हिजो सम्म जो मेरो समीप थियो
आज छैन तिनको अस्तित्वनै
लुटेर लग्यो कतै समयले या उडायो हावाले
यादका डाली जो फुलीरहेथे ढकमक
मनको बनमा लोभलाग्दो गरी ।।
हिजो सम्म जो हाँस्थ्यो मसँग
आज मौन छ तिनको आवाज
खोसेर लग्यो कतै घृणाले या लुकाइदियो खिन्नताले
प्रेमिल मनहरु जो खोजीरहेथे एकअर्कालाइ
धैर्यबिहिन आँखा भरी ।।
हिजो सम्म जो सुन्थ्यो मलाई
आज इक्षाको खडेरी छ
निचोरेर मार्यो आशाले या भिजाइदियो आँसुले
मायाका कोपिला जो रमाइरहेथे हावामा
चनचल चनचल बनी ।।
हिजो सम्म जो खोज्थ्यो मलाई
आज आँफै हराएको छ
बगाएर लग्यो उदासीले या पुरिदियो अहङ्कारले
सपनाको कटेरो जो बसेको थियो मनमा
प्रतिक्षा कसैको गरी ।।
हिजो सम्म जो हेथ्र्यो मलाई
आज कतै टोलाएको छ
अल्झाइदियो मज्बुरीले या ठेस लायो आकाङ्कक्षाले
खुसी खोज्ने मनलाई जो बाटो खौज्दैथिए
एकअर्कामा बिलीन बनी ।।
- बिजय लुईटेल
Comments
Post a Comment