Photo by Kira auf der Heide on Unsplash |
पार्सललाई हेर्छे हरियो पेपरले र्याप गरिएको छ । उसको मनपर्ने रङ्ग हो हरियो । बाहिर सेतो पेपरमा आरजु अनि रेस्टुरेन्टको नाम लेखिएको छ । पार्सल हेर्दा जुत्ताको बाकस जस्तो लाग्छ । बिस्तारै खोल्छे पार्सल , भित्र एउटा खेलौना कार छ । को बौलाएको इन्जिनियर सक्न आँटेको मान्छेलाई खेलौना कार पठाँउने भनेर हाँस्छे मनमनै । कार कालो रङ्गको छ टलक्क टल्किने । उसले कारलाई बाकसबाट झिक्छे अनि एकछिन टेबलमाथि कुदाउँछे , त्यसो गर्दा उसलाई आफु बच्चाझै लाग्छ । कुदाइ सकेर बाकस हेर्छे कागज छ एउटा केही लेखिएको , कागजलाई हातमा लिन्छे अनि हेर्छे प्यारी आरजु तिम्रो २०१९ को न्यु इयर रिसोलुसन ल्याम्बो किन्ने थियो हैन , मैले ल्याम्बो खोजेँ कतै भेटिन यो खेलौनाले चलाउनु पर्ने भयो यो साल । आइ मिस यु । अनि जिब्रो निकालेको दुईटा स्माइली छ अन्तिममा । पठाँउनेको नाम कतै छैन । आरजु एकछिन अल्मिलिन्छे कस्लाई भनेँ मैले मेरो मेरो रिसोलुसन भनी अनि भनेकै भए पनि जिस्केर भनेँ होला को हो यस्तो सिरियसली लिने । एक बर्ष अघिको कुरा सम्झन खोज्छे अनि उसलाई बिबेकको याद आउँछ , एउटा ऊ नै त थियो बालख जस्तो । सम्झन्छे एकपल्ट भेटौँ
भेटौँ भनेर बिबेकले कर गर्दा उसले नाइ भनेको अनि बिबेकले एउटा कागजमा आँफै डाक्टरको पर्ची बनाएको । कागज सम्झदा पनि उसलाई हाँसो लाग्छ , हर्ट बिट , आरजु बिटिङ इनसाइड , बिचमा चाँहि केस इस क्रीटिकल मिट आरजु वीथइन फिउ डेज अदरवाइज डिफिकल्टी मे इन्क्रीज अनि अन्तिमा डक्टरको नाम के थियो बिर्सी अहिले , त्यस्को मुनि एम डी बिबेक आरजु मिलन । यस्तो नचाइदो कहाँ बाट आउँथ्यो उस्लाई, पागल नै थियो भन्छे मनमनै । नबोलेको एक बर्ष हुँदा पनि किन बिर्सन सक्दैन यो मान्छे मलाई भनेर अचम्म लाग्छ आरजुलाई ।
जाउलाखेलको मुलबाटो को छेउकको घर, तिनतला माथि , एउटा कुर्सीमा अडेस लागिरहेको छ बिबेक । अगाडि कम्प्युटरमा एक्सेल खुलिरहेको छ , चिसो भएकाले एसी अन छ । सात बज्ज लाग्दा पनि काम नसकिएर ओभरटाइम गरिरहेको छ । त्यहाँ ऊ र पाले दाइ भन्दा कोही छैन अरु । गर्नुपर्ने काम धेरै हुँदा पनि मन लागिरहेको छैन बिबेकको । कुर्सीबाट उठ्दै बस्दै गरिरहेको छ , हतार भएको जस्तो गरिरहेको छ तर के को हो ऊ आँफैलाई थाहा छैन । पानी दुई कप