठूलो केटो भएतिर कुद्‍यो । त्यसपछि त्यो चौतारीमा म थिएँ , मेरो अगाडि खेतमा तरकारीको भारी कसिरहेको केही किसान थिए ,मेरो टाउँको माथि पात बजाइरहेको पिपलको बोट थियो, अगाडि परपर सम्म फैलिएको खेत थियो, खेत माथि उही गुलाबी रङ्गको आकाश । अनि पछाडि थियो सधैझैँ साँझ परेपछि एकलिने उदास सडक ।


आकाशलाई एकटक लगाएर हेरिरहेको थिएँ , एक्कासी कतैबाट आवाज आयो , तँ त्यसरी नरोएको कति बर्ष भयो ? म अल्मलिएँ ।  यस्तो साँझमा को हो मलाई परिचितले जसरी  आवाज दिने  । डराउँदै दायाँ बाँया अनि पछाडि हेरेँ कोही थिएन, केबल खाली सडक अनि पिपलको पातको मन्द आवाज मात्र थियो । मनमा एक प्रकारको चिसो पस्यो कतै भूत त होइन ? साँझको बेला एक्लो चौतारीमा जे पनि हुन सक्थ्यो । दाँया बाँया हेरिसक्दा पनि कोही नदेखेपछि कान बजेछ भनेर मन बुझाएँ अनि फेरि खेत तिरै हेर्न थालेँ ।  किसान घर फर्किसकेकाले खेत खाली थियो । शुन्यताले व्याप्त । तर फेरि शुन्यतालाई चिर्दै त्यही आवाज आयो । के हो महाशय उत्तर छैन कि के हो मेरो प्रश्नको ? तब भने मलाई एकदमै डर लाग्न थाल्यो । फेरी पछाडि फर्के कोही थिएन , तर त्यसपाली भनेँ त्यो आवाज रोकिएन । कहाँ हेर्छस ओइ निरौला म तेरो जिब्रो बोलेको हो , भूत हैन । म अचम्ममा परेँ मान्छेको जिबै मान्छेलाई नसोधी बोल्छ र ? बोले पनि किन बोल्छ मान्छेको जिब्रो मान्छेसँग ? म साँच्चै डरले पानी पानी भएको थिएँ , पाइन्टमा पानी तुर्क्याउन मात्र बाँकी थियो ।


डरले निधारमा चिटचिट पसिना आउँन थाल्यो । डराउँदै भनेँ को हो ? नजिस्कनु न, मलाई डर लागिसक्यो । अनि फेरी आवाज आयो नडरा न हौ छेरुवा, म तेरै जिब्रो हो के । बिस्तारै मेरो हातका औलाले जिब्रो छोएँ ,जिब्रो अचल भएर बसेको थियो मुखभित्र , बेकारमा हातमा थुकमात्र लाग्यो । अन्जानमै चौतारीको सिमेन्टमा हात पुसेछु , त्यस्तैमा फेरी आवाज आयो मलाई तँ सँग केही गुनासो छ , त्यही सुनाउँ भनेर बोलेको , एकछिन सुन्दे न त मेरो कुरा । मैले एकपल्ट फेरि अगाडिको खेतमा हेरेँ, उस्तै शुन्यता थियो, डरले होला किसानहरू उनीहरूले रोपेका बिरूवा जस्तै खेतमा एकाएन उम्रिउन भन्ने लाग्यो । ब्यारेकको त्यो चौतारी अब भयानक बनेको थियो अनि त्यहाँ केवल म र मेरो जिब्रोको आवाज थियो । त्यकीकैमा फेरि आवाज आयो , सुनाउँ त गुनासो ?


