केही दिन भयो उसलाई मज्जाले निद्रा लागेको छैन , यो भ्यालेन्टाइन डे पछिको कुरा हो । निद्रै नलाग्ने पनि हैन उसलाई , लाग्छ । तर एउटा अनौठो सपना देख्छ अनि झस्केर ब्युँझन्छ । कोही बोल्छ उसको सपनामा । अन्धकार छ सपना । अनि सपनाको लगभग अन्त्यतिर ऊ बाइकमा हुन्छ, भक्तपुर दरबारको पार्किङबाट जब ऊ बाइक निकाल्छ उसका आँखाबाट आसु झर्छन्, मन चिसो भएको हुन्छ । मान्छेले आँसु नदेखून् भनेर ऊ हेल्मेटको कालो सिसा झार्छ अनि फेरि अन्धकार हुन्छ । बाइक चलाउन केही नदेखेपछि ऊ ब्यँुझन्छ । ब्यँुझदा उसको शरीर पसिनाले भिजेको हुन्छ अनि मन अलमलले ।
सपना अनौठो छ , कोही केटी बोल्दै हुन्छे कुनै चिठी बाचन गरेजस्तै । उसलाई केटीको स्वर चिन्न खासै बेर लाग्दैन । आफ्नै नाम बोलेर सुरु गर्छे , मेरो जीवनको अमूल्य मान्छे ........... , भ्यालेन्टाइन डेको धेरै धेरै शुभकामना । सपना कालो छ कोही देखिँदैन तैपनि मधुरो आवाज सुनिन्छ । सपनामा केटी पढ्दै जान्छे , कसरी भन्न सकेँ अब तिमीलाई कल गर्दिन , म्यासेज गर्दिन भनेर । किन म तिमीलाई केही नराम्रो भन्ने बित्तिकै एकैछिनमा ग्लानी महशुस गर्छु ? यति भनेर केही बेर रोकिन्छे अनि फेरि सुरु हुन्छ वाचन ।
चाहना तिम्रा पनि छन् मेरा पनि छन् । मलाई माफ गर मैले तिम्रा चाहना कहिल्यै बुझिन । तिमी पनि मजस्तै मान्छे हौ, तिमीलाई पनि माया चाहिन्छ भनेर अहिले बुझ्न थालेको छु । कति रात बितायौ मेरो म्यासेज पर्खेर मलाई थाहा छैन तर मेरो म्यासेज पर्खँदा तिमीमा के गुज्रियो मैले अहिले बुझ्न थालेको छु , तिम्रो म्यासेज पर्खदा ।
केटीले पढ्ने अरू हरफ यस्ता छन् ; हामीसँग जम्मा एउटा जिन्दगी छ, तिमीसँग पनि, मसँग पनि । म मेरो भागको जिन्दगी तिमीलाई दिन चाहन्छु । मलाई तिमीसँग मायाका कुरा गर्न नपाएको सबै समय घाटा झँै लाग्छ, कहिल्यै भरपाइ नहुने घाटा । थाहा छैन म तिमीलाई कति बुझ्छु, तर तिमीलाई संसारमा सबैभन्दा बुझ्न चाहने मान्छे म हुँ त्यो तिमी बुझिदेउँ । तिमीसँग जति कुरा गर्नु छ त्यसलाई सायद यो जीवन काफि नहोला । मलाई साँच्चै हतार छ तिमीसँग समय बिताउन । यही हतारले म केही सोच्न सकिरहेको छैन । तिमी नै भन म किन हतार नगरूँ ?
मान्छेलाई कहिल्यै पनि सपना पुरै याद हुँदैन भन्छन् उसलाई किन उल्टो भइरहेको छ ? केटीले बोल्ने हरेक शब्द, हरेक शब्दको बिचमा फेर्ने स्वास याद छ उसलाई । हुन त कसरी पो बिर्सन सक्छ र ऊ ? कसैले आँखा खोलेर देखेको सपना झँै गडेकी छे त्यो केटी उभित्र । बिपनामा त्यो केटिको आवाज सुन्ने बित्तिकै उसका चेतना अझ सजग हुन्थे, ऊ उसको वरिपरि केही देख्दैनथ्यो, केवल उसलाई हेर्थो, उसलाई सुन्थ्यो । सायद सपनामा पनि त्यही बानी परेको होला त्यसैले उसलाई सपनाका शब्द शब्द याद छन् ।
अर्को हरफ यस्तो हुन्छ; थाहा छैन मलाई तिमी किन यति मनपर्छ । एउटा कारण भए तिमीलाई यो भनेर देखाइदिन्थेँ । धेरै समय बिनाप्रेम बसेर होला एक्लै जिउने भइसकेको रहेछु । तिमीले मलाई अरूको लागि बाँच्नुमा सुन्दरता छ भन्ने सिकायौ । अब म त्यो सुन्दरता तिमी सँग बाड्न चाहन्छु । तिम्रो मायामा यति पर आइसकेँ मलाई फर्कने बाटो थाहा छैन । म केही बाचा गर्दिनँ, म तिमीबाट कति माया चाहन्छु त्यती नै तिमीलाई दिने कोसिस गर्छु । म कहिल्यै भाग्यमा विस्वाश गर्दिनँ, एउटै मात्र जीवन छ अनि अब मलाई ढिलो गर्नु पनि त छैन । तिमीलाई मैले आजसम्म दिन नसकेको माया अब म तिमीलाई दिन चाहन्छु । हाम्रो हरेक दिन भ्यालेन्टाइनझँै भएको हेर्नु छ । मलाई लाग्छ समयले सबै मान्छेलाई मौका दिन्छ, सायद हाम्रो मौका यो भ्यालेन्टाइन हो । यो मौका खेर जान नदिऊँ के थाहा फेरि मौका मिल्ला नमिल्ला । अन्तिममा उही तिम्रो............ पछि उसको नाम बोल्छे । ऊ सपनामै केटीको अनुहार खोज्छ अनुहारको भाव पढ्नलाई । त्यसपछि ऊ रुँदै हेल्मेटको कालो सिसा झार्छ अनि अन्धकार छाउँछ । अनि आफुलाइ ओछ्यानमा पाउँछ , छटपटाइरहेको ।
