कोठा पुरै अध्यारो नभए पनि मधुरो छ , आल्नामा लुगाफाटा छरपस्ट छन् , मोजाका केही जोर भुर्इँमा छरिएका छन् । ब्लाङकेट भित्र सुतिरहेको छ ऊ , निदाएको त छैन होला तर आँखा बन्द छ , छेउमा दाल्मोटको बटुको छ, यसो हेर्दा ढुसी परेको जस्तो सेतो देखिन्छ बटुकाको माथिल्लो भागमा । पढ्दै गरेको टु किल अ मोकिङबर्ड किताबको बिचतिर बुकमार्क छ । ल्याप्टप ऊ सुतेकै छेउमा छ, लाग्दछ केही हेर्दै थियो एकछिन अगाडि , आदामै पज गरेको छ त्यो पनि ।
ब्लाङकेटमा ऊ गुजगुजाउँछ अनि उठेर खाटमा सिरानीलाई ठाढो पारेर अडेस लाग्छ । आफ्नो छेउको पर्दा थोरै खोल्छ अनि दाल्मोट राखेको टेबलमा हेर्छ , केही त पक्कै साच्दै होला त्यो दाल्मोट देखेर । त्यही छेउमा रहेको एउटा सानो डायरी तान्छ , केही लेख्छु जस्तो गरेर । हातमा डायरी र पेन लिएर झ्यालबाट बाहिर हेर्छ , केही सोच्छ अनि डायरीमा लेख्छ । एकछिन पछि लेखेको कोर्छ अनि कागज च्यातेर मोजा भएको ठाँउमा पुग्ने गरि फाल्छ । दुई चार पल्ट त्यसो गरेपछि चै उसले धेरै बेर लेखेको जस्तो गर्छ , कागज फ्याँक्न रोकिन्छ । दुई चार पाना भएको जस्तो देखिन्छ ।।। कलम र डायरी भुईमा राखेपछि ऊ उठ्छ । उसले कोठाको मधुरो बत्ती बालेको छ , बत्ती भन्दा मधुरो उसको मुहार छ । मधुरो प्रकाशमा अझै केही शब्द कोर्छ डायरीमा अनि बन्द गर्छ । बन्द गरेपछि एक पल्छ सुम्सुमाउछ त्यो डायरी त्यसपछि खाटको घर्रामा कोचिदिन्छ । उठेर उसले ठूलो बत्ती बाल्छ अनि भुईको मोजा टिपेर खाटको अर्को घर्रामा हाल्छ , म त्यही मौकामा डोका ठेल्छु उसले मलाई खुम्चेको मुहारले स्वागत गर्छ ।
के छ मित्र सरसफाइमा लागेको छस् नि ? भन्छु उसले अघि फ्याँकेको कागज टिप्दै गर्दा । भन्छ आज सफा कस्तो हुँदो रहेछ हेर्न मन लाग्यो अनि उसैगरि हाँस्छ फिक्का हाँसो । एकछिन हेर्छु केही नबोली , उसले कोठा मिलाएर चिटिक्क पार्छ । ओइ साले हिड तेरो दाजुले तलाई आज बबाल चियाँ खुबाउँछ । एकछिन अगाडिको निन्याउँरो केटो एक्कसि चियाको फर्माइसपो गर्छ बा । मैले हिड् भनेर उसलाई भान्छा सम्म पछ्याएँ । दुई कप दुधको चिया ल्याएर टेबलमा राख्यो अनि भन्यो के हुदै छ ममता सँग तेरो ? साले तलाई जे मा पनि केटीकै कुरा गर्नु पर्छ , ठिकै छ । हास्दै भन्छ अब तेरो दिमाग चल्ने नै त्यतै हो गतिलो कुरा त तैँले बुझेँ पो गर्नु ।
तेरो के छ नि तेरो त्यो सँग ? मैले एक दुई पल्ट उसले मुस्कुराउँदै च्याट गरेको देखेको थिए , को हो भन्दा मुसुक्क मुस्काउँथ्यो । आज पटक्कै मुस्काएन । थुक्क हाँडीघोप्टे च्याट गर्ने सबै केटी सँग लभ पर्छ भन्दै फेरी फिक्का हाँस्यो । उसको मुस्कानमा खुसि थिएन, मैले यो कुरा नकोट्याउने बिचार गरेर सोधेँ भोली फुटसल खेल्न जान्छस् हैन ? मलाई लागेको थियो सधै झै आज पनि जाँन्न भन्छ भनेर तर उसले जाँउ भनेर सहमति जनायो , धैरै पछि मिल्ने साथी सँग खेल्न पाइने भयो भनेर खुसी लाग्यो । ओइ भोक लाग्यो केही ले भनेर मागेँ , अघि भन्नु पर्छ नि मैले पनि बिर्सेछु भनेर भुटेको मकै र भटमास ल्याएर राखिदियो । मैले खानै मात्र लागेको थिए कति बजे खेल्ने भनेर सोध्यो मैले ५–६ भनँे उसले ल ल मात्र भन्यो ।