खाइसकेको छ तर अझै प्सास मेटिएको छैन , अझ एक कप पानी सार्छ अनि एकै पल्ट मुख लाएर कप रित्याउँछ । के को कमि छ भन्न सकिरहेको छैन आँफै सँग । आरजु जस्तै उसले पनि आँफुलाई समय दिन सकिरहेको छैन अचेल । दिन भरीको काम अनि रातको एक्लोपनले टुक्राएको छ उसलाई । एकछिन कुर्सीमा बस्छ केही सेच्छ अनि टेबलको मोबाइल झिक्छ । संजयलाई फोन लागेको दुई रिङ पछि आवाज आउँछ अँ भन , बिबेक भन्छ ओए त्यो पार्सल पुर्याइस त ? अँ डोकामा छाडेर आको छु देबदास, पाइसकि होला ,अनि घर कति खेर मर्छस ? साले कुकुर अब एकछिनमा । ल ल राख म पनि घर हिडेको भोली भेटैँला । फोन राखेपछि बिबेकलाई झन छटपटी हुन्छ , आरजुलाई फोन गरौँ कि भन्ने सोच्छ । गिफ्ट खोलेपछि आफै बोल्न खोज्छे होला भनेर मन थाम्छ । फोन नम्बरपो डिलिट गरि कि भनेर डराउँछ , एक बर्षमा के के हुँदैन र उसलाई कोही मनपर्यो कि , म सँग अब बोल्न खोज्दिन होला यस्तै यस्तै कुरा सोच्छ , आफु किन यति नकारात्मक भएको भनेर आँफै सँग असन्तुष्ट हुन्छ । धैर्यता भन्ने एक पैसाको छैन ममा कहाँ के गर्दै छे पार्सल पनि खोलेको छैन होला , जहिल्यै हतारिन्छु यस्तै भएर हो म सँग बोल्न छोडेकी भन्दै मन बुझाउँछ । एकछिन कम्प्युटरमा काम गर्न खोज्छ तर मननै बेचेन भएकोले काम गर्नै सक्दैन । कम्प्युटर निभाउँछ, ब्याग बोक्छ , मोबाइल गोजीमा हाल्छ , हेल्मेट बोक्छ अनि पाले दाइलाई बिदा मागेर निस्कन्छ । गेटमा आइ पुग्दा ८ बजेको हुन्छ । बाइक स्टार्ट गरेर घर तिर लाग्छ , बेला बेला पेन्टको गोजीमा भएको मोबाइल भाइब्रेट भएझै लाग्छ , एक ठाँउ बाइक रोकेर हेर्छ , केही आएको हुन्न न म्यासेज न कल । त्यसपछि सिधै घर आएर खाना खान जान्छ ।
आरजु दुई तिन पल्ट काउन्टर गई ,काम गरि अनि फेरि त्यो खेलौनको छेउमा बसेर केही सोचीरही जतीखेर बिबेक मन नलागि नलागि ओभरटाइम गरिरहेको थियो । त्यस बिचमा एक पल्ट बिक्रम दाई लाई पनि सोधि दाइ कस्ले ल्याएको थियो त्यो पार्सल देख्नुभयो ? दाइले हास्दै भनैँ म जाँदा पार्सल मात्र थियो । अनि अहिले पार्सल हेर्दै पुराना दिन सम्झिदै छे ।
