जेन जेड - परिवर्तनको विशाल झिल्को



उमेरले मिलेनियल वर्गमा परेँ । मैले त निक्कै कुरा जानेको छु, प्रविधिभन्दा परका कुरा पनि देखेको छु र जेन जेड भन्दा अलिक जानकार छु भन्ने दम्भ थियो कुनैदिन । मलाई लाग्थ्यो नयाँ पुस्ता सामाजिक सञ्जालमा मात्र अल्झिन्छ र देशका बारेमा सोच्ने उसलाई फुर्सद छैन । तर म गलत रहेछु, मैले देशका बारेमा सोचेर के नापेँ? आज आफैँलाई प्रश्न गरिरहेको छु । सुशासन मलाई पनि चाहिएको छ, भ्रष्टाचार निर्मूल भएको मलाई पनि हेर्नु छ । तर यस विरुद्ध मैले कहिल्यै आवाज उठाइनँ, कहिल्यै खुलेर विरोध गरिनँ, बरु चुपचाप त्यसलाई स्वीकारेँ र जीवन चलाइरहेँ । त्यसर्थ म एक कायर देशभक्त हुँ, हो, म एक कायर देशभक्त हुँ जसको देशभक्ति केवल चिया पसलका गफमा मात्र सीमित छ ।

हिजो भदौ २३ गते काठमाडौं लगायत देशका विभिन्न शहरहरूमा जुन घटना घट्यो, त्यो देखेर  आत्मा चिसो भएको छ । कलेज पढ्ने १९ जना विद्यार्थीलाई दिनदहाडै गोली हानेर मार्नु,  मसँग शब्द छैन यस दमनलाई दर्शाउने । आज यति लेख्छु कि जेन जेड पुस्ताले जे गरेका छन् म जीवनभर उनीहरूप्रति नतमस्तक रहनेछु । यी मेरा भाइबहिनी होइनन्, मेरा गुरुहरू हुन् । मलाई परिवर्तनको साँचो अर्थ सिकाउने गुरु ।

अब आउँ, जेन जेडको आन्दोलनलाई गलत अर्थ्याउने मानिसहरूको जमातमा । यो सडकमा उत्रिएको जमात प्रमुख रूपमा भ्रष्टाचार विरुद्ध उत्रिएको हो । यसलाई त्यस्तै रहन दिऊँ । सामाजिक सञ्जालमा रोक लगाएको कुराले यो जमात उत्रिएको भन्ने भान जसलाई छ, त्यसलाई आफैँसँग राख्नू होला । त्यसमा कुनै पनि सत्य छैन । यो स्पष्ट रूपमा आम जनताको असन्तुष्टि बोलेको हो । तर यति भन्दै मनोवैज्ञानिक रूपमा यस आन्दोलनलाई चिरफार गर्ने हो भने, आक्रोश पोख्ने जुन मिडिया थियो, त्यसमा बन्देज लागेकाले आवाज सडकसम्म आएको भन्ने कुरामा कतैकतै सत्य मान्न सकिन्छ । तर यो पूर्ण सत्य भने होइन ।

हिजो जब सडकमा आवाज आयो, सरकारले हतारहतार सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध विस्तारै हटाउन थाल्यो र आज भदौ २४ बाट सबै सामाजिक सञ्जाल उही रूपमा चल्न थालेका छन् । सरकारले अब अभिव्यक्तिलाई पुनः खुला गरेर यो परिवर्तनको आगो निभाउन खोज्दैछ । यति गरेर जेन जेड सामाजिक सञ्जालको विशाल जालोमा फेरि अल्झन्छन् र त्यही चलाएर उनीहरूको दिन जान्छ, अनि सडकमा आउने फुर्सद पाउँदैनन् भन्ने सरकारले सोचिरहेको हुन सक्छ । सोचोस् । यस हुनै सक्दैन पनि म भन्न सक्दिन । म आफैँलाई सामाजिक सञ्जालको लत भएकाले केही समयदेखि यसबाट टाढा बसेको छु । यसले निम्त्याउने असर थाहा छ मलाई । तर यसपाली मन आगो सजिलै निभ्दैन भन्ने कुरामा विश्वस्त छ ।

