थाहा छैन के सोच्यो मनले, धेरै समय देखी आफु भित्र गुम्सेको खिन्नता उनको सामु पोखौ झै लाग्यो । एउटा गल्तीको ग्लानीले डेरा जमाएको मनले उसलाई माफ पनि मागेको थिए माफ गरे बाबा भनेर उसले भनेकी पनि हो तर अहँ मनले मान्ने वाला थिएन, मलाइ माफ भन्दा उनी धेरै आवश्यक थियो । उसका आँखामा आँखा जुधाएर एक पल्ट भन्न मन लाग्यो मलाइ माफ गरिदेउ मबाट भुल भयो म तिमीलाइ अझै उतीकै माया गर्छु । मान्छेलाई आफ्नो गल्तीको अनुभव हुने बित्तीकै छटपटी हुदो रहेछ, मलाइ पनि त्यस्तै भयो म उसलाई भेट्न छटपटाए ।
अघिल्लो रात च्याटमा उसले भेट्नलाई नाइ भन्दा भन्दै पनि मैले उसलाई बिहान कलेज पु¥याउने निर्णय गरिसकेको थिए, जिद्दीपन उसको भन्दा कम थिएन । बिहानै साढे पाँच बजे उठेँ, दाजु पल्लो खाटमा सुतिरहेको थियो उठी हाल्यो भने कहाँ के भनेर सोध्ला भनेर बिस्तारै आवाज नगरी लुगा लगाए, आमाले तँलाइ सारै सुहाउँछ भन्ने गरेको रातो टीसर्ट लगाए, निलो जीन्स पाइन्ट अनि एउटा निलो ज्याकेट, थोरै परफ्युम लगाए अनि आँफैलाई सुघे, मिठै बासना आउछु भन्ने लागेपछि माथ्लो तलामा गए मुख धोए दाँत माजे अनि बाइक लिएर निक्लेँ उसको बस पर्खने स्टप ।
पाँच बजेर पचाँस मिनेट भएको थियो त्यहाँ पुग्दा । फोन गोजी बाट निकालेँ अनि उसलाई लगाए, फोन उठाँउदिन भन्ने डरले मनमा नारा लगाउँदै थियो । पाँच छ रिङ्क पछि उसले फोन उठाइँ, स्वर सुन्दा सुतिरहेकी छे जस्तो लाग्यो । म यहाँ बस स्टपमा बसिरहेको छु आउ है भने, उस्ले के खान यति चाडो आएको भनेर गाली गरी, म केही भन्न सकिरहेको थिइन अनि आफैले मेरो कलेज जाने टाइम साढे छ हो भनी, मैले पर्खन्छु भनेर फोन काटिदिए । पर्खन्छुु त भने अब चालीस मिनेट कसरी पर्खने भन्ने कुराले सतायो, बाइक साइड लगाए अनि बस स्टपको बेन्चमा बसेँ । हातमा मोबाइल लिएर ऊ आउने बाटो हेर्न थालेँ । प्रेमले धैर्यता खोज्छ भनेको सुनेको थिए त्यही सम्झेर पर्खे । एउटी बाटो काट्दै गरेकी केटी उ जस्तै लाग्यो, अर्की बस चढ्दै गरेकी पनि उ जस्तै लाग्यो, एक छिन त डर लाग्यो रिसाएकी छे गइ पनि होला भनेर, मलाई कस्तो कस्तो लागि रहेको थियो पहिलो पटक कसैलाई यसरी भेट्न लागेको थिए ।
उसले च्याट गर्दा भनेकी थिइ उस्लाई चोको पाइ मन पर्छ भनेर त्यही किन्न बाटो छेउको एउटा पसलमा गए । एक प्याकेट चोको पाइ मागेँ बुढाले दुइटा मात्र छ भने अनि त्यही बोकेर फेरी त्यही बेन्चमा बसेँ अरु पसल खोज्न जाँदा फेरी यता ऊ हिड्ली भन्ने डर भयो ।
समय भै सकेको थियो ऊ अझ आएको थिइन मलाई छटपटी भयो अनि फेरी कल गरेँ । फोन उठाएर आउदैछु भनी अनि फोन काटी । मलाई छ बजे देखी त्यहा बसेका अधबैसेले अनौठो मानेर हेरे सायद मेरो पखाई देखेर हो कि, जे होस मैले अलिकति अफ्ठ्यारो मानेर हाँसीदिए उनी पनि मेरो मन राख्न हाँसीदिए । मलाई त्यो प्रतिक्षा मन परिरहेको थियो, प्रतिक्षामा यदि कोही आँउने भरोसा हुन्छ भने त्यो प्रतिक्षा पनि रुचिकर बन्दो रहेछ ।
