लगभग दुई बजेको थियो, कम्प्युटरको स्क्रीनमा म कुनै स्ट्यान्ड अप कमेडियनको भिडियो हेरेर मुस्कुराउन खोजिरहेको थिएँ । काम केही नभएको बेला, अफिसमा मन बहलाउने मेलो हुन्थ्यो यस्ता भिडियोहरू । भिडियोमा कहाँ हाँस्ने भनेर खोज्दै थिएँ , त्यतीकैमा कोठामा किरर् आवाज सुनेँ । कम्प्युटरबाट मुन्टो बटारेर आवाज आएतिर हेरेँ । एउछा अरिङ्गाल झ्यालको सिसामा टाउँको ठोकिरहेको थियो । त्यसको प्रयास हेर्दा लाग्थ्यो केही बेरमै त्यो आफ्नो टाउकोले सिसा फोर्नेछ र भुर्र उड्नेछ स्बच्छ हावामा ।
मलाई भनेँ यता डरलाग्न थालिसकेको थियो । याद छैन कहाँ र कसले तर भनेको सुनेको थिएँ , अरिङ्गालले टोक्यो भने मान्छे ठाउँका ठाउँ मर्छ , अरिङ्गालले टोक्दा त मान्छेले सहन नसकेर आफ्नो शरीरमै पिसाब फेर्छ , अरिङ्गालले टोकेको मान्छे त सुन्नीएर चिन्नै नसकिने हुन्छ । नेपालमा जन्मेहुर्केका लगभग सबैले यस्ता कुरा सुनेका होलान् , कोहीले अझ बढी पनि सुनेका होलान अरिङ्गालको आतंकको बारेमा , मैले सुनेको डरलाग्दा कुरा यिनै हुन् । भित्र भित्रै मनमा डर बढ्दै थियो, मैले एक पल्ट अरिङ्गालको टोकाइले मरेको मेरो लास सम्झे , मेरो हो कि हैन पनि थाहा पाइनँ , सुन्नीएर नचिनिने भएको थियो , अनि तिग्राबाट तातो पानी कुर्कुच्चा तिर बगेको पनि सम्झैँ , त्यो तातो पानीको सम्झनालेनै मन एकाएक चिसो बनायो । मनमनै अरिङ्गालको काहानी सुनाउनेलाई सराप्दै थिएँ , फेरी आएको किरर् आवाजले मेरा आँखालाई झ्यालमा पु¥यायो ।
झ्यालमा अझै उसै गरी टाउँको ठोकिरहेको थियो अरिङ्गाल । सानो टाउँकोमा झुन्डिएको ठूलो भूडी साच्चै घिनलाग्दो देखिएको थियो। हुन त कस्लाइपो मनपर्छ र त्यो घिनलाग्दो किरो। मैले एक मनले सोचेँ छेउमा राखेको किताबले किचीमिची पारेर मारिदिउँ त्यसलाई , फेरी मन डरायो बिच्कीयो भनैँ त लास , सुन्नीएको लास अनि तातो पानी , यी तीन शब्दले मलाई जिस्काएपछि अचल भएर कुर्सीमा बस्ने निर्णय गरेँ । केही बेर त्यो अरिङ्गालले बन्द झ्यालमा टाउँको ठोकिरह्यो । सायद यो झ्यालले मेरो पुकार नसुन्ने रहेछ भन्ने लागेछ कयारे , त्यो भुर्र हेलिकप्टरकोझै आवाज निकाल्दै अर्को झ्यालमा आएर बस्यो । त्यो झ्यालमा भनेँ त्यसले एकछिन टाउको ठोकेन , गलेको पो थियो कि ? या अघिल्लो झ्यालमा ठोक्कीएर घाँटी मर्केको पनि हुन सक्थ्यो । अरिङ्गालको पनि घाँटी मर्कन्छ र ? मान्छेको सोच न हो, सोच्न त जे पनि पाइयो नि त्यै पनि डराएका बेला ।
अरिङ्गाल सुस्ताएको मौका छोपेर म बिस्तारै आवाज नगरी उठेँ अनि, अघिल्लो झ्याल उघारिदिएँ , त्सपछि बिस्तारै आएर फेरी कुर्सीमा बसेँ , कुर्सी च्वा गर्दापनि डरनै लागिरहेको थियो । भागेर बाहिर निस्कन मन थियो तर फेरी अफिसका अरू स्टाफले भोलीबाट डरपोक भन्लान भन्ने डर थियो । बस प्रतीक्षा थियो कहिले त्यो बाहिर जाला र झ्याल बन्द गरौला भन्ने । कुसीमा बसेर म त्यो अरिङ्गाललाई यसरी हेर्न थालेँ मानौ कोही प्रहरी प्रधानमन्त्रीको सवारीमा प्रधानमन्त्रीको गाडी कुद्ने बाटो हेर्दैछ । त्यो किरो बेलाबेला क्यारर् गर्दा धन्न सलामचै छुटेन ।