किन यो केटी बार बार मेरो सपनामा मेरै चिठी पढेर सुनाउँछे, उसलाई अचम्म लाग्छ । मलाई थाहा छ त मेरो चिठीमा के छ भनेर....... बेकारमा मेरो निद्रा बिगार्न मात्र । एक हप्ता हुन आँटिसक्यो यही सपनाले मेरो निद्रा बिगारेको । अब मलाई निद्रा नपुगेर छटपटी हुन थालेको छ भन्दै मनमनै गनगन गर्छ ।
अब बिपनाको कुरा गराँै , त्यो दिन यानी भ्यालेनटाइन डे, ऊ यही सपनामा वाचन भएको लेखलाई एउटा डायरीमा समेटेर त्यसलाई एउटा बैजनी खोलमा बेरेर उसलाई दिन भनेर भतmपुर गएको थियो । साँच्चै खुसी थियो ऊ , उसलाई लागेको थियो उसकी प्रेमिकाले त्यो डायरी पढेपछि उनीहरूको बिचको खिन्नता कम हुन्छ अनि फेरि नयाँ प्रेम शिलशिलाको सुरूवात हुन्छ । उसकी प्रेमिकाको परीक्षा ९ बजेबाट सुरु भएर १२ बजे सकिने थियो, धेरैजसो तिन घण्टा सम्मै बसेर नलेख्ने भएकाले उसले साढे बाह्रमा मलाई भक्तपुरमा भेट्नु भनेर खबर गरेको थियो । उसले ‘आउँदिन’ भनेकी थिई अनि बाहिर अरूतिरै जान्छु भनेकी थिई तर भ्याउँदिन भन्दा भन्दै पहिला एक दुई पल्ट भेटेको भएर होला उसलाई उसकी प्रेमिका आउँछे झै लाग्यो । उसकी प्रेमिकाले म्यासेज पठाई ‘तिमी कहिल्यै मलाई बुझ्दैनौ आइन्दा मलाई अनुहार नदेखाउनु मैले आउँदिन भन्दा भन्दै किन यति जिद्धी गरेको ?’ ऊ त्यो बेलामा भक्तपुरको बारा पसलमा बसेर बारा पर्खिरहेको थियो लगभग साढे बाह्र बजेको थियो त्यो म्यासेज आउँदा । उसले कतै सुनेको थियो जिउमा घाउ लाग्दा बारा नखानू घाउ पाक्छ भनेर । उसलाई बारा बनाउने दिदीलाई सोध्न मन लाग्यो दिदी मनमा घाउ हुनेलाई त बाराले केही गर्दैन होला नि है ? कि तिनको पनि घाउ पाक्छ बाराले ? तर सकेन, बोली अड्के जस्तो भयो । उसले बारा पसलबाट एउटा म्यासेज पठायो म १ बजेसम्म बस्छु तिमी आऊ भनेर । बारा पर्खेर मन नलागी नलागी खाएर बाहिर निस्किदा १ बजेर पाँच मिनेट गएको थियो अनि फोन लगायो, फोन लागेन ।
उसकी प्रेमिकाले त्यतिबेलै फोन गरी अनि ‘हेलो’ पछि सिधै ‘कस्तो मान्छे हौ तिमी, आउँदिन भन्दा भन्दै किन यस्तो ? आइन्दा मलाई म्यासेज नि नगर्नू, मलाई आफ्नो अनुहार पनि नदेखाउनु’ भनी । उसलाई आफ्नो संसार अँध्यारो भए झै भयो केही सोच्नै सकेन । एक घण्टादेखि पर्खिरहेको थियो, नआए पनि राम्रोसँग बोल्न त सकिन्छ नि भनेँ जस्तो लाग्यो अनि उसले ‘ल’ भनेर फोन काटिदियो । एकैछिन पछि फेरि फोन आयो उसकी प्रेमिकाको , भनी तिमीलाई मेरो परीक्षा छ भन्ने थाहा थिएन ? उसले भन्यो, थाहा थियो १२ बजे सकिन्छ होला भनेर म्यासेज पठाएको । मैले आउँदिन भनेको थिएँ भनेर केही भन्न खोज्दै थिई, उसको दिमागमा के आयो कुन्नि, तिमीले मलाई गाली गर्न फोन गरेको ? भन्यो । उताको केटिको आवाजले ‘अँ राख’ भन्यो । उसलाई बेहोस भएजस्तो भयो, एकछिन केही देखेन, फोन पनि कसले काट्यो थाहा पाएन । मोबाइल गोजीमा राख्यो अनि हिड्यो र्पािर्कङतिर । बाटोमा केही जोडी हात समाएर मस्किँदै हिँड्दै थिए । उसलाई छेउमा बन्दै गरेको मन्दिरको ढुङ्गा टिपेर हानिदिऊँ झँै लाग्यो । तर सकेन, उनीहरूको मायामा उसको पनि भित्री भावना अनि चाहना लुकेको थियो । घृणा गर्दिउ झँै लाग्यो त्यो जोडीहरूलाई तर मान्छेले आफ्नो चाहनालाई कहाँ घृणा गर्न सक्दो रहेछ र ?
