Photo: commons.wikimedia.org |
त्यो नयाँ बर्षको दुई दिन अघिको कुरो थियो, नयाँ बर्षको चहलपहलका कारणले रूटका गाडी सबै रिजर्भ चलेका थिए । कलङ्कीमा दुई घण्टाको गाडी पर्खाइपछि बल्ल तल्ल भाग्यले पोखरा जाने गाडी समाएर त्यतीबेला हामी मुग्लीनमा ओर्लीएका थियौँ । लगभग रातको आठ बजेको थियो । हामी दुई केटा दिनभरी गाडीमा उभीएर लखतरान परेको थियौ । केही बेर टाँढी जाने गाडी पर्खदा पनि नआएपछि थोरै डर लाग्न थालेको थियो , कतै रात यतै कटाउनु पर्ने त होइन भनेर , त्यस्तैमा एक जना राई लिम्बु जस्ता देखिने दाइ आए, भाइहरू पनि टाँडी तिरै जाने हो ? मैले जाने त भनेको हो दाइ तर गाडीनै रोकेको छैन भनेपछि उनी केही आक्रोसमा आएर भनेँ फलानाका का छोराहरू डाइभर, साला सधै यस्तै गर्छन् सबैलाई ओरालेर चुट्न पर्ने । मैले थोरै हाँसेर होको भाव देखाएँ, उनको आक्रोस देख्दा जोकोहीले उनले धेरै बेर देखि गाडी पर्खेका रहेछन् भन्ने थाहा पाउँन सक्थे । केही बेर पछि ती दाइले एउटा ट्याङ्करलाई हात दिए, अनि टाँढी सम्म पुर्याउन आग्रह गरे । उनको आग्रहले हामी दुई पनि टाँढी पुग्ने निश्चित भयो । ब्यागलाई पहिला गाँडीमा फ्याँकेर हामी गाडी चढ्यौ । गाँडीमा चढ्दा आए हो मेरे जिन्दगीमे भन्दै उदीत नारायण गाइरहेका थिएँ स्पीकरबाट । एकै छिनमा दिन भरीको थकान मेटिएझै भएको थियो सिटमा बस्न पाउँदा पनि, अनि त्यही माथी उदीतका गीत । मलाई यात्रामा उदीतमा गीत र मटरमा पनीर उस्तै लाग्छन् ।
हेटौडाका सिलवाल रहेछन् डाइभर दाइ । मास्क लगाएकाले मुख त देख्न पाइएन तर रातमा अबर परेकालाई सहयोग गर्ने सिल्वाल दाइको मन पक्कै राम्रो होला भन्ने लागिरह्यो । अन्धकार क्याबीनमा हामी केही बेर गफमा मस्त भुल्यौ । गफगफमै थाहा पायौ त्यो गाडीले एकपल्टमा बीस हजार लिटर तेल बोक्छ भन्ने , अनि सिलवाल दाइले पनि थाहा पाए हामी काठमान्डौ देखि उभीएर आएको कुरा , मयूर यातायात भन्दा अगाडि हामी जडीया खलासी भएको गाडी चडेको कुरा , खलासीको ब्यबहार मननपरेर ओर्लीएको कुरा । यस्तै कुरै कुरामा अल्झेर हामीले त्यो दिन टाँढी सम्मको यात्रा गरेका थियौ । केही पैसा र धन्यबादका शब्द सिलवाल दाईलाई बुझाएर हामी गौडाको मुर्ती अगाडि ओर्लीएका थियौ । लगभग नौ बजेको थियो त्यहाँ पुग्दा , हामीले त्यहाँबाट एउटा टुकटुकलाई तिनसय रूपैया बुझाएर होटल नाना, सौराहा लिएर गयौँ । त्यो रात थकाइले केही गर्न मन थिएन , होटलमा सादा भात मगाएर अघाउजी खाएपछि भोली पल्टको प्लान गर्यौ अनि सुत्न कोठातिर लाग्यौ । त्यो रात थकाइले होला मिठो निद्रा लाग्यो ।
भोली पल्ट बिहान हाम्रो नाँउ चढ्ने अनि जङ्गल बक गर्ने प्लान बन्यो । बिहानको ब्रेकफास्ट खाएपछि हामी टाँगामा चढेर चितवन राष्ट्रिय निकुञ्ज तर्फ लाग्यौ । हामी सँग तिनजना अमेरिकी केटाहरू पनि थिएँ । गफगाफमै थाहा पायौ पाटन अस्पतालमा काम सिक्न आएका हुनेवाला डाँक्टर रहेछन् । तिनजना हुनेवाला डाक्टर, दुई जनाँ के हुनेको अलमलमा परेका केटा हामी , एक जना गाइड अनि एक जनाँ टाँगावाला दाई जम्मा सात जना बसेका थियौ त्यो टाँगामा । आधा घण्टाको नाँउको यात्रा अनि एकछिनको हिडाइपछि हामी हात्ती ब्रीडिङ सेन्टर पुग्यौ । त्यहाँ रोनाल्डो भन्ने हात्तीको एकदमै चर्चा हुँदो रहेछ । गाइड दाइबाट थाहा पायौ रोनाल्डो जङ्गली हात्ती हो भन्ने कुरा , अनि त्यहाँ भएका सबै हात्तीका बच्चाको बाउ रोनाल्डो हो भनेर । दशैमा टिका लाउँदा मान्छेलाई सन्तानले डाँडाकाँडा ढाकुन भनेर दिएको आशिस रोनाल्डोलाई लागेको देखेर मेरो जवान मन केही मुस्कुराएको थियो ।
