दुई साथी एकै खालका हिडेका थियौ हिमाल हेर्नलाई । मलाई हिमालको काखमा कथा खोज्ने सारै रहर थियो तर हिडाइको थकान र हिमालको मुस्कानले मलाई कथाको खोजीनै बिर्र्साइदियो । हामी केबल हिडीरह्यौँ हिमालको काखमा खेल्न । जब मलाई कथाको खाँचो थियो तब रमाइलोले मन भरिएको थियो तर आज जब ती यादहरुको बारे घर बसेर सोच्छु मलाई मैले त्यहाँ नजरअन्दाज गरेको कथाहरुले कुत्कुत्याइ रहेको छ । मलाई ऐले ती कथाहरुले बिथोल्छन् जसलाई मैले मेरा खुट्टाले कुल्चेर आएँ , आँखाले हेरेर आएँ , हातले छोएर आएँ ।
मैले ऐले यी कुराहरु लेख्दा आफैलाई सोधिरहेछु के साच्चै ती कथाहरुले मेरो जीवनमा केही अर्थ बोक्लान, ती कथाहरुको सार के होला ? म ती कथाको याद गर्दै छु जुन पहाडका भोटे कुकुरको घाँटीका घन्टीले बजाँउदै थिए, रुखबाट खसेको सुकेको पातले खसाउँदै थिए , हिमालका चेपबाट बगेको पानीको झरनाले बगाउँदै थिए ।
म भन्दिन मैले एउटा यात्राको अनुभवले जीवन बुझेँ ,यदी यसो भन्दो हुँ त म आफैलाई मुर्ख ठाँन्छु , आफै लेखेको कुरामा सन्तुष्ट हुन सक्छु जस्तो मलाई लाग्दैन । २२ बर्षको मान्छेले यस्ता ४ दिनको हिडाइले जीवन बुझ्ने भए सायद संसारनै अर्कै हुन्थ्यो मैले त बस सम्झनाहरु बुझे , सुन्दरता बुझेँ त्यो पनि कती थाहा छैन । चट्टानको कापबाट खसेको बाङ्गो, तेर्सो कुलाहरुले मलाई अप्ठ्यारोमा पनि बग्नुपर्छ भन्ने बुझायो , चिसो हिउँको छेउमा आङ्ग तान्दै गरेको बोटले जतै पनि फुल्नु पर्छ भन्ने सिकायो , हिड्दा हिड्दै लरखराएका खुट्टा चिप्लन खोज्दा ठिङ्ग उभिएको हिमालले सम्हालिन सिकायो ।
टेक्ने लौरोले मलाई साथको अर्थ बुझायो , उकालो चड्दा आफुलाई तान्ने अनि ओरालीमा आफुलाई धान्ने लौरो अन्तिम दिन सम्मै हात समाएर हिडिरह्यो । साथीको हराएको कालो टोपीले मलाई सम्बन्ध बुझायो , जाडो महिना हिमालको बाटो सबैभन्दा याद राखेको, सबै भन्दा जतन गरेको टोपी थाहै नदिइ कतै हरायो, केही सम्बन्ध सायद यस्तै हुन्छन् जती जतन गरे पनि एकदिन हराएर जाने आफ्नो न्यानोपनको याद छोडेर, ती सम्बन्ध होटलकी माइलीको मुस्कानझै हुन्छन् क्षणीक तर आत्मीय, आजीवन छाप छोड्ने ।
फर्केर आँउदा मलाई केही कतै छुटे झै लागिरह्यो सायद सम्झनाहरु होलान , घान्द्रुकको बाटो ओरालो झर्दा गाडीले उडाएको धुलोलाई एक पल्ट हेरेँ धुलो पनि आत्मीय लाग्यो , मलाई त्यो धुलोको कुहिरोमा समय नजर आयो जो मैले बिताएको थिए अन्नपूर्णको सेरोफेरोमा , मलाई सायद एकपल्ट विदाइ दिन चाहन्थ्यो त्यो समय पनि । मैले पनि गाडीको झ्यालबाट पछाडि फर्केर मनलाई उडाइदिए त्यो धुलोमा खुल्ला आकाशतिर ।
कथा खोज्न हिडेको मैले यादहरुको पोकोमा कथाहरु लुकाएर ल्याएछु , घर बसेर ती पोका खोल्दैछु, कथा टिप्दैछु अनि आफुमा समेट्न खाज्दैछु । आज नभए कुनै दिन भविष्यमा अर्थ लाग्नेछ यी कथाको मेरो जीवनमा तर यी कथाले त्यती बेला जीवन नभइ जोवन पो बुझाउँने हुन कि ?
बिजय लुइटेल
Comments
Post a Comment