ऊ भावशुन्य अनुहार लिएर पार्किङमा आयो अनि पैसा ति¥यो । बाइक छेउमा पुगेपछि मन थाम्न सकेन अनि एकपल्ट फेरी कल ग¥यो तर उसकी प्रेमिकाले काटिदिई । उसलाई भाउन्न भएर आयो, फेरि फोन गर्न मन लागेन । बाइक स्टार्ट ग¥यो अनि बाहिर निस्कियो । बाहिर निस्कँदा निस्कँदै पीडा बगेको उसको गालाले थाहा पाए । डाको छाडेर रुन मन थियो , मान्छेले देख्छन् कि भनेर हेल्मेटको कालो सिसा झा¥यो अनि थाहा छैन कति बेर रोयो बन्द हेल्मेट भित्र । घर आयो गोजीबाट सानो डायरी झिक्यो अनि राखिदियो खाटको घर्राभित्र, अब कहिल्यै हेर्दिन भनेर ।
सपनाले धेरै नै पिरेपछि उसले त्यो डायरी आज हातमा लिएको छ र ओल्टाइ पल्टाइ हेर्दै छ । ऊ सोच्दैछ यो डायरी मेरो चाहना हो तर के अर्थ छ, अब मेरो चाहनाको ? चाहना सायद संसारको सबै भन्दा महँगो अनि सबै भन्दा सस्तो वस्तु पनि हो । मलाई महँगो त्यो निष्ठूरीलाई सस्तो । उसलाई लाग्छ मभित्र चाहनाको चिहान छ, मैले गाडेको छु जिउँदा चाहनालाई मारेर आफूभित्र अनि तिनैले तर्साउँछन् मलाई सपनीमा । उसलाई डायरी दिनु मेरो त्यस्तै मारेर गाडिएको चाहना हो । सायद मेरो सपना, मैले मारेर गाडेका चाहनाहरूको आत्माको अधुरा अन्तिम इच्छाको कोकोहोलो हो ।
ऊ सोच्दैछ मान्छेको चिहानभन्दा चाहनाको चिहान डरलाग्दो हुँदो रहेछ । चिहानबाट मान्छे बोल्दैन तर चाहना बोल्छन्, अधुरा चाहनाहरू । चाहना पूरा गर्न नसकेर मानिस आफूभित्र खाल्डो खन्छ अनि त्यही खाल्डोले निल्छ उसलाई । यो सपना जुन म सधै देख्छु , मेरो उसलाई डायरी पढाउने चाहनाले खनेको खाल्डो हो जसले मलाई नै बिस्तारै निल्दै छ । मलाई माया लाग्छ यो डायरीको, न म यसलाई च्यात्न सक्छु, न बाल्न न त फाल्न नै । सोच्छ, आफ्नो चाहनालाई मार्न कहाँ सकिँदो रहेछ र ? उसँग अब तागत छैन डायरीलाई केही गर्न पनि , त्यसै डायरीलाई सुमसुमाउँछ , केही बेर टोलाउँछ अनि फेरी त्यही घर्रा भित्र राखिदिन्छ अब कहिल्यै हेर्दिन भनेर ।
एकपटक फेरी आफ्नो खुसीले डायरी घर्रामा राखेपछि मन्द मुस्कुराउँछ, सोच्छ मारेर गाँडेको चाहनालाई ब्युताएर के फाइदा छ र ? तर एउटा कुरामा उसलाई अझै अलमल छ, त्यो के भन्दा मरेका चाहनाहरू किन सपनासँग साइनो गाँसेर उसलाई बेला बेला तर्साइरहन्छन् ? कि अझै जिउँदै छन् उसका चाहना ? के उसलाई मात्र यस्तो हुन्छ ?
- बिजय लुइटेल
Comments
Post a Comment