भावना ः
पातलो निद्राको कायामा सुनौलो सपना लागेको छ
दुधमा बाक्लो तर् लागेझैँ
अनि मलाई हाम्रा अमिला याद देखि डर लाग्न थालेको छ ।
डरपोक हैन , डरबोक हुँ
डरलाई बोकेर हिडेँको यात्री
मलाई डरले अब कहाँ पुर्याउँछ ?
लुलो भएँ भनेर बिसाइदिउँ कि
बलियो छु भनि बोकीरहूँ
डरको ओजिलो भारी ?
अझ केही कदम टेकौँ भन्छ
अझ केही माइल हिडौँ भन्छ
थकित मनले अनायासै ।
अनि केही पर चौतारी छ भन्दै ,
आशाका आवाजहरू
मेरो कानमा गुजमुजाइरहेछन् ।
“ भारी साट्नेको त्यहाँ भिड लाग्छ ”
“ तैँले कोही परिचीत फेला पार्छस् ”
“ भारी बिसाएर तेरै बाटो हेरिरहने
त्यही तेरो डर साट्ने साथी ” भन्दै
नयाँपनका कोपिला म भित्र सलबलाइरहेछ
खुसीको सुगन्ध भित्र भित्रै मगमगाइरहेछ ।।।
यथार्थ ः
डरबोकका कदम चल्दैछन् , जीवनका गल्लीहरूमा तर भित्र भित्रै डर बोकेको छ उसले , प्रेमको डर । थोरै अनौठो छ तर सत्य यही हो । फिलोफोबिया भन्छन् यसलाई अङग्रेजीमा । अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ भन्छन् त्यस्तै उसले प्रेमको अगुल्टो खाएको थियो । कोही भनेँ अगुल्टो नखाई डराउँछन् उनीहरूचै डरपोक हुन् । उसलाई लाग्छ किन प्रेम म डरबोकलाईनै खौज्दै आउँछ ? किन मेरै बाटो मात्र काट्छ प्रेम ? यो उसलाई लागेको नयाँ रोग हो , अगुल्टो खाएपछि । त्यसैले उ डरपोक हैन डरबोक हो ।
हरेक मोडमा प्रेम भेट्दा , बाटै मोड्न थालेको थियो । तर हिजो आज, केहि दिन देखि भने आफ्नै डर मनपर्न छोडेको छ उसलाई । अब मैले यो डरलाई मेट्नुपर्छ भन्ने भावना मनमा खेल्न थालेका छन् , मनमा चञचलताको लहर उठेको छ । अनि आशाको किरण कतै त होला भन्ने भावना जागेको छ । त्यसैले अब डर बिसाउँने चौतारी खोज्दैछ ।
एउटा त्यस्तो चौतारी जहाँ उसले आफ्नो डर बिसाउँन सकोस र नयाँ बाटोेमा मज्जाले हिड्न सकोस हलुका भएर । बाटैमा छोड्न मन छ डरलाई तर सकिरहेको छैन । धेरै समय आफुसँग केही गाँसिएपछि मान्छेलाई त्यसको लत लाग्छ भन्छन् नि , हो त्यस्तै उसलाई डरकै लत लागेको छ । तर अब लतलाई लात हान्ने समय आयो भन्ने कुरा मनमनै गम्दै छ । बसन्त ऋतुमा , मनमा यस्ता कुरा खेल्नु स्वभाविक नै हो । तर अब जे हुन्छ त्यो अस्वभाविक हुन्छ भन्दै छ मनलाई उसले ।
कल्पना ः
म सोध्छु ः डरबोकमा के त्यस्तो छ र तिमी मलाई खोज्दैथियौ ?
ऊ भन्छे ः मैले तिमीलाई हैन , तिमीले मलाई खोजेको हौ ।
म सोध्छु ः कसरी ?
ऊ भन्छे ः डरबोक भएर ।
म भन्छु ः भन्नाले ?
ऊ भन्छे ः प्रेमको खोजी सधैँ डरबोकलेनै गर्छ । डरपोकको त बाटै हुँदैन । मान्छेलाई डरले नै दिशा दिन्छ । तिमी डर सँग डराएर भागेनौ बरू डरलाई सम्हालेर मसम्म आयौ । तिमीले म डराएको छु भन्ने थाहा पाएकै दिन तिमीले मलाई खोज्न थालेको थियौ ।
म मुस्कुराउँछु डरबोक हुनुमा गर्वबोध भएर । मेरा आँखा उसका आँखासँग जुध्छन् अनि त्यो हेराइको जादुमा डर कतै बिलीन हुन्छ ।
बिजय लुईटेल
Comments
Post a Comment