साच्चै पागल थियो अनि कचकचे पनि , त्यो मान्छेको दिमागमा के खेल्छ भन्नै नसकिने , कोही बेला मज्जासँग बोल्थ्यो अनि कोही बेला के के कुरामा कचकच गर्ने , मैले समय दिइन भन्ने कोही बेला कोही बेला तिमी बिजी छौ म धेर कचकच गर्छु है भन्ने । कोही बेला बिहानै म कलेज जाने बेलामा कबिता लेखेर पठाउँथ्यो । सबै कुरा भनेर पनि केही लुकाए जस्तो मान्छे थियो । एक दिन भेटौ भन्यो अनि भेट्न ठिक परेको थिएँ फोन पनि नगरि गएछ साथीहरुसँग घुम्न । मैले आइन्दा म सँग नबोल्नु भनेर म्यासेज पठाएपछि १५ दिन सम्म सरी भनेर हैरान पार्यो । साथीहरुले माफ गर्दे न त भनेपछि मात्र बोल्न थालेको थिएँ । कहिल्यै डेटमा नगएको भएर म सँग भेट्न नआएको रे । के के भन्ने भन्ने त्यसपछि कामले हो कि , मज्जाले गफ गर्न पाइएन । बिचमा एक दिन मेरो अको साथी बिबेकलाई फोन गर्दा उसलाई लागेछ , काम मा थियो होला मज्जाले बोल्न पनि भ्याएन त्यसको भोली पल्ट देखि के भयो एकोहोरो मेरो पछि लागेको थियो । एक बर्ष बोल्दा झन्डै पाँच महिना मज्जाले बोलेका थियौ ,अनि ४ ५ पल्ट भेटेको होला । तिमी बिना केहीमा मन लाग्दैन भन्थ्यो जिन्दगीमा यस्तो साइकोसँग पनि लभ पर्ला भन्ने लागेको थिएन । मलाई मोबाइलमा अनेक म्यासेज पठाँउथ्यो म रिप्लाई खासै गर्दिनथेँ धेरै जसो काममा हुन्थेँ अनि एउटा मात्र म्यासेज भए पो दिनु रिप्लाई, एउटा पठाँउथ्यो अनि एकैछिनमा अर्को गर्दा गर्दै ५ ७ ओटा हुन्थ्यो । पर्खन एकछिन पनि नसक्ने के खालको मान्छे थियो अझै बुझेको छैन । अनि कचकच सुरु फेरी म यसो गर्देछु भन म तिमी फ्री भएपछि म्यासेज गर्छु अनि फ्री भएर म्यासेज पठायो पुरानो कुरा गरेर हैरान , यसो गरेनौ उसो गरेनौ भन्थ्यो जहिल्यै पनि । म कोइ बेला मलाई तिमी सँग बोल्न पुग्यो भनिदिन्थेँ अनि कति सजिल्यै भन्छौ है भनेर निउँ खोज्थ्यो । अनि एक दिन , झन्डै एक बर्ष भयो कुरै कुरामा तिमीले मेरो ख्यालनै गर्दैर्नौ मेरो अपरेसन भएर एक महिना थला परेँ तिमीले कहिल्यै सोधेनौ भन्यो , मलाइ पनि साच्चै मैले उसलाई ख्याल गरिनछु भन्ने लाग्यो । कहिले भएको अपरेसन भनेर सोधेको थिएँ तिमीलाई देख्नु भन्दा पहिले भन्यो, काम ले थाकेर रिस पनि उठेको थियो त्यही माथी थाहानै नभएको कुरामा मेरो दोष देखाएपछि झनक्क रिस उठ्यो । मलाई तिमी नभएको गल्ती देखाएर गलत देखाउन खोज्छौ भनेर हकारेँ अनि ब्लक गर्दीए म्यासेन्जरमा , भाइबरमा म्यासेज पठायो त्यहाँ पनि ब्लक गरेँ अनि मोबाइलमा म्यासेज गर्न थाल्यो मैले आइन्दा मलाई म्यासेज नगर्नु भनेपछि आज एकैचोटी यो पार्सल किन पठाउँदै छ ?