हात्ती ब्रीडिङ सेन्टरबाट निस्कीएर, फेरी टाँगा चढ्यौ । धेरै मान्छे भएकाले टाँगामा उलार भएको थियो, बिस्तारै बल गर्दै गरेको घोडालाई बाटो देखाउँदै गरेको टाँगावाला देखेर मलाई नयनराज पाण्डेको उलार उपन्यास याद आयो , टाँगावालालाई एकछिन मैले उपन्यासको पात्र रामललवा जस्तै देखेँ । टाँगाले फेरी होटलमा उतारेपछि हामीले फ्राइ राइस खायौ अनि लुगा फेरेर जङ्गल सफारीको लागि तयार भयौ । होटलबाट केहीबेर हिडेपछि हामी टिकट घरमा पुग्यौ, हाम्रा गाइड राम दाइले सबै चाजोपाँजो मिलाएकाले हामीलाइ लाइन लाग्नु परेन । जीप सफारी गर्नका लागि खोले तरेर एकछिन हिड्न पर्ने रहेछ । खोलो तर्नका लागि नाँउ पर्खदै थियौ , गर्मीले पुरै अटसमटस पारी रहेको थियो । हामी भन्दा पहिलो लाइन लागेका मान्छे एक एक गरी नाँउमा चढ्दै थिए । नाउमा चढ्दै गर्दानै हो मैले उनलाई पहिलो पटक देखेको ।
गर्मीबाट बच्न होला सायद, कपाललाई फुलको डालीझै बनाएर टाउकोमा सजाएकी थिइन , त्यो कपालमाथि एउटा रातो सिसा भएको चस्मा थियो , चस्माको तल निघारमा एक त्यान्द्रा केस चलमलाइरहेको थियो । ठूला अनि काला आँखा नयाँ ठाउँ देखेर होला मुस्काउँदै थिए । हल्का चुच्चो नाक उसलाइ सारै सुहाएको थियो । थोरै रातो लिप्स्टीक लगाएकी थिइन ओठमा , मज्जाले देखिने मिलेका दाँत ओठको पर्खाल भित्र चुइङ्गम चपाउँन व्यस्त थिए । निलो जिन्समा कालो टीसर्ट अनि कालो चप्पल अनि देब्रे हातमा बाधेको कालो घडीले , उसको सुन्दरतमा बुट्टा भरेका थिए ।
थोरै बेर नाङ्गो आँखाले उनलाई हेरेपछि, आँफैलाई असहज लाग्यो अनि टीसर्टमा झुण्डाएको चस्मा लगाए अनि फेरी उनलाई हेरेँ । उनी बसेको नाउ खोला तर्न ठिक परेको थियो, म भने चस्मा भित्रबाट अझै उसैलाइ हेरिरहेको थिएँ । त्यतीकैमा खोलाको किनारमा बसेको एउटा केटोले उनलाई हेरेर काली काली हिस्सी परेकी भन्दै गुनगुनाउँन थाल्यो , मलाइ भने रिसले त्यसलाई गोहीको मुखमा पर्ने गरी खोलामा फ्यालीदिउँझै लाग्यो । उनी तिर फेरी फर्कदा नाउ हिडीसकेको थियो अनि उसले रातो चस्मा आँखामा झार्न भ्याइसकेकी थिइ । उनलाई हेर्दा हेर्दै आफ्नो पालो आएको थाहा पाएनछु , साथीले हिड्, ओइ भनेपछि बल्ल होस खुल्यो । नाउमा चडेर हामी जीप भएतिर लाग्यौ । जीप चड्न लाग्दा देखे उनी चढेको जीप हिँडिसकेको रहेछ ।
एकैछिनपछि हाम्रो जीप पनि जङ्गगलतर्फ लाग्यो , बाटोमा मिर्ग चर्दै गरेको देखियो , मयूर देखियो , अनि गैँडा पनि देखियो । बाटोमा एक ठाउँ गैँडा हेर्न उनीहरूको गाडी रोकिएको रहेछ, हाम्रो डाइभर दाइले पनि त्यही छेउमा लगेर गाडी रोक्नुभयो , मैले गैँडा कम उनलाई बढी हेरेँ । यहाँ भने हाम्रा आँखा जुघे एक सेकेण्डको लागि, मुस्काउन खोज्दै मात्र थिएँ गाडी अगाडि बढ्यो उनीहरूको गाडीलाई पछाडि छोडेर । केही बेर उनलाई पछाडि फर्केर हेरे गैँडा हेर्ने बाहानामा , अनि रूखले उनलाई छेकेपछि मात्र अगाडि फर्किए। हाम्रो गाडी अगाडि बढीरहँदा मैले कयौँ पल्ट पछाडि फर्केर हेरेँ कतै उनी चढेको गाडी आउँदै पो छ कि भनेर । तर गाडीको केही नामोनिशानै देखिएन ।