म केही बोल्नै सकिरहेको थिइन, मुत च्याप्न थाल्यो , त्यहाँ पिपलबोट नभएको भए, चेन खोलेर  तुर्काइदिने  थिएँ । निरौला सुन न, तेरो जिब्रो आज तँ जस्तै निरास छ । तैले यत्रो बर्ष आँसु नबगाएर मैले आँसुको स्वादनै बिर्सीए यार , तँ सानो छँदा अलि अलि नुनिलो आँसु चाखेको सम्झना छ, त्यती हो । जूठो बारे जस्तो लाग्छ यार मलाई अचेल । मैले केही जबाफ दिइँन । त्यो आवाजले फेरि सोध्यो ,भन न ए निरौला साँच्चै सुकेका हुन त तेरा आँसु ? मलाई त्यसपछि बोल्न करनै लाग्यो, डराउँदै भएपनि बोल्ने आँट गरेँ , 


म : खै , त्यही त होला तपाईको आँखा सुख्खा छ भनेर अस्ति मात्र डाक्टरले टियर ड्रप दिएको छ ।


जिब्रोले : यार निरौला , त मुलाले दुई चार पल्ट मज्जाले रोएको भए त्यो जाबो दबाई हाल्नै पर्ने थिएन , पैसा पनि बच्थ्यो ।


म :  भने जस्तो सजिलो कहाँ छ र रूनलाई , भन्ने बित्तीकै आँसु आउँछ र ?


जिब्रो :  सानोमा त पिन्चे थिइस त, जे कुरामा पनि रून आइहाल्थ्यो । सम्झी त स्कुल पढ्ने उमेरमा, कसैले सानो केही भन्यो कि रोएकै छ , सरले छोयो कि रोएकै छ , फेल भएपछि बाउले हप्काउँदा पनि रोएकै छ । त्यसही सम्झेर रोइदे न एकपल्ट । अघिको सानो भाइ जस्तो मुखमा आँसु पुग्ने गरी रोइदे ।  मलाई पनि बिर्सीएको आँसुको स्वाद थाहा पाउने सौभाग्य मिल्थ्यो कि ?


म : अब म कहाँ त्यो सानो भाइ जस्तो छु  त । म, ठूलो भइसकेँ , अब त उमेरले रूनै दिँदैन ।


जिब्रो : उमेर बढेपछि सबैको आँसु सुक्छन् र ?


म : त्यस्तो त हैन, ठूला मान्छे पनि रोएको देखेको छु तर उमेर बढेपछि मान्छे आफुभित्र आँसु धेरै अटाउँने हुन्छ अरे , अनि भरिएर पोखिन त समय लागिहाल्छ  नि हैन र ?


जिब्रो : खै तेरो बिश्वास लाग्दैन , जे पनि भन्छस् । ढाँटेको पो होस् कि ?


म : किन ढाट्नु हौँ तलाई मैले , तैले मलाई रिसाएर स्बाद ढाटिस भने मेरो के हाल होला ? डरलेनै पनि ढाट्दिन नि तँलाई ।


जिब्रो : गफ लाउँछस् । म सँग त्यतीनै डर लाग्छ भने रोइदे न त एकपल्ट ।


म : कहाँ त्यती सजिलो छ र रून , मन लाग्दा पनि पो आँसु आउँदैन त , अब आँखा भए मैले भनेको बुझ्थििस होला , जिब्रो न परिस् ।


जिब्रो : लाज लाग्छ हो रून ? भन् त मलाई ।


म : लाज त लाग्दैन , डर चाँहि लाग्छ । चेतना जवान भइ सक्यो , आफ्नै चेतनाले आफैलाई देखेर हाँस्छ भन्ने डर लाग्छ ।


जिब्रो : रूदा चेतना हाँस्छ रे ? ल भन त तेरो चेतनाले अरू केके भन्छ ।


म : हैन के बुझ् न, अब त म ठूलो भइसकेँ । रून सुहाउँछ त ?


जिब्रो : लुगा हो र सुहाउँन र नसुहाउँन ?


म : कस्तो अचम्मको कुरा गरेको । हुन त जिब्रोले भावना के बुझ्छ र , बुझाउँने म नै उस्तो । मान्छे ठूलो हुँदा जिब्रो ठूलो नहुने रहेछ ।


जिब्रो : नापिस ठूलो । दिन दिनै झन् कमजोर हुँदैछस् , तेस्को हेक्का छ तँलाई ?


