२०७५ को एक खुलेको बिहान , धेरै पछि मर्नीङ्ग वकमा हिँडेको थिएँ । घाम मज्जाले लाग्न खोज्दैथियो बोडेतिरबाट घर फर्कदै गर्दा एउटा घरको भित्ताले मेरो आँखा तान्यो । थोरै रातो त्यो भित्तामा सेतो अक्षरमा लेखिएको थियो " प्रोएड मोटरसाइकल पार्किङ " । म अचम्ममा परेँ , २०६३ साल तिर लेखिएको त्यो अक्षर अझै उस्तै भएको देखेर । मेरा खुट्टा एकछिन रोकिए अनि अघि बढेँ त्यो भित्तातिर । लगभग छ फुटको रातो भित्तामा मेटिन लागेको अक्षर नाँचिरहेका थिए । भित्ता भन्दा माथि रडले बनेको जाली थियो , त्यसको ठ्याक्कै माथि एउटा झ्याल थियो सेतो रङ्गको । दिमाग गनगनाउँदै थियो, यतिका बर्ष किन मेरा आँखा गएनन् यो भित्तामा भनेर । सायद बाइकमा हिड्दा बाटोमा धेरै ध्यान गएर होला छेउछाउका यस्ता कुराहरू छुटिरहेका हुँदा रहेछन् । मेरो मन भनेँ त्यो झ्यालबाट भित्र चियाँउन थालिसकेको थियो । मनले खासै दिमागको बहकाउमा नआइ मलाई झ्यालभित्र लिएर गयो ।
झ्यालमा पुग्दा नपुग्दै भित्रबाट गाइगुइँ आवाज सुनिन थाल्छ, केटाकेटी गनगनाइरहेको । यसो त्यो खुल्ला झ्यालबाट भित्र हेर्छु एउटा अन्दाजी बाइस चौबिस बर्षको केटो कुर्सीमा बसेर कापी चेक गर्दै छन् , चिनजानको लागि उनको नाम प्रबल श्र्रेष्ठ , कक्षा ५ को म्याथ शिक्षक , प्रोएड स्कुल । केटाकेटी लाइन लागेर कापी चेक गराउँदै छन्, उनीहरुको आँखामा गुड पाउँने अभिलाशा देखिन्छ । कोठाको ठ्याक्कै अगाडि वाइट बोर्डको दाइनेपट्टी मिति लेखिएको छ - / - /२०६३ अनि बोर्डको बीचमा म्याथस् । बोर्डको ठ्याक्कै तल तीनबटा केटा दुबै हात माथि उचालेर बोर्ड तिर मुख फर्काएर उँभिएका छन् । तीनवटै केटाहरूको पाइन्ट सोरिएर खुट्टमा थुप्रेको छ । कान राता भएका छन् दुईटा केटाका , सायद तिनवटै केटाका भएका छन् तर बिक्रम भनेँ कालो भएर रातो देखिएको छैन । बिक्रम शाही , तिनओटा केटामध्ये देब्रे पट्टिको केटो , जसले भी सेपको आकाशे निलो रङ्गको कट्टु लगाएको छ । बिचमा छ बिजय लुईटेल गहुँगोरो केटो जसले तेर्सो बुट्टाभएको रातो अनि कालो छिर्के मिर्के कट्टु लगाएको छ । अनि बिनय राउत त्यो पनि गहुँगोरो, सबैभन्दा दाहिनेपट्टि, मिति लेखिएको ठिक तल गाडा निलो कट्टुमा उभिएको छ । फरक धेरै भए पनि, उनीहरूमा एउटा समानता छ त्यो के भनेँ कसैेले पनि म्याथको होमवर्क भनेँ गरेका छैनन् र कलासलाई कट्टु देखाउने सजाय भोग्दैछन् होमवर्क नगरेकाले ।
