सुख्खा हावा चलेको छ गुनगुनाउँदै , कसैले गीत गाए जस्तो । त्यो हावाले तिम्रो कानमा सुइइ आवाज दिएर जाँदा मैले बोलाए जस्तो लाग्छ कि लाग्दैन ? नलागे पनि केही गुनासो छैन तर त्यो हावाले बगाएर ल्याएको चिसोपनले त पक्कै मेरो सम्झना दिलाउला ।
आकाशमा फाट्टफुट्ट बादल छाएका छन् । एउटा बादलको टुक्रा अर्को बादलको टुक्रालाई समाउँन खोज्दैछ , त्यो बादलको टुक्रा बिचको सानो दुरीे देख्दा तिमीलाई मैले पछ्याए जस्तो लाग्छ कि लाग्दैन ? नलागे पनि केही गुनासो छैन तर आकाशको अर्को कुनामा एक्लै बग्दै गरेको बादलको टुक्राले त पक्कै मेरो सम्झना दिलाउँला ।
मलाई त आइ रहन्छ तिम्रो सम्झना , यसै बाटोमा हिड्दा , घरमै बस्दा , किताब पढ्दा अनि सबै तिर । पार्कमा एउटा जोडी बसिरहेका छन्, घाम मज्जाले लागेको छ , एक अर्कालाई हेर्दै मुस्कुराउँदै छन् , तिनको मुस्कानले मलाई तिम्रो सम्झना दिलाउँछ । केटीले गर्मी भयो भनेर छाता खोल्छे मलाई त्यो छाताको छाँयाले पनि तिम्रो सम्झना दिलाउँछ ।
कुर्पी परेका बुढा बुढी हात समाएर बाटो काट्दैछन् , एकै पटक पाइला चाल्दै । मलाई तिनले छोडेको पाइलाको छापले तिम्रो सम्झना दिलाउँछ । ति बुढा बुढी बाटो काटेर ओजेल परेको खाली घुम्तीले पनि तिम्रो सम्झना दिलाउँछ ।
रुखको हाँगामा एउटा चरो बसेको छ , कसैको प्रतिक्षा गरेर , मलाइ त्यो चरोको पतिक्षा देखेर तिम्रो सम्झना आउँछ , चरा उडेर कतै जान खोज्छ अनि घरको सिसामा मज्जाले बजारिन्छ मलाई चराको पिडाले पनि तिम्रै सम्झना दिलाउँछ ।
मौसम साँच्चै उदास छ । अनि मान्छे भन्छन् फेब्रवरी प्रेमको मौसम हो, खुसीको मौसम हो । मलाई पनि यसो प्रेमको मौसममा तिमीलाई सम्झिन मन लाग्यो । हुन त हाम्रो प्रेम फेब्रवरी को थिएन तै पनि फेब्रवरी महिना आउँदा आज पनि म तिमीलाई सम्झन्छु , तिमी के गर्छौ ?
बिजय लुईटेल
Comments
Post a Comment