चिया खाइसकेर तल केठामा झर्यौ उसले टेबलमा भएको बिर्गेको दाल्मोट म बाट लुकाउन खोज्दै बाहिर लिएर गयो मैले त्यही मौकामा उसको घर्रामा भएको डायरी आफ्नो सुरुवालले चेपेर ढाडमा लुकाएँ । अनि घर्रा बन्द गरिदिएँ । एक छिनमा बटुको माझेर केठामा पस्यो ऊ । मलाई डर लाग्न थाल्यो कतै उसले डायरी त खोज्ने हैन कहिल्यै केही नचोरेको मान्छेलाई सायद यस्तै हुन्छ , पसिना आए जस्तो भयो । बसौ भने डायरी खोज्ला नबस्नै जाती लाग्यो । भनँे ओइ मेरो एकछिन बानेश्वर जानु छ म जान्छु है अनि भोली फुटसल खेल्ने बेलामा नाइँ भन्न पाउँदैनस् नि । उसले ल ल ठूला कुरा नगर मुला भनेर टारिदियो । म डायरी बोकेर सिधै घर गएँ । ५ ६ ओटा लेख लेखिएको थियो डायरीमा , मनले अन्तिमको नै हेर्ने कर गर्यो अनि अन्तिमको लेख पल्टाएँ । अरु जस्तो यो लेखमा शिर्षक थिएन तैपनि पढ्न थालेँ ।
मलाई दुखेको छ । ठ्याक्कै यहाँ भनेर देखाउन सक्दिन । सायद देख्न नसकिने अङ्ग दुखेका छन् , सम्झना दुखेको छ , बिश्वास दुखेको छ , खै के के दुखेको छ सबै भन्न सक्दिन । यो साँझै मरेझै लागिरहेको छ मलाई, केबल जिउँदो छ त याद र छटपटी । लाग्छ मलाई मेरा गल्तीले मलाई तर्साउनलाई आवाज दिइरहेछन् , मेरा चाहनाहरु गिज्याइरहेछन् , मेरा सपना मलाई होच्याइरहेछन् । तर म खुसी छु मेरा गल्तीहरुसित, लाग्छ यिनै गल्ती हुन मैले प्रयास गरेको थिएँ भन्ने प्रमाण, प्रयासनै नगर्ने ले त के गल्ती गर्छ र ? प्रयास गर्नेको कहिल्यै हार हुन्न भन्छन् , मैले पनि केही जितेको छु । उनलाई हारेर आँफुलाई जितेको छु । मेरा साना चाहनाहरुलाई मारेर मैले आफुलाई जितेको छु । सानो सानो कुरामा चस्कने मुटुलाई दरो बनाई आफैलाई जितेको छु । अझ प्रयास गर भनिरहने मनलाई हप्काएर जितेको छु । मेरा प्रयासले मलाई हराइदिए मैले प्रयासलाई मबाट हटाएर जितेको छु ।
अन्तिम पल्ट तिमीलाई सम्झेर अब म आफुलाई अझै जित्न चाहन्छु । अनौठो लाग्दो हो तिमीलाई सधै तिमीलाई जित्न दिने मैले आज किन जित्न खोज्दैछु भनेर । सधै मैले हार्दा हाम्रो माया जित्यो तर अब म त्यो मरेको मायालाई जिताउन किन हारौँँ ? मलाई अब जित्नु छ । मैले लाएको मायालाई तिमीले भनेजस्तै माया गर्छु जस्तो मात्र लागेको हो गरेको हैन भनेर जित्छु । तिमीसँग बोलौ बोलौ लाग्दा तिमीले दिनमा एक पल्ट बोल्न पनि अनकनाएको सम्झेर जित्छु । तिमीलाई हेर्न मन लागेको दिन तिमीले मलाई बाई भनी नर्फकी गएको सम्झेर जित्छु । तिमीलाई म्यासेज गर्न मन लागेको दिन म तिमीले मेरो सयौँ म्यासेजलाई गरेको नजरअन्दाज सम्झेर जित्छु । तिमी सँग केही सोधौ सोधौ लागेको दिन तिमीले मलाई कहिल्यै नसोधेको मेरो हालचाल सम्झेर जित्छु । मैले जितेको दिन तिमी खुसी हुनेछौ, म पनि खुसी हुनेछु तिमी खुसी भएको दिन ।