मैले उसलाई आकाशे पूलबाट झर्दै गरेको देखेँ , सुन्तला रङ्गको टीसर्ट, निलो जीन्स, स्पोर्ट सुज अनि फुकेको कपाल, मलाई त्यती राम्री कोही हुन्छ जस्तै लागेन । मैले पर बाट हात हल्लाए उसले मलाई देखेर म भए ठाँउ आइ अनि भनी मेरो बस आँउदैछ म बसमै जान्छु तिमी घर जाउँ । यो शब्दले म बौलाएझै भए, रीस पनि उठ्यो तर बिहान देखी पर्खेको छु बाहेक केही निस्केन मुखबाट । ऊ मलाई सम्झाउन थाली मैले तिमीलाई हिजै भनेको थिए मलाई बाइकमा हिड्न डर लाग्छ भनेर अनि मैले ज्याकेट पनि ल्याको छैन, मास्क पनि छैन । मैले मास्क किनेर जाँउ भनेपछि उसले मेरो आँखामा हेरी तर मैले आँखा जुधाउनै सकिन, सकू पनि कसरी एक महिनै भएको थिएन मैले उसलाई भेट्ने बाचा गरेर बाचा ननिभाएको ।
त्यस पछि बिस्तारै कुदाउ भनेर बाइकमा बसी, मैले पनि अरु दिन भन्दा बिस्तारै कुदाए । चाढो त म किन कुदाउथेँ र मलाई त ऊ सँग भरसक धेरै समय बिताउनु थियो ।अलि अगाडि पुगेपछि बाइक स्लो गर्न लगाई अनि ब्यागबाट निकालेर ज्याकेट लगाई, मलाई म सँगै जान्छु भनेर आएकी रहेछ भनेर खुसी लाग्यो । म एकदम खुसी थिए एक महिनाको बिन्तीबाट उसलाई भेट्न जो जुरेको थियो । मलाई बाइक रोकेर बाटैमा सबैकुरा भनिदिउँ झै लाग्यो तर त्यसो गर्नु अभद्र हुन्थ्यो त्यसो पनि गर्न सकिन । म सँग ऊ यसरी बोली मानौ उसलाई मसँग केही गुनासो नै छैन तर त्यही कुराले मलाई बिचलीत बनायो, म चाहन्थेँ ऊ म सँग रिसाओस । ऊ खुसी देखिन्थी, चाँहन्थेँ त म उसको खुसीनै तर त्यो खुसीमा म रमाउन सकिरहेको थिइन । म आफुलाई मुल्यहीन ठान्दै थिए ।
जाँदा कलेजको बाटोमा बन्दै गरेको पानी ट्याङ्की देखाई , कलेजको काहानी सुनाई तर त्यस्तो बाटोमा एक पल्ट पनि मलाई छोइन, मलाई लाग्छ ऊ एउटा धोकेबाजसँग फेरी नजिक नहुन एकदन सजक छे । गफ सुन्न मलाई मजा लागिरहेको थियो, उसले मलाई यही छोडिदेउ म यहाँ बाट हिडेर जान्छु भनि मैले उसलाई कलेज नै पु¥याउछु भने अनि कलेजको गेटमा लगेर बाइक रोकेँ ।
ऊ बाइक बाट ओर्लेर मेरो अगाडि आई मैले चिया खान जाउँ भन्ने प्रस्ताव राखेँ, उसले चिया मिठो छैन भनेर टारीदिई । उसले भनि म अब जान्छु तिमी पनि जाउँ, मलाई फर्कनै मन थिएन तै पनि गोजीको दुइटा चोको पाइ उसलाई दिए । मैले तिमीलाई केही पनि ल्याइन भनेर गुनासो गरी, खै कहाँ बाट आयो मलाई तिमी आयौ त्यही ठूलो कुरा हो मलाई भन्न पुगेछु, थोरै हासेर ऊ कलेज तिर लागि, पछाडि फर्कन्छे जस्तो लागेको थियो फर्किन अनि आफै आवाज दिए अनि बाइ भने । मलाई बिश्वास छ सुन्तला रङ्गको टीसर्ट र निलो जिन्स लाएकी केटी जसले मलाइृ त्यो कलेजको गेटमा अधुरो छाडेर गएकी थिई कुनै दिन मुस्काउँदै आउँनेछे मलाई पुरा गर्न । त्यो मुस्कान मलाई खास लाग्नेछ , आश लाग्नेछ ।।।।
बिजय लुइटेल
Comments
Post a Comment