म : कसरी भएँ कमजोर ?


जिब्रो : सम्झि त, पहिला तेरो आँसु कुलो जस्तो बग्थ्यो, तँ पनि कुलोझैँ चञ्चल थिइस् । अब अहिले हेर न  । उमेर बढेपछि धैरै आँसु अटाउँछ मान्छेले भनेर आँसुमा डुबेको छस् । तँलाई कसैले पुरा देख्दैन , तेरो आधा भाग आँसुमा डुबेको छ । त्यहाँ पारी डुब्न लागेको घामलाई हेर त अहिले कति सुन्दर छ । डाँडा पछाडि डुबे पछि के अर्थ छ त्यसको ? बस अन्धकार मात्र रहन्छ । अनि यो आँसु जुन तैँले जोगाएको छस् नि, त्यो त्यही पहाड जस्तै हो जस्ले घाम जस्तो तलाई बिस्तारै लुकाइदिन्छ । अब आफुलाई बचाउँनु छ भने तैले आँसुलाई बगाउन सिक्नुपर्छ ।



म : साँच्चै भन् त म के पहिला भन्दा कमजोर भएको हुँ ?


जिब्रो : हो तँ त्यो अघिको सानो भाइ भन्दा पनि सानो भएको छस् , अनि त्यो भन्दा कमजोर पनि ।


म : के म रोएँ भने ठूलो हुन्छु त, बलियो हुन्छु ?


जिब्रो :  उमेरले त तँ ठूलो भइसकेको छस् , रोएपछि तँलाई ठूलो भएको थाहा हुन्छ ।


म : प्रयास त गर्छु नि , तर रून सकिरहेको छैन ।


जिब्रो : अब तँ भन्छस् , रूदा चेतना हाँस्छ भनेर , केही बेरको चेतनाको हाँसो रोक्न, किन जीवनलाई जिन्दगीभरका लागि आँसुमा पुर्छस् ? भन् त मलाई ।


अँ साँच्चै मेरो बारेमा अरू कुराहरू पनि थिए भन्नलाई , मेरो र जिब्रोको गफमा भुलाएँछु । मैले यहाँ किन तपाईहरूलाई रोकेको भने ।  मेरो त्यही बेलामा जिब्रो छोडेर बुबा सँग बोल्ने समय भएको थियो । गोजीको नोकिया ११०० सेट त्यो दिन पनि त्यही बेला बजेको थियो । सधैझैँ दुध दोइ सकेर बुबाले मलाई त्यो दिन पनि फोन गर्न बिर्सनुभएको थिएन । मलाई दुधभात मिठो लाग्छ भनेर हो कि, सधै दुध दोएपछिनै याद आउँथ्यो बुबालाई मेरो । सधै फोनमा के गर्दै हुनुहुन्छ भनेर सोध्दा , भर्खर दुध दोएर भित्र पसेको भन्नुहुन्थ्यो । आमा बित्नुभयो , त्यही माथि दिदी पनि बिहे गरेर गएपछि बाबा एक्लै पर्नु भएको थियो । मलाई  सधैँ बुबाको बोलीले पनि एक्लोपन बोलिरहेझैँ लाग्थ्यो । नपत्याए आँफै बिचार गर्नुहोस् । म बुबासँग भएको संवाद दुरुस्तै सुनाउँछु ।


म : हेलो ! बुबा


बुबा : कान्छा , के गर्दै छस् ?


म : यतीकै बसिरहेको छु , बजार जान लागेको तरकारी किन्न । तपाई के गर्दै हुनुहुन्छ ?


बुबा : म भर्खर दुध दोएर भित्र पसेको  । तरकारी महँगो भएको छ अरे खर्च के कसरी पुर्याउँदै छस् ?