म कयौ बर्ष नरोपेको बाझो बारी थिए, कुलो चाहिएको थियो मलाई भिजाइरहने , तर मैले झरी जस्ती तिमीमै भिज्न मन पराएँ , कहिले काँही मात्र आएर मलाई भिजाउँदा ममा चिरा परेको देखेनौ ? मैले त्यो बारीमा तिम्रै लागि गुलाफ जगाएको थिए , त्यसको हाँगो सुकेको पनि देखेनौ ? एक दुई पल्ट तिमीले मलाई भिजाएको भए त्यो गुलाफ तिम्रै त हुन्थ्यो नि । अब त झुटो बोल्नु पनि छैन गुलाफनै मरिसक्यो पानी नपाएर । भिजाइरहनु पर्दैन मलाई अब । के तिम्रो लागि गुलाफ रोप्नु गलत थियो ? यदि थियो भने म आँफुलाई गलत मानेर तिमीलाई जित्छु ।
माया देखाउने एउटा कला हुन्छ भन्छौ हैन तिमी ? ममा नभएको त्यो कला खोजेर जित्छु म तिमीलाई । नरिसाउ अब तिमी ,सधै तिमीलाई जित्न दिँदा दिँदै मैले जित्न बिर्सिएछु त्यो जित हेर्नलाई जित्छु । जिवनमा तिमीलाई जित्दा पहिलो पल्ट खुसी हुनेछु, म त्यो खुसी हेर्नलाई जित्छु । सधै तिमीलाई माफ माग्ने म अब तिमीलाई माफी दिएर जित्छु । जाउ माफ गरिदिएँ मैले तिम्रा सबै तिरस्कारहरुलाई , माफ गरिदिएँ तिमीले देको सबै चोटहरुलाई । जाउ माफ पायौ तिमीले ।
यो साँझ म तिमीलाई बिर्सन्छु अनि सम्झन्न कहिले पनि । म हार्दिन यो पाली , यो पाली पनि म हारे भने म आफैसँग हार्नेछु । अब म जित्नेछु तिमीलाई भोली बिहानको घामको झुल्को सँगै । तिमीलाई हराउनु मेरो रहर होइन बाध्यता हो , त्यही बाध्यतालाई हारेको हेर्न जित्छु म तिमीलाई अनि आँफैलाई ।
पढिसक्दा मलाई रोउँ रोउँ लाग्यो । मेरो साथीलाई सम्झेँ , उसले हाँस्ने गरेको सम्झे अनि उसले हाँस्न बिर्सेको सम्झेँ । किन साथीलाई यतिका दिन निरास छस् भनेर सोध्न सकिन ? आँफैलाई नरमाइलो लाग्यो । बोलौ बोलौ झै लाग्यो साथीसँग अनि फोन लगाएँ दुई रिङ्गमै उठायो मैले हेलो आवाज दिए पछि अँ भन भनेर आवाज दियो । मैले कुरा गर्नै सकिन अनि भने भोली धोका नदे है फुटसल खेल्नु पर्छ । थुक्क तेरो जुनि यती भन्न फोन गरेको थिइस , ल मैले बचन दिएँ आँउछु भोली । मैले हुन्छ भन्नै आटेको थिएँ उसले भन्यो साले आइन्दा मेरो सामान मलाई नसोधी नलानु, डायरी चोर। अप्ठ्यारो लाग्यो अनि भनेँ, मैले पढेको छैन म भोली ल्याइदिन्छु नरिसा न । उसले भन्यो पर्दैन मलाई चाँहिदैन तैँ राख, म रिसाको छैन । मैले भोली भेट्ने बाचा गरेर फोन काटेँ । म घर आए पछि उसले फेरी केही लेख्न खोज्यो कि जस्तो लाग्यो नत्र किन फेरी राखिसकेको डायरी खोज्थ्यो ।
भोली पल्ट फुटसलमा मैले जस्लाई भेटेँ त्यो मेरो पहिलेझै हाँस्ने साथी थियो । खेल्न छोडेको धेरै भएको उसको कुदाइले देखाउँदै थियो तर उस्को मुहार थाकेको थिएन, लाग्यो आज ऊ खेली नै रहन्छ । मेरो खुट्टा मर्केकोले एकछिन बाहिर बसेँ अनि उसलाई खेलेको हेरेँ , केही लेख्न छुटाएछ जस्तो लागेन , ऊ आफुमा पुरा थियो , मस्त थियो ।
बिजय लुईटेल
Comments
Post a Comment