हेर्दा हेर्दै त्यो अरिङ्गाल फेरी झ्यालमा टाउँको ठोक्न थाल्यो , अनि थाहा पाएँ त्यस्को घाँटी मर्केको रहेनछ भनेर । अरिङ्गालको टाउँको ठोकाई हेर्दा लाग्थ्यो कुनै दु:खी मनुवा आफ्नो कर्मलाई धिक्कार्दै भित्तामा टाउँको ठोकिरहेछ । सोचिरहेँ अब त्यो अरिङ्गाल उडेर खुल्ला झ्यालतिर जान्छ अनि म झ्याल बन्द गर्न पाउँछु तर यथार्थमा भने अरूनै केही भयो । त्यो अरिङ्गाल त कुनै सैनिक हेलिकप्टरले युदमैदानमाथी बमबारी गर्न परिक्रमा गरेझै मेरो टाउँको माथि परिक्रमा पो गर्न थाल्यो ।हतारहतार मैले मेरो सुरक्षाको लागि कुर्सीमा राखेको ज्याकेट झिकेर टाउको छोपेँ अनि निउरिएर एक दुई वटा भग्वानको नाम जपेँ । डराएको बेला साँच्चै मान्छेको फुर्ती चार गुणा बढ्दो रहेछ , कोहीले मेरो पाँच छ गुण बढ्छ भन्लान् ,तिनलाई पनि म गलत छस् भन्दिन , एउटा डरपोकको पिडा अर्को डरपोकले नबुझे कस्ले बुझ्ने । मान्छे भएर जन्मे पछि अरूको ब्यथा नि बुझ्नु पर्छ मलाई चै त्यस्तै लाग्छ है । केहि बेर सम्म मेरो आकाशमा हेलिकप्टरको आवाज नसुनेपछि मैले मेरो सुरक्षा कवच अथार्त ज्याकेट फेरी टेबलमा राखेँ । यो प्रकिया एक दुई पल्ट दोहोरियो , मेरो र अरिङ्गालका लुकामारी । ज्याकेटमा पस्दा र निस्कदा मेरो मनमा डरको जात्रा चल्न थालिसकेको थियो अनि मुटुले धिमाहा बजाउँदै थियो । धुनचै थियो धुमतानानाना- धुमतानानाना खाल्को , मानौ कुनै हिन्दी सिरियलको पात्र डराइरहेछ र पछाडि डरलाई सुहाउने धुन बजिरहेको छ ।
एक छिनको लुकामारी पछि त्यो अरिङ्गाल फेरी खुल्ला झ्यालको छेउछाउ घुम्न थाल्यो, म भने मनमनै त्यो किरोलाई बाहिरको बाटो देखाउँदै थिएँ , दाँया , बाँया , ओर , पर , थोरै तल , थोरै माथी भन्दै , त्यसलाई बाटो देखाउँदा मेरो पनि टाउको हल्लीरहेको थियो, दाँया , बाँया , ओर , पर , थोरै तल , थोरै माथी। खुल्ला झ्यालको सेरोफेरो घुम्दा पनि त्यो बाहिर जान बाटो भेटिरहेको थिएन । केही बेर त्यहाँ घुमेर फेरी बन्द झ्यालमै बस्यो त्यो अरिङ्गाल । सोचेँ चलचित्र अझै बाँकी छ, त्यो त बस ट्रेलर थियो ।
मेरो कम्प्युटरको स्क्रीनमा पज भएको भिडियोझै मेरो धड्कन पनि पज हुन खोज्दैथियो , धड्कनलाई पुन प्ले गर्न भनेर टेबलमा राखेको पानीको बोतल उठाएँ , अनि आँखा अरिङ्गालमै टिकाएर पानी पिएँ , त्यतीबेला अरिङ्गाल झ्यालको पर्दामा थकाइ मारिरहेको थियो । पानीको बोतल बन्द गरेर राख्नै आँटेको थिएँ , टेबलमै राखेको मोबाइलमा म्यासेको घण्टी बज्यो , मैले बिस्तारै बोतल राखेँ अनि मोबाइलको म्यासेज हेरेँ , पुरानो साथीको रहेछ , अनि छोटो रिप्लाई दिएर फेरी झ्यालमा हेरेँ , त्यतीबेला त्यहाँबाट त्यो अरिङ्गाल गायब भइ सकेको थियो । नजिकैपो छ कि भनेर यसो दाँया बाँया हेरेँ । डराउँदै आफ्नै जिउमा पनि हेरेँ, भनौ हेर्न मिल्ने ठाँउ सबै हेरेँ, कतै थिएन । त्यसपछि आँफैलाई प्रश्न सोधेँ के किराहरूले पनि मान्छेलेझै कसैले उनीहरूलाई नजरअन्दाज गरेको थाहा पाउँछन ? नत्र यत्रो बेर हेरिरहँदा कही नगएको अरिङ्गाल एक पल आँखा हटाउँदा कहाँ हराउँछ त त्यसै ?
