आमा र म बडाबाको छोरा र मामाको छोराको बिबाहमा सरिक हुन इलाम पुग्यौ । मेरो दुई बर्ष पछिको यात्रा थियो त्यो । पहिलो दिन हर्कटे बजार पुगेर लुगा फेर्नु अघि मलाई मेरा हजुरबुबा बस्ने गरेको कोठाले बोलायो , सिधै कोठामा पुगेँ, त्यहाँको खाट दान दिइसकेको रहेछ , बा त्यहाँ हुनुहुन्थ्यो भन्दै थियो त्यहाँ काँटीमा झुन्डीएको कालो कोटले । कालो कोट लगाइदिनेको कमीले निरास देखिन्थ्यो । मलाई हजुरबुवाले घोडा भनेर भैसी चढ्दा भैसीले तिघ्रामा सिङले हानेको कुरा सुनाएको हिजै जस्तो लागिरह्यो । लाग्यो हजुरबुवाको जुत्ता अझै हिड्दैछन् हर्कटेको बाटामा , मुल घर जाने बाटामा, इलामका चिया बगानमा आफ्नो पाइलाको डोब छोड्दै । हजुरबुवाको पाइला सायद एक न एक दिन सबैले पछ्याउनु पर्छ जिवनको यात्रामा ।
भोलीपल्ट हामी बिहे घर फाँजीगाउँ झर्यौ । हिजो अस्ति सम्म केटाकेटी जस्तो दाजू बिबाह बन्धनमा बाधिन लागेका थिए । मेरा कान्छो काका बिहेको अघिल्लो दिन आइपुग्नुभयो, काका, काका जस्तो नभइ साथी जस्तो हुनुहुन्छ । काका सँग सधै एक दर्जन जोक्स रेडी हुन्छ माहोल बनाउँनलाई । सहरको भन्दा फरक हुँदो रहेछ गाँउको बिबाह, साथी भाइ, नाता गोता, छरछिमेक केही दिन अघि भेला हुने , काम गर्ने । बिबाह घर कुनै मेला जस्तो हुँदो रहेछ , कसार बाट्ने देखी लिएर , रोटी बनाउने मान्छे हाँसखेलमै काम भ्याउँदा रहेछन् । हामीले पनि बुनिया बनाउने काम देखी लिएर, खसी काट्ने काम थाहै नपाई पुरा गर्यौ, गफ र होहल्लामै । जन्ती जाने दिन आफु र बेहुलालाई सजाएर म र नारायण दाजू बाइकमा लाग्यौ बिर्तामोड तिर, बाटोमा बाइक रोकेर एक दुई ओटा फोटो खिच्दै हामी बिर्तामोड पुग्यौ, हामी पुगेको केही बेरमा जन्ती पनि आइपुगे । बेहुलालाई छ्यापेको अक्षता छेक्ने र जुत्ता जोगाउने जिम्मा मैले पाएँ । बेहुला बेहुली पासा खेल्दा, बेहुला बेहुलीको टाउको माथिको कपडा तान्दा जितेको हामीलाई सोल्टिनी हरुले धादली गरेर हराएरै छोडे । राम्रा सोल्टीनी भएर होला हारे जस्तो लागेन केही जिते जस्तो लागिरह्यो ।
बेहुली बिदाइ गर्दा झरेका आँसुले मलाई सधै निरास बनाउँथ्यो, त्यो दिन पनि फरक भएन । मलाई भाउजूु भेट्नुको खुसी भन्दा कसैले आफ्नी छोरीलाई सधैका लागि अर्काको घर पठाउँदै गरेको दृश्यले धेरै बिथ्योल्यो । कतै सुनेको थिए बिहेको नराम्रो पक्ष के हो भनेर कोही बिबाहित नारीलाई सोध्यो भने भन्छन् हुर्केको घरमा बिहे पछि छोरी भन्दा पाहुना बढी भइन्छ । लाग्यो के अब भाउजु पनि भोली बाट आफ्नै घरमा पाहुना हुने त होइन । अनि फेरी सोचेँ, होइन भाउजूु त हामी भन्दा धनी हुनुहुने भयो , भाउजुूका दुई घर हुने भए, मेरो