त्यसपछि मैले उनलाई एकैपटक घरीयाल ब्रीडिङ सेन्टर बाहिर देखेँ , पानी पिउँदै थिइन उनी, हामी त्यतीबेला घरीयाल ब्रीडिङ सेन्टरभित्र घुमेर आइसकेका थियौ । सोच बनाएको थिएँ उनको नजिक जान्छु अनि चिनजान गर्छु भनेर तर उनलाई हेर्ने चक्करमा उसको बाबाभने देख्न बिर्सीएछु । तिनी उनका बाबा नै हुन त भन्न म अझै सक्दिन , काका भेना जो पनि हुन सक्थे तर मेरो लागि डरको पर्याय भएकाले मैले तिनलाई उनको बाबा मानिदिएँ । कालो हाफ टिर्सट अनि सेतो इनर लगाएका उसका बाबा घरीयाल ब्रीडिङ सेन्टरमा उसको बडीगार्डझै सँगै घुमिरहे, मैले धेरै मौका छोपेँ बोल्नलाई भनेर, तर जबजब म उनको बाबालाई देख्थेँ मेरा आँट लुला भएर आउँथे , अनि चाहना भने झन बलियो भएर म भित्र गुम्सिन्थे । बोल्ने मन हुदाँ हुँदै उनीसँग बोल्न सकिन । बोल्ने दाउ छोप्दा छोप्दै, हाम्रो जीप फर्कने बेला भएको थियो । जीप चढेपनि मेरा आँखा भने उनलाईनै हेरिरहेका थिए । जीप कुदेपछि भने उनी मेरो आँखाबाट ओजेल हुँदै गइन , त्यो बेला मैले उनलाई अन्तिमपटक देखेँ, उनी मुस्कुराइरहेकी थिइन्, मलाई हेरेर त पक्कै होइन अरूनै केही थियो सायद।
साँझ परिसकेको थियो ,पानी पनि दर्कने छाटकाट देखाउँदै थियो, हामी नाउबाट ओर्लेर होटल तर्फ लाग्यौ , होटल फर्कनु भन्दा पहिले भने खोलाको किनारमा उभिएर मैले पल्लो किनारमा हेरेको थिएँ , फेरी उनलाई देखिन्छकि भनेर , तर अरूनै अनुहार बोकेर नाउ वारपार गरिरहेका थिए । मान्छे ओरालेर फर्कीरहेका खाली नाउमा मैले एकछिन हामीलाई कल्पे, नाउ मन्द गतिमा चलिरहेको थियो, उनले खोलाको पानीमा हात डुबाएर मलाई एक अन्जुली पानी छ्यापिन, म मुस्कुराए । मैले पनि उनलाई पानी छ्याप्नलाई पानीमा हात हाल्न लागेको थिए , नाउ चलाउने दाइले कराए , भाइ मर्ने मन छ कि के हो ? कालो टिर्सट र सेतो इन्नर लाएको गोही देखेनौ ? डरले केही बोल्नै सकिन ,अनि पानीमा पुग्न लागेको हातलाई आँफैतिर ताने । उनलाई हेरेँ उनी मुस्कुराइरहेकै थिइन, मैले कुरा अघि बढाँउनलाई सोधेँ , अब फेरी कहिले भेट हुन्छ ? बादल लागेर पुरै आकाश कालो थियो , बिजुली चम्केर क्षणीक उज्यालो भयो, आकाशले पनि हाम्रो भेटलाई सुरक्षित राख्न फोटो खिचेको थियो सायद । उनले निन्याउरो मुख लगाएर मलाई हेरिन् तर केही बोलिनन्, उनको आँखामा म केही बेर हराएँ। त्यसपछि मुसुक्क हाँसेर उनले मुखको चुङ्गगम फुलाएर प्याट्ट फुटाइन । चुङ्गगम फुटेसँगै एक्कासी आकाश गडगडायो अनि त्यो आवाजले म होसमा आएँ , फेरी एक पल्ट खोलामा हेरेँ , मान्छे भरीएको तर खाली जस्ता लाग्ने केही नाउहरू खोलामा तैरिरहेका थिए ।
त्यो साँझ सौराहाका गल्लीहरूमा मेरा एक जोडी आँखाले उनका एक जोडी आँखालाई खोजिरहे । धेरै खोज्दा पनि नभेटेपछि मेरा रित्ता आँखाले मलाई भन्दै थिए एक दिन छिटो देखिस तैले उनलाई ,नयाँ बर्षमा देखेको भए बर्षै भरी देखिन्थ्यो कि ? आमाले नयाँ बर्षमा पढ्यो भने बर्षैभरी पढिन्छ भनेजस्तै ।
- बिजय लुईटेल
Comments
Post a Comment