प्रिय परीपूर्व मायालु
परी जस्ती तिमीलाई भूतपूर्व भन्न मन लागेन । खै कति सम्झना ।तिमीलाई पढेर खुसी लाग्ला कि तिमीले मलाई केही समय देखि दिनहुँ खुवाउँदै आएको तितो अनि सारै नमिठो , तिरस्कार र बेबास्ताका ट्याब्लेटले ढिलै भएपनि काम गर्यो । अघिल्ल्लो रात ट्याब्लेटको अन्तिम डोज खाएर सुतेको म त्यस बिहान सधैझैँ ब्युँझिन , त्यो नयाँ ब्युझाँई थियो । मलाई अरू दिनझैँ मनलाई जगाउन समय लागेन , मेरो मन हलुका भएको रहेछ म भन्दा छिटो उठ्न खोज्यो ।
सधैझैँ ब्युझँने बित्तिकै पर्दा उघारेँ , अच्चम्मको घाम लागेको थियो, अरू दिन मलाई त्यस्तो घाम लागेको थाहा छैन । अब यस्तो घाम लाग्यो त म कसरी भनौँ तर न्यानो अनि मिठो थियो त्यो बिहानको घाम । अच्म्म त के भयो भन्दा मैले कुन्नी कहिलेबाट म सँग लुकामारी खेल्ने गरेको कुकु चरोलाई फेला पारेँ । कुकु गर्दै, मलाई खोज भन्दै, लुकिरहेको थियो आरूको हाँगामा । अस्ति अस्ति पनि लुकेको थियो सायद कसरी पो हो देखिन रहेछु । तिमीलाई बिस्वास नलाग्ला तर त्यो बिहान मैले पर्खाइहने आफ्ना र पर्खीरहने आफ्ना बीचको फरक थाहा पाएँ ।
बिस्तारै कोठाको ढोका खोलेर मुख धुन गएँ , धेरै समय पछि त्यो बिहान , मेरा आखाँमा बस्ने तिमी भिज्लाउ भन्ने हेक्कै नराखी मुख धोएँ । खाली आँखा लिएर जब कोठामा फर्के मेरो कुकुर, आँखा भरी मेरो तस्बिर लिएर मलाई पर्खीरहेको रहेछ । आफुले चाहेको मान्छेको आँखामा कहिले पनि आफुलाई नदेखेर होला मलाई डुबिदिउँझै लाग्यो त्यसको आखामा । त्यो दिन मलाई सबै भन्दा मनपर्ने तिम्रा आँखा भन्दा मेरा कुकुरका आँखा कता हो कता प्यारा लागे ।
त्यो बिहान चिया पिउँन पनि सारै धेरै जाँगर चलेको थियो , के हुन लागेको थियो ,आफैलाई पत्तो थिएन । सधै तिमीलाई सम्झने मेरो खुसिले सायद तिमीलाई बिर्सदै पो थिएँ कि ? जे होस मलाई पहिलो पल्ट तिमीलाई सम्झदा भन्दा बिर्सदा मज्जा लागिरहेको थियो ।थाहा छैन किन एकाएक मेरो जीवनबाट तिम्रो अस्तित्वले विदा मागेको आभाष भएको थियो ।
चियाको कपबाट चुस्की लिदै थिएँ , सधै भन्दा स्वादिलो लागेको थियो चिया पनि । त्यतीकैमा टेबलमा राखेको सातुको भाडोमा आँखा गयो , आमाले कती पल्ट बिहान सातु खाने गर भन्दा , नाइँ भनेर टारेको थिएँ तर त्यस बिहान मैले थाहा छैन किन भाँडो खोलेर एक फाँको फुक्का सातु मुखमा हालिदिए । मुखमा सातु हाल्ने बित्तिकै सातु सर्कियो ।
हो त्यतीबेला भने मैले तिमीलाई एकपल्ट सम्झिएँ , पहिलो प्रेम र फुक्को सातुको फाँको उस्तै हुुन जस्तो लाग्यो , खान नजान्दा दुबै सर्कने ।
चिया पिएर कोठामा आएँ , धेरै पछि खुसीका गीत बजाउँन मन लाग्यो अनि स्पीकरमा मोबाइल जोडेर उदीत नारायणसँग एकछिन मुस्कुराए , त्यो बिहान सायद मसँग नारायण गोपाल रिसाए होलान् ।
त्यही बिहान मैले कोठाको सबै झ्याल खोलेँ , शितल हावा अझै आउँदो रहेछ मेरो कोठामा । त्यही बिहान हो मलाइँ पहिलो पल्ट ब्लाङ्गकेट पट्टयाउँ पट्टयाउँ लागेको । त्यही बिहान हो मलाई दराजका सबै लुगा मिलाउँ मिलाउँ लागेको , त्यही बिहान हो भद्रगोलबाट उम्केको मान्छेलाई मिलेको चिज साँच्चै सुन्दर लाग्दो रहेछ भन्ने कुराको बोध भएको । त्यही बिहान हो मैले मेरो कोठा बढारेर सफा पारेको , नचाहिने बस्तु डस्टबिनमा हालेको, अनि खुसीका गीत गुनगुनाउन थालेको । तिमीलाई मैले बिर्सीएको त्यस बिहान ऐना पनि हेरुँझै लाग्यो , एक्लो ऐनाले त्यो बिहान साथी पाएको थियो , अनि मैले पनि ।
प्रिय मान्छे ,मनको खुसीको तलाउमा अब तिमी माछा जस्तो चलमल गरेर तरंग निकाल्न आउँदैनौ , अब त मेरो खुसीको तलाउ शान्त छ अनि सङ्गलो छ । तिमीलाई सुन्दा नराम्रै लाग्ला तर कोही बेला अझै पनि म तिमीलाई सम्झन सक्छु । पहिलो गाँस सर्किएका बेला मेरो खुसीको शान्त तलाउँमा पानीका फोका फेरि उठ्लान अनि फुटलान , तर यति कुरामा बिश्वस्त छु कि छाल भनेँ पक्कै आउँनेछैन ।
प्रिय मान्छे तिमीलाई बिर्सीएको बिहानले ,पहिलो गाँस सर्कियो भन्दैमा छाकनै छोड्नु हुँदैन भन्ने पनि बोध गराएर गयो । सर्कियो भनेर छाक छोड्न थाल्यो भनेँ मान्छे कति दिन बाँच्ला र ? आफैलाई यहि प्रश्न बारम्बार सोधिरहेँ । अनि त्यही बिहान, भएको एउटा जीवन कुपोषणमा बाँच्नु हुन्न भन्ने कुरा पनि सिकाएर गयो । तिमीलाई बिर्सीएको बिहान मैले साँच्चै बाँच्न सिकेँ अनि हाँस्न सिक्ने रहर गर्दै यथार्थको स्कुलमा भर्ना लिएँ ।
आशा छ । तिम्रा सम्झना अब मलाई खोज्दै फेरि बिथोल्न आउँनेछैनन् । म पनि तिम्रो जीवनमा मेरो हिस्सा माग्दै तिमीलाई बिथोल्नेछैन ।
उही तिम्रो
भुतपूर्व मायालु
Comments
Post a Comment