|
काठमान्डौँमा अफिस टाइम भएको छ, जडिबुटीको जाममा सधैझै प्रतिक्षारत छु , केही बेरमा जाम खुल्छ भन्ने आशमा । आज सधैभन्दा केही लामो जाम भएको अनुभव भइरहेको छ । गर्मी मौसमका कारण घाम आगो ओकल्न खोज्दैछ । पसिनाका केही थोपा , डाढमा बगेको थाहापाइरहेको छु । सबैलाई पिरोलिरहेको छ जेठको घामले । जाममा परिरहने भएकाले मलाई गाडीको गाइगुइले झर्कौ लाग्न छोडेको छ , हर्नको काइकुइकले पनि झर्को लाग्न छोडेको छ । काठमान्डौको जाम रोगसँग अभ्यस्त भएको छु तर अचेल मभित्र नयाँ झर्कोले जन्म लिएको छ, मलाई अचेल जाममा देखिने उदासी देखी झर्को लाग्न थालेको छ । सधै जसो बीस तीस मिनेट जाममा बस्दा अनेक कुरा देख्छ आँखाले, म आँखालाई नहेर् भन्न सक्दिन, दिमागलाई नसोच् भन्न सक्दिन ।
दाँयाबाँया हेर्छु मन बहलाउँन ,या भनौ समय काट्न । केही महिना भयो, एकै खाले दृश्यबाट गुज्रिरहेको छु । म मात्र होइन सायद काठमान्डौँका सबै मान्छे यही दृश्यबाट गुज्रिरहेका छन् , त्यो दृश्य हो उदासीको , हो काठमान्डौ उदास छ अनि यो सत्य हो । हैन हैन, यो नसोच्नु होला कि जामले अथवा गर्मीले मान्छे उदास भएका हुन , यो त काठमान्डौ बासी हुनुको पहिचान हो । सबैका आँखा उदास छन् , त्यसैले मुहार पनि उदास छन् , गोला , लाम्चा , थेप्चा सबै मुहार उदास छन् । उदासीले मान्छेमा विभेद गर्न जान्दैन मान्छेले मान्छेलाई गरे जस्तो, त्यसैले होला सबैसँग प्रेम बनाएर राखेको छ । साँच्चै डर लाग्न थालेको छ, कतै मान्छै जाम जस्तै उदासीसँग त अभ्यस्त हुने होइनन् ?
अफिस टाइम अर्थात दिनको सुरूवात , तर थकीत अनि अनौठो उदासी बोकेर निस्केकका छन् मान्छे । हेर्दैछु जाममा मेरो बाइक छेउमै गनगनाइरहेको बसको झ्यालभित्र । कोचाकोच छ मान्छेको ,निशब्द छ बाताबरण , कोही एक अर्का सँग बोलिरहेका छैनन् । लाग्छ सबै आफ्नो उदासी सँगै रमाइरहेका छन् । झ्यालको सिटमा, कुनै केटी बसेकी छे , सेतो इयरफो कानमा झुन्डाएर तर कालो उदासी छ उनको मुहारमा , कतै टाँडा हेर्दैछे । के हेरीरहेकी छे म भन्न सक्दिन तर बस हेरीरहेकी छे यती भन्न सक्छु ।
मिलेर बसौन भन्दै एक्लै कराइरहेको छ खलासीदाई , या सायद भाइ । केटीको पछाडिको सिटमा एउटा अधबैसे बुढा बसेका छन् , पुरानो मैलो डाका टोपी लगाएर । कर्कटपाटा जस्तो निदार छ उनको । मैले त्यस्तो उदास निदार सायदै पहिले कतै देखेको छु । अरू सिट पनि हेर्छु , धेरै जस्तो सिटमा उदो मुन्टो लगाएर मान्छे मोबाइल चलाइरहेका छन् । एउटा मोबाइल चलाइरहेकी केटी छेउमा उभिएर उनलाई मायालु नजरले हेरिरहेको केटालाई देखिरहेकी छैन, सायद त्यो केटी निउरेर फेसबुकमा स्टाटस लेखिरहेकी छे, वी आर अल बर्न अलोन एण्ड डाइ अलोन , लोनलीनेस इस डेफिनेटली पार्ट अफ द जोर्नी अफ लाइफ अनि लेख्दै छे बाइ जेनोभा चेन (यो मेरो कल्पना मात्र हो अरूनै केही