आरजुको दिमागमा यस्तै कुराहरु खेलिरहे , नराम्रो त बिबेक लाग्ने हैन उसलाई तर दिनै पिछेको कचकच देखि आजित भएकी थिइ ऊ । कार हातमा उठाँइ अनि ब्यागमा हालेर घर तिर हिडीँ, ८ बज्नै लागेको थियो । घर गएर खाना पकाउनु थियो ।
यता बिबेक खाना खाएर ओछ्यानमा पल्टेको छ, रातको ९ बजेको छ । पुरानो कुरा छरपस्ट भएको छ दिमागमा ।सम्झन्छ केहि नसोची लाएको मायाले मलाई के के सोच्ने बनायो । एकदम अनौठो थिइ केटी , एक नजरमै मन परेको थियो , झन देखेपछि त मन सम्हाल्न सकिन मैले । भोन्दु रे मेरो नाम , कस्ले सिकाको हो नाम राख्न ? अर्थ थाहा नपाए पनि खुसी लाग्थ्यो नाम सुनेर । पछि किन हो मलाई यो नामले बोलाउनै छोडी , कामले गर्दा खासै बोल्न पाएको पनि थिइन । उ पनि ब्यस्तै हुन्थी एक दिन अचानक फोन आयो मोबाइलमा, काममा थिएँ , उठाएर हेलो मात्र के भनेको थिएँ ओइ का छस् रे । मलाई कहिल्यै तँ नभन्ने केटीले एक्कासी तँ भन्दा छक्क परेको थिएँ । पछि अर्कैलाई फोन गर्दा तिमीलाई गयो भनी । कामले गर्दा फोनमा धेरै बेर बोल्न पाइन फोनमा पनि धेरै गफ भएन । मलाई लाग्यो मैले काम काम भन्दा भन्दै उसलाई समय दिन बिर्सेछु , उसको कलले म पनि तिम्रो जिवनमा छु भनेझै लाग्यो । एकदम ग्लानी भएको थियो मलाई । त्यसपछि कति बोल्न खोजेँ म, माफ पनि मागेँ । मैले गल्ती गरेको थिएँ र छटपटाएँ , मैले गरेको गल्तीले केही सजाए त पाउँनै थियो । सायद ऊ अझ ब्यस्त भइ या म सँग सम्बन्ध टुटाउन खोजी मैले मेसो पाइन । भेट्दा कति मिठो गफ गर्थी मैले पनि बुझ्नु पर्ने थियो मन नपराउने भए किन भेट्न आउथी ? म्यासेज पठाउँथेँ रिप्लाई आउँदेनथ्यो , आए पनि बेला बेला मात्र आउँथ्यो । बोल्न खोज्दा खोज्दै म कति बेला गनगने भए थाहै पाइन मैले । धैर्यता फिटिक्कै थिएन ममा । मेसेज पर्खदा पर्खदै गलेको थिएँ , भनेको पनि हो म यती बेला फ्री हुन्छु भन म त्यही बेला बोल्छु तर अह त्यस्तो दिन बिरलै आयो , जस्मा उसले मसँग बोल्ने चाहना देखाएकी होस । मलाई त जसरी नि ऊ चाहिएको थियो , डर थियो कतै मैले उसलाई गुमाउने त होइन , डरले मान्छेलाई काँतर होइन बाहादुर बनाउँदो रहेछ । मैले नडराइ झुट बोलेँ , मेरो अपरेसन हुँदा तिमीले मलाई ख्याल गरिनौ भनेर । सायद उसलाई नराम्रो लाग्यो अनि सोधी कहिले भएको अपरेसन ? मैले तिमीलाई भेटुन भन्दा पहिले भनिदिएँ । मैले उसलाई पाउनलाई बोलेको झुट मेरो सब भन्दा ठूलो गल्ति भयो । माफ मागेँ तर कति माफ गर्दियोस उसले पनि , मलाई ब्लक गर्दी मेसेन्जर र भाइबरमा । दुई तिन दिन म्यासेज गरेँ मोबाइलमा , अब म्यासेज नगर भनेपछि आँट आएन । एक बर्ष भइसक्यो अब पछाडि फर्कन्न भन्दा पनि किन याद आउँछ मलाई उसको ?