दाजूुको कहाँ त्यस्तो भाग्य , केटाको कहाँ त्यस्तो भाग्य । बेहुला बेहुली लिएर गाडी लाग्यो इलाम तिर । आउँदाको बाइक अब थिएन म गाडी लाग्ने डरले माइला भिनाजुको सजिलो गाडीमा चडेर हर्कटे आए । आउँदा मलाई जन्तीको गाडीमा किन आइन भन्ने लागिरह्यो, मेरो गाडी लाग्ने डरले मैले कति खुसी गुमाए ? कति यादहरुलाई मारेँ ? स्कुलको सैक्षिक यात्रामा म गाडीको अगाडिको सिटमा सुस्ताउँदा पछाडि साथीहरुले नाँचेको कल्पना गरेँ , साथीहरु हाँसेको सम्झेँ , के कुरामा हाँसेको थिए भन्न मनले सकेन, कल्पिन मन मानेन । मलाई कहिले मैले गुमाएको यस्तै यादहरुले पिरोल्छ अनि आँफै ननिको लाग्छ ।
घर पुगेर बेहुलालाई जिस्काइयो । राती नाचगानको कार्यक्रम थियो । फुपुहरुले सँगिनी गाउँनु भयो, बेहुला बेहुलीले पहिलो नम्बरमा गितमा कम्मर मर्काए । मेरा अर्का काका, रमेश काका जो मलाई भन्नुहुन्छ भाइ सम्बन्घ रगतको होइन भावनाको हुन्छ , काकाको व्यबहारले काकाको कुराको जतन गर्छ, नत्र धेरै मान्छे हुन्छन् जो भन्छन् केही र देखाउँछन् अर्कै । रमेश काका र म एक रात बस्नलाई अन्तु गयोैँ, राती अबेर सम्म गफियौँ अनि बिहान झुल्के घाम हेर्न गयौँ , तुवलोले मज्जाले डाकेर घाम नदेखिएपछि हामी अन्तु पोखरी हुदै घर आयौँ । मलाई लाग्दैन म काका जसरी सबै सँग घुलमिल हुन सक्छु, अनि के काका को उमेरमा म सँग काका जस्तो जाँगर होला ? मैले काकाबाट यहीँ सिक्नु छ भन्दै भन बुझाए । कान्छो काकाको छोरो स्कुल बिदा भएर बिहे घर आयो, त्यो रात भाइ म सँगै सुत्यो । सधै घरको कान्छो भएको सबको प्यारो म । माया धेरै पाउँदा पाउँदै बाँड्न बिर्सिएको रहेछु भाइ छेउमा सुत्दा पनि एउटा छुटै जिम्मेवारी बोध भयो । खुट्टा बोकाएरै सुते पनि मलाई मेरो भाइ प्यारो लाग्यो, न्यानो लाग्यो ।
घरको बिहे सकेर अब जानु थियो मामाको बिहे खान , इलाम बरबोटे । बरबोटे पुगेको दिन मैले एकै दिन लगभग पचास नयाँ अनुहार सँग परिचय गरेँ । मेरी आमा बाइस बर्ष बसेर , बेहुली भएर अन्मेको ठाँउ थियो त्यो । म पनि चार बर्ष जतिको हुदाँ त्यहाँ बसेको, घरको फोटो एल्बमले त देखाउँछ तर स्मृतिमा ति पल को केही अंशनै छैन । आमाको कान्छा मामाको घरमा बस्दै पढ्दै गरेको भाइ दर्शन सँग उसको टेबलमा राखेको सेतो धरती किताबले चिनजान गरायो । हामीले एकअर्काको रचनाहरु सुन्यौ , भोलीपल्ट उसले मलाई माइली पाथिभरा घुमाएर ल्यायो । दर्शन भाइको कुरा सुन्न सारै मजा आयो । उसको कुरा सुन्ने उत्सुक्ता पनि सानो बालख केटो जस्तै थियो । उसले गाइलाइ खोले पकाउँदै गर्दा मलाई मेरो बाबाको याद आयो । बाबा पनि यसरीनै कसैको घरमा बसेर घास खोले गर्दै