गरेकी पनि हुन सक्छे )। मोबाइल चलाउँने सबै झोक्राएका छन् । मान्छेको भिडमा निउरिएर उनीहरू , मोबाइलको स्क्रीनमा सम्बन्घ खोजिरहेका छन् । सम्बन्धको भिडमा बसी सम्बन्ध खोज्नु पनि एउटा उदासी हो, त्यस्तै लाग्छ मलाई । मार्कस जुकर्सबर्ग कुनै अनजान ठाँउमा बसेर मेरा नेपाली दाजुभाइको समय चोरिरहेका छन् । जीवन जिउँन सबैलाई सिकाएँ भन्ने जुकर्सबर्ग मान्छेसँग जिवनको मिठास थुतिरहेका छन् ।
उदास छन् सँगै बाइकको लाममा बस्नेहरू पनि, उनीहरूको मुहार मुस्काउँदै मुस्काउँदैन, म दिनमा एउटा पनि मुस्कान भेट्न सकिरहेको छैन । मैलो टोपी लाउँने बुढा मात्र हैन , पजेरोमा चढेर कोट पाइन्टमा अफिस धाइरहेका मान्छे पनि ए सी सिटमा उदासी ओकलीरहेको छन् । जाम मिलाउँने ट्राफिक दाइ उदास छन् , जाममा पानी बेच्ने दिदी उदास छिन् , बाटो हिड्ने बटुवा उदास छन् । म माथि आकाशमा उड्ने नेपाली हवाईजहाजका मान्छे पनि सायद उदास छन् । म पनि उदास छु , उदास नभए काठमान्डौ बस्न कहाँ योग्य भइन्छ र । सधै यही उदासीको भिडबाट मेरो दिन सुरू हुन्छ । म दिन भरी हाँसो खोज्छु,, मुस्कुराइरहेका अनुहार खोज्छु । साँझ पर्छ बिहान हुन्छ उही बाटो गुज्रन्छु, उदासी होहल्ला गर्दै काठमान्डौँको गल्ली गल्ली डुलिरहेको हुन्छ , सोच्छु कहिले सिकाउँछ यो शहरले उदासीलाई हँसाउँन भन्दै ।
एक दिनको कुरो हो, मैले काठमान्डौको सडकमा हाँसो भेटेको थिएँ , त्यसपछि धेरै समय बितिसक्यो । सधैझै अफिस टाइममा जाममा पर्खीरहेको थिएँ । छेउमा त्यो दिन पहेलो स्कुलको गाडी रोकिएको थियो । सधैझै हाँसो खोजिरहेको थिएँ । एउटी सानी केटी स्कुलको गाडीको सिसामा गाला टाँसेर बसेकी थिइ । बाइकबाट उसलाई हेरे, मन्द मुस्कुराइरहेकी थिइँ , उदासीबाट आजित मलाई, उनको मुस्कानले लठ्ठ बनायो । एकछिन पछि त्यो सानी केटीले मतिर हेरी , मैले हात हल्लाएर हेलोको भाव देखाएँ , ऊ अझ बढी मुस्कुराइ , दाया बाया हेरेँ, सधैझै उदास थियो वातावरण , फेरी गाडी तिर फर्के ऊ मलाई जिब्रो निकालेर जिस्काइरहेकी थिइ, मैले पनि जिब्रो निकालेर उसलाई जिस्काएँ। हामीले एकछिन एक अर्कालाई जिस्कायौ त्यतीनै बेला जाम खुल्यो जिब्रो देखाउँने केटी टाँडा हुँदै गइ , अनि मलाइ मेरो पछाडि बाइकमा लाम लाग्नेको हर्नले झस्कायो , बाइक स्टार्ट गरेँ अनि अगाडी बढे । सोचेँ शहरनै अल्मलिएको छ , म जाममा एकछिन अल्मलिनु कुन ठूलो कुरो हो र । त्यो बहिनीले हाँस्न कहिल्यै नबिर्सीयोस भनेर मन मनै कामना गरीरहेँ ।
त्यस पछिका दिनहरू म सधैझै उदास सहरको चक्कर काटिरहेको छु । शहर देखेर गुनगुानउँछु कोही बेला गुलजारका शब्द "एसी उदासी बेठी हे दिलपे के हस्नेको कतरारहे हे" । शहर उदासीको दास बनेको छ । अब यसको बिरूद जनआन्दोलन कहिले होला ? या यसै उदासनै बाँच्नेछ हाम्रो शहर ?
बिजय लुईटेल
Comments
Post a Comment