आइतबारको बिहान, लगभग आठ बजेको थियो । म सिरकले मुख छोपेर, ब्युझिसकेको मलाई अझ एकछिन सुत भन्दै थिए । जागिर नभएकोले जानु पर्ने कुरै भएन , काम भनेको जम्मा चिया खाने अनि मुख धुने , त्यसमा पनि मुख धुने कामलाई त धेरै जस्तो अस्वीकारनै गर्ने गरेको थिए । मेरो सिरकलाई थोरै उठाएर एउटा भाइले भन्यो, बिजु दादा आज मेरो जन्मदिन , अनि तिन चार वटा इक्लेयर्स चक्लेट मेरो सिरानीमा राखिदियो मैले थोरै निदाउँदै बर्थडेको शुभकामना दिएँ , सुनेको नसुनेझै गरेर ऊ मेरो कोठा बाट बाहिरियो । अब उठ्ने बेला भएछ भन्ने लागेर म सिरक फ्याँकेर उठेँ । बर्थडे सँग अभ्यस्त भएको कानले जन्मदिन सुन्दा अनोठो मान्यो ।
यही असारमा बाइस बर्ष पुगेको आँफुलाई सम्झेँ । २२ ओटा बर्थडे पनि मनाइसकिएछ तर जन्मदिन नि ? मलाई मेरो स्कुलले जन्मदिन भन्दा बर्थडे मनाउन धेरै सिकायो । थाहा छैन किन सायद बर्थडे अलिक सभ्य सुनिन्छ , जे होस स्कुलले सिकाएको शब्द हो, राम्रै भएर त सिकाएको होला भन्दै मन बुझाएँ । के बर्थडेको अगाडि साच्चै कुरुप छ र जन्मदिन ? या अब जन्मदिनले अबकाश पाएको हो ? मलाई लाग्छ जन्मदिन जस्ता शब्द अब बुढा भए , अनि शब्दकोश नामक बृघ्दआश्रममा आफ्नो अन्तिम दिन गन्दैछन् , खुट्टा लाग्न छोडेका छन् जन्मदिनको । खै कस्ले लान्छ अब जन्मदिनलाइ तिर्थ यात्रामा ? दुई चार बर्षमा त घुम्ने चाहनानै मर्दो हो यिनको ।
मेरो मन आज त्यसै बिचलित भएको छ , आँफलाई दोषी देखाउँदैछ , जन्मदिनको त्यस्तो हबिगतको । मैले सानोमा ल्याक्टो फनको प्याकेट किनेर साथीलाई बाढ्दै गर्दा बर्थडे खुसी भएको थियो तर के खुसी थियो त जन्मदिन ? चक्लेट खाने सबैको जिब्रोले बर्थडेलाई सम्झ्यो होला अनि कस्ले सम्झ्यो जन्मदिन ? किन भनिन मैले आज मेरो बर्थडे हैन जन्मदिन हो भनेर कसैलाई ? किनकी स्कुलले मलाई जन्मदिन भन्दा बर्थडे ब्यबहारिक छ भनेर सिकाएको थियो । मेरा नेपाली शिक्षक एउटा गुनासो छ मलाई तपाईँहरुसँग , नजिकको तिर्थ हेला भन्ने टुक्काको अर्थ बुझाउँदा किन मलाई जन्मदिनको उदाहरण दिनु भएन ? के जन्मदिन हाम्रो आफ्नो होइन ? के ऊ हेला भएको छैन ? अनि नैतिक शिक्षा पढाउँने शिक्षक , दुःखीलाई सहयोग गर्नु पर्छ भन्दै गर्दा रुदै बसेको जन्मदिनलाई किन देख्नुभएन ? मलाई माफ गरिदिनुस मेरा गुरुहरु म आज बर्थडेलाई जन्मदिन भन्दा व्यबहारिक मान्न सकिरहेको छैन ।
मलाई आज एउटा ११ बर्षको केटोले बिर्सिसकेको जन्मदिन सम्झाइदियो । मलाई अब माफ माग्नु छ मैले नमनाएको बाइस ओटा जन्मदिन सँग । के लिएर जाँउ म माफ माग्न, कुन मुख लिएर ? यही मुख हो जस्ले तिम्रो नाम बाइस बर्षमा एक पल्ट पनि भन्न रुचाएनन् भनेर कसरी भनौ ? तर अब म आउँदो असारमा तिमीलाई भेट्न आउँछु मेरो जन्मदिन पारेर अनि चिनजान गराउँछु २१औँ शताब्दीको बर्थडेलाई, उसले बिर्साएको बुढो हजुरबुवासँग ।।।।।
बिजय लुईटेल
Comments
Post a Comment