लेखक शब्द खोजीरहेछ
शब्द अर्थ खोजीरहेछ,
शब्द अर्थ खोजीरहेछ,
यस्तै खोजको चक्करमा
जीवनको भोग चढिरहेछ ।
लेख्ने कहिले भएछु भन्दै
लेखक मन कोट्याइरहेछ,
कोट्याउँदा चस्कने मननै
कलमको मसी बनिरहेछ ।
आँखा चिम्लन्छ अक्षर नाँच्छ
आँखा खोल्छ अक्षरै नाँच्छ,
सही बाटोनै हिड्दैछु भनी
लेखक मनैमन रोदीघर धाइरहेछ ।
कागजका टुक्रामा अक्षर कुँद्दै
लेखक कल्पनामा उडीरहेछ,
म पनि सँगै उड्दैछु भनी
लेखक निर्जीव लट्टाइ बनिरहेछ ।
खोज्दा खोज्दै शब्दमाला
खटपटीमा यसै उँगिरहेछ,
होसैमा त छु नि भन्दै
लेखक पलपल बेहोस भइरहेछ ।
लेखक सम्झिरहेछ, लेखक कल्पिरहेछ
हरेक पल, हरेक काल तड्पिरहेछ,
संसार घुम्छ मेरो कल्पना भनी
एउटा नाथे कागजमा अल्झिरहेछ ।
- बिजय लुईटेल
"Kotauda chaskane maan nai kalam ko masi bani rahecha" Sari mitho line bhannu bho saathi yaar hajurlae.
ReplyDeleteDherai dherai dhanyabad sathilai
Delete