एउटा अनौठो बेचैनी छ मनभित्र, हर्षको काउकुती होला ,
मनको आकाशबाट बादल हटेर सुर्यदेबले मुहार देखाएका छन् ,
त्यो किरणको स्पर्शले यसै ताजा तुल्याएको छ इन्द्रियहरूलाई ।
जमीन मगमग वास आइरहेछ कुनै कस्तुरीको नाइटोझै ,
फेरी पुष्पमा मोतीदाना फलेका छन् झुम्का लगाई बगैचालाई,
विरक्ति मन पाइला चाल्न थालेको छ खुसीको सागर छुन ,
उमङ्गको पछ्यौरी ओढेको छ तनले दुःखी जाडोको सिरेटो छेक्न ।
पाना, माग गर्दै अक्षरका रङ्ग पल्टेका छन् एकपल्ट फेरी ,
सुन्दरता सबै कुनाबाट बयान गर्दैछ आफु उपस्थित छु भनि ,
समयले पनि हात दिँदैछ आँफु सँग कतै डुलाउनलाई ,
बिगत आफ्नै बिदाइमा मुस्कुराइरहेछ, हातमा सामल बोकी ।
चाहनाको भिडले कतै भित्रबाट एकै स्वरमा गाइरहेछन्
जा ए मानिस , मुस्कुराउँदै जा, जीवनको काखमा लुटपुटीदे
मनका चाहनालाई तृप्त पार् , सम्झनाहरूको खेती गर् ,
एकान्त खोजी झोक्राएको मनलाई , खुला आकाशमा पन्छीझै उडाइदे ।।
बिजय लुईटेल
Comments
Post a Comment