लत कहाँ त्यसै जान्छ र .. त्यसको मुल्य चुकाउनु पर्छ ।
हिजो दिउसो बाहिर गएँ । मैले लेखेको छोटो फिल्म खिचिने निस्चित भयो ।आफुले मनबाट लेखेको पात्र कुनैदिन पर्दामा देखिने भएकाले मनै खुसी भयो । दिनभर फिल्म मेकर साथीहरुसँग बिताएर साँझ घर फिेरेँ । एकाएक सामाजिक सञ्जाल खोल्न मन लाग्यो । मन एकाएक एकतमासको भयो । हातका औंलाले पनि मोबाइलको स्क्रिन खोजेझैँ भयो । साह्रो पर्यो आफुलाई सम्हाल्न । मलाई यसबाहेक कुनै कुराको लत छैन त्यसैले अरु लत हुनेलाई लत छोड्न कति साह्रो पर्छ त्यसलाई म सायद राम्ररी बयान गर्न नसकुँला । तर मेरो अवस्थाको बयान गर्न म एकपल्ट प्रयास गरि हेर्छु । सुर्ती छोडेको मानिसलाई सायद तल तल लाग्दा उसको मुख बर्बराउँदो हो । चुरोट छोडेको मानिसलाई सायद सास कम भएको आभाष हुँदो हो । रक्सी छाडेकालाई रक्सी पिउन नपाउँदा सायद शरीरमा पानीको कमी भएको भान हुँदो हो । मलाई सायद हिजो डोपामिनको कमी भएको थियो ।
Social media has a reinforcing nature. Using it activates the brain’s reward center by releasing dopamine, a “feel-good chemical” linked to pleasurable activities such as sex, food, and social interaction. The platforms are designed to be addictive and are associated with anxiety, depression, and even physical ailments.
माथि उल्लिखित कुरा मैले यहाँ पढेको हुँ । मेरो शरिरले सायद केहि दिन अघि भन्दा कम डोपामिन रिलिज गरिरहेको थियो । लत ले पनि एङ्जाइटी हुने रहेछ र त्यसलाई छोड्न खोज्दा पनि । तर छोड्न खोज्नु भनेको अन्तिम बिदाइ जस्तो हो । यस पछि पुनर्मिलनको कुनै सम्भावना रहँदैन र लती हुनु चाँहि त्यो एङ्जाइटीलाई कसेर अँगाल्नु । अन्तिम बिदाइ कठिन हुने वाला छ । थाहा छ । कक्षा १० हुँदा देखि यो सामाजिक सञ्जाल म सँग छ । दिनको चार घण्टा मत्लब एक बर्षको दुई महिनाको हिसाबमा मोबाइल चलाएको हो भने पनि यी १२ बर्षमा मैले त्यससँग २४ महिना अर्थात २ बर्ष सँगै बिताएको छु । मानिस २० दिनको , एक छिनको प्रेमलाई बर्षौ तड्पन सक्छ भने । मलाई तलतल लाग्नु स्वभाविक हो ।
केहि समय अघि मैले मेरो पहिलो कविता संग्रह समयका खुकुला चप्पल प्रकाशित गरेको थिएँ । अहिले सोच्छु सबै कुरा निर्धारित समयलेनै गर्छ । मेरो सामाजिक सञ्जालको लतले अब समयका गोडाबाट फुस्कन मुनासिव छ । फाटेको चप्पल लगाउँदा चप्पल छ भनेर हेल्चेक्याइँ गरेर हिँडिन्छ र त्यसले गोडालाई जोगाउँदैन , ठेस लाग्छ । बरु खाली खुट्टा हिँडे मसँग चप्पल छैन भनेर होस् पुर्याइन्छ । कमलो ठाँउमा टेकिन्छ , खुट्टालाई चोट पुग्दैन । भन्छन् नि खराब साथीको सँगत गर्नु भन्दा एक्लै हिँड्नु जाती । जायज हो सोह्रै आना जायज हो ।
यात्रा अघि बढिरहेको छ । फाटेको चप्पल कतै मिल्काइदिएको छु समयको गर्तकै कतै पुरियोस् । उसको समाधि माथि लेखियोस् । समयको खुकुलो चप्पल ।
- विजय लुइटेल
पाठकलाई आजको उपहार : गुल्जार साहब द्वारा लिखित , संगीत आर डी बर्मन र स्वर किशोर कुमार : आनेवाला पल जाने वाला पल ।
यदि तपाईहरुलाई पनि म जस्तै सामाजिक सञ्जाल वा मोबाइलको लत छ र त्यसले तपाईको जीवनमा नकारात्मक असर पारेको छ भने bijayawrites@gmail.com मा आफ्नो अनुभवहरु लेखेर पठाउनु होला । म सबैलाई समेटेर एउटा लेख लेख्नेछु । त्यमा तपाईको नाम राख्ने वा नराख्ने त्यो तपाईको निर्णयमा भर पर्नेछ । यदि ५ जना भन्दा अघिक मानिस म सँग जोडिनु भयो भनेँ हामी कुनै दिन कतै बसेर सानो छलफल कार्यक्रम पनि आयोजना गर्न सक्नेछौँ ।
सामाजिक सञ्जाल बिदाइको यो लेख यात्रामा मसँग जोडिनु हुने सबैलाई धन्यवाद । मैले एउटा बेग्लै पेज बनाएर त्यस भित्र सबै लेख समावेश गरेको छु । यहाँ छ लिङ्क । पढ्नुहोला ।
चौथो दिन को लिङ्क यहाँ छ ।
Comments
Post a Comment