तीन ओटा केटाहरू रमाइरहेका छन् आँफैसँग , होमवर्क गर्नु भन्दा त यसरी क्लासलाई टुइँके देखाउन बेस भन्दै । तिनीहरूमा लाज भन्ने कुरा सायद अझै पस्न बाँकी छ । बेला बेला प्रबल श्र्रेष्ठ कराइरहेका छन् आवाज नगर् भन्दै । क्लासका केटाकेटी आरती , किरण अनि अरू बेला बेला कट्टुवाल केटाहरूलाई हेर्दे हास्दै छन् । प्रबल श्र्रेष्ठले कापी हेरेर भ्याउँछन् अनि क्लासवर्क दिन थाल्छन् । त्यस्तैमा बिजयले सोध्छ, सर मे आइ गो टु ट्वाइलेट ? प्रबल सर हुन्न भन्ने भावमा टाउको हल्लाउँछन् । ट्वाइलेट गएर एकछिन भएपनि सजायबाट छुट्कारा पाउँने उपाय बिफल भएपछि बिजय फेरी भित्तातिर फर्कन्छ अनि बिक्रम र बिनयलाई हेरेर एक पल्ट हाँस्छ, बद्लामा दुबै हाँस्छन् साथीको असफलतामा ।
अरूको ध्यान क्लासवर्कमा नभइ अर्धनग्न केटा तिर हुन्छ तर केटाहरूलाई केही मत्लबै छैन , भोली होमवर्क गर्नुपर्छ भन्ने भाव केटाहरूको मुहारमा कतै देखिन्न बरू क्लासवर्क गर्नुनपरेको खुसी भने देखिन्छ थोरै । तीनै ओटा केटा क्लास सकिने घण्टी पर्खेर बसेका छन् । प्रबल श्र्रेष्ठ पनि आफ्नै केही काममा लागेका छन् । त्यसतैमा अरू कक्षाका केटाकेटी बाहिर निस्केको आवाज आउँछ , केटाहरूलाई पाइन्ट तानेर कुद्न हतार हुन्छ तर प्रबल सर भनेँ निक्लने छाँटकाँटनै देखाउँदेनन् । केहीबेरको प्रतिक्षा पछि घण्टी बज्छ अनि प्रबल सर उठेर भन्छन् आज होवर्क नगरेको सबैको म भोली पनि होमवर्क हेर्छु , जा गएर बस् भाली गरिनस् भने यो भन्दा ठूलो सजाय हुन्छ ।सर बाहिर निस्कन्छन् । केटाहरू हतार हतार पाइन्ट तानेर सिटमा बस्छन् । बिजय मैले चियाउँदै गरेको झ्याल छेउकै सिटमा बस्छ अनि बाहिर हेर्छ , केही सोच्छ , सायद भोली के बाहाना बनाउँ र स्कुल नआउँ ? दिमागमा टाउँको र भुँडी दुखेको बाहानाको दौड चल्छ । भुँडी दुखाईले थोरै अर्गताले जित हासिल गर्छ अनि बिजय पर्सीको बाहाना सम्झेर मुस्कुराउँछ “ सर आई वाज एबसेन्ट येसटर्डे ” ।
चामल बोकेर आएको ठूलो ट्रकले मलाई फेरी एकपटक त्यो रातो भित्तामा ल्याएर छोडिदियो । माथि झ्यालमा हेरेँ शुन्यता थियो , झ्याल बन्द थियो केही आवाज थिएन । न फेरी घण्टी बज्यो न गुड मर्नीङ्गको आवाजनै सुनेँ । प्रोएड मोटरसाइकल पार्किङलाईृ औलाहरूले बिस्तारैँ छोएँ । केही बर्ष देखी मौन बसेको भित्ता बोलीरहेझै लाग्यो । त्यही क्षण मैले थाहा पाएँ मेरी आमाले आफ्ना मामाको कोटको टाँक बचाएर राख्नुको अर्थ , बाबाले बितेकी आमाको गुन्यु सुघ्नुको अर्थ अनि मैले भित्ताको अक्षर सुमसुमाउनुको अर्थ । संसारमा केही यस्ता निर्जीव कुराहरू हुन्छन् जस्मा मान्छेले थोरै जिवन लुकाएका हुन्छन् , त्यस्ता निर्जीव कुराहरू कोही बेला ठोक्किन आउँछन् मान्छे सँग जीवनको कुनै कालमा अनि सोध्छन् के अझै मलाई सम्झदै छस् ?
म अहिले पनि बजारमा कट्टु किन्न जाँदा , पसलको सोकेसतिर आँखा डुलाउँछु , कतै तेर्सो बुट्टाभएको रातो अनि कालो छिर्केमिर्के कट्टु त छैन भनेर । सायद मेरा याद बोल्ने कट्टु बजारमा आउँनै छाडे ।
बिजय लुईटेल
Comments
Post a Comment