अरिङ्गाल बाहिर गएको पक्कापक्की भएपछि म बिस्तारै उठेँ , खुल्ला झ्यालभएतिर गएँ । एकपल्ट झ्यालभएको ठाँउबाट पुरै कोठा नियालेँ , कम्प्युटर चुपचाप बसिरहेको थियो , अर्को म्यासेज आएको मोबाइलमा, एलइडी बलिरहेको थियो , सिलिङ्ग फ्यान आत्महत्या गरेको मान्छेझै झुन्डिरहेको थियो सिलिङ्गमा, सबै निर्जीब चीज आफु उपस्थित हुनुको बयान दिइरहेका थिए । अब म मात्र बाकी थिएँ जो स्बास फोर्न जान्दथ्यो र सजीब थिएँ । कोठाका सबै निर्जीब चिजहरूबीच आफुलाई एक्लो पाउँदा खल्लो लागिरह्यो । बाहिर हेरेँ , मनतातो घाम लागेको थियो, छेउको रूखका पातहरू मन्द बतासमा बयेली खेल्दै थिएँ । त्यतीकैमा मैले केही बेर अघि मेरो अगाडि सिसामा टाउको ठोकिरहेको अरिङ्गाल सम्झे अनि सम्झेँ बाहिरको मिठो हावामा कतै स्बच्छन्द भई उडीरहेको त्यही अरिङ्गाललाई । मन त्यसै त्यसै खुसी भएर आयो अरिङ्गालको खुसी सम्झदा । अरूको खुसीमा खुसी हुनुको पनि पो बेग्लै मजा हुँदो रहेछ ।
त्यसपछि झ्याललाई छोडेर म कुर्सीमा फर्किए , मोबाइलमा आएका म्यासेज फर्काए , अनि कम्प्युटरको भिडियो प्ले गरेँ । समय काट्न गाह्रो भइरहेको थियो , कति बजेछ भनेर कम्प्युटरको घडी हेरेँ । कम्प्युटरको घडीले तीन बजेर बाह्र मिनेट गएको जनाउँ दियो । करिब दस मिनेटको भिडियो हेर्दा, मैले कयौँ पल्ट त्यो खुल्ला झ्याललाई हेरेँ । यस्तो लाग्यो कि म अरिङ्गालको प्रेममा फसिसकेको थिएँ । घिनलाग्दै होस्, डरमर्दै होस् तर मान्छेले केही कुरा सँग धेरथोर समय बिताएपछि जेसुकै होस् त्यो आफ्नो लाग्दो रहेछ । म धेर छिटो आकर्षित हुन्छु कि, मन चनचले भएको हो बुझ्नै सक्दिन ।
एकछिन एकछिन, अरिङ्गालको मेल र फिमेल कसरी थाहापाउने ? कतै म पुरूषसँग त प्रेममा परिन ?
एकछिन एकछिन, अरिङ्गालको मेल र फिमेल कसरी थाहापाउने ? कतै म पुरूषसँग त प्रेममा परिन ?
बिजय लुईटेल
Comments
Post a Comment