खाना पकाएर , धन्दा गर्दा कति पटक सम्झि आरजुले बिबेकलाई , बिबेकले गरेको कुरा सम्झि, उसलाई घर छोड्न आउँदा बिबेकले म तिमीलाई मनपराउँछु भनेर रुन्चे अनुहार लाएको सम्झि , बिबेक ले सधै पठाउने गुड मर्निङ र गुड नाइट मेसेज सम्झि , बिबेकले नजिक आउँन गरेको प्रयास सम्झि , बिबेकले बोल्नलाई घण्टौ पर्खेको सम्झि
भोलीको अफिसको काम को बारेमा सोच्दा बिबेकले पनि पटक पटक आरजुलाई सम्झियो , ऊ सँग हिडेको सम्झियो , कफी खाँदा आरजु हाँसेकी सम्झियो , उसलाई भेट्न आरजुले घरमा बनाएको बाहाना सम्झियो , आरजुको कपालबाट आउने सनसिल्कको बास्ना सम्झियो , एउटै प्लेटमा खाएको खाजा सम्झियो
बिगतको एक एक पत्र उप्काएर एक अर्कालाई सम्झे , आरजु र बिबेक दुबै हातमा मोबाइल बोकेर टोलाइरहे , दुबैलाई एकअर्का सँग बोल्न मन भयो । बिबेकले मन दरो बनाएर कल लगायो , रातको १० बजेको छ । एक रिङ्गमै आरजुले फोन उठाइ । उताबाट हेलो आएपछि बिबेकले भन्यो खाना खायौ , उम तिमीले भनी आरजुले , बिबेकले मैले पनि खाएँ भनेपछि एकछिन मौनता छायो अनि बिबेक आफैले भन्यो आरजु तिम्रो सारै याद आउँछ , उताबाट केही उतर आएन सुक सुक मात्र आइ रह्यो । बिबेकले भन्यो आरजु मैले मेरो तिन ओटै रिसोलुसन पुरा गरे नि । जागिर खान थालेँ , मान्छेले चिन्ने लेखक भएँ अनि तिमीलाई पहिला भन्दा पनि मनपराउँछु भनेको थिएँ त्यो पनि पुरा भयो । सुक सुक गर्दै आरजुले भनी माया धेरै गर्छु भन्नेले यसरी माया मार्छन त ? मन भारी बनाएर बिबेकले भन्यो तिमीलेनै नबोल भनेपछि के भनेर बोल्नु म भन त ? मैले रिसमा भनेको थिएँ , सधैँ फकाउथ्यो त्यो बेला पनि फकाउँछौ जस्तो लाग्यो मलाइ भन्दै फेरि सुकसुकाइ आरजु । आरजु अब बाचा गर मलाई छोडेर कहिल्यै जान्न भनेर आरजुको आँसु रोक्ने प्रयास गर्यो बिबेकले । आरजुले घुर्की लगाउँदै भनि पहिला तिमी बाचा गर । बिबेकले धेरै पछि आरजु सँग हार्दे थियो, हाँसी हाँसी कसम खाइदियो । आरजु अनि गिफ्ट कस्तो लाग्यो ? कुरा मोड्न सोध्यो बिबेकले । तिमी जस्तै फिल्मी यती मात्र भनि आरजुले । अनि आरजु तिम्रो रेस्टुरेन्टमा तिम्रो जुठो चिया पाइन्छ ? जिस्कदै सोध्यो बिबेकले । अँ हाम्रो स्पेसलनै त्यै हो भनी आरजुले । बिबेकले रिसाए जस्तो गरेर भन्यो अब आइन्दा त्यस्तो बेच्ने हैन धेरैको माया बस्छ तिमी सँग अनि म को भनेर बाँच्नु ? आरजुले हाँस्दै भनि अँ खुब थाहा छ तिमीलाई माया त्यतीकै बस्छ कि के हो पर्नेको जुठो नखाइ पर्छ । बिबेक भन्छ हाम्रो जस्तै है ।।। आरजु हास्छे गफ कति आको हो यो मान्छेलाई ।
त्यसपछि के के गफ गरे कति बजे सुते । बिबेक जुठो चिया खान गयो गएन सबै कुरा रहस्यनै छ तर सुन्छु उनीहरु खुसी छन् , अचेल गनगन गदैन अरे बिबेक , आरजु पनि बोलाउँछे अरे बिबेक अनलाइन आउ भनेर । एक अर्काको आवाज नसुनि निद्रा पनि पो पर्दैन रे उनीहरूलाई ।।।।।
बिजय लुईटेल
WAAAAAAAAAAA
ReplyDelete