पढ्नुभएको थियो । लाग्यो बाबाले कोही बेला आफ्नो सर्टिफिकेट हातमा लिदा अन्जानमै आफ्नो औला सुघ्नुहुन्छ कतै औला अझै गनाउँदै त छैन । मलाई मेरा सबै सर्टिफिकेट कपासझै हलुका लागे अनि बाबाको ओजीलो । मेरो सर्टिफिकेट बाटकेको गन्द आउला त ? लाग्छ मेरो बाट कर बास्ना आउँछ अनि बाबाको बाट रहर । दर्शन भाइ पनि अबका केही बर्षपछि आफ्नो सर्टिफिकेट हेरेर मुस्कुराउनेछ अनि म पनि कुनै ठाँउ मुस्कुराउनेछु भकारो सोरेर उसले हात धुदै गर्दा गाइले बिस्ट्याएको गोबर सम्झेर ।
अर्को दिन झापा झर्न भनेर आमा र म कान्छा मामाको बाट हिड्यौ । उकालो उक्लदै गर्दा हामी आमाले पल्ला घरे माइजु भन्ने गरेके माइजुकोमा पस्यौ । कति पछि आकी भान्जी एक दिन पनि नबसी जानुहुन्छ भन्दै माइजुले गह भरी आँसु पार्नुभयो । अनि एक बट्टा घिउ झिकेर झोलामा हालिदिनुभयो, १५ बर्ष पछि फर्केकी मेरी आमा अब अर्को पल्ट आउँदा निक्लन्छु भन्दै उकालो लाग्नु भयो, सायद माइजुले आमाको अर्को पल्ट आउँछु भन्ने कुरा पत्याउनु भएन अनि आँसुले नढाट भान्जी भन्ने भाव पोख्नुभयो । म झोला बोकेर उकालो लागेँ , आमा आफ्नो सलले आँसु पुछ्दै हुनुहुन्थ्यो, आमा एकै दिनको कुरा न हो बसेर जाँउ भन्ने मन भयो तर भोली आमाका आँसु अझ मोटा होलान भन्ने डरले बोल्न सकिन । सायद आमा यो उकालोमा दोस्रो पल्ट रुदै उक्लदै हुनुहुन्थ्यो , एक पल्ट बेहुली भएर बिदाइ हुदाँ अनि त्यो दिन त्यहाँ बिताएका बाइस बर्ष समयको यादमा । मलाइ लाग्यो आमाका आँसु र म सँगैका रहैछै दुबै बाइस बर्षका सायद अझ आँसु जेठो थियो । मलाइ ति आँसुका अघि आफु सानो लाग्यो अनि सम्झाउन पनि सकिन ति आँसुलाइ , मैले आमालाई रुन दिए । कहिलेकाही यस्तै आँसुका थोपाले आवाजले सुनाउन नसक्ने कथा सुनाउछन् , उकालोभरी आमाका आँखाले त्यो ठाँउलाई कथा सुनाइरह्यो ।
हिड्दा हिड्दै अगाडि पुगेको थिएँ, स्कुल जान हामी भन्दा पहिले हिडेका भाइ बहिनी भेटीए , एउटी सानी बहिनीलाई हात दिएँ उसले मेरो हात समाइ । मेरी आमा पनि त्यो बाटो स्कुल जाँदा सायद त्यस्तै हुनुहुन्थ्यो । बुनुले मेरो हात समाएर हिड्दा मैले आमाको हात समाएर स्कुल गइरहेझै लाग्यो । पछाडि फर्केर हेरेँ आमाले अन्तिम पल्ट सलले आँखा पुछ्नुभयो, मैले आमालाई समाउँदै आमालाई हेरिरहेँ । झापा झर्नलाई गाडी चढ्यौ , उकाली ओराली पछाडि छुट्दै गए , भावना पनि उकाली ओराली छोडेर यथार्थको मैदानमा उत्रिए ।।।
लेख राम्राे छ अलि बर्णाणात्मक भयाे। भावना छिराउनु पर्छ लेखमा । तर मज्जा आयाे पढ्दा । दुख नभाेगे नि दुखकाे स्मरण र महत्व झल्केको छ । निरन्तरता पाओस लेखनीले ।
ReplyDeleteसुझावका लागि धन्यबाद
Delete