म : कमाउँछु नि बाबा अलि अलि आफुलाई पुग्ने त । भन्न त मन थियो भाडा तिर्न नसकेर हिजै मात्र साथीलाई पाँच हजार मागेको थिएँ । तर भन्न सकिन । पुर्याउँदै छु बा मात्र भनेँ । 


बुबा : छैन भने नढाट है मलाई, म पठाइदिन्छु ।


म : हैन बुबा छ अहिलेलाई, जागिरबाट हिजै मात्र आको छ ।


हो ढाँटेको थिएँ , जागिर खोजेको तिन महिना पुगेको थियो, कतै पाएको थिइँन, सोर्स भएका केही साथीहरूले जागिर खाएको हेरेर बसेको थिएँ । ब्याच्लर सकेर पनि बुबालाई के पैसा माग्नु भनेर, जागिर खान्छु भनेर बुबालाई ढाटेको थिएँ ।  नभए पनि , छ भन्न मन लाग्छ बुबालाई , बुबाले पनि कहाँबाट ल्याउनु र ? त्यही एउटा गाई त हो आम्दानीको स्रोत । माया लाग्छ मलाई त बुबाको, अस्ति मात्र झापाबाट पल्लाघरे घिमिरे काकाको छोरो आउँदा ५०० रुपैया पैसा र सानो बट्टा घिउ पठाउनु भएछ । के थाहा बुबालाइ ५०० रूपैया यो शहरलाई मजाक लाग्छ भन्ने कुरा । तर मलाई लागेन मेरो बुबाले मलाई दिएको पाँच सय रूपैया मजाक ।त्यो पैसा पाएको रात मैले त्यसलाई हातमा च्यापेर, मुटुमा छुवाएर रूने कोसिस गरेको थिएँ, अनि रून नसकेर म आँफै मजाक बनेको थिएँ ।


बुबा : बाबु राम्रो गर्नु है । मलाई खाना बसाल्न अबेर भयो, खाना पकाएर खुवाउँने तेरी आमा पनि छाडेर गइ हाली तँलाई पनि मेरै जिद्घीले जागिरे बनाउँन त्यहाँ पठाँए , घरमा म एक्लेको रजाई पो छ त ।कसैले केही भन्दैन, अह्राउँदैन  राजा जस्तो जीवन प  छ त ।  बुबा फिस्स हाँस्नु भयो ।


मैले त्यस बेला बुबालाई फोनको पल्लो पट्टी हाँस्न खोज्दै मनैमन रोएको महसुस गरिरहेको थिएँ अनि आफुलाई ती मध्ये कुनै पनि गर्न नसक्ने विवस । केही भन्ने पाएको थिइन बुबाले , ल कान्छा राँखे है भन्दै फोन काटिदिनुभएको थियो ।


फोन राखि सकेर जिब्रोसँग संवाद सुरु गरेँ  .........


म : जिब्रो तँ किन मेरो रूवाईको पछि लागेको छस् भन् त ? मिठो लाग्छ हो आँसुको स्वाद ?


जिब्रो : मिठो सिठो केही लाग्ने हैन , न्यास्रो लाग्छ आँसुको अचेल । अनि तेरो पनि चिन्ता लाग्न थालेको छ , सानोमा रोएर मागेका कुराहरू पाउँथिस् , अचेल रोएको थाहा छैन , चाहेको कुरा पाएको छस् या छैनस् भनेर यसै चिन्ता लाग्छ ।


म : रोएर मागेको कुरा पाइने त बच्चामा मात्र हो । जवान मान्छेले रोएर केही  पनि पाउँदैन ?


जिब्रो : केही नपाए पनि कोही बेला रोइदिनु पर्छ । रूँदा धेरै कुरा पो हुन्छन् त , चाहिएका कुराहरू नपाइए रहर बग्छन् , अझ तँ मुला टियर ड्रप हाल्नेलाई त ओखतीको काम गर्छ रोइस भने ।


म : सबै जानेको रहेछस्, अब रूनु पनि कसरी भन्दे न त ।


जिब्रो : .....................................