हिजो भदौ २३ मा जुन घटना घट्यो, जेन जेड पुस्ताका युवामाथि जुन दमन भयो, त्यसले उनीहरूलाई यति विचलित बनाएको छ कि अब उनीहरू सामाजिक सञ्जालमा अल्झिएर आफू माथि भएको दमनलाई सामाजिक सञ्जालका पोस्टमा सीमित राख्न सक्दैनन् । आफ्ना साथीभाइको हत्या भएको उनीहरूले आँखै अगाडि देखेका छन् । हलहल रगत बगेका युवाहरूलाई काँधमा बोकेर अस्पताल कुदाएका छन् । निधन भएका सहिद साथीहरूको छातीमा हात राखेर यो परिवर्तनको आगो निभ्न दिन्न भन्ने वाचा गरेका छन् । उनीहरुले म यस्तै देशमा चाँहि बाँच्दिन साथी तेरो त्याग व्यर्थ जान दिन्न भन्दै साथीको अन्तिम सासको कसम खाएका छन् ।  म विश्वस्त छु कि उनीहरूको नेतृत्वमा अब सम्पूर्ण नेपालीले यो आगोलाई निभ्न दिने छैनन् । अब यो केवल जेन जेडको आन्दोलनमा मात्र सीमित रहेन । यो परिवर्तनका निम्ति जन्मँदै गरेको नयाँ जनआन्दोलन हो र यो आगोले दमनकारी सत्तालाई छोएरै छोड्नेछ । यो एक असन्तुष्टिको आक्रोश हो । जो सजिलै निभ्ने छैन ।

हाम्रा असन्तुष्टि र आक्रोश हाम्रा पूँजी हुन् । त्यसलाई केवल सामाजिक सञ्जालका भित्तामा रंगाउन र पैसा कमाउनका निम्ति प्रयोग गरिनु हुँदैन । हामीमाथि गरिएका छल, अन्याय अनि दमनहरू हरेक दिन सुन्दा सुन्दा, मजाक बन्दै जाँदा, सबै सामान्य लाग्न थालिसकेको छ । डर छ, कतै हाम्रा आक्रोश पनि उसैगरी सामान्य अनि शक्तिहीन पो हुने हुन् कि ? झिल्का जोगाउनु आगो जोगाउनु हो । परिवर्तनको आगो फुक्न देशले कुनैदिन हामीलाई झिल्का माग्न सक्छ । यो मैले कुनैदिन आफैँसँग भनेका कुरा थिएँ र यसलाई आत्मसात् गर्दै कविता कोरेको थिएँ:

शिर्षक : आक्रोश

सम्हालेर राख्नु
पूँजी हो आक्रोश
पोखिँदै जाँदा, रितिँदै जाने
गाग्रोको पानी आक्रोश

न मात्र एक पल छिनभर
जीवनकै उर्जा आक्रोश
फारु गर्नु, जोगाइ राख्नु
मानिसको आँट आक्रोश

परिवर्तन बोक्ने आँट माग्दै
मुख ताक्छ सडक एकदिन
तागत खोज्दै मुठ्ठीमा, देश
नथाकेका आक्रोश माग्छ

जतन गर्नु, साँची राख्नु
हुँकार हो आक्रोश
ठाउँमा रोपे फुली जाने
देशको भविष्य आक्रोश

नेपाल सरकार, मेरो तर्फबाट एउटा सानो अनुरोध के छ भने , अब तपाईंहरूसँग जनता रिसाएका छन्, बुझ्नुहोस् । जाबो एउटा गृहमन्त्रीको राजिनामा र छानबिन समिति बनाउने निर्णयले यो परिवर्तनलाई रोक्न सक्दैन । ‘घुसपैठ भयो, जेन जेड हाम्रो समर्थनमा छन्’ भन्न छोड्नु होला । लाज हुन्छ । अनि ‘२०८४ मा हामी बहुमत ल्याउँछौँ’ भनेको पनि कतै सुनिरहेको हुन्छु । त्यसलाई आफू सत्ताको मदले मातेका बेला गरेको भद्दा मजाक मानेर भुलिदिनु होला । अब पनि जनतालाई ढाट्ने मनसाय छ भने सम्झनुहोस्, तपाईंले आफैँलाई ढाटिरहनु भएको छ ।

म कुनै पार्टीको सदस्य होइन र जीवनभर बन्ने पनि छैन । म  नेपाल देशको नागरिक हुँ । मलाई केवल नेपाली भएर बाँच्नुमा सुख छ । देशको हितभन्दा व्यक्तिगत हितले सञ्चालित पार्टीहरूबाट देश बन्छ भन्ने कुरालाई अब म मान्न सक्दिन । अन्त्यमा देश परिवर्तनका निम्ति हिजो ज्यान गुमाउनु हुने सम्पूर्ण भाइबहिनीलाई म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । तपाईंहरूको त्याग देशले बिर्सने छैन । 

विजय लुइटेल

Comments

Post a Comment