केही बेर पर्खीएँ जिब्रोले केही बोल्छ कि भनेर  , कुनै आवाज आएन । बरू फेरि एकपल्ट नोकियाको रिङ्टोन बज्यो । फोन उठाएँ, बिमलको थियो, म सँगै ब्याच्लर पढेको साथी । उसले भन्यो लोक सेवाको आबेदन खुलेको रहेछ भोली अन्तिम म्याद अरे , खरीदारमा खुलेको, छ सय लाग्छ, भोली नै भर्नु पर्छ हैँ , सँगै जाउला । हुन्छ भनेर मैले फोन राखिदिएँ । अनि फोन राखेर गोजीको पर्स खोलेँ । पर्समा कोठा भाडा र अरू खर्च भ्याएर उब्रेको दुई सय रूपैया र केही दस बिसका नोट थिए । अनि भित्री बगलीमा बुबाले ध्यु सँग पठाएको पाँच सय । धेरै कोसिस गरेको थिएँ त्यो नोट नचलाउँ भनेर तर त बाध्यताले मलाई त्यो नोट पर्सबाट निकाल्न बाध्य बनायो ।


पर डाँडा पारि हेरेँ , घाम लगभग डुबिसकेको थियो तर थोरै रातो प्रकाश भने डाँडाको माथमाथी अझै देखिँदै थियो । बिस्तारै प्रकाश मधुरो हुँदै जाँदा त्यो प्रकाश सँग आफु निभ्दै गएको आभाष गरेँ । बुबाले पठाएको पाँच सयको नोट हातमा लिएर बेस्सरी समाएँ, बिस्तारै गालामा पानीका केही थोपाले लडीबुडी खेल्न थाले । थाहै नपाइ बेस्सरी बग्यो आँसु ।  एकछिन बग्न दिएँ अनि बिस्तारै दुबै हातले मुख छोपे , आफु रित्तो हुन्जेल रोएँ, आँसुका धारा चिउँडोबाट खसेर भुईमा बिलाए , म आँफैभित्र बिलाएँ । हातले गाला पुस्दा आँसुले पाँचसयको नोट पनि अलिकति भिजेको थियो । त्यो दिन मैले रोएको त्यो पिपलको रुख र म भित्र अचेत भइ बसेका भावनहरुले सुने । हलुका महसुस भएपछि बिस्तारै त्यहाँ बाट उठेँ , घामको प्रकाशले आकाश छोडिसकेको थियो, अनि म भित्र एउटा नयाँ प्रकाशको उदय भएको थियो । म खाली थिएँ तैपनि भरी भएको थिएँ ।


चौतारीबाट उठेपछि एक दुई पल्ट जिब्रोलाई आवाज दिएँ, मौनता मात्र थियो आवाजको नाममा केवल रूखका पातको सरसराहट मात्र । सायद जिब्रो पनि तृप्त भएको थियो जूठो सकिएर या भनौ आँसुको न्यास्रो मेटिएर । बाटोमा फर्कने बेला तिनै दस अघार बर्षको केटाहरूलाई अङ्गालोमा बेरिएर हिँडिरहेको देखेँ , आँसुमा साँच्चै जादु हुँदो रहेछ भन्ने बिश्वास त्यो बेला पहिलोपटक लागेको थियो र त्यो आज सम्म पनि लागिरहेकै छ ।


म सुरेन्द्र निरौला आज त्यो घटनाको केही महिनाहरु पछि खरीदार सुरेन्द्र निरौला भएको छु । थाहा छैन मलाई खरिदार के ले बनायो , आँसुले , भाग्यले कि घरको गाइको दुधले या म सँग एकान्तमा बोल्न खोज्ने मेरो जिब्रोले । ए ग्यास पो निभाए निभाइँन , रिजल्टले गरेर सबै बिर्सीने भएछु , बुबालाई नि फोन गर्नु छ ……